विधि र पद्धतीले सञ्चालन गर्दा मात्र पार्टीले अग्रगति लिन्छ


प्रेमलकुमार खनाल, केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी:-

सरकारको काम किन प्रभावकारी बन्न सकेन ?

वाम गठबन्धनको साझा घोषणापत्रमा उल्लेखित प्रतिबद्धता र पार्टी एकता हुने भएपछि जनतामा ठूलो उत्साहको सञ्चार ग¥यो । र, जनताले ठूलो आशा, विश्वास र अपेक्षा गरेर वाम गठबन्धनका उम्मेदवारहरूलाई झण्डै दुई तिहाई बहुमतका साथ विजयी गराए र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा वामपन्थी सरकार गठन भएको छ । सरकार गठन भएपछि खासगरी तीनवटै तहको सरकार कसरी सञ्चालन गर्ने ? घोषणापत्रका प्रतिबद्धता र पार्टीका नीतिअनुरूप जनतालाई राहत र परिवर्तनको अनुभूति प्रदान गर्ने गरी पार्टीभित्रै विशेष छलफल हुनुपथ्र्यो तर पार्टी एकताको विषयमा भएको ढिलाइले त्यसअनुरूप सघन ढंगले बैठक र छलफल नहुँदा सरकारका नीति, कार्यक्रम र बजेटका बारेमा अपनत्व ग्रहण गरी पार्टी पंक्तिले सरकारका कार्यलाई प्रभावकारी बनाउन जुन भूमिका खेल्नु पर्दथ्यो त्यो हुन सकिरहेको छैन ।

परिणाम निकाल्ने गरी काम गर्न केले रोक्यो त ?

वर्तमान सरकारबाट रातारात परिणाममुखी नतिजा त आइहाल्ने स्थिति छैन । नेपाली कांग्रेसले विगतमा अवलम्बन गरेका नवउदारवादी छाडा अर्थतन्त्रका कारण सर्वत्र अराजकता छाएको छ । जनताका आधारभूत आवश्यकताका सेवाहरू शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायातका क्षेत्रमा गरिएको व्यापारीकरण र निजीकरणले सर्वसाधारण जनताको जीवन अत्यन्तै कठिन र कहालीलाग्दो बनेको छ । दैनिक उपभोग्यदेखि निर्माणका सामाग्री आयात गर्दा वार्षिक १२ खर्बको हाराहारीमा व्यापार घाटा पुगिसकेको छ । देशमा प्राप्त रेमिट्यान्स पनि ९० प्रतिशत उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ । बचत परिचालन न्यून र दलाल पूँजीवादको विगविगीले गर्दा राष्ट्रिय पूँजी निर्माणको दर कमजोर भएको छ ।
तर पनि यस्तो स्थितिमा सरकारले योजनावद्ध रूपमा जनतालाई राहत र परिर्वतनको अनुभूति हुने गरी राहतका प्याकेज ल्याउनु पर्ने हुन्छ । यसका लागि जनताका आधारभूत आवश्यकताहरूलाई सर्वसुलभ गर्ने नीति, योजना र कार्यक्रम ल्याउनु पर्दछ । यसैगरी सार्वजनिक संस्थानहरूको सुधार गरी देशव्यापी सेवा विस्तार गर्नु पर्दछ । आवश्यकताअुनसार नयाँ संस्थाहरू स्थापना गरी जनतालाई सर्भिस डेलिभरी सहज, सरल र सुपथ मूल्यमा प्रदान गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनेवित्तिकै जनतामा उत्साह बढेर जानेछ । यसका साथै सरकारले सुशासनयुक्त ढंगले शासन सञ्चालन गर्ने नीति अवलम्बन गर्नु पर्दछ । महंगो सवारी साधन खरिदमा नियन्त्रण, जनप्रतिनिधिहरूको जथाभावी तलब पारिश्रमिक वृद्धि र विदेश भ्रमणजस्ता कार्यमा नियन्त्रण गरी खर्च कटौतीको सार्वजनिक घोषणा गर्नु पर्दछ । अन्य देशमा क्रान्तिपछि आर्थिक क्रान्ति गर्ने सन्दर्भमा व्यापक खर्च कटौती गरी स्रोत साधनलाई विकास र उत्पादनमा परिचालन गरिएको पाइन्छ ।

नेकपाको सरकारले काम गर्न नसकेकोमा पार्टीभित्रैबाट व्यापक आलोचना भइरहेको छ नि ?

