एसिया प्यासेफिक समिटको गम्भीर छानबिन हुनुपर्छ


स्पष्टवक्ताका रूपमा चिनिने भीम रावल नेकपाका स्थायी समिति सदस्य, पूर्वउपप्रधानमन्त्री, रक्षा र गृहमन्त्री एवं सात नं प्रदेश इञ्चार्ज हुनुहुन्छ । हालै सम्पन्न एसिया प्यासिफिक समिटको विषयलाई लिएर खरो टीप्पणी गर्नु भएका नेता रावलसँग कार्यक्रम आयोजनाले नेपालमा पार्ने असर र आर्थिक क्रियाकलापको सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंशः

हालै सम्पन्न एसिया प्यासिफिक समिटको विषयलाई लिएर खरो टिप्पणी गर्नु भयो पार्टीको प्रतिक्रिया कस्तो आयो ?

यस्ता विषयहरूमा निर्णय गर्दा पार्टीभित्र छलफल गरेर गर्नुपर्छ भन्ने म ठान्छु । यो कार्यक्रमको आयोजना गर्ने कुरा सुनेपछि पार्टीभित्रै छलफल गर्न इच्छुक थिएँ । धेरै दिनअगाडि नै यस विषयमा पार्टीका अध्यक्षद्वयको ध्यानाकर्षण गराएको पनि थिएँ । म विद्यार्थी हुँदा नै दक्षिण कोरियाली नेता मुनका बारेमा सुनेको थिएँ । न्युजविकलगायतका पत्रिका पढ्दा उनी अत्यन्त विवादास्पद व्यक्ति भएको कुरा त्यतिबेला सञ्चारमाध्यममा आएको कुरा मेरो स्मरणमा ताजै थियो ।

अहिले सरकार स्वयम् त्यस्तो खालको सम्मेलनमा संलग्न हुने कुरा सुनेपछि मैले प्रधानमन्त्री, पार्टीका अध्यक्षद्वय र महासचिवको ध्यानाकर्षण गराएको थिएँ । सम्मेलन अयोजना त आफ्नो ठाउँमा छ, कार्यक्रममा नेकपाका सम्पूर्ण निर्वाचित नगरका प्रमुख उपप्रमुख दम्पत्तिलाई आशीर्वाद दिने र ज्याकेटसम्म दिने प्रलोभन देखाइएको थियो । पार्टी र सरकार कुनै संस्था वा कसैको निहित स्वार्थमा दुरुपयोग हुनुहुँदैन भन्ने मेरो धारण थियो । किनभने सरकारलाई यसै पनि जनताले सुपरीवेक्षणमा राखिरहेका हुन्छन् भने कतिपय विषयमा विरोधीले प्रहार गर्न खोजिराखेका हुन्छन् । तर मैले ध्यानाकर्षण गराएको कुरा र व्यवहारमा तालमेल देखिनँ । मैले राखेको कुरा पार्टीभित्र छलफल नभएपछि पार्टीको भविष्यलाई प्रभाव पार्ने, जनताको हित, राष्ट्रको गरिमा र सरकारको मर्यादामा प्रभाव पार्ने कुरामा अहिले सार्वजनिक रूपमा बोल्न बाध्य भएको हुँ ।

एउटा संस्थाको कार्यक्रममा सरकार किन यसरी लाग्यो होला
त ?

मलाई पनि आश्चर्य लागेको छ । कुनै पनि गैरसरकारी संंस्था वा व्यक्ति विशेषको कार्यक्रममा सरकार आयोजक हुँदैन, त्यसका लागि पहल गर्दैन । राम्रो संस्था छ, राम्रो कार्यक्रम छ भने केही सहयोग गर्न सक्छ तर कुनै बेला उत्तर कोरियाबाट जासुसी गरेको अभियोगमा ५ वर्ष कैद सजाय गरिएका, अमेरिकामा कर छलेको अभियोगमा १८ महिना कैदमा परेका, बेलायतमा १९९५ मा प्रवेश निषेध गरिएका मुन भन्ने व्यक्तिले यो युनिफिकेसन चर्च भन्ने संस्था खोलेका हुन् । यस्तो संस्थालाई सरकारले अगाडि सारी विभिन्न देशका विशिष्ट पाहुनालाई बोलाएर कार्यक्रम गर्नु त्यसमा पनि आफंै सहभागी हुनु अत्यन्तै दुःखको कुरा हो ।

यसको मतलब कार्यक्रम नै गर्न दिनु हुँदैन थियो भन्न खोज्नु भएको हो ?

