अफगानिस्तानको संसदको निर्वाचनका, मतदान जारी


काबुल-अफगानिस्तानको संसदको निर्वाचनका क्रममा हिंसात्मक घटनाका कारण स्थगित भएका र ढिलाई भएका मतदान केन्द्रहरुमा आज मतदान भइरहेको छ ।

अफगान निर्वाचन आयोगका अध्यक्ष अब्दुल बादी सयतले शनिबारको मतदानमा ८८ लाख मतदातामध्ये ३० लाखले मतदान गरेको जानकारी दिए । सबैभन्दा बढी मतदान काबुलमा भएको थियो भने दक्षिणी उरुजगान प्रान्तमा सबैभन्दा न्यून मतदान भएको थियो ।

आइतबार देशभरका ४ सय १ मतदान केन्द्रमा मतदान हुनेछ । काबुलमा मात्र ४१ स्थानमा मतदान हुँदैछ ।

संसदको यस निर्वाचनमा २७ जना सर्वसाधारण र ११ जना सुरक्षाकर्मीको मत्यु भएको तथा एक सयभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन् । अफगानिस्तानका मुख्य विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेट्सले निर्वाचन बहिस्कार गरेका छन् । उनीहरुले निर्वाचनको पूर्वसन्ध्यामा आक्रमणको शृङ्खला जारी राख्नुका साथै स्थानीयबासीलाई मतदानमा सहभागी नहुन आह्वान गरेका थिए ।

यसैबीच, अफगानिस्तानको गृह मन्त्रालयले शनिबारको मतदानमा देशभर एकसय ९२ वटा आक्रमणका घटना भएको जनाएको छ ।

गृहमन्त्री वाइस बार्माकले निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा भएको दाबी गरे । अफगानिस्तानको रणनीतिक महत्वको शहर कान्दाहारमा गत साता विद्रोहीको आक्रमणबाट प्रान्तीय प्रहरी प्रमुख अब्दुल राजिकको हत्या भएपछि कान्दाहारमा मतदान एक साताका लागि स्थगित गरिएको छ । सुरक्षाका कारण घाज्नी प्रान्तमा पनि मतदान स्थगन भएको छ ।