सरकारको कामका बारेमा पार्टीभित्र विरोध होइन, सरकारले जनमुखी नीति र कार्यक्रमका साथ प्रभावकारी ढंगले काम गर्नु पर्दछ भन्ने गम्भीर चासो र चिन्ता बढेको हो । यसका लागि सबै तहमा पार्टीका बैठकको आयोजना गरेर सरकारलाई कसरी लोकप्रिय बनाउने ? सरकारले के कस्ता काम गरेको छ ? र अब सरकार कसरी सञ्चालन हुनु पर्दछ भनेर पार्टीभित्र छलफल हुनेवित्तिकै सिंगो पार्टीपंक्ति सरकारका कामलाई प्रभावकारी बनाउन जुरुक्कै उठ्नेछ । यसै भएर हामी २१ जना केन्द्रीय सदस्यहरूले ६ बुँदे ज्ञापनपत्र पार्टीसमक्ष बुझाएका छौं । पार्टीभित्र पार्टी निर्माण, सञ्चालन र सरकार सञ्चालनका विषयमा छलफल हुनेछ र उपयुक्त कार्यदिशा तय गर्नेवित्तिकै देशव्यापी रूपमा पार्टी कार्यकर्ताहरू अत्यन्तै उत्साहका साथ पार्टी र सरकारका कामलाई सफल बनाउन जुट्नेछन् ।

पार्टीका तल्ला कमिटी र जन बर्गिय संगठनहरू बन्नसकेका छैनन्, किन ढिला भएको हो ?

हो, एकता प्रकृयाबाट पार्टीको केन्द्रीय कमिटी बन्यो तर प्रदेश, जिल्ला, स्थानीय तह र जन संगठनहरू कसरी, कुन विधिबाट एकता गर्ने ? भन्ने नीति नबन्दा ५ महिना सम्ममा पनि एकीकरण हुन सकेको छैन । यसले गर्दा पार्टी पंक्ति कमिटी बिहिन अबस्थामा छ, यसो हुनुहुँदैन थियो । तल्लो तहका कमिटीको एकतासँगै हजारौ, लाखौं मानिसहरू पार्टी प्रति आकर्षित भैरहेका छन । उनिहरूलाई पार्टीमा प्रवेश गराउने र गाउँ, बस्ती टोल टोलमा संगठित गर्ने जस्ता महत्वपूर्ण कामहरू ओझेलमा परेका छन । कार्यकर्ता र शुभेच्छुकहरू पार्टी एकतामा भएको ढिलाइले निराश भएका छन् र त्यसले आमकार्यकर्तामा अन्यौलता बढेर गएको छ । अब शीघ्र पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गरी तल्लो तहका कमिटी र जन संगठनहरूको एकीकरण गर्ने नीति र विधि तयार गरी निर्णय गरेर तल पठाउने वित्तिकै कमिटीहरूको एकीकरणको कार्य सम्पन्न हुनेछ ।

पार्टीले जिम्मेवारी दिँदा गुटगत रूपमा दिएको र राजनीतिक नियुक्तिमा पनि त्यस्तै भएको गुनासो छ नि ?

