सामाजिक सुरक्षा योजना ऐतिहासिक, पार्टी काम सुस्त


काठमाडौं । कम्युनिस्ट सरकारका काम जनचाहानाअनुसार नभएको भनेर आलोचना भइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हिजो बस्ने भनिएको बैठक पनि बस्न सकेन । यसले गर्दा केन्द्रीय सदस्यको कार्यविभाजन र तल्ला पार्टी कमिटीको एकता प्रक्रिया सकसपूर्ण बनेको छ । गत सोमबार नै सचिवालय बैठकबाट यसको टुंगो लगाउने भनिए पनि गृहकार्य नपुगेको भन्दै शुक्रबारका लागि बैठक सारिएको थियो । शुक्रबारको सचिवालय बैठकले शनिबार पुन बैठक बस्ने र ती विषय टुङ्ग्याउने निर्णय गरेको थियो । तर हिजोदेखि सुरु भएको एसिया प्रशान्त सम्मेलनमा प्रधानमन्त्री सहभागी बन्नु पर्ने हुनाले समय अभावका कारण बैठक बस्न सकेन । एक नेताका अनुसार अझै केही दिन यसको गृहकार्यमा लाग्ने भएका कारण बैठक तत्काल बस्न नसक्ने देखिएको छ । पार्टी एकता भएको ६ महिना बितिसक्दा पनि नेताहरूको कामको जिम्मा नतोकिँदा पार्टीका गतिविधि ठप्प बनेका छन् । यसले एकातिर सरकारका राम्रा कामलाई जनतामा लैजान समस्या भएको छ भने अर्कातिर पार्टी कार्यकर्तामा नैराश्यता छाउन थालेको छ । अहिलेको अवस्थामा पार्टीले शक्ति प्रदर्शन गर्न वा कुनै अप्रिय अवस्था सिर्जना भएमा जनतालाई त परै जाओस्, कार्यकर्ता जुटाउनसमेत समस्या हुने देखिएको छ ।

पार्टीको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन गरी तल्ला कमिटी र जनवर्गीय संगठनको एकता, प्रदेश कमिटीको पूर्णता, स्थायी समितिको बैठकलगायतका कार्यसूची तय गरिए पनि बैठक बस्न सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । कार्यविभाजनका लागि कार्यदल गठन भएको छ । नेकपाले केन्द्रीय तहमा बनाउनुपर्ने पोलिटब्युरो, ३२ विभाग र सल्लाहकार परिषद्लगायतका समिति हालसम्म गठन गरेको छैन । केन्द्रीय कमिटीको एक तिहाई सदस्य रहने गरी पोलिटब्युरो गठन गर्नु पर्नेछ । नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी बने पनि स्थायी कमिटीले राम्ररी काम गर्न पाएको छैन । संगठन विभाग, विदेश मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग र पार्टी स्कुल विभागलगायतलाई सचिवालयका सदस्यले नेतृत्व गर्ने भनिएको छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिने विषयमा अध्ययन गर्न कात्तिक ८ गते बसेको सचिवालय बैठकले सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदललाई पोलिटब्युरो, केन्द्रीय विभाग, जनवर्गीय संगठनको टुंगो लगाउने जिम्मेवारी दिइएको थिएन ।

उपलब्धिपूर्ण कदम

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना लागू भएसँगै नेपाली समाजले नयाँ उपलब्धि हासिल गरेको बताएका छन् । सरकारद्वारा मंगलबार आयोजित योजना कार्यान्वयन घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सिंगो नेपाली समाजलाई एउटा नयाँ युगतर्फ प्रवेश गराएकोले सामाजिक सुरक्षा योजनाले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका सबै नागरिकलाई समेट्ने नयाँ प्रणालीको थालनी गर्ने बताएका छन् ।
सरकारी सेवामा रहेकालाई, ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई बेवास्ता गरिने प्रचलनलाई सुधार्ने प्रयास थालिएको भन्दै प्रधानमन्त्री ओलीले श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरूप सिंगो समाज मिली सबैको संरक्षण गर्ने प्रणालीमा देश अघि बढेको बताए । यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र नभई, सबैका लागि हो भन्दै यो ज्याला रोजगारी हुने र नहुने, युवा हुन् वा वृद्ध, स्वस्थ हुन् कि बिरामी, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैलाई भएको बताए ।
लाखौं श्रमजीवी जनताको हितका पक्षमा सरकारले नयाँ कार्यक्रम घोषणा गर्दासमेत विपक्षीले तामझाम भन्दै आलोचना गरेको भन्दै प्रधानमन्त्रीले श्रमजीवी जनताका बीचमा सरकार रहेको बताए । जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा सरकार तल्लीन रहेको र त्यसलाई लागू गर्न आफू कटिबद्ध रहेको प्रधानमन्त्री ओलीले सुनाए । भोलि कसै कसैले यो तामझाम किन भन्नेहरूलाई ‘देखिने गरी, सुनिने गरी’ हाम्रा योजनाको जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताउँदै यसमा साथ दिने सहयात्रीहरूसँग खुसी र उत्सव मनाउन यो कार्यक्रम आयोजना गरिएको पनि उनले बताए । सरकारले यो काम राम्रो गरे पनि अझै गर्नुपर्ने कामहरू थुप्रै रहेको र यसैमा सन्तोष मान्ने अवस्था भने नरहेको आम नागरिकको बुझाइ रहेको छ । जाडो याम सुरु भइसकेको अवस्थामा नेताहरूको भाषण र आश्वासनले मात्र गरिब जनताको आङ नढाक्ने र न्यानो नहुने भएकाले न्यायो वितरण गर्न पनि सरकारले ध्यान दिनुपर्ने देखिन्छ । यसतर्फ सरकारको ध्यान पुग्यो भने मात्रै जनता सुखी र खुसी हुनेछन् ।