ओमदेवी मल्ल: सहकारीकी बलियो खम्बा


 कुरैकुरा:

तपाईंको नाम, जन्ममिति र ठेगाना बताइदिनुहोस् न ?
मेरो नाम ओमदेवी मल्ल हो । मेरो जन्म २०२९ साल साउन १९ गते गोर्खा जिल्लाको साविक धुवाकोट गाविसमा भएको हो । हाल ललितपुर महानगरपालिका २७ भ्यालीहोम्स सुनाकोठीमा बस्छु ।

हाल के गर्दै हुनुहुन्छ ?
सहकारी र समाजसेवाको क्षेत्रमा क्रियाशील छु ।

कहिलेदेखि लाग्नु भएको हो ?
विगत दुई दशकदेखि सहकारी र सामाजिक क्षेत्रमा काम गर्दै आएको छु ।

कमाई पनि राम्रै होला नि ?                                                                                                   कडा मेहेनत गरेर खान पुगेको छ । कमाइको लागि भन्दा पनि समाजका लागि केही गर्नुपर्छ भनेर लागि रहेको छु ।

सहकारी क्षेत्रमा त तपाइको ठूलो नाम छ नी ?
म काम गरेर नै राष्ट्रिय सहकारी महासंघको महिला उपाध्यक्ष र अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएर काम गरिरहेकी छु ।

पुरस्कार पनि ठूलै पाउनु भयो नि होइन ?
हो यसै वर्ष सरकारबाट सहकारी क्षेत्रमा योगदान पु¥याएवापत कदरस्वरूप सुप्रवल जनसेवा श्री (तृतीय) पदक पाएँ ।

परिवारमा को को हुनुहुन्छ ?
आमा, म, मेरो श्रीमान्, एक छोरा र एक छोरी छौं ।

बुबा कहिले के रोगले बित्नु भयो ?
९२ वर्षको उमेरमा हृदयघात भएर बित्नु भएको हो ।

बुबा आमा के गर्नुहुन्थ्यो ?
बुबा राजनीति गर्ने र आमा घर चलाउने गर्नुहुन्थ्यो ।

बुबाआमाको स्वभाव कस्तो थियो ?
मिलनसार, परोपकारी र सबैको हित चाहने समाजसेवी हुनुहुन्थ्यो ।

तपाईं सानोमा कस्तो हुनुहुन्थ्यो ?
आमाले भनेअनुसार चञ्चले, नयाँ कुरा जान्न खोज्ने जिज्ञासु र हठी स्वभावको थिएँ रे ।

तपाईंको नाम कसरी राखियो भन्ने बारेमा जानकारी छ ?
म बुबा आमाको प्यारी छोरी थिएँ रे आमाले जन्माउनेवित्तिकै मेरी छोरी संसारले मान्ने मान्छे हुन्छे भनेर बुबाले ओमदेवी राख्नु भएको भनेर आमाले भन्नुहुन्थ्यो ।

तपाईंको परिवारिक अवस्था कस्तो थियो ?
म गाउँको हुने खाने जमिन्दार परिवारमा जन्मिएको हुँ ।

सानोमा पिट्ने, पिटाइ खाने काम भएको छ ?
यस्तो कर्म मेरो जीवनमा कहिले भएन ।

बाल्यकाल कसरी बित्यो ?
आमा बुबाको लाड प्यारमा पढ्दै, खेल्दै रमाइलो ढंगले बित्यो ।

पहिलो र अन्तिम शिक्षा कहाँ लिनुभयो ?
प्रारम्भिक शिक्षा गाउँकै सिद्ध प्रावि र अन्तिम त्रिविबाट पीएचडी गर्न लाग्दैछु ।

पढाइको स्तर कस्तो थियो ?
म राम्रै छात्रा थिएँ, महिलामा फस्ट र समग्रमा टप टेनभित्र पर्थेँ ।

सरकारी जागिर खाने रहर लागेन ?
सरकारी जागिरको भोक कहिल्यै लागेन ।

किन ?
बुबाको प्रेरणाले मलाई सानैदेखि समाजसेवा गर्ने इच्छा थियो, त्यही भएर ।

कतिवटा संस्थामा रहेर के कस्ता काम गर्नु भयो त ?
दर्जनौं संस्थामा रहेर सहकारीकर्मीदेखि, राष्ट्रिय, अन्तर्राष्ट्रिय सहकारी नेतृहुँदै जनप्रतिनिधि माननीय समेत भएर सामाज सेवाका काम गरेँ ।

