अापुर्तिमा खड्का र देवकाेटाकाे रजार्इ


काठमाडौं । आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटालाई फालेर सो स्थानमा अर्का बदनाम पात्र अनिल ठाकुरलाई ल्याइनुको रहस्य खुल्दै आएको छ । यसअघि सहसचिव रहेका र केही अघिमात्र बढुवा भएका थिए । तुलनात्मक रूपमा आपूर्ति मन्त्रालयलाई आकर्षक स्थान मानिन्छ । नेपाली कांग्रेस नेतृत्वको सरकारले उनलाई आकर्षक स्थानमा तान्न र आपूर्तिका देवकोटालाई अन्यत्र सरुवा गर्न बल मिच्याइँपूर्वक काम गरेको बताइएको छ ।

अनिल पञ्जीकरण विभागबाट हालै मात्र सचिवमा बढुवा भएका हुन् । त्यहाँबाट उनी क्षेत्रीय प्रशासन कार्यलय सुर्खेत पुगे, तर हप्ता दिन बित्न नपाउँदै उनलाई आपूर्ति मन्त्रालयमा तानियो र आपूर्ति सचिव कृष्ण देवकोटालाई खेदियो । यसको पछाडि रोचक कहानी रहेको बताइएको छ । अनिललाई आपूर्ति मन्त्रालयमा तानेर सबैभन्दा जुनियर कर्मचारी बस्ने स्थानमा सिनियर सचिव कृष्ण देवकोटालाई सरुवा गराइएको छ । त्यसो त सचिव देवकोटा पनि चलखेलमा माहिर कर्मचारी मानिन्छन् । नयाँ पेट्रोल पम्प, ट्यांकर दर्ता र सञ्चालनमा रहेका सबै ग्याँस उद्योगहरूसँग मोटो रकमको दाबी गरेपछि उनको निगम व्यवस्थापनसँग सम्बन्ध बिग्रिएको थियो । लेनदेनमा कुरा नमिलेपछि सञ्चालक समितिबाटै निर्देशक खड्कालाई कारबाही गरेर देखाइदिने धम्की दिएका थिए ।

सचिव देवकोटाले फोन गरेर मोटै रकम माग गर्न थालेपछि आयल निगमका डिपो प्रमुखहरू आतंकित बनेका थिए । सचिव देवकोटाले नेपाल आयल निगममा अनावश्यक चलखेल गरेका कारण सरुवा गरिएको तत्कालीन मन्त्रीले बताएका थिए । निगमको सञ्चालक समितिको अध्यक्ष आपूर्ति सचिव रहने व्यवस्था छ । भूमिसुधार मन्त्रालयमा रहँदा भूमाफियाहरूसँग साँठगाँठ गरेर करोडौं कुम्ल्याएका देवकोटाले निगमलाई दोहन गर्ने मास्टर प्लान बनाएको आरोपमन्त्री चन्दको थियो । भूमिसुधारमा हुँदा भूमाफियाहरूसँग घनिष्ठ रहेका उनले मालपोत र नापी कार्यालयका प्रमुखहरूलाई आफ्नो स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने गरेको चर्चा पनि सिहंदरबारमा हुने गरेको छ । आपूर्ति मन्त्रालय आउनासाथ सचिव देवकोटाको गिद्धे नजर आयल निगममा परेको थियो । पेट्रोलियम भण्डारण गृहका लागि सरकारको ठाडो आदेशमा निगमले टेन्डर गरेर खरिद गरेको जग्गामा पनि सचिव देवकोटाले निगम व्यवस्थापनको ढाडमा टेकेर पार्टीहरूसँग मोटो कमिसनको माग गरेको बताइन्छ ।