जनताको आश : सत्यनाश !


कान्ति न्याैपाने
करिब २० वर्षपश्चात् सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट मुलुकले नयाँ जनप्रतिनिधि चयन गरिसकेको छ । नेपालको संविधान २०७२ मा भएअनुसारको ७ प्रदेशमध्ये ६ प्रदेशको चुनाव २ चरणमा सम्पन्न भईसकेको छ । बाँकी रहेको एउटा प्रदेश अर्थात् २ नं प्रदेशको चुनाव पनि यही असोज २ गतेको लागि तय गरिएको छ । २ नं प्रदेशको माहोल यतिखेर चुनावको लागि तातेको छ । हरेक दलका उम्मेद्वारहरु आफ्ना पार्टीका एजेण्डा र प्रतिबद्धताका साथ मतदाताका घरदैलोमा पुगिसकेका छन् ।

यसरी हेर्दा बाँकी रहेका जिल्लाहरुमा पनि स्थानीय तहको नतिजा चाडै आउने अनुमान गर्न सकिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर नतिजा आइसकेका ६ वटा प्रदेशमा नयाँ जनप्रतिनिधिहरुले काम गर्ने प्रतिबद्धताका साथ शपथ पनि लिइसकेका छन् । चुनाव सम्पन्न भईसकेको आज महिनौ बितिसकेको छ । दुई चरणमा विभिन्न प्रदेशहरुको चुनाव सम्पन्न भई निर्वाचित भएका जनप्रतिनिधिहरुले नतिजा सार्वजनिक भएको महिनौसम्म पनि आफ्नो क्षेत्रको विकासमा कुनै जोड दिएका छैनन् । व्यक्तिगत स्वार्थ र मनमुटावकाविच हिडिरहेका यस्ता जनप्रतिनिधिहरुबाट के आशा गर्नु मतादाताहरुले ? लामो समयको मागपछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनले जति जनप्रतिनिधिहरु चयन गरेको छ ।

त्यो अनुसारको कामकारवाही सुचारु नहुँदा चुनावको समयमा हौसिएका मतदाताहरु यत्तिखेर निरास बनेका छन् । चुनावको समयमा आफ्ना १०१ प्रतिबद्धता भिरेर जनताका घरदैलोमा पुगी भ्रमको खेती गर्ने निर्वाचित जनप्रतिनिधिले आफूले मतादाताका समक्ष गरेका सबै प्रतिबद्धताहरु माटोमा मिलाएका छन् । सरकारले दिएको तलव विनाकाम पचाउँदै छन् स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु । स्थानीय तहको परिणाम सार्वजनिक भइसकेका चार महानगरपालिका (काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा – लेखनाथ महानगरपालिका) का जनप्रतिनिधिहरुले अझैपनि माखो मार्न सकेका छैनन् । मतदातालाई झुठ्ठा आश्वासन र स्मार्ट सिटी वनाउने प्रतिबद्धताका साथ निर्वाचित भएका महानगरका जनप्रतिनिधिहरु यतिवेला कामकारवाही विहीन भएका छन् । आफुले पदभार सम्हालेको महिनौ भइसक्दा पनि महानगरको विकासमा अलिकति पनि परिवर्तन नल्याउनु के यो लाजमर्दो विषय होइन ? महानगरमा चुनिएका प्रतिनिधि देखि लिएर वडाका सदस्यहरु समेतका कामकारवाहीमा केही भिन्नता आएको छैन ? जनतालाई गरेका झुठ्ठा प्रतिबद्धताहरु कुन दुलाभित्र छिर्यो भन्ने अनुमान लगाउन जनप्रतिनिधिहरुलाई अहिले धौ–धौ परेको छ । यतिखेर काठमाडौ महानगरपालिका चर्चाको विषय वनेको छ ।

किनकी आफ्ना ठूलै योजना रहेको र काठमाडौ सहरलाई एउटा नमुना सहर वनाउने भन्दै जनताका घरदैलोमा भोट माग्न पुगेका जनप्रतिनिधिहरुले यत्तिखेर आफूले गरेका प्रतिबद्धता सबै पचाइसकेका छन् । उनीहरु व्यक्तिगत स्वार्थमा निहित भएर चलिरहेका छन् । खानेपानी, ढल व्यवस्थापन, फुटपाथ व्यवस्थापन, ट्राफिकजामको न्यूनिकरण, सार्वजनिक शौचालय निर्माण, बसपार्क व्यवस्थापन, ट्राफिक लाइट, आकासेपुल, जेब्राक्रसको मर्मतसम्भार, भुसिया कुकुर नियन्त्रण, सुकुम्बासी समस्या समाधान, बिजुलीका पोलमा अनाधिकृत रुपमा टाँगिएका तारहरुको व्यवस्थापन, सडकमा पानी जम्ने समस्याको हल र खाल्डाखुल्डी पुर्ने साथै टुँडिखेलको अतिक्रमण नियन्त्रण साथै सरसफाइ समेतमा कुनै परिवर्तन आएको छैन । काठमाडौँ महानगरका जनप्रतिनिधिहरु आफ्ना व्यक्तिगत स्वार्थ अर्थात् मोवाइल किन्ने, गाडी किन्ने र पूवाग्रही भावनाका साथ एक अर्कालाई दोष थुपारेर दिन कटाइरहेका छन् । समस्या ज्युकात्युउ छन् हल गर्ने उपायप्रति जनप्रतिनिधिको कार्यभार सम्हालेको महिनौ बितिसक्दा पनि ध्यान जान सकेको छैन जेष्ठ १८ गते बिहान महाराजगञ्ज र श्रावण महिनाको अन्तिम साता अन्तर्रा्ष्ट्रिय विमानस्थलअगाडिको सडकमा झाडु लगाएका अनि असारको मध्यसाता जेष्ठ नागरिकहरुको वार्षिक वृद्धाभत्ता बढाएर १२ हजार पु¥याए । यसका साथै असार अन्तिम साता नेपालटारको सडकको ढलमा बगेर मृत्युवरण गरेकी विनिता फुयाँल र सामाखुसीको ढलले बगाएर पनि बाच्न सफल सत्या सापकोटालाई क्रमशः २५ हजार रुपैयाँ सहयोग रकम र जीवनबिमा गराउनुबाहेक शाक्यले जनाएका कुनै पनि प्रतिवद्धता ठोस रुपमा पुरा नगर्दा काठमाडौंबासीले राहत र विकासको महसुससम्म गर्न सकेका छैनन् । । एकदिन गएर मेयरले कुचोँ बढार्दैमा र सञ्चारमन्त्रीले विजुलीको तर काट्दैमा महानगरको विकास हुनसक्दैन !