तपाईंलाई यो क्षेत्र नै किन मन प¥यो ?
जिज्ञासु, आफ्नो लागि आफैले गर्नुपर्छ, नाम कमाउनु पर्छ भन्ने र समाजसेवामा बढी चासो राख्ने खालको स्वभाव भएर होला ।

भोकै बसेको समय छ ?
पछिल्लो समयमा धेरै छ, त्यसको लेखाजोखा नै छैन ।

के कारणले ?
सामाजिक काम गर्दा र आफ्ना व्यक्तिगत काम गर्ने दौरानमा केही केही मान्छेको गलत कार्यले धोका पाएर जीवनमा ठूला ठूला हण्डर ठक्कर खाँदा बेचैन भएर ।

कसरी यो सफलतामा आउनु भयो त ?
असहज जीवनभित्रै असजिला काम गर्दागर्दै कामले नै सफल हुने काम सिकाउँदो रहेछ, बाटो देखाउँदो रहेछ ।

विवाह कहिले, कोसँग, कसरी गर्नुभयो ?
मेरो दुई विवाह हो, पछिल्लो विवाह ३ वर्षअगाडि केदार ढकालसँग प्रेम विवाह भएको हो ।

कसरी दुई विवाह गर्नुपर्ने अवस्था आयो त ?
मलाई असजिलो अवस्था आइपर्दा उहाँले मलाई बुझन सक्नुभएन, त्यसले सम्बन्ध पनि लामो हुन सकेन । अनि छोराछोरीको सल्लाहअनुसार एक अर्काको भावना बुझ्नेसँग विवाह भयो ।

विवाह धुमधामले गर्नुभयो ?
होइन, दुवैतिरका निश्चित आफन्त र साथीहरूलाई बोलाएर सामाजिक मान्यता र हामी जीवनसाथी बनेको सन्देश दिन थोरै खर्च गरेर विवाह गरेका थियौं ।

श्रीमान् के गर्नुहुन्छ ?
उहाँ नेपाल प्रहरीको अफिसर हुनुहुन्छ ।

दुवैजना पढेलेखेको, मर्यादित पेसामा हुनुहुँदो रहेछ, जीवन राम्रोसँग चलिरहेको होला नि ?
हो तपाईले भनेजस्तै दुवैजना डिग्री गरेको र दुवै आ–आफनो पेसामा रहेको अनि एकले अर्कालाई बुझको हुनाले जीवन सहज रूपले चलिरहेको छ ।

श्रीमान्को स्वभाव कस्तो छ ?
हाँसेर बोल्ने सबैसँग मिल्ने, सहयोगी, मेहेनती, र संस्कारयुक्त छ ।

बूढाबूढीबीच कहिलेकाँहि ठाकठुक पर्दैन ?
खासै पर्दैन । कहिलेकाही विचारमा फरक मत हुन्छ, तर एउटा बिन्दुमा गएर सहमति भइहाल्छ ।
श्रीमान्को तपाईंप्रति कस्तो अपेक्षा हुन्छ ?
जहाँसम्म सामाजिक प्रतिष्ठा बढोस्, परिवारमा रमाइलो र छोराछोरीको भविष्यप्रति उत्तरदायी होस् र अनावश्यक मतभेद नहोस् भन्ने ।

छोराछोरीलाई के बनाउने सोच छ ?
यस बारेमा हाम्रो कुनै योजना छैन । हामी उनीहरूको रूचि र क्षमताअनुसार अघि बढ्न सहयोग मात्र गर्छौं ।

राजनीतिमा कत्तिको चासो छ ?
म नेपाली कांग्रेसबाट संविधानसभा सदस्यसमेत भइसकेको हुनाले राजनीतिमा चासो छ । नौ नौ महिनामा सरकार फेरिएको देख्दा विरक्त लाग्थ्यो । तर, अहिले पाँचवर्षे स्थिर सरकार बनेकोले अब कम्तीमा पनि राजनीतिक स्थायित्व र विकास निर्माणका काम हुन्छन् कि भन्ने आशा जगाएको छ ।

