दक्षिण कोरियालीको साप्ताहिक कार्य समय घट्यो


दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न थालेको विश्लेषण गरिएको छ ।

कोरिया तथ्यांक विभागका अनुसार दक्षिण कोरियाली पुरुष र महिलाले सन् २०१७ मा प्रति हप्ता औसतमा ४२ दशमलब ८ घण्टा काम गरेका छन् । सन् २०१६ मा प्रति हप्ता ४३ घण्टा थियो ।
दक्षिण कोरियालीको प्रति हप्ता कार्य समय सन् १९९० देखि निरन्तर घट्दै आएको पाइएको छ । सन् १९९० मा कोरियालीको प्रति हप्ता कार्य समय ५३ दशमलब ८ घण्टा थियो । तथापी, दक्षिण कोरियालीको कार्य समय अरु मुलुकको दाँजोमा अझै पनि बढी छ ।

तथ्यांक विभागका अनुसार, सन् २०१६ मा दक्षिण कोरियालीले औसतमा वार्षिक दुई हजार ५२ घण्टा काम गरेका छन् । आर्थिक सहयोग तथा विकास संगठनमा आबद्ध ३६ औद्योगिक मुलुकमध्ये २९ राष्ट्रको वार्षिक कार्य घण्टा गणना गर्दा कोरियाको यो कार्य घण्टा तेस्रो सबैभन्दा बढी हो । जुलाईमा दक्षिण कोरियाले प्रति हप्ता कार्य समयमा संशोधन गरी ६८ घण्टाबाट घटाएर ५२ घण्टामा ल्याएको थियो ।

यसैबीच दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गरेका छन् । उनले दुई जना उप वित्तमन्त्रीसहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गरेका छन् ।