मैले सञ्चारमाध्यममा पढेअनुसार कुरा राखेको हुँ । सरकारले यस विषयमा छानबिन गरोस् । म गृह मन्त्रालयलाई आग्रह गर्छु । पहिलो, परिवार दलका नेताहरूले नक्सालमा कार्यालय खोलेर कैयौं नेपालीहरूलाई रकम सङ्कलनको नाममा दक्षिण कोरिया, जापानजस्ता देशहरूमा पठाएर त्यहाँका सडकमा पैसा माग्न लगाएर नेपालको बेइज्जत भइरहेको छ र त्यहाँका मानिस मगन्तेहरूबाट आजित भएका छन् भन्ने समाचार आएको छ, यो कुरा के हो ? दोस्रो, यत्रो ठूलो कार्यक्रम गर्न जरूरी थिएन । हाम्रा सम्पूर्ण जननिर्वाचित प्रतिनिधिलाई अहिलेसम्म पार्टीको तर्फबाट बोलाएर हामीले एउटा प्रशिक्षण दिन सकेका छैनौँ । अनि दम्पतीसहित आएर होटलमा बस्ने, ज्याकेट दिन्छु भनेर प्रलोभन देखाउने ? नेपालमा मनी लन्ड्रिङको आफ्नै नियम छ । त्यत्रो रकम कहाँबाट आयो, कसले दियो, कसरी खर्च भएको छ र यसमा को–को संलग्न छन् ? यसको छानबिन हुनुपर्छ ।

भूराजनीतिक अवस्था जटिल भएको नेपालजस्तो देशले यस्तो समयमा धेरै विचार पु¥याउनुपर्छ । अहिले आङ सान सुकीलाई यहाँ बोलाइयो । कुनै बेला म पनि उनलाई आदार गर्थें । उहाँले नोबेल पुरस्कार पनि पाउनुभयो । तर अहिले रोहिंग्या शरणार्थीको विषयलाई लिएर संयुक्तराष्ट्र संघ, कतिपय युरोपेली मुलुक र थुप्रै देशहरूले उहाँको आलोचना गरिरहेका छन् । कतिले त उहाँलाई दिएको सम्मान पनि फिर्ता लगेका छन् । अनि यस्तो संवेदनशील कूटनीतिमा सरकारले विचार गर्न पर्दैन ? कतिपय साथीहरूले तर्क गरेको सुनेको छु, उहाँहरूले अंग्रेजी शब्द प्रयोग गर्दै यो त ‘होस्ट’ गरेको हो भन्नुभएको छ । होस्टको नेपाली अनुवाद नेपाली जनताले बुझ्छन् होला नि । त्यसको शब्दार्थ अनुवाद गर्ने हो भने म अनुवाद गरिदिन्छु । अतिथिहरूलाई सेवा र स्रोत जुटाउने काम जसले गर्छ त्यसलाई अंग्रेजी शब्दमा बेलायतीहरूले शब्दकोशमा ‘होस्ट’ भन्छन् । अनि के सरकारले यस्तो विवादास्पद संस्थाको कार्यक्रम ‘होस्ट’ गर्न मिल्छ ?

पैसा सरकारले दिएको छ र ?

त्यही त म भन्दै छु यदि दिएको रहेछ भने त्यो आपत्तिजनक हो । नेपाली जनताले तिरेको कर यस्तो विवादास्पद संस्थाको विवादास्पद कार्यक्रममा खर्च गरेको हो भने अत्यन्त आपत्तिजनक कुरा हो । यो गर्नुहुँदैन थियो । यो संस्था राम्रो थियो, विश्वव्यापी छवि राम्रो थियो, त्यसले साँच्चिकै नेपालको छविलाई माथि पाथ्र्यो भने पनि प्रधानमन्त्री आफैले चिठ्ठी लेखेर विभिन्न देशका मान्छेलाई यो देशमा आउनु भनेर निम्तो दिन मिल्दैन । मैले थाहा पाएसम्म प्रधानमन्त्रीको नाम प्रयोग गरेर पत्राचार गरिएको छ र पत्रमा भनिएको छ, यो पत्र परिवार दलका एकनाथ ढकालजीले प्रस्तुत गर्नुहुनेछ ।

के हो यो ? एकनाथ ढकालजी र सरकारको सम्बन्ध के हो ?