तपाईंलाई मन पर्ने राजनेता कोही छन् ?
नेल्सन मण्डेला, पृथ्वीनारायण शाह, विपी कोइराला, मनमोहन अधिकारी र मदनकुमार भण्डारी मलाई मन पर्ने नेताहरू हुन् ।

जीवित नेतामा को मनपर्छ ?
विकासको सपना देखाउन सक्ने र अडान राख्न सक्ने नेताको हिसाबले प्रधानमन्त्री केपी शर्मा ओली, गतिशील र संघर्षको हिसाबले पुष्पकमल दाहाल प्रचण्ड मनपर्छ ।

दोहो¥याएर पढेको किताब कुन हो ?
बिश्वका प्रख्यात महिलाका किताबहरू, महाभारत र चाणक्य नीति पढेको छु ।

त्यसमा नकरात्मता छैन ?
चाणक्य नीतिमा महिलालाई हेपिएको छ ।

फेसबुक कत्तिको चलाउनु हुन्छ ?
समय मिलाएर चलाउँछु ।

कस्ता चिज मन पर्छ ?
प्रायः नयाँ प्रविधिसम्बन्धी सूचना र भिडियो हेर्न मन पर्छ ।

स्वदेश विदेश कत्तिको घुम्नु भएको छ ?
नेपालका लगभग ४० जिल्ला जति र विदेशका १२ देश जति घुमेको छु ।

नेपालको सबैभन्दा मन परेको ठाउँ कुन हो ?
पोखरा ।

खानपिनमा कस्तो रूचि छ ?
मलाई नेवारी खाना र फलफूल मन पर्छ ।

माछामासु कत्तिको खानुहुन्छ ?
खान्छु तर ठिक्क ।

मनपर्ने कपडा ?
नेपाली पोसाक साडी चोलो ।

खेलकुदमा कत्तिको रूचि छ ?
स्कुलमा भलिबल र लमजम्प खेल्थें । भलिबलमा त वीरेन्द्र सिल्डमा पनि खेलेको
छु ।

तपाईंका कमजोरी के के छन् ?
दुःखबाट धेरै ज्ञान सिकेर आएको हुनाले नढाँटी बोल्छु, जो कोहीलाई चाँडै विश्वास र सहयोग गर्छु । यसैलाई कतिपयले कमजोरीको रूपमा लिएर फँसाउने, दुःख दिने गर्दा रहेछन् ।

सबल पक्ष ?
जस्तोसुकै संघर्ष गर्न सक्ने, नडराउने र लडे पनि धुलो टक्टक्याउँदै उठेर निरन्तर संघर्षमा लागिरहने ।

आफ्नो काममा सन्तुष्टि, असन्तुष्टि के छ ?
काममा म पूर्ण सन्तुष्ट छु । सहकारी र समाजसेवाका काम गर्दा समय गएको पत्तै हुँदैन, रमाइलो लाग्छ ।

सुख दुःखका क्षण नि ?
पछिल्लो समय अर्काको गलत सल्लाहमा लागेर घर जग्गामा लगानी गर्दा कारोबार बन्द भएर २ करोडभन्दा बढी लगानी डुबी ४ करोडभन्दा बढी ऋण परेर पारिवारिक सम्बन्ध नै तहस नहस भएको क्षण सबैभन्दा दुःखद र संविधानसभा सदस्य हुँदाको क्षण सबैभन्दा सुखद लाग्छ ।

तपाईंको अम्मल केही छ ?
मेरो अम्मल भनेकै सहकारी बुझ्नु, बुझाउनु र यसको माध्यमबाट जनतालाई सुखी बनाउनु हो ।

भूमिका:

