नेकपाको पोलिटब्युरोमा एमालेबाट ८२ र माओवादीबाट ६५ जना रहने


काठमाडौं-नेकपाको पार्टी एकीकरणले गति लिएको छ । पार्टी एकीकरण गर्दा अपनाइएको ५५–४५ शक्तिसन्तुलनको भागबन्डा गर्ने गरी पोलिटब्युरो गठनको गृहकार्य अघि बढाउने नेताहरूबीच समझदारी भएको छ ।

नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ । अन्तरिम विधानमा केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो सदस्य संख्या रहने व्यवस्थाअनुसार १ सय ४७ जना छानिनेछन् ।

तत्कालीन एमालेबाट ८२ र माओवादीबाट ६५ जना पोलिटब्युरोमा रहनेछन् । तत्कालीन एमालेमा ६५ जनाको पोलिटब्युरो रहेकोमा गणेश तिमल्सिना राष्ट्रिय सभा अध्यक्ष र सानु श्रेष्ठ ३ नम्बर प्रदेश सभाको सभामुख भएकाले अब बन्ने कमिटीमा रहनेछैनन् ।

बाँकी १९ जना भने विधान र नियमावलीको व्यवस्थाअनुसार वरिष्ठताका आधारमा छान्ने गृहकार्य भइरहेको नेकपा स्रोत बताएँछ ।

त्यस्तै, पूर्वमाओवादीबाट ६५ जना सदस्य नेकपाको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २ सय केन्द्रीय सदस्यमध्येबाट छानिनेछन् । स्थायी समिति सदस्यमा नपरेका तत्कालीन ९९ सदस्यीय केन्द्रीय सचिवालयका नेतालाई माओवादीले पोलिटब्युरो सदस्यका लागि प्राथमिकतामा राखेको छ । बाँकी विधान र नियमावलीको व्यवस्थाअनुसार वरिष्ठताकै आधारमा छान्ने गरी तयारी भइरहेको स्रोतले जनायो । विष्णु पौडेल र रामबहादुर थापाको कार्यदलले प्रदेश कमिटिको टुगो लगाइसकेको छ ।

पहिलो चरणमा ६ विभाग गठन गर्ने गृहकार्य

दैनिक कार्यसञ्चालनका लागि ६ वटा महत्वपूर्ण विभाग तत्काल गठन गर्ने गृहकार्य सुरु भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालसँग महासचिव विष्णु पौडेलले अनौपचारिक छलफल गरेका छन् ।

विदेश, संगठन, आर्थिक, प्रचार, स्कुल र संसदीय मामिला विभाग छिटो बनाउने विषयमा नेताहरूले छलफल गरेका हुन् । नेकपामा केन्द्रीय तहमा ३२ विभाग छन् । सरकारको मन्त्रालयसँग तालमेल गर्ने गरी नेकपामा कतिपय नयाँ विभाग बनेका छन् ।