कम्युनिस्ट पार्टी अरू बुर्जुवा पार्टीभन्दा उत्कृष्ट र वैज्ञानिक पार्टी हो भनेर नै मानिसहरू कम्युनिस्ट पार्टीमा आकर्षित हुने र संगठित हुने गर्दछन् । कम्युनिस्ट पार्टीभित्र जिम्मेवारी, अवसर र पदोन्नतिमा पक्षपात भदेभाव भयो भने अयोग्य, अक्षम मानिसहरू अगाडि आउने र उनीहरूले नै पार्टी र सरकार सञ्चालन गर्ने स्थिति हुन्छ । योग्य र सक्षम मानिसहरू क्रमशः पाखा लाग्छन् । अब भन्नुहोस् यस्तो पार्टीले कसरी क्रान्तिको अगुवाइ गर्न सक्ला ? यसै भएर पार्टीभित्र जिम्मेवारी प्रदान गर्दा योग्य, अनुभवी र वरिष्ठहरूको मान मर्दन नहुने गरी निश्चित मापदण्डका आधारमा जिम्मेवारी प्रदान गर्नु पर्दछ । यसैगरी सरकारलगायत राजकीय क्षेत्रमा पार्टीबाट नियुक्ति हुने व्यक्तिहरू पनि सक्षम, योग्य छनौट गरिनु पर्दछ । गुट पक्षधरका आधारमा माथिदेखि तलसम्म आफ्नो गुट विशेषका, नजिकका मानिसहरूलाई मात्र नियुक्ति गर्ने र विगतमा आफूसँग असहमत जतिसुकै योग्य भए पनि नियुक्ति नगर्ने, उसलाई कुनै अवसर नै प्रदान नगर्ने हो भने तपाई आफै भनुहोस् पार्टीभित्र कसरी न्याय स्थापित होला ? एउटै व्यक्तिले हरेक पटक अवसर पाइरहने तर कसैले अवसर नै नपाउने हो भने यसले पार्टीभित्र न्याय स्थापित गर्दैन । तसर्थ, सरकार सञ्चालनमा जाने व्यक्तिहरू पनि पार्टीभित्रका योग्य, अनुभवी, विषयविज्ञ र विगतमा अवसर नपाएकाहरू मध्येबाट पार्टीले छनौट गर्नुपर्छ । राजकीय क्षेत्रमा नियुक्ति हुने सबै व्यक्तिहरू पनि पार्टीको संस्थागत निर्णयबाट गरिनु पर्दछ । नियुक्ति हुनुपूर्व सम्बन्धित तहको कमिटीबाट सिफारिस भई आउने पद्धतिको विकास गर्नु पर्दछ । यसरी सिफारिस भई आएकामध्ये सबैभन्दा योग्य, विज्ञ र विगतमा पटक पटक अवसर पाए नपाएको सबै विश्लेषण गरी पार्टीबाट नियुक्तिका लागि निर्णय गर्नु पर्दछ । यसरी संस्थागत ढंगले नियुक्ति गर्ने र नियुक्त भएको व्यक्तिलाई पार्टीप्रति जवाफदेही बनाउन उसको कामको पार्टीले बराबर अनुगमन र मूल्याङ्कन गर्ने पद्धतिको विकास गर्नु पर्दछ ।

एकै व्यक्तिले पार्टी र सरकारी अंगको पनि जिम्मेवारी पाइरहेको स्थिति छ नि यस सन्दर्भमा के भन्नुहुन्छ ?

एकै व्यक्तिले सरकार तथा संसदीय क्षेत्रको मोर्चाको पनि नेतृत्व गर्ने अनि पार्टीको पनि नेतृत्व गरी जिम्मेवारी प्रदान गर्ने जुन कुराहरू भइरहेको छ, यसले पहिलो– उत्कृष्ट कार्य सम्पादन हुदैन, दोस्रो– एकै व्यक्तिलाई दोहोरो तेहरोको जिम्मेवारी हुन्छ र अन्यले जिम्मवारी नपाउने स्थिति हुन्छ, तेस्रो– यसले पार्टीभित्र नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई समाप्त पार्दछ र क्रमशः पार्टीभित्र स्वेच्छाचारिता बढेर जान्छ । अतः पार्टी, संसद र सरकारको मोर्चामा नेतृत्व विन्यास् सही ढंगले गर्नु पर्दछ ।

पार्टीलाई शसक्त बाउन के गर्नु पर्ला ?

