सम्पादकीय

जनताले ७० वर्ष लडेर, थुप्रै सहिद भएर, थुप्रै अपाङ्ग र घरबार विहीन भएर आज भन्दा १६ वर्ष अगाडि मुलुकमा नयाँ संविधान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए । यसको कार्यान्वयन भएर तीन तहको स्थानीय, प्रदेश र केन्द्रिय सरकार चलिरहेको छ । राजनीतिक परिवर्तन, लोकतान्त्रिक शासन प्रणाली र आफ्नो हितका लागि जनताको साथ र सहयोग राजनीतिक दलका नेताहरूलाई प्राप्त भयो पनि । यसमा जनताको आशा थियो गणतन्त्र आएपछि मुलुकमा राजनीतिक स्थायित्व हुन्छ, नेताहरू असल बन्छन, सत्तामा जनताका असल नेता पुग्छन् र त्यसका आधारमा सुशासन आउँछ, भ्रष्ट्राचारको अन्त्य हुन्छ, मुलुक समृद्ध बन्छ, त्यसो भएपछि आफ्नो पनि सुखको दिन आउँछ भन्ने थियो ।

जनताको चाहना बुझेर पनि बुझ पचाएका नेताहरूले सुखी नेपाली बनाउने उधारो सपना पनि बाँडे । तर, ति मुर्छित सपनाहरू कहिल्यै विपना बनेनन् । यति लामो समय बित्दा पनि त्यसको कुनै छनक जनताले पाएनन् । बरु उल्टै उनीहरु सत्तामा पुगेपछि सबै कुरा विर्सिएर जनतालाई अपहेला गरे । अहिले जनता मारमा छन्, भ्रष्टाचार व्याप्त छ, महँगीले चरम रूप लिएको छ, सामान्य र गरीब जनतालाई जीवन चलाउन धौ धौ छ । उता आफ्नो ज्यान बाजी लगाएर सत्तामा पुर्याएका नेताहरू भने नवधनाढ्य बनेका छन्, आलिसान महलमा विलासिताको जवन बिताई रहेका छन्, पद र पैसाले अहंकारी र घमण्डी बनिरहेका छन्, सत्ता र स्वार्थकालागी पार्टी विभाजन गर्ने नैतिक आचरण विपरितका काम गर्ने, जनतालाई हेला गर्ने, आफ्ना आसेपासे र आफन्तलाई मात्र कमाउने निकायमा पुर्याउने र जनतालाई वेवास्ता गर्ने गरिरहेका छन ।

त्यतिमात्र होइन पछिल्लो समय स्थानीय सरकार र प्रदेश सरकार पुरै बेथितिको आहालमा डुबेको छ, ऐन, नियमको खिल्ली उडाउँदै अर्ब भ्रष्टाचार गरेका छन्, जताततै भ्रष्टाचार बढेको छ, राष्ट्रको ढुकुटी मात्रै सिध्याएको छ र मुलुकलाई आर्थिक संकट तर्फ धकेलिरहेको छ । यसले सबै कुरा बिग्रिएको छ, जनता वाक्क भएका छन । सत्ता बाहिर हुँदा सब थोक गर्छु भन्दिने सत्तामा पुगे पछि केही नगरी भ्रष्टाचार मात्र गर्ने र सम्पत्ति मात्र जोडने । यसले मुलुक आज आर्थिक सङ्कटदेखि राजनीति संकटमा परेको छ, समृद्ध बन्न सकेको छैन, जनता सुखी बन्न सकिरहेका छैनन् । अहिले कम्युनिष्ट पार्टीहरु सहितको पाँचदलीय गठबन्धन सरकार चलिरहेको छ । जस्को नेतृत्व काँग्रेस सभापति शेरबहादुर दउवाले गरीरहनुभएको छ । यसको उद्धेश्य भ्रष्ट्राचारको अन्त्य र शुसासनको आरम्भ हो । तर यो सरकार यसको ठिक उल्टो दिशातर्फ अगाडि बढिरहेको छ, भ्रष्टाचार र बेथिति तर्फ अगाडि बढिरहेको छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकायको प्रमुख पदमा नेताले आफ्नै मान्छेहरुमात्र नियुक्ति गरेका छन ।

उनीहरुले जनताकोलागि हैन आफुलाई लाभ दिने नेताको हितमा मात्र काम गरिरहेका छन । जसले गर्दा लोकतान्त्रिक संस्थाहरूको संस्थागत विकास हुन सकेको छैन । कानुनी समानता हुन सकेको छैन, नीतिगत भ्रष्टाचार बढेको छ, जनताको हित र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने असल नेता जनताले पाउन सकेका छैनन् । यो लोकतन्त्रकालागि दुर्भाग्यपूर्ण अवस्था हो । अहिले राष्ट्रिय ढुकुटीको अत्यधिक दोहन गरि १२ अर्ब भन्दा बढि भ्रष्टाचार त स्थानीय पालिकाहरुमा ऐन, नियम मिचेर राजनीतिक दलका जनप्रतिनिधिहरुले गरेको प्रतिवेदन मलेपले हालै सार्बजनिक गरेको छ ।

प्रदेश सरकारको अबस्था त्यस्तै छ, केन्द्रमा त्यस्तै छ, घुष नखाई जनताको केही काम नहुने भएको छ । घुष पनि कर्मचारीलाई ढाल बनाएर जनप्रतिनिधिहरुले नै खुलेआम खाईरहेका छन । यसले जनतालाई आक्रोसित र निराश त बनाएको छ नै प्रणालीलाई नै बद्नाम र संकट उम्मुख बनाएको छ । यसको अन्त्यको लागि प्रमुख दलका प्रमुख नेताले तत्काल ध्यान पुर्याउनु जरुरी छ, आफु, आफ्ना नेता, कार्यकर्ता र लुटनकालागि पदमा पुर्याईएका आफन्तलाई सुधार्नु जरुरी छ ।

समाचार