इलामका कृषक विषादी प्रयोग घटाउँदै


 

 

इलाम, २० असार । रासायनिक विषादीले दीर्घरोग बढाउने बुझेपछि इलामका किसानले रासायनिक विषादी प्रयोगलाई क्रमशः घटाउँदै लैजान थालेका छन् ।

रासायनिक विषादी प्रयोगकै कारण आफूले उत्पादन गरेको कृषि उपज बिक्न छोडेपछि र विषादीकै कारण सिङ्गो कृषि क्षेत्र बदनाम बन्दै गएपछि किसानले रासायनिक विषादी प्रयोग घटाउन थालेका हुन् ।

जिल्ला समन्वय समिति इलामले जिल्लाका सबैभन्दा बढी रासायनिक विषादी प्रयोग हुने क्षेत्रको सूची तयार गरी जैविक विषादी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ ।

समितिको २० औं परिषद्ले रासायनिक विषादी कम गर्दै लैजाने नीति लिएको र २१ औं परिषद्ले पनि त्यसलाई निरन्तरता दिएको छ ।

यस्तै, होटल एसोसिएसन इलामले समेत उक्त नीतिलाई सहयोग पुर्याउँदै जिल्लाका होटल व्यवसायीले किसानको अर्र्गानिक उत्पादन मात्र किन्ने निर्णय गरेपछि किसानले रासायनिक विषादी प्रयोगलाई घटाउन थालेका हुन् ।

यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जिल्लाका विभिन्न स्थानमा गरेको अध्ययनले पनि रासायनिक विषादी बढी प्रयोग हुने क्षेत्र र गाउँमा जटिल र दीर्घरोगका समस्या बढी देखिएको प्रतिवेदन सार्वजनिक गरेपछि कृषि उत्पादनमा बढी मात्रामा रासायनिक विषादी प्रयोग गरिरहेका किसान हच्किएका हुन् ।

कार्यालयको प्रतिवेदनले विषादी बढी प्रयोग भइरहेका ठाउँमा नै क्यान्सर, मिर्गौला, मुटुलगायतका रोगीको सङ्ख्या बढी देखिएकाले कृषि क्षेत्रमा विषादी नियन्त्रण गर्नुपर्ने सुझाव दिएको थियो ।

जिल्लामा आर्थिक वर्ष २०७१/७२ मा ९५२ लिटर झोल र ७३३ किलो धुलो विषादी प्रयोग भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । आव २०७२/७३ मा भने ९०० सात लिटर झोल र ६९७ किलो धुलो विषादी मात्र प्रयोग भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक केशरबहादुर मगरातीले जानकारी दिए ।

मानव स्वास्थ्य र माटोका लागि समेत हानिकारक मानिएको रासायनिक विषादी प्रयोग घट्दै गएपछि त्यसको सट्टामा जैविक विषादीको प्रयोग हुन थालेको छ । गोदक र फिक्कलको पान्दाममा गरिएको एक परीक्षणमा मानिसको रगतमा नै रासायनिक विषादीको असर देखिएको थियो ।
इलाममा रासायनिक विषादी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन रणनीति समेत बनाउन थालिएको छ । यहाँ रहेका चिया कारखानाले चलाएको अर्र्गानिक उत्पादन अभियान प्रभावकारी भएपछि रासायनिक विषादीको प्रयोग घटेको हो ।