जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष: मन्त्री पण्डित


इटहरी-सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको बताउनुभएको छ ।

मोरङ सुन्दरहरैचा नगरपालिका गोठगाउँमा पौडेल वंश प्रतिष्ठानद्वारा बुधबार आयोजित श्रीमद् वाल्मिकी रामायण नवाह महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “जातीय एकता र सहअस्तित्वबीचको मिलन तथा एक अर्काको धर्मसंस्कार र संस्कृतिप्रति समान सद्भाव राख्न सक्नु नै हामी नेपालीको विशिष्ठ पहिचान हो ।”

यसैगरी सुनसरीको इटहरीस्थित षडानन्द स्मृति प्रतिष्ठानको १८ औँ जन्मजयन्ती समारोहमा प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले नेपालको इतिहासमा आवाल ब्रहमचारी बालागुरु षडानन्द अधिकारीको विशिष्ठ योगदान रहेको कुरा नेपालले कहिल्यै बिर्सन नहुने बताउनुभयो ।

नेपालको शिक्षा आन्दोलनमा बालागुरु षडानन्द अधिकारीका विशेष र महत्वपूर्ण योगदान रहेको कुरामा जोड दिँदै उहाँले भाषाको जननी संस्कृत भाषाप्रति गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो ।

षडानन्द प्रतिष्ठानका अध्यक्ष टीकाप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विदुषी वृन्दा बराल निरौलालाई दोसल्ला ओढाएर सम्मान गरियो ।
रासस