उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न


काठमाडौ-छठ पर्वअन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ ।

 

षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । साँझको सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ । सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार ब्रत थालेका ब्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ । आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन् । छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसाद खाने ख्वाउने क्रम शुरु भएको छ ।

 

छठको प्रसाद बनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने ख्वाउने क्रम भने मिथिलाञ्चलमा लामो समयसम्म जारी रहन्छ । मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मितमितिनी र अन्य इष्टमित्रको घरमा छठको कोशेली पठाउने चलन छ । यसरी पठाइने कोशेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महीना दिनभर चलिरहन्छ ।