उहाँप्रति मैले यसरी नाम लिँदा कसैले विरोध भन्ने ठान्ला तर म तथ्य मात्र बोल्दैछु । उहाँको मैले दुई–तीन दिन अगाडि रेडियोमा अन्तर्वार्ता सुनेको थिएँ । अन्तर्वार्तामा उहाँले भन्नुभयो, ‘म कम्युनिस्ट होइन । मेरो छुट्टै परिवार दल छ ।’ उहाँको कम्युनिस्टसँग ३ बँुदे कार्यगत एकता भएको थियो । त्यसबाहेक उहाँको के योगदान छ कम्युनिस्ट आन्दोलनमा ? उता मुन पनि घोर कम्युनिस्टविरोधी थिए । उनकी श्रीमती अहिले जो यहाँ नेपाल आएकी छिन, उनको परिवार घोर कम्युनिस्टविरोधी  थियो । त्यसैले उत्तर कोरियाले निकाल्यो । मुनले त कम्युनिस्टहरूलाई शैतान भन्थे । म त्यो तथ्यसहित पेस गरिदिन सक्छु । अनि त्यस्तो व्यक्तिलाई नेपाल कम्युनिस्ट पार्टीको यस्तो शक्तिशाली सरकारले काँधमा राखेर प्रधानमन्त्री स्वयंले विभिन्न देशलाई पत्र लेख्नु यो धेरै दुःखको कुरा हो ।

४५ राष्ट्रका कतिपय राष्ट्रप्रमुख, कतिपय सरकारप्रमुख, साथै हाम्रै देशका पनि मूर्धन्य नेताहरू, प्रधानमन्त्री, मन्त्री नबुझी गएका हुन् त कार्यक्रममा ?

अब उहाँले बुझ्नुभयो बुझ्नुभएन त्यो उहाँहरूको कुरा हो । मैले त आफुले बुझेको कुरा भन्ने हो । कुनै नेताहरू जाँदैमा कुनै कार्यक्रम भयंकर पवित्र हुन्छ र भयङ्कर गजब भइहाल्छ भन्ने होइन । जहाँसम्म विभिन्न देशका मान्छे आए भन्नुहुन्छ, कस्ता देशका मान्छे आएका छन् ? के चीनका, भारतका प्रधानमन्त्री, राष्ट्रपति यहाँ आउनुभएको छ ? युरोपका आएका छन् ? जापानका आएका छन् ? जापान नेपालको ठूलो सहयोगी राष्ट्र हो । बेलायतमा त प्रतिबन्ध नै थियो यो संस्थालाई अनि को आउने ? अनि सानातिना राष्ट्रका मान्छे जो विभिन्न कारणबाट प्रभावित हुन्छन् र विभिन्न कूटनीति र विभिन्न देशबाट आफैं उनीहरू एक प्रकारले अलगथलग अवस्थामा परेका छन् । त्यस्ता व्यक्तिहरूलाई बोलाएर के हुन्छ र ? भर्खरै नेपालले नयाँ संविधान ल्याएको छ, यत्रो ठूलो शान्ति प्रक्रिया पूरा गरेको छ, तीन–तीन तहका निर्वाचन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलोपटक एउटा सुनौलो अवसर प्राप्त गरेको छ । यस्तो अवस्थामा के काम गर्नुहुन्छ, के काम गर्न हुँदैन, त्यसको प्रभाव के हुन्छ, त्यसको परिणाम के हुन्छ ? भनेर सोचेर कदम चाल्नुपर्छ । जुन भएन ।

यसको असर के पर्छ ?

पहिलो, नेकपाजस्तो दुई–दुईवटा पार्टी एकीकृत भएर बनेको शक्तिशाली पार्टी एउटा परिवार दलले हल्लाएर हल्लिने रहेछ भन्ने कुप्रभाव त परिहाल्यो । दोस्रो, सरकारको आफ्नो मर्यादा हुन्छ । प्रधानमन्त्रीले कुनै एउटा निजी स्वार्थमा मान्छेलाई कार्यक्रममा भाग लिन पत्र पठाउन मिल्दैन । तेस्रो, हाम्रोजस्तो संवेदनशील भूराजनीति भएको, भर्खरै द्वन्द्वबाट बाहिर आएको देश अब सिर्जना र निर्माणमा लाग्नुपर्ने बेला कूटनीतिक रूपमा अफ्ठ्यारोमा परेका मान्छेहरूलाई यहाँ बोलाएर कार्यक्रम गर्दा संसारले हामीलाई कसरी हेर्छ ? चौथो, युनिभर्सल पिस फेडेरेसन नामक यो संस्थाले हामी सबै भगवानका सन्तान हौं भन्छ । जुन उद्देश्यका साथ यो संस्था गठन भयो, यसले जस्तो सिद्धान्त बोेकेको छ, त्यो हेर्दा हामी कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्त छोडिसकेका हौं ? के अब हामी धर्म परिवर्तनको पक्षमा लागेका हौं ? के कुरालाई हामी बढावा दिन खोजिरहेका छौं ? आफ्नो देशको संस्कृति र सभ्यताको रक्षा गर्नुपर्ने बेलामा हामी यस्ता काम गर्छौं भने असर त पर्छ परि नै सक्यो । त्यसैले अब यो असरबाट मुक्त कसरी हुने त्यतातर्फ सोच्नुपर्छ ।

