शीतलहरले तरार्इमा अत्याधिक चिसाे


 

वीरगञ्ज ,४ पुस । चारदिनदेखि राम्रोसँग घाम नलागेका कारण पर्सा, बारा लगायत मध्य तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ ।
तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरीब विपन्न समुदायका जेष्ठ नागरिकहरुको वर्षेनी चिसोले कठ्यागि्रएर मृत्यु हुने गरेको छ । तराईका गरीब र सीमान्तकृत समुदाय चिसोमा बढी प्रभावित हुने गरेका छन् । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी यसरी सर्वसाधारणको ज्यान जाने गरेको बताइन्छ ।
चिसोका कारण कमै मानिसहरु मात्रै घर बाहिर निस्किरहेका छन् । बालबालिका र जेष्ठ नागरिकहरु चिसोबाट बढी प्रभावित भएका छन् । त्यस्तै बाहिर श्रम गर्ने श्रमिकहरुलाई चिसोले सताएको छ । यसवर्ष पनि चारदिनदेखि यस क्षेत्रमा घाम लागेको छैन् । चिसोबाट बच्न मानिसहरु ठाउँ ठाउँमा आगो तापेर बस्न थालेका छन् ।

हावामा पानीको मात्रा मिलेर गह्रौ हुने हुँदा पृथ्वीको सतहमै जमेर बसिदिने गर्छ । जुन धुवा जस्तो देखिन्छ । त्यसलाई कुहिरो भन्ने गरिन्छ । त्योसँगै चिसो हावा चल्न थालेपछि त्यसलाई शीतलहरु भनिन्छ ।

शीतलहर नेपालको चुरे पर्वत भन्दा दक्षिणको भागमा देखा पर्ने गरेको छ । विशेष गरी पुस र माघ महिनामा चिसो बढी हुने गरेको छ ।

यसवर्ष पुषको पहिलो साताबाट नै तराईका जिल्लामा चिसो सुरु भएको छ । जसले गर्दा जनजीवन प्रभावित बनेको हो ।
कुहिरो र शीतसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिती दिउँसोमा मात्रै हुन थालेको छ ।

सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ । बिहानै खुल्ने व्यापारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् ।

सार्वजनिक स्थलहरुमा मानिसहरु जम्मा भएर आगो बालेर तापिरहेका छन् । खुल्ला स्थानमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेला चालकहरु चिसोका कारण बढी प्रभावित छन् ।

बिहान बाक्लो हुस्सुसँगै शीत पर्ने र दिनभरी कुहिरो लाग्न थालेका छन् । चिसो बढकै कारण पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा ३ पुस सोमबार जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठक बसेको छ ।

बैठकले चिसोबाट अतिप्रभावित परिवारलाई स्थानीय तह मार्फत कम्बल वितरण गर्न भनेको छ ।

वीरगञ्ज महानगरपालिकालाई कम्तीमा ५ सय थान, नगरपालिकाले २ सय र गाउँपालिकाले १ सय थान कम्बल अनिवार्य वितरण गर्नुपर्ने निर्देशन बैठकले दिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी बैठकले अन्य सरोकारवाला निकायलाई पनि आ-आफ्नो तर्फबाट चिसोबाट अतिप्रभावितहरुलाई सहयोग गर्न भनिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए । ‘स्थानीय तहलाई कम्तिमा ५ सय, २ सय र १ सय थान कम्बल अनिवार्य वितरण गर्न भनेका छौं, रेडक्रस र युनिसेफले पनि हजार १२ सय वटा कम्बल वितरण गर्छन होला, प्रशासनमा पनि २ सय जति कम्बल जम्मा भएको छ ।’ प्रजिअ सिंहल भने ‘ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाउन पनि भनेका छौं । सँगसँगै सन्देशमुलक सूचना प्रकाशन प्रशारण गर्न नेपाल पत्रकार महासंघ पर्सा शाखा मार्फत सबै सञ्चालमाध्यमहरुलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । ‘