ओमदेवी मल्ल नेपालको सहकारी आन्दोलन सफल बनाउने एक साहसी महिला अभियन्ता मात्र होइन नेपाली महिलाले भोग्दै आएको घरेलु हिंसाको गतिलो प्रमाण पनि हुनुहुन्छ । त्यही जीवन भोगाइले सहकारी क्षेत्रलाई राम्रो बनाउन चालेको दृढ पाइला र महिलामाथि भैरहेका सबैखाले भेदभाव, अन्याय अत्याचार, घरेलु हिंसा अपमान, कुरीति कुप्रथा र गरिबीलाई समाप्त पार्ने दृढ इच्छाशक्ति प्रतिबद्धता र दरिलो विश्वाससहित उहाँले आफूलाई राजनीति र सहकारी आन्दोलनमा होम्नु भएको थियो । सहकारीमार्फत गरिबी हटाउने र महिला सशक्तिकरणको अभियानमा उहाँ दुई दशकदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । विभिन्न आरोह अवरोह, चुनौती र जटिलताहरूको सामना गर्दै सहकारीमार्फत समाज परिवर्तन र समृद्धिको आन्दोलनमा लाग्नु भएकी मल्ल हाल राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । २०७० सालमा संविधानसभा ससस्यसमेत भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकी मल्ल अदम्य साहस भएकी इमान्दार, शालीन र निष्ठावान् महिला नेतृ हुनुहुन्छ । उहाँले २०५५ सालदेखि सहकारी क्षेत्रमा प्रारम्भिक तहबाट नेतृत्व सुरु गर्दै जिल्लास्तरको विभिन्न पदमा रहेर हाल राष्ट्रिय सहकारी महासंघमार्फत सहाकरी आन्दोलनको नेतृत्व गर्दै नेपालको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सहकारी महासंघ क्ष्ऋब्को निर्वाचनमा निर्वाचित भई ग्लोबल बोर्ड सदस्यको रूपमा अन्तर्राष्ट्रियस्तरमा सहकारीको नीति निर्माण तहमा कार्यरत हुनुहुन्छ । देशमा व्याप्त बेरोजगारी समस्यालाई मध्यनजर गर्दै सहकारीको माध्यमबाट युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र मुलुकमा समृद्धि भित्र्याउन लागिरहनु भएको
छ । यही अदम्य साहसले आज उहाँलाई सहकारी आन्दोलनकी अग्रणी नेतृ बनाएको छ र उहाँका कामले धेरैलाई प्रेरणा दिएको छ । उनै चर्चित नेतृ मल्लको गौरवपूर्ण जीवनयात्रा अनुभव, अनूभूति एवं विविध पक्षलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

पारिवरिक पृष्ठभूमि र बाल्यकाल:

बुबा स्व. कृष्णदास र आमा राधामाया मल्लकी कान्छी छोरीको रूपमा २०२९ साल साउन १९ गते गोरखामा जन्मेकी ओमदेवी मल्लको बाल्यकाल माया र लाडप्यारका साथ गोरखामै बितेको थियो । सानोछँदा निकै उत्सुक, चञ्चले बानी र कान्ीछ छोरी भएको कारणले उनलाई सबैले मन पराउथे, मायाँ पनि धेरै गर्दथे रे । धेरै दाजुभाइ र दिदीबहिनीहरूको बीचमा हुर्केकी भएर होला उनलाई कसैले ठूलो स्वरले गाली गरे भने रून मन लाग्थो रे । अहिले समय र परिस्थिति फेरिएको छ, अहिले परिस्थितिसँग जुध्नु पर्ने भएको छ, त्यसैले अहिले छिट्टो आँसु झर्दैन भन्नुहुन्छ उहाँ । बाबु जमिन्दार र साहु भएका कारण सम्पन्न परिवारमा हुर्कनु भएकी मल्लका बुबा पञ्चायतीकालमा २४ वर्ष प्रधानपञ्च हुनुहुन्थ्यो । समय र परिस्थितिले पहिलो श्रीमान्सँग बिछोड भएपछि हाल नेपाल प्रहरीका एसपी केदार ढकालसँग ३ वर्षअघि मात्र वैवाहिक सम्बन्धमा बाँधिनु भएकी मल्लका एक छोरा एक छोरी छन् । उहाँका दुवै छोराछोरी अष्ट्रेलियामा हुनुहुन्छ । धन सम्पतिमा जिल्लामै कहलिएको उहाँको परिवार सामाजिक प्रतिष्ठामा पनि अगाडि रहेको  थियो । उहाका बुबालाई त्यतिबेला साहु र प्रधानज्यू भनेर सम्बोधन गरिन्थ्यो । त्यति सुसम्पन्न परिवारमा भए पनि न उहाँका बुबाआमामा बडप्पन छ न उहाँमा । उहाँको परिवार सभ्य, सुसंस्कृत, सबैको मिलन केन्द्र, परोपकारी, मिलनसार पूर्ण राजनीतिक चेतना भएको शिक्षित र खानदानी देखिन्छ । उहाँका बुबाले तीन विवाह गर्नु भएको थियो । पहिलो श्रीमती बितेको, दोस्रो श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि तेश्रो श्रीमतीको रूपमा आफ्नो आमालाई विवाह गरेको उहाँ बताउनुहुन्छ । उहाँका सबै गरेर १७ जना दाजु र दिदी छन् र सबै आ–आफ्नो पेसामा कार्यरत छन् । उहाँका २ छोराछोरी अष्ट्रेलियामा अध्ययनरत छन् ।