धार्मिक हिसाबले यसको असर के हुन्छ ?

जब कोरिया युद्धमा पाँच वर्ष जेल परेर भागेर आएपछि मुन र उनको श्रीमतीका परिवार चर्चमा गएर लुकेर बसेका थिए । त्यसैबेला उनले विवाह गरेका थिए । त्यस्तो अवस्थामा बनेको संस्थाले हामी सबैलाई मसिहाका सन्तान हौं भन्छ र संसारभरि इसाई धर्मको प्रचार गर्छ । मुनले संस्था खोल्ने बेला जिससले आफूलाई उनले गर्न नसकेको काम गर्न पठाएको बताएका
थिए । यस्तो संस्थाको कार्यक्रममा नबुझी पछि लागेर नेपालजस्तो धर्मनिरपेक्ष देश, जहाँको संस्कृति हेर्नुभयो भने हिन्दु र बुद्ध धर्मबाट धेरै प्रभावित छ । त्यो धर्मले कसैमाथि अत्याचार गरेको छैन । अनि त्यहाँ आएर राज्यका प्रधानमन्त्री र मन्त्रीहरू मान्छेलाई विमानस्थलमै लिन गयो भने त्यसको असर कति पर्छ, त्यो प्रष्ट छ ।

हिजो धर्मनिरपेक्ष राष्ट्र बनाउँदा पश्चिमा राष्ट्रको प्रभावमा गरियो भन्ने आरोप थियो, त्यो अहिले पुष्टि भएको हो ?

जुन देशको संस्कृति जीवित रहन्छ, त्यो देश जीवित रहन्छ भन्ने मान्यता राख्छु म । यद्यपि, त्यो संस्कृति कसैप्रति होच्याउने प्रवृत्तिको हुनुहुँदैन भन्ने कुरामा पनि म एकदमै जोड दिन्छु । धमनिरपेक्षताले ककसलाई अफ्ठ्यारो परेको छ भनेर मैले बोल्ने विषय होइन, त्यसका प्रवक्ताले बोल्ने कुरा हो । तर यो सम्मेलनले धेरै प्रश्न जन्माएको छ । संविधानले कसैलाई यस्तो सम्मेलन गर, धर्म परिवर्तन गर भनेर लेखेको छैन । हाम्रो देशको हित कसरी हुन्छ, त्यो कुरा सोच्नुपर्छ । देश हाँक्छु भन्नेहरूले जनताको, राष्टको हित बिपरीत जे पनि गर्छु भन्न मिल्छ ? जनताले त हामिलाई देश र जनताको हितमा काम गर्ने, लोकतन्त्रको रक्षा गर्ने र विकास र समृद्धिको काम गर्ने मात्रै जिताएर पठाएकाहुन ।

यसको मतलब यो संविधानविपरीत काम भयो होइन ?

हामीले सरकारको मर्यादा जुन सिद्धान्तले निर्देशित गरेका छौं, त्योसँग अहिलेको यो कार्यले बेलकुल मेल खाँदैन । कार्यक्रमको उद्घाटन गर्ने शुभकामना दिनेसम्मका काम गर्नु ठूलो कुरा थिएन । प्रधामन्त्रीलाई नै चिठ्ठी लेखाएर विभिन्न देशका मान्छेलाई आमन्त्रण गर्ने अनि एकनाथ ढकालजीलाई उहाँ मेरो प्रतिनिधि हो भनेर पठाउने कामले प्रश्न उठायो ।

यत्रा नेताहरू कसरी सहभागी भए त ?

