सरकारको काम कारबाहीले जनता आक्रोशित नबनुन्


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक हिजो पुनः बस्ने भनिएको बैठक फेरि स्थगित भएको छ । प्रदेश कमिटीको टुंगो लगाएको सचिवालयको हिजोको बैठकमा तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल हुने भनिएको थियो। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ३ बजेपछि बोलाइएको बैठकमा प्रधानमन्त्री उपस्थित नभए पछि चार जना स्थायी नेताहरूले बैठक बहिष्कार गरी हिँडेको एक नेताले बताएका छन् । उक्त बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनका विषयमा पनि छलफल हुने भनिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि झण्डै साढे चार सयको केन्द्रीय समिति बने पनि हालसम्म कार्यविभाजन गरिएको छैन । जिम्मेवारी नपाएको भन्दै केन्द्रीय सदस्यले पटक पटक नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका थिए । सोही विषयमा छलफल गर्न नेकपाले गत शुक्रबार बोलाएको सचिवालय बैठक नेताहरूको कार्य व्यस्ततालाई कारण देखाउँदै स्थगित भएको थियो भनी शनिबार बोलाइएको बैठक पनि स्थगित भएको छ । यसले पार्टीभित्र अन्यौलता सृजना गरिएको छ ।

यो सरकार नौ महिने सरकारको उपलब्धि
२०५१ सालको नौ महिने सरकारले ल्याएका सुधारका कार्यक्रमले कम्युनिस्ट पार्टीको सरकार लोकप्रिय भएको थियो । हालको दुई तिहाईको कम्युनिस्ट सरकार त्यसैको उपलब्धि हो भन्दा फरक नपर्ला । तर यो सरकारले जनअपेक्षाअनुुसार काम गर्न नसक्दा र सरकार विधि, सिद्धान्तमा नचल्दा सरकारको लोकप्रियता घट्दै गएको छ । दुई तिहाई सरकारको सरकारी कार्यालयमा घूस नखुवाई कुनै पनि काम हुँदैन, त्यसलाई नियन्त्रण गर्ने बारेमा सरकारले ध्यान दिदैन, पार्टीका राम्रा र इमानदार कार्यकर्तालाई पार्टीको कमिटी प्रणालीमा ल्याउन छोडेर आफ्ना गुटका कार्यकर्तालाई पार्टीमा भर्ना गरेका छन् । कम्युनिस्ट पार्टीमा नियमितता र मूल्यांकनको परिपाटी अन्त्य भएको छ । यसले पार्टी र सरकार कमजोर बन्दै गएको देखिन्छ । पार्टी एकीकरणपश्चात नौजनाको सचिवालयलाई सर्वाधिकार सम्पन्न बनाउनु हुँदैनथ्यो । सचिवालयबाहेक स्थायी कमिटीको बैठक बसेको कहिल्यै सुनिँदैन । पार्टीको बैठक पनि बेला र परिस्थितिअनुसार बस्न सक्दैन, नेताहरूलाई आईएनजीओको सम्मेलनमा गएर होटलमा मजाले ४ दिनसम्म बस्न, रक्सी खान, छर्किन समय हुन्छ तर बैठक बस्ने समय हुँदैन । यस्ता नेताले कसरी कम्युनिस्ट पार्टी हाँक्छन् ? पार्टी हाँक्ने भनेको नीति, विधि, सिद्धान्त, विचार र कार्यक्रमले हो तर त्यो आज सबै मिचिएको छ । यसले कम्युनिस्ट पार्टी बदनाम हुँदैछ । कम्युनिस्ट पार्टीमा लाग्दा सुख पाइन्छ भनेर यो पार्टीमा मान्छेहरू लागेका छन् । तर, उनीहरूलाई नेताले न्याय गरेका छैनन् । कम्युनिस्ट पार्टीमा क्रान्ति होला मुलुकले परिवर्तनको अनुभूति गर्ला भनेर लागेका मान्छेहरू धेरै अन्यायमा परेका छन् । त्यसको कारण हो नेता पार्टीको नीति सिद्धान्तमा नचल्नु । त्यसका अलवा नेताका गलत स्वभावमा परिवर्तन नहुनु, सामाजिक सुधार नहुनु, गरिब सुकुम्बासी र मजदुरका पक्षमा काम गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण गर्न नसक्नुजस्ता कुराले जनताले दुःख पाएका छन् । यतिबेला कम्युनिस्ट पार्टीको सरकार छ । तर, एकीकरण भएको भनेको पार्टीको संरचना अहिले पनि अन्योलमा छ । कार्यकर्ता निरास छन् अहिले पार्टीमा क्षमतावान र नैतिकवानलाई पछाडि पारिएको छ । गुटका मान्छेले ठाउँ पाएका छन् । लामो सयम पार्टीमा लागेका नेता कार्यकर्ता अहिले पार्टीभन्दा बाहिर छन् । मुलुकमा इतिहासकै बलियो दुई तिहाईको कम्युनिस्टको सरकार छ तर जनतामा असन्तुष्टि, निरासा र गुनासा बढिरहेका छन् । नेपाली जनताले परिवर्तनको अनुभूति पाउने भनेको कम्युनिस्टबाटै हो तर यो कहिले पूरा होला भनेर भन्न सकिने ठाउँ छैन । अहिले कम्युनिस्ट पार्टीबाट सरकारमा पुगेका मान्छेहरूका हातमा उत्पादनका साधन छन् ती मेसिनरीलाई रूपान्तरण गरी गरिबको पक्षमा लाग्नुको सट्टा ती शासकहरू नै रूपान्तरण भएका कारण गरिबको हितमा काम हुन नसकेको हो । जसले गर्दा सरकारप्रति जनताको आलोचना बढेको छ । सामाजिक सुरक्षा छैन । विकास निर्माणमा जनताको अपेक्षाअनुसार काम भएन भन्ने छ । जनताका काम भएनन् भने कर्मचारी बदनाम हुँदैन, सरकार बदनाम हुन्छ । त्यसैले, नेताहरूले हरेक विषयमा गम्भीर भएर अध्ययन गर्नुपर्छ । सचेत भएर काम गर्नुपर्छ, कर्मचारीको लहैलहैमा लागेर फस्ने काम गर्नु हुँदैन । मुलुक विकास हुने भनेकै अर्थ तन्त्रले हो । अहिले कम्युनिस्ट पार्टीको सरकार छ । तर, एकीकरण भएको भनेको पार्टीको संरचना अहिले पनि अन्योलमा छ । पार्टीको सिद्धान्त के हो, माओले के पढाएका थिए ? त्यो कसैलाई चासो छैन । जनता कम्युनिस्ट पार्टीको नेता इमानदार र नैतिकवान् बनून् भन्ने चाहन्छन् तर अधिकांश कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता भ्रष्टाचारमा लिप्त भएका छन,यो विडम्बना त हो नै पार्टी दक्षिणपन्थी भासमा जाने संकेत पनि हो । यसलाई तुरुन्त रोक्नुपर्छ अनिमात्र सच्चा पार्टी बनाउन सकिन्छ । यसतर्फ नेतृत्वको यथाशीघ्र ध्यान जाओस् ।