अध्ययन:

सम्पन्न मल्ल परिवारमा जन्मनु भएकी ओमदेवी मल्ल पढाइमा निकै रूचि राख्ने छोरीमा पर्नु हुँदोरहेछ । प्रारम्भिक शिक्षा कखरा बुबाले गाउँमै बनाउनु भएको स्कुल सिद्ध प्राविमा भएको थियो । घरको कुनै कुराले शिक्षा आर्जनमा समस्या थिएन उहाँलाई । उहाँले माध्यमिक तहको शिक्षा गोरखामै पूरा गर्नुभयो भने उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आएर बागबजारमा रहेको पद्यकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभयो । त्यस्तैगरी उहाँले भारतको दिल्लीबाट सन् २००५ मा डिप्लोमा इन कोअपरेटिभ एजुकेशन म्यानेजमेन्ट कोर्ष पूरा गर्नुभएको छ । अब पीएचडी गर्ने योजनामा रहनु भएकी मल्लले शिक्षामा पनि योगदान गर्नु भएको छ । उहाँले थुप्रै गरिब जेहेन्दार विद्यार्थीलाई आफ्नै खर्चमा पढाएर सहयोग गरिरहनु भएको छ ।

राजनीतिक यात्रा:

हाल सहकारी र समाजसेवालाई सँगै अगाडि बढाइरहनु भएकी ओमदेवी मल्ल उच्चशिक्षा हासिल गर्नका लागि काठमाडौंको पद्यकन्या क्याम्पसमा भर्ना भएपछि उहाँलाई त्यहाँको राजनीतिले छोयो । त्यहाँ नेपाल विद्यार्थी संघको सदस्यता लिएर विद्यार्थी राजनीतिमा हाम फालेकी मल्ल समय र परिस्थितिसँगै राजनीतिलाई दोस्रो स्थानमा राखेर सहकारी आन्दोलनमा समृद्धि र सुखी परिवारका लागि होमिनु भयो । उहाँले सहकारी नै पढ्नु भयो, सहकारीमै पसिना भिजाउनु भयो, सहकारीले नै काम दियो अनि नाम दियो । यतिसम्म कि सहकारीले राजनीतिलाई समेत ओझेलमा पा¥यो । यद्यपि, उहाँलाई राजनीति भोकले भने छोडेको छैन । राजनीतिबाटै सम्पूर्ण नीति नियमहरू बन्ने कुरा बुझ्नु भएकी उहाँलाई पुनः राजनीतिमा प्रवेश गर्न मन लाग्यो र नेपाली कांग्रेसमा रहेर काम गर्न थाल्नुभयो किनकी उहाँ नेपाल विद्यार्थी संघकी सदस्य हुनुहुन्थ्यो । नेपाली कांग्रेसले दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट उहाँलाई सभासद् मनोनयन ग¥यो । सभासद् भएपछि उहाँले राजनीतिबाट सहकारी क्षेत्रमा जति गर्न सकिन्थ्यो त्यति गर्नुभयो । उहाँले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि सहकारी ऐन, निर्माणमा ठूलो भूमिका निर्वाह गर्नु भएको छ । सहकारीमा हुँदा जे पनि सम्भव छ जस्तो लाग्ने उहाँलाई राजनीतिमा प्रवेश गरिसकेपछि चाहेर पनि केही काम गर्न नसक्दा राजनीतिप्रति कुनै समय वितृष्णा पनि जागेको देखिन्छ ।