पार्टीलाई शसक्त बनाउने भनेकै विचारका आधारमा हो । पार्टीलाई सही विचार, नीति विधि र पद्धतिबाट सञ्चालन गर्नेवित्तिकै पार्टी सशक्त भइहाल्छ नि । यतिखेर पार्टीका सामु नेपाली क्रान्तिलाई पूरा गर्ने अर्थात समाजवादी व्यवस्था स्थापना गर्ने ऐतिहासिक युगीन अभिभारा छ, तसर्थ अब कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनकै विधि र पद्धतिका बारेमा छलफल र बहस गर्नु जरुरी छ । समाजलाई माक्र्सवादीकरण र कान्त्तिकारीकरण गरेर मात्र समाजवाद स्थापना गर्न सकिन्छ । अब पार्टी पनि यसैको आलोकमा निर्माण गरिनु पर्दछ भन्ने माक्र्सवादी दृष्टिकोणलाई आत्मसात गर्नु जरुरी छ । माक्र्सवादी विचारबाट लैस भएका नेता, कार्यकताहरूबाट नै साँचो अर्थमा कम्युनिस्ट पार्टी बन्दछ । यसका लागि विचारधारात्मक कार्य नै पार्टी निर्माणको पहिलो र अनिवार्य सर्त हो । दोस्रो, पार्टीलाई लोकतान्त्रिक एवं जनवादी तवरले सञ्चालन गरिनु पर्दछ । अब युद्धमाझै व्यक्तिले आदेश दिएर युद्ध जित्ने होइन कि, सबैको सहभागितामा आर्थिक, सामाजिक क्रान्ति कसरी पूरा गर्ने भनेर छफलफल बहस सम्बन्धित तहका कमिटीहरूमा हुनु पर्दछ । नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्न यतिखेर बाधक शक्ति को हो ? भनेर सबैले छलफल गर्नु पर्दछ र अब पार्टीको कार्यदिशा के हो ? भनेर छलफल र बहस गरिनु पर्दछ । यतिमात्रै होइन, पार्टीलाई शसक्त बनाउन अब कार्यशैली र जीवनशैलीमा नै सुधार र परिवर्तन गरिनु पर्दछ । उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूबाट मात्र नेतृत्व छनौट गर्ने विधि र पद्धतिको विकास गर्नु पर्दछ । कार्यक्रम र योजना प्रस्तुत गरेको आधारमा कार्यकर्ताले व्यक्तिलाई नेतृत्वमा छनौट गर्न सक्ने पद्धतिको विकास गर्नु पर्दछ । यसरी नेतृत्वमा छनौट भएको व्यक्तिले कार्यक्रम र योजनाका आधारमा कार्य सम्पादन गर्न सकेन भने उसलाई नेतृत्वमा आउन नसक्ने गरी हटाएर अर्को योग्य व्यक्तिलाई छनौट गर्ने अधिकार प्रदान गर्नु पर्दछ । यसरी अब कम्युनिस्ट पार्टीले नयाँ ढंगको कार्यशैली र नयाँ ढंगले नेतृत्व छनौट गर्ने विधि पद्धतिको विकास गर्न सकियो भने साँच्चिकै नेपाल कम्युनिस्ट पार्टी विश्वकै कम्युनिस्ट आन्दोलनका लागि मोडलको रूपमा विकास हुने देखिन्छ ।

अहिले सरकारले लगाएको करका बारेमा जनताको ब्यापक गुनासो छ के भन्नुहुन्छ ?

तीन तहका सरकारले कर संकलन गर्ने बारेमा संविधानले नै व्यवस्था गरेको छ । कर छली गरेर रातारात धनी हुने दलाल पूँजीवादको विशेषता भएकाले हाम्रोजस्तो देशमा सरकारले कर वृद्धि गर्नेवित्तिकै विरोधका स्वरहरू आउँछन् । अरू देशमा सरकारलाई आफ्नो आम्दानीअनुसार कर तिरेपछि मात्र सभ्य नागरिक ठहरिन्छ । मेरो विचारमा सबै आर्थिक क्रियाकलापमा संलग्नहरूलाई १ रुपैयाँ भए पनि कर निर्धारण गरी करको दायरामा ल्याउनु पर्दछ । कर छुट कसैलाई पनि दिनुहुँदैन । जहाँसम्म जनताको कुरा गर्नुभयो जनतामा कर तिर्नु पर्दछ भन्ने जागरण अभियान सञ्चालन गर्नु पर्दछ र सँगसँगै जनतालाई कर तिरेपछि प्रतिफल पनि प्रदान गर्नु पर्दछ । जनताले स्वस्फूर्त कर तिर्ने गरी विकासको प्रतिफल दिन सक्नुपर्छ । पार्टीभित्र पनि आर्थिक क्रियाकलापमा संलग्न हरेक कार्यकर्ताहरूले राज्यलाई कर तिरेको हुनु पर्दछ भन्ने नीति र अभियान सञ्चालन गर्न सकियो भने कर तिर्ने भावना र जागरण स्वतः श्रृजना हुन्छ ।

समृद्ध नेपाल र सुखी नेपालीको अभियान यही सरकारले पूरा गर्ला ?

