प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे भ्रामक समाचार लेख्ने पक्राउ


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बिषयमा भ्रामक समाचार लेख्ने र प्रचार प्रसार गर्नेहरुमाथि प्रहरीले कारबाही थालेको छ। यहि क्रममा आज पाथीभरा अनलाइन डट कमका अध्यक्ष तथा सञ्चालक हरिप्रसाद मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे ुफेक न्युजु प्रकाशित गर्ने स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाले मानन्धरलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही सुरु गरेको बताएको छ।

 

आफ्नो बारे भ्रामक समाचार फैलिएपछि प्रधानमन्त्री ओलीले आजै एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहित प्रचार भएकोप्रति आपत्ति जनाएका थिए।

 

मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारवाजीबारे आफू जानकार रहेको भन्दै आपत्ति बताएका हुन्।

 

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रजारबाजीको मलाई जानकारी छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका थिए, ‘यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्दछु।’