आँट र साहस:

ओमदेवी मल्ल साहसिली महिलाको ज्वलन्त उदाहरण हो । नेपाली महिलामाथिको घरेलु हिंसा, शोषण, दमन, विभेद र गरिबीले गर्दा सहकारी आन्दोलन र राजनीतिमा जान बाध्य पारेको थियो । बाल्यकालदेखि नै सोझी र इमान्दार ओमदेवी मल्ल नेपाली समाजमा महिला हिंसा, अन्याय अत्याचार अहिले पनि चरम रहको र आफूले यस्ता समस्याको प्रत्यक्ष अनुभूति गरिसकेको बताउनु हुन्छ । यही सन्दर्भमा उहाँ भन्नुहुन्छ ‘आज समाजमा बोक्सी, छाउपडी, जातपात, दाइजो, छोरा नपाएको लगायत थुप्रै नाममा महिलाहरूले हिंसा सहनु परेको, ज्यानै गुमाउनु परेको , घर छोड्नु परेका र घरपरिवारको इच्छाविपरीत जाँदा घरपरिवारबाट निक्लनु परेको घटना हाम्रो समाजमा अझै भएको बताउनु हुन्छ । उहाँले पनि यस्ता पीडा, उतारचढाव थुप्रै व्यहोर्नु भएको छ । यस्ता समस्यालाई चिर्दै उहाँ अहिले यो स्थानमा आइपुग्नुभएको छ । यसले उहाँलाई सहकारी र महिला हिंसाविरुद्धको आन्दोलनमा लाग्न दबाब सिर्जना गरेको छ, काम पनि गरिरहनु भएको छ । यो नै उहाँको अदम्य आँट र साहस हो ।

जीवनशैली:

समपन्न जमिन्दार परिवारमा जन्मिए पनि ओमदेवी मल्लको जीवनशैली असाध्यै सामान्य छ । खुला र सफा हृदय, स्पष्ट र दृढ मान्यता, काम र जिम्मेवारीप्रति सचेत र संकल्पित, निष्ठापूर्ण सर्मपण भाव, उत्तेजनारहित र विवेकपूर्ण व्यवहार अन्याय र अत्याचारप्रति विद्रोहपूर्ण कदम अपनाउने उहाँ समयको गति र परिवर्तित सन्दर्भका हरेक पाइलामा आफूलाई समायोजन गर्दै अगाडि बढिरहनु भएको छ । छोरा र छोरीमा भेदभाव हुनुहुदैन, छोराले जति छोरीले पनि गर्न सक्छन् भन्ने मान्यता बोक्नु हुने उहाँ जस्तोसुकै कामलाई चुनौतीका रूपमा लिएर कुशलतापूर्वक सम्पन्न गर्नुहुन्छ । सुख सयल मोजमस्तीभन्दा उत्पादन, सिर्जनशीलता र अध्ययनमा बढी ध्यान लगाउने उहाँ त्यतिकै शालीन र इमान्दार पनि हुनुहुन्छ । मेरोभन्दा पनि हाम्रो र निजीभन्दा सामूहिक सन्दर्भ र स्वार्थलाई प्राथमिकतामा राखेर स्वाभिमानयुक्त जीवन अगाडि बढाउने उहाँको दृष्टिकोण आम मानिसका लागि प्रेरणादायी छ । सामाजिक काम, सामाजिक सन्तुष्टि र सामाजिक प्राप्तिमा रमाउने ओमदेवी न्याय समानता र सामूहिक सम्मान, सहकारीबाट सामूहिक समृद्धि खोज्ने अभियानमा लागिरहनु भएको छ । नयाँ नयाँ विषयको अध्ययन गर्ने, भ्रमण गर्ने, जानकारी लिने, राजनीतिक, सामाजिक र उत्पादनशील काममा लागिरहने अनि सबैलाई सहयोग गर्ने उहाँको जीवनशैली देखिन्छ ।

सहकारीमा अन्तर्राष्ट्रिय सहभागिता:

