पार्टी एक ढिका बनोस (म्पादकीय)



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले हालै स्थायी समितिमा लामो छलफल गरेर पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपले एकताबद्ध गर्दै पुस मसान्तभित्रै पार्टी एकता टुंग्याउने निणर्य गरेका छन् । पाँच महिनापछि बसेको स्थायी समिति बैठकमा नेताहरूले खुलेर आफ्ना धारणा राख्दै पार्टी र सरकार सञ्चालनको विधि र कार्यशैलीगत कमजोरी सच्याउन जोड दिएका छन् । नेतृत्वको कमजोरीका साथै अहिलेसम्मका सबै सकारात्मक, नकारात्मक कामका आलोचना भएपछि अन्ततः शीर्ष नेताहरू पार्टीलाई एकताबद्ध बनाएर तत्काल एकीकरण टुंग्याउने निष्कर्षमा पुगेका हुन् । यसपटकको बैठकलाई नेताहरूले उन्नतस्तरको बहसपछि पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने कम्युनिस्ट पार्टीको संगठन सञ्चालनसम्बन्धी अभ्यासको संज्ञा दिएका छन् । अझ बैठकअघि प्रमुख नेताहरूबीचको औपचारिक, अनौपचारिक छलफल र सुझबुझबाट तेस्रो स्थायी समिति बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । समापनका क्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा देखिएका कमजोरी आत्मसात् गर्दै अब त्यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएका छन्, यो राम्रो कुरा हो ।


लामो वैचारिक छलफलपछि विभिन्न कोणबाट आएका धारणालाई संश्लेषण गर्दै बैठकले पार्टी सञ्चालन र एकताका सन्दर्भमा महत्वपूर्ण निर्णय लिएको छ । अध्यक्षद्वयले सबै सदस्यको धारणा समेटिने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने गरी पुनर्लेखन हुने प्रतिबद्धता जनाएका छन् । पार्टी विधानअनुसार बैठक बस्न भएको ढिलाइ, पार्टी एकतामा भएको ढिलाइ, सरकार सञ्चालनमा देखिएका कमजोरीलाई आत्मसात् गर्ने मात्र होइन, राजनीतिक प्रतिवेदन पनि परिमार्जनसहित पारित गर्न नेतृत्व तयार भएपछि नेकपा र जनतामा आशाको सञ्चार गरेको छ । पार्टी एकताबद्ध भएर सबै नेता कार्यकर्ता सरकारलाई सफल पार्ने दिशामा परिचालित हुने विश्वास लिइएको छ । यो सबैको लागि सुखद विषय हो । तर, यो विषयमा सहमति गरेर, प्रतिबद्धता गरेर मात्र पुग्दैन, त्यसलाई व्यवहारमार्फत पुष्टि पनि गर्नुपर्छ तर त्यसो हुन सकिरहेको छैन । नेतृत्वद्वारा हालैको स्थायी कमिटीमा व्यक्त भावनालाई पार्टीमा विना सल्लाह रेशम चौधरीलाई संसदमा सपथ खुआएर संसदीय मर्यादाको उल्लंघन गरिएको कुरा आएको छ । यो आफैँले गरेको निर्णय एक साता पनि नटिक्नु दुःखद हो किनकी एक हप्ता पनि नटिक्ने निणर्यले पार्टीको थिति, विधि बस्दैन, पार्टी एक भएर अगाडि बढ्दैन । यो चिन्ताको विषय हो । अहिलेसम्म पार्टी एकता प्रक्रिया टुङ्गिन सकेको छैन । त्यसैले पार्टी एकताको बाँकी काम निश्चित विधि, प्रक्रिया र मापदण्डका आधारमा छिटो सम्पन्न गर्न नौ सदस्यीय कार्यदल सक्रिय हुनुपर्दछ । बैठकमा उठेअनुसार कम्तीमा महिनाको एकपटक स्थायी समिति बैठक बस्ने गरी विधानमा सामान्य हेरफेर गर्नुपर्ने विषयलाई कार्यान्वयनमा लैजानुपर्दछ । प्रदेश कमिटी गठन गर्दा मिचिएको मापदण्डको पुनर्विचार गर्नेदेखि जिल्लाका पदाधिकारी र जनसंगठनको नेतृत्व चयनसम्बन्धी विधि, प्रक्रिया र मापदण्डका आधारमा प्रस्ताव तयार पार्ने कार्यदेश कार्यदले तत्काल पूरा गर्नुपर्दछ । त्यस्तै, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, केन्द्रीय विभागहरूको जिम्मेवारी बाँडफाँट, इञ्चार्ज, सहइञ्चार्जहरूको सूची तयार पार्ने, पोलिटब्युरो सदस्यको प्रस्ताव तयार पार्ने जस्ता काममा पनि कार्यदल उत्तिकै तदारुकताका साथ लाग्नुपर्दछ । अध्यक्षद्वयले २५ पुसभित्रै एकीकरण र केन्द्रीय सदस्यको कार्यविभाजनसम्बन्धी खाका तयार पार्न गत सोमबार कार्यदल सदस्यहरूलाई निर्देशन दिएका छन् । पुस मसान्तसम्म उक्त खाकालाई सचिवालय र स्थायी समितिबाट पारित गरेपछि केन्द्रीय कमिटी बोलाउने नेकपाको तयारी छ । साथै केन्द्रीय कमिटीबाट देशव्यापी प्रशिक्षण, भेला र आमसभा आयोजना गर्नेगरी देशव्यापी एकताको सन्देश महाअभियान सञ्चालन गर्ने, संगठनात्मक क्षेत्रमा देखिएको अहिलेसम्मको गति शून्यताको अवस्था चिर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने पार्टी र सरकारको अभियानलाई साथ दिन पार्टी पंक्ति परिचालित गर्ने नेकपाको तयारी छ । यसका लागि पनि सबैको उत्तिकै इमान्दारिता र सक्रियताको खाँचो छ । त्यो खाँचो पूरा गर्दै पार्टी र सरकारको लक्ष्य अनि जनताको चाहाना पूरा गर्न नेकपाको नेतृत्वसहित सिंगो पार्टी परिचालित हुनु अहिलेको आवश्यकता हो । यसमा सबैको ध्यान जाओस् ।