मलाई थाहा छैन, म सहभागी पनि छैन । अरू कसरी सहभागी हुनुभयो उहाँलाई सोध्नुहोस् । अरूको जिम्मा म कसरी लिने ? यो त पहिले पटक भएको होइन । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवादेखि बाबुराम भट्टराईसम्मका नेताहरू यो संस्थाले आयोजना गरेको कार्यक्रममा जानुभएको छ । कुनै देशको प्रमुखले त्यो कस्तो संस्था हो ? त्यसका गतिविधि कस्ता छन् भन्नेबार नबुझी काम गर्न मिल्छ ?

यस्तो अवस्थामा समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा हाल ?

म त्यता जान चाहन्न । मैले त्यस विषयमा बोले भने यो सम्मेलनको निहुँमा अन्य विषयमा प्रवेश गर्ने खोजेजस्तो हुन्छ । म सबै कुराको माग गरिरहेको छु । स्थायी कमिटीको बैठक बोलाउन विलम्ब गरियो भनिरहेको छु । हामीले राष्ट्र महत््वपूर्ण विषयमा कुरा राख्न पाउनुप¥यो । म त यो कुरा बैठकमै राख्नुपर्छ भन्ने मान्छे । मिडियामा आएर कुरा राख्नुपर्दा म खुसी छैन । तर यो देशको भविष्यसँग गाँसिएको विषय भएकाले मुखमा पट्टी बाँधेर बस्न सकिएन । यो कुरा मैले रिस, आवेग वा उत्तेजनामा आएर बोलेको होइन । स्थायी कमिटीको यसअघिको बैठकले सरकारको समग्र विषयको समीक्षा गर्ने भनेर निर्णय गरेको छ । पार्टीको विधानअनुसार ३ महिनामा स्थायी कमिटीको बैठक बस्नुपथ्र्यो । तर ४ महिना बित्न लाग्यो, बैठक बस्न सकेको छैन । विधि–विधानमा नचलेर यत्रो ठूलो पार्टीलाई हाँक्न सकिएला ? व्यक्तिहरू भनेका अनुशासन, विधि, विधान, नीति, विचार र आदर्शबाट मात्र एक ठाउँमा बाँधिन्छन् ? कुनै व्यक्तिलाई शक्तिले बाँधेर जान सकिन्छ भन्ने सोच बनायो भने त्यो भ्रम मात्रै हो । पार्टी केको लागि हो भन्ने कुरा सम्झनुपर्छ । पार्टीलाई देश, जनता र विश्वसामु चिनाउने र स्वाभिमान बनाउने काममा उपयोग गर्नुपर्छ ।

कार्यक्रममा सहभागी पार्टीका नेताहरूलाई के भन्नुहुन्छ ?

मैले अहिले जसरी तपाईंसँग कुरा राखेँ, स्थायी कमिटीको बैठकमा त्यसरी नै अझ धेरै तथ्य ल्याएर कुरा राख्छु । यस्ता कुराहरूबाट देश, सरकार र जनतालाई जोगाउनु प¥यो । यो सरकारले पाइला पाइलामा विचार पु¥याएर अगाडि बढ्नुपर्छ । यो सरकारबाट नेपाली जनताले ठूलो आशा गरेका छन् । हिजो हामी जेल परेका थियौँ, आन्दोलन गरेका थियौँ भनेर मात्र हुन्छ ? त्यही कुरामात्र पल्टाएर आजका जनताका आकांक्षा पूरा हुँदैनन् । जनताका आवश्यकता पूरा गर्नुपर्छ ।

यो कार्यक्रम अन्त कतै गर्न नदिएर यहाँ गरेकोजस्तो सुनिन्छ नि ?

त्यो त अध्ययन गरेपछि थाहा होला । त्यसैले मैले एउटा आयोग बनाएर छानबिन गरौँ भनेको हुँ । यो संस्था के रहेछ ? यो संस्थाका मान्छेहरू नेपालमा के–के गरिरहेका छन् ? पैसा कहाँ कहाँबाट बगेको रहेछ ? मान्छेलाई ज्याकेट बाँड्ने दम्पति ल्याएर खान आऊ भन्ने ? हाम्रा निर्वाचित जनप्रतिनिधिलाई आशीर्वाद दिने भन्ने ? यो त झन् हाम्रा जनप्रतिनिधिको घोर अपमान हो ।
एकनाथजीले एउटा अन्तर्वार्तामा म कम्युनिस्ट होइन । मेरो छुट्टै परिवार दल छ भनेको सुनेको छु । उहाँको कम्युनिस्टसँग ३ बुँदे कार्यगत एकता भएको थियो त्यसबाहेक उहाँको के योगदान छ कम्युनिस्ट आन्दोलनमा ? सरकारलाई यसबारे सबै जानकारी नहुन पनि सक्छ । छैन भने एउटा आयोग गठन गरे छानबिन गर्दा राम्रो हुन्छ । यिनीहरू विश्वव्यापी व्यापार संगठनसँग पनि संलग्न छन् । त्यो पनि मैले राम्रोसँग अध्ययन गरिसकेको छु । युनिफिकेसन चर्चमा बाहिरका मान्छे छन् । यसले संसारभर शक्तिशाली व्यावसाय चलाएको छ । अरूबाट पैसा उठाएर चलाएको व्यावसायको नाफा कहाँ जान्छ ? कसको खल्तीमा जान्छ ? यस्ता कुरामा हाम्रो सरकारले विचार पुर्याउनुपर्छ ।