उहाँ सहकारी क्षेत्रको अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २००५ देखि नै सहभागी हुनुभयो । उहाँको पहिलो अन्तर्राष्ट्रिय क्षेत्रमा सहमागिता भारतबाट सुरु भएको थियो । सन् २००७ मा उहाँले श्रीलंकाको सहकारी संघ संस्थाहरूको, सन् २००८ मा दुर्गम क्षेत्रका उद्यमशील महिलाहरूको लागि दिगो विकास तालिममा जापानमा, सन् २००८ मै फिलिपिन्स, बेलायत र श्रीलंका, सन् २००९ मा मलेसिया, सन् २००९ मै स्वीजरल्याण्ड,२०१० मा क्रेडिट व्यवस्थापन तालिमको लागि कोरिया, सन् २०११ मा चीन, भारत, पुनः चीन र मेक्सिको, सन् २०१२ मा बेलायत, जापान, सन् २०१३ मा दक्षिण अफ्रिकामा, सन् २०१४ मा फिलिपिन्स, २०१५ मा क्यानडा, सन् २०१६ मा कोरिया,सन् २०१७ मा भियतनाम र मलेसियामा भएको अन्तर्राष्ट्रिय सहकारी महासम्मेलनमा राष्ट्रिय प्रतिनिधिको रूपमा भाग लिएर महत्वपूर्ण अनुभव हासिल गर्नु भएको छ भने सन् २०१७ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय सहकारी महासंघको चुनामा बोर्ड सदस्य चुनिएपछि भने उहाँ बोर्ड सदस्यको रूपमा २०१८ मा बेल्जियम,फ्रान्स र अर्जेन्टिनामा सहभागी हुनुहुने भएको छ ।

सहकारी संघर्ष र पदक

ओमदेवी मल्ल सहकारीमा दुई दशकभन्दा बढी समय बिताएको परिचित र चर्चित नाम हो । जसमा उहाँको रगत, पसिना, संघर्ष र मेहनत मिसिएको छ, त्यसैले सहकारी उहाँको लागि सान हो, मान हो, अध्ययन हो, हिम्मत हो, अनि सबैथोक हो । उहाँ हाल विश्वभरका सहकारी संस्थाहरूको साझा संगठन आईसीएको सञ्चालक सदस्य हुनुहुन्छ । यसको श्रेय उहाँको धैर्य, आत्मविश्वास, सहकारीप्रतिको लगाव र सहकारीबाट कमाएको मायालाई जान्छ । उहाँले सहकारीको नाममा आफ्ना सम्पूर्ण व्यक्तिगत सुख सुविधालाई तिलाञ्जली दिनुभएको छ । उहाँले यसमा लाग्दा थुप्रै आरोह अवरोह, दुःख कष्ट खेप्नुभएको छ । उहाँले जीवनका अत्यासलाग्दा छाल र घुम्तीहरू पार गर्नुभएको छ, साथीहरूको गलत सल्लाहले उहाँको परिवार क्षेतविक्षत भएको छ । उहाँले ठूलो संघर्ष गर्नुभएको छ त्यसैले अहिले उहाँ खुसी, सुखी र सफल हुनुहुन्छ । उहाँ ६ वर्षको बच्चा छोडेर सहकारीको डिप्लोमा अध्ययनको लागि दिल्लीसमेत पुग्नुभएको छ । उहाँले सहकारी क्षेत्रमा गरेको योगदान सहकारी क्षेत्रले कहिल्यै भुल्न सक्दैन । राजनीति र सहकारी फरक पाटो भए पनि उहाँले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नु भएको छ । उहाँलाई राजनीतिमा कूटनीतिक भाषाको प्रयोग गर्नुपर्ने बाध्यता पनि कुनै बेला आइपरेको छ । सहकारी क्षेत्रमा सोझो, सीधा र सत्य कुरा बोल्ने बानी भएकोले उहाँलाई सुरु सुरुमा त निकै कठिन भयो रे । कुरा गर्न सहज तर काम गराउन गाह्रो हुने कुराको भुक्तभोगी मल्ललाई केही समयअघि सरकारले सहकारी क्षेत्रमा ठूलो योगदान दिएको कदरस्वरूप सुप्रवल जनसेवा श्री  (तृतीय)ले सम्मानसमेत गरिसकेको छ । सरकारको यो कामले उहाँलाई आफ्नो काममा लाग्न थप प्रेरणा मिलेको उहाँको भनाइ छ । संविधानसभामा रहेका सदस्यहरूमध्ये केशवप्रसाद बडाल र ओमदेवी मल्लबाहेक अरूले सहकारी ऐन निर्माणमा खासै ध्यान दिएका थिएनन् । तर, उहाँहरू यही क्षेत्रको अभियन्ता भएको नाताले सहकारीमैत्री ऐन आउनुपर्छ भन्ने ध्येयका साथ काम गरेर अन्ततः उहाँहरूकै बलमा सहकारीमैत्री ऐन आयो । सहकारी ऐन आएपछि कसै कसैले उहाँलाई नकारात्मक कुराहरू भने पनि उहाँ त्यसलाई सहज रूपमा लिनुहुन्छ ।

