यो कम्युनिस्ट सत्ता होइन, कम्युनिस्ट सत्तामा पुगेका हुन्


सम्पादकीय:-
मुलुकमा अहिले कम्युनिस्टको सरकार छ । कम्युनिस्ट सरकार भनेको जनताको हित गर्ने सरकार हो, जुन दुई तिहाईको बलियो उपस्थितिमा छ । यो त्यसै आएको होइन । पार्टीको घोषणपत्रमा उल्लेख भएको सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि जनताले जिताएर ल्याएका हुन् । तर त्यसअनुसार काम हुन सकेको छैन । अर्को कुरा, अहिले मुलुकमा कम्युनिस्ट सत्ता आएको होइन, कम्युनिस्टहरू सत्तामा पुगेका हुन । यसर्थ कम्युनिस्ट सत्तामा पुगेपछि के गर्नुपर्छ, कस्तो काम गर्नुपर्छ, केका लागि हामीलाई जनताले सत्तामा पु¥याएका हुन, हामीले कस्तो नीति ल्याउनुपर्छ, जनताको हित कसरी गर्नुपर्छ, आचरण र जीवनशैली कस्तो बनाउनुपर्छ भन्ने हेक्का कम्युनिस्ट सरकारले राख्नैपर्छ, जुन अहिले राखिएको छैन । सुरुको कम्युनिस्ट आचरण पूरै हटेको छ, नीति र सिद्धान्त हराएको छ, हैकमवादी र उपभोक्तावादी वर्ग चरित्रमा पार्टी गएको छ । अपवादबाहेकका नेताहरूको चरित्र बिग्रिन थालेको छ । पार्टीको नीति, सिद्धान्त, मुल्य, मान्यता सबै छोडिएको छ, कम्युनिस्ट चरित्र हराएको छ । कम्युनिस्टहरू अध्यात्मवादी वा आदर्शवादीजस्तो भौतिक सुख–सुविधाविरोधी होइनन् । तर, यस्तो सुविधा आमश्रमजीवीवर्गले पनि उपभोग गर्न पाउने नीति हुनुपर्छ । अहिले राज्यका हरेक सुविधा कम्युनिस्ट नामधारी सीमित सम्भ्रान्तवर्गले मात्र उपभोग गरिरहेको छ । श्रमजीवीवर्गको पसिनाको मोल नदिएर शोषण गरिरहेको छ । त्यसको अन्त्य गरेर अवसरको वितरण न्यायोचित ढंगले श्रमिकवर्गमा पुग्नु पर्दछ । श्रमको मूल्यअनुसारको सुविधा दिनुपर्दछ । अवसरहरू कसैको पेवा नबनुन् भन्ने मान्यता नै कम्युनिस्टको आदर्श हो । यो आदर्शलाई सबै कम्युनिस्टले बोक्नुपर्दछ । तर, अहिलेसम्म यसो हुन सकिरहेको छैन । कम्युनिस्ट सिद्धान्तअनुसार कम्युनिस्ट पार्टीका मन्त्रीले फारोतिनो गर्ने, सुविधा कम लिने, आम श्रमजीवीवर्गको जीवनस्तर उकास्न आफ्नो श्रम र समय खर्च गर्ने अपेक्षा गरिन्छ । आधुनिक राज्य व्यवस्थाले चाहे उदारवादी होस्, चाहे साम्यवादी, राज्यका स्रोतमाथि जनताको अधिकार रहन्छ भन्ने मान्यता स्वीकार गरेको छ । राज्यका स्रोत पनि नियम–कानुनबाहेक कसैले खर्च गर्न पाउँदैन । तर अहिले मुलुकमा जथाभावी खर्च भइरहेको छ, भ्रष्टाचार बढिरहेको छ, कम्युनिस्ट सरकारका मन्त्रीहरू र सल्लाहाकारहरूले ऐन, नियमविपरीत जथाभावी सुविधा लिइरहेका छन् । यसो गर्नु अख्तियारको दुरुपयोग र भ्रष्टाचार हो । यो कर्म सामान्य आचरणभित्र पर्दैन । अझ जनताबाट निर्वाचित जनप्रतिनिधिले त जनताप्रति थप उत्तरदायी हुनुपर्छ तर त्यसो भएको छैन । यो दुःखद कुरा हो । भ्रष्टाचार पूँजीवादी, सामन्तवादी व्यवस्थामा मात्र हुन्छ, समाजवादी व्यवस्थामा होइन । नेकपाका मन्त्री, नेतालगायत अन्य दलका धेरै नेताले धेरै निजी धन आर्जन गरेका छन् । निजी सम्पत्ति थुपार्नु भ्रष्टाचार गर्नु हो । यस अर्थमा अहिलेका नेता भ्रष्टाचारी हुन् । यही निजी सम्पत्ति थुपार्ने लोभले नेपालको कम्युनिस्ट सरकारका मन्त्री र सांसद्हरू बदनाम भएका छन् । नियम, कानुनले गरेको व्यवस्थाअुनसार तलब, भत्ता लिँदा कसैले विरोध गर्दैन । तर लोभी मन लिएर हिँड्नुहुँदैन । नातागोता र स्वकीय सचिवहरूलाई पनि लोभी मन लिएर हिड्न दिनुहुँदैन, तोकिएभन्दा अतिरिक्त सवारी सुविधा र घरभाडा सुविधा कुम्ल्याउन दिनुहुँदैन । नेता, मन्त्री या सांसद् जनताको सेवा गर्ने कसम खाएर जनताबाटै निर्वाचित भएर आएका हुन् । तिनीहरूको उत्तरदायित्व राज्यका स्रोतको अधिकतम परिचालन गर्ने, भ्रष्टाचार र हिनामिना हुन नदिने, जति सक्यो त्यति आर्थिक विकासका काममा राज्यको स्रोत लगाउने, प्रतिफलको निश्चितता गर्ने र सामाजिक सुरक्षाका विभिन्न शीर्षकमार्फत गरिने खर्च विपन्न नागरिकका पक्षमा हुनुपर्छ तर त्यसो भएको छैन । यो माक्सवादी दर्शन र प्रयोगको अर्को विडम्बना हो । तसर्थ जनताको नेता हुने हो भने, जनताका लागि राजनीति गरेको हो भने, कम्युनिस्ट पार्टीलाई बलियो बनाउने हो भने, देश र जनताका लागि दुई तिहाईको सरकार बनेको हो भने, जनताको सरकार र पार्टी बनाउने हो भने, कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त, मूल्य, मान्यताअनुसार पार्टी र सरकार सञ्चालन गर्नुप¥यो, कम्युनिस्ट सत्ता आएको होइन, कम्युनिस्टहरूलाई जनताले सत्तामा पु¥याएका हुन् भन्ने कुराको हेक्का राखेर काम गर्नुप¥यो । आचरणमा सुधार ल्याउनु प¥यो, पाँच वर्षपछि फेरि जनतामा जानुपर्छ भन्ने कुराको हेक्का राखेर जनताको हितमा काम गर्नु प¥यो नकि आफ्नो हितमा ।