समृद्ध नेपाल निर्माण गर्ने अभियान यो भाषण र नाराको विषय होइन, देशलाई समाजवादमा लैजाने माध्यम हो । तसर्थ यो अभियान एकजना व्यक्ति विशेषले होइन सिंगो पार्टी पंक्तिले यो अभियानमा सरिक हुनु पर्दछ । समृद्ध नेपालका लागि श्रमजीवि वर्गको जीवनलाई समृद्ध बनाउनु पर्दछ । शिक्षा, स्वास्थ्यजस्ता सुविधाहरूको सुनिश्चिता, पूर्वाधारको विकास, भ्रष्टाचारको नियन्त्रण, सुशासनका मूल्य मान्यताअनुरूप सरकार सञ्चालन र बेरोजगारहरूलाई सीप र पूँजीका माध्यमबाट उद्यममा रूपान्तरण गर्दै आर्थिक विकास गर्नुपर्छ । दिगो र फलदायी आम्दानी नभई समृद्धि हासिल हुँदैन । यसका लागि राज्य सञ्चालनको नेतृत्व गरिरहेको कम्युनिस्ट पार्टीभित्र नै प्रथमतः सही दृष्टिकोण, नीति, कार्यक्रम, प्रतिबद्धता र कार्य सम्पादनमा आधारित कार्यशैली, उकृष्ट काम गर्नेहरू मध्येबाट पार्टीभित्रबाट नेतृत्व छनौटको विधि, योग्य र उकृष्ट व्यक्तिहरूबाट सरकार सञ्चालन गर्ने सके मुलुकलाई विकास र समृद्धिको बाटोमा हिँडाउन सकिन्छ ।

तर, कर्मचारीतन्त्रले त सरकारलाई असयोग गरिरहेको कुरा आइरहेको छ नि ?

हाम्रो कर्मचारीतन्त्र पुरातन मान्यताबाट यहाँसम्म आइपुगेको  हो । हालको कर्मचारीतन्त्रलाई रूपान्तरण गर्नु पर्दछ । मन्त्रीहरूदेखि नै जफावदेही भएर नतिजामुखी कार्यमा लाग्न काम र जिम्मेवारी प्रदान गर्नु पर्दछ । उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारीको नीतिका साथ कर्मचारीतन्त्र सञ्चालन गर्नु पर्दछ । यसो भयो भने मात्र सहज रूपमा सरकार सञ्चालन हुन्छ ।

तपाईं ट्रेड युनियन क्षेत्रबाट काम गर्दै हुनुहुन्छ, अबको ट्रेड युनियन आन्दोलनको दिशा के हुनुपर्दछ ?

ट्रेड युनियन आन्दोलनले मुलुकमा गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । साथै देशभरका श्रमिकहरूलाई संगठित गरेर उनीहरूका हित र सुविधाका लागि महत्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ । अब मुलुकको आर्थिक सामाजिक रुपान्तरण गरेर समाजवादी दिशामा मुलुकलाई अगाडि बढाउने कार्यभार रहेको सन्दर्भमा अब ट्रेड युनियन आन्दोलनले पनि आर्थिक सामाजिक रुपान्तरण र श्रमिकहरूहको समृद्धिको लागि नयाँ ढंगले भूमिका निर्वाह गर्नुपर्दछ । यस सँगसँगै आन्दोलनभित्र देखा परेको अवसरवाद, अराजकतावाद र अर्थवाद (तीन ‘अ’) का चुनौतिलाई सामना गर्दै श्रमिकवर्गलाई विचारधारात्मक हिसाबले सक्षम र सवल बनाउँदै मुलुकको आर्थिक र सामाजिक रुपान्तरण, उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय ग्राहक सेवा प्रदान गर्नको लागि प्रशिक्षित गर्दै परिचालन गर्नु अहिलेको आवश्यकता हो ।