अनुभव र अनुभूति:

सहकारी, समाजसेवा र राजनीतिको क्षेत्रबाट समृद्धि भित्र्याउन हामफाल्नु भएकी ओमदेवी मल्ललाई आफ्नो जीवनदेखि कुनै गुनासो छैन रे । यसै सन्दर्भमा उहाँ भन्नुहुन्छ ‘अहिले म विश्व हल्लाउन सक्ने महिलाहरू हिलारी क्लिन्टन, ओपरा विन्गफ्रे, एन्जेलिन मार्केल लगायतका सफल महिलाहरूको जीवनी पढिरहेको छु । महिलाहरू सफल हुनका लागि ठूलो चुनौती सामना गुर्नपर्छ । एक महिला छोरी, बुहारी, सासू, आमालगायतका पारिवारिक बन्धनमा झेलिनु पर्दछ र उनीहरूले ती पारिवारिक सम्बन्धलाई मजबुत बनाउदै काममा पनि दक्षता देखाउनु पर्दछ ।’ यी कुरा सफल महिलाहरूको जीवनी पढेर बुझेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘जब म उनीहरूको जीवनी पढिरहेको हुन्छु, मेरो जीवनमा घटेका विभिन्न घटनाहरू उनीहरूको सामु फिक्का र साना लाग्न थाल्छ र मभित्र एक प्रकारको उर्जा थपिन्छ ।’ उहाँले सुखद दुःखद थुप्रै खालका अनुभव र अनुभूति संगाल्नु भएको छ । घरेलु हिंसामा परेर घर छोडी हिड्नु परेको तीतो अनुभव पनि छ उहाँसँग । नेपालको सामजिक जीवनका बारेमा र महिलाले भोग्नु परेका समस्याका बारेमा बुझाएको सन्दर्भ पनि छ । सिंगो राष्ट्रिय सहकारीको नेतृत्व र अन्तर्राष्ट्रिय सहकारीको बोर्ड अफ मेम्बरको अवसर पनि उहाँलाई जु¥यो । उहाँले सामाजिक प्रतिष्ठान पनि उच्च प्राप्त गर्नुभयो, पद र जिम्मेवारी पनि पाउनु भयो यो उहाँको सुखद अनुभूति हो । यो सफलतामा आउनका लागि अग्रज तथा संरक्षक बुबा समानका नेता केशव बडाल, श्रीमान् केदार ढकाल र बुबाआमाको सहयोग रहेको उहाँ बताउनुहुन्छ । यी सबै कुरालाई हेर्दा उहाँले थुप्रै खालका अनुभव र अनुभूति सम्हाल्नु भएको देखिन्छ । उहाँले संविधानसभा सदस्य, ग्लोबल बोर्ड सदस्य ( अन्तरराष्ट्रिय सहकारी महासंघ ) आईसीए, उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ नेपाल, अध्यक्ष, जिल्ला कृषि सहकारी संघ, ललितपुर, अध्यक्ष (रिलायवल वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रहेर काम गर्नुभएको छ भने उहाँले भारत, हङ्ककङ, मलेसिया, जापान, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, इटाली, श्रीलंका, माल्दिभ्स, कतार, भेटिकन सिटी, चीन, दुवई, दक्षिण कोरिया, मेक्सिको, अमेरिका, स्कटल्याण्ड, दक्षिण अफ्रिका, क्यानडा, भियतनाम, बेल्जियम, अष्ट्रेलिया, अर्जेन्टिना र इरानको अध्ययन भ्रमण गर्नुभएको छ ।