सरकार क्रिस्चियानिटीको प्रचारमा किन लाग्यो ?

तपाईं यसबारे सरकारलाई नै सोध्नुस् । म सरकार होइन, पार्टीको कुरा गर्नुहुन्छ भने पार्टीमा छलफल नै भएको छैन । एउटा ‘बेनिफिट अफ डाउट’ सरकारलाई दिऔँ । तपाईंले भनेको विषयमा प्रधानमन्त्रीलाई थाहा नहुन पनि सक्छ होला । मैले त उहाँलाई समयमै ध्यानाकर्षण गराएको कुरा, पहिले नै सुनाइसकेको छु । कम्युनिस्टहरूले दुई तिहाई बहुमतको सरकार चलाइरहेको यो पहिलो घटना हो । चारैतिरबाट प्रहार भइरहेको छ । तर, कम्युनिस्टविरोधी भएरै जन्मेको संस्थालाई बोक्नुपर्ने किन प¥यो ? यत्रो दुई तिहाईको सरकारले केही गर्न सकेन भनेर प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ । त्यसबाट शक्ति आर्जन गर्न त्यतातिर लाग्नुभयो कि ? शक्ति आर्जन भयो कि भएन भनेर त्यो त सम्मेलन चलेदेखि आजसम्म पत्रपत्रिका, जनता, सामाजिक सञ्जालले कतिको शक्ति दिए भन्ने कुरा तपाईंहरूले नै मूल्यांकन गुर्नस् ।

तपाईं नेकपाको प्रभावशाली नेता हुनुहुन्छ । अहिले पार्टीको तलदेखि माथिसम्म दुई तिहाईको सरकार छ, काम पनि राम्ररी भइरहेको छैन, पार्टी पनि राम्ररी अघि बढिरहेको छैन किन हो ?

हामीले जुन अपेक्षा र आशाका साथ पार्टी एकीकरण गरेका थियौँ, त्यो स्पिरिटमा पार्टी अघि बढ्न सकेको छैन । निर्वाचनको बेला घोषणपत्र तयार गर्दा म पनि थिएँ । त्यस्तै सरकारलाई तत्काल के काम गर्न दिने भन्ने बारेमा वामदेव गौतमको नेतृत्वमा एक कार्यदल पनि बनेको थियो । आज ती दुई दस्तावेज कहाँ छन् भनेर खोजी गर्ने स्थितिमा पुगेको छु । जसले जहाजको स्टेरिङ समात्छ, मैले जहाज कता लाँदैछु भन्ने कुरा उनीहरूले नै विचार गर्ने कुरा हो । हामीले त यहाँ जाने यहाँ नजाने भन्ने मात्र हो । पार्टीको बैठक बसे राम्रोसँग कुरा राख्न सक्छु । तर त्यो वातावरण नै नबनेपछि अहिले टाढाबाट कराउनु परेको छ । पार्टी र सरकार गलत बाटोबाट हिँडिरहेका बेला भीम रावलले के गर्छ के गर्दैन भन्ने कुरा नै भएन नि । सम्मेलनको विषयमा यहाँ गल्ती–कमजोरी भइरहेको छ भनेर सचेत गराउने काम गरेको थिएँ । पार्टीका अध्यक्षद्वयलाई मैले पहिले पनि भनेको थिएँ, भेटेर पनि फोनबाट पनि । सबैले आफ्नो कर्तव्य निर्वाह गर्ने हो, आफ्नो हातमा नभएको अधिकार कसरी प्रयोग गर्ने ?

आज पार्टीमा भीम रावलको कुरा सुनिन छाडेको हो त ?

त्यो म केही पनि भन्दिनँ । भन्ने कुरा भनेको हुँ सुनिएको हो कि होइन, त्यो त मलाई थाहा भएन ।