मेरो कथा


 

 

कान्ति राेचना

जीवन मेरो त्यसै बित्यो कछुवाको हिंडाइसरि
आँखा कहिल्यै ओभाएनन् टिलपिलाए गहभरि
सोचेको थिएँ केही गर्छु जीवनमा अघि बढी
जीवन मेरो त्यसै बित्यो पोखरीको माछीसरि ।।

कल्पनामा रम्थे सधैँ भविष्यको सानो आशमा
जीवन मेरो निरर्थक भो अडेको छ यही सासमा
दुईगाँस खानलाई खोज्दै नै छु केही काम
केही गर्ने इच्छा थियो अनि राख्ने आफ्नो नाम ।।

अगाडि त बढ्दै थिए पाइलाहरू जबजब
पीडाहरूले रोकिदिए अघि बढ्ने इच्छा सब
जब जीवन वाच्नँ खोज्थे काँडा बनी घोच्न थाल्यो
फूल जब मगमगायो सर्प आई डस्न थाल्यो ।।

अतितलाई बिर्सदै थिएँ वर्तमानलाई साथ लिदै
तर घाउ बल्झिदिदा बसेको छु आज रूदै
अघि बढ्न खोज्दा खोज्दै मेरा पाइला रोकिए कहाँ
आँसु पीडामात्र थिए खुसी जीवन थिएन त्यहाँ ।।

जहाँतही पीडामात्र देख्ने गर्छन् यी आँखाले
लाग्छ कहिले पीडामा नै अडेको छ जीवन अहिले
न त केही गर्न सके जीवनमा अघि बढी
न त पछि धकेलिए जीवनमा पछि सरी ।।

केही इच्छा राखेर नै जीवन त जिएकै थिएँ
नखाएको विष पनि लाग्ने रैछ पिएकै थिएँ
जिउँदो लाससरि भयो जीवन यो आज मेरो
ढुसीकिरासरि भयो सीमित भो बाँच्ने घेरो ।।

कि त भइदियोस् मेरो जीवन फूलैफूलको मौसमसरि
कि त भइदियोस् मेरो जविन असिनाको चुटाइसरि
बीचबाटोमा नै रोकिएको मेरो यात्रा किन यस्तो
केही गर्न नसक्ने भई मेरो जीवन हुन्छ कस्तो ।।

जटिल छ परिस्थिति आँधीबेहेरी चलेको छ
के हुने हो थाहा छैन आगो त्यस्तै बलेको छ
निन्द्रा, थकाई, भोक, तिर्खा कहाँ गयो थाहा छैन
जताततै अन्धकार छ कतैपनि छैन चयन ।।

सानो झुप्रो थियो बास त्यही थियो मेरो आश
पाइला अघि चल्दै थिएँ, खानलाई एक गाँस
जीवन मेरो निरर्थक भो बाँच्ने आश त्यसै मर्यो
केही गर्ने इच्छाहरूबीचमा नै त्यसै रह्यो ।।