दुर्भाग्य! नेपालमा सरकारले पार्टी चलाउँछ


डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता

डा. युवराज संग्रौला कानुनका ज्ञाता, लेखक एवम् राजनीतिक विश्लेषक हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट वामपन्थी आन्दोलनमा लाग्नुभएका संग्रौला वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ताको जिम्मेवारीवहन गरिसकेका बुद्धिजीवी हुनुहुन्छ । नेपालको राजनीति, अर्थव्यवस्था, अन्तर्राष्ट्रिय राजनीति र कानुनी शासनको विषयमा विगत बीस वर्षदेखि अध्ययन, अध्यापन र अनुसन्धान गर्दै आउनुभएका उहाँले नेपालको पछिल्लो राजनीतिका सन्दर्भमा कलम चलाउँदै आउनुभएको छ । पार्टी राजनीतिमा समेत संलग्न भएर उहाँले हालै चर्चित पुस्तक  “GEO-STRATEGIC CHALLENGES TO NEPAL’S FOREIGN POLICY AND WAY FORWARD” पनि लेख्नुभएको छ । पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विविध विषयहरूका सन्दर्भमा
डा. संग्रौलाले छलफललाई दिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः

“अवसरवादी र बदमास मान्छेलाई अब जनताले चिनिसके, सबैको नाम कण्ठै भइसक्यो । मान्छे सचेत
पनि भइसके । अब देशमा राम्रा बुद्धिजीवी, अर्थशासत्री कानुन व्यवसायी, विज्ञ र इमान्दार कामदारको
खाँचो रहेछ, राजनीतिक दलका नेता र उनीहरूका माध्यमबाट राम्रो शासन गर्ने मान्छे हुँदारहेछन् भन्ने
कुरा बुझिसके । त्यो कुराले अहिलेसम्म रोक्यो तर अब शासन गर्नेले गर्ने काम र विज्ञले गर्ने काम
फरक हो भन्ने कुरा आमजनताले बुझे । त्यसैले अब केही समयपछि राजनीति फरक ढंगले जान्छ ।”

डा.साब अहिले के गर्दै हुनुहुन्छ ?
दैनिक १८ घण्टा पढ्ने काम गरिहेको छु ।
तपाईंले कानुन नै किन पढनु भयो ? अध्ययनका बारेमा बताइदिनुस् न ।
बुबाले कानुन पढ्न राम्रो हुन्छ भनेर प्रेरित गर्नु भयो र कानुन पढेँ । मैले स्नातक तहसम्मको कानुनी शिक्षा नेपालमै पढे । त्यसपछि एलएलएम गर्न भारतको पटना गएँ । त्यो बेला पटनामा कानुनको शिक्षा राम्रो मानिन्थ्यो । विद्यावारिधीका लागि डेनमार्क गएँ । सुरुका अनुसन्धानहरू सबै त्यहाँ गरेँ । आवातजावत अलि गाह्रो भएको र यो कलेज पनि यहाँ स्थापना भएको कारणले कोपनहेगन विश्वविद्यालयको सहमतिमा उता गरेको कामको मान्यता हुने गरी दिल्ली विश्वविद्यालयमा ट्रान्सफर गरेँ र त्यहाँबाट २००६ सालमा पीएचडी गरेँ ।


देश विदेश गएर कानुन पढनुभयो, अहिले वरिष्ठ अधिवक्ता हुनुहुन्छ, कानुन पढाउनु पनि हुन्छ तर मुलुकमा अहिले कानुनी शासनको अभ्यास राम्रोसँग हुन नसकेको र न्यायमा समानता नभएको कानुनको नजरमा सानो ठूलो हुने गरेको कुरा बारम्बार आउँछ नि ?
स्थिति कमजोर छ, न्यायपालिाका न्यायपालिका रूपमा रहन नसकेकोजस्तो देखिन्छ , कानुनअनुसार पार्टी र सरकारहरू चलेको देखिदैन, न्यायलय र सरकार प्रति जनताको बिश्वास छैन । राजनीति पार्टीहरूले जनतामा जाँदा जेजस्तो प्रतिबद्धता गरेर, जेजस्तो आशा र विश्वास दिलाए, अरू आन्दोलन गराए जे भने त्यसअनुसारका सेवा डेलिभर गर्न सकेनन् । यी सबै काम गर्न पढ्नु पर्छ, बुझ्नुपर्छ, त्यो राजनीतिमा कमि भयो । राजनीति भनेको सत्तामा जानु हो , सत्तामा गए। सुविधा उपभोग गर्नु हो, म कम्युनिस्ट हो, मैले गरेका सबै काम कम्युनिस्ट सिद्धान्तअनुसार हुन्छन्, सबैले मान्नु पर्छ भन्ने र म कांग्रेस हुँ मैले गरेका सबै काम प्रजातान्त्रिक समाजवादअनुसार हुन्छ, यसलाई सबैले मान्नुपर्छ भन्ने मान्यताले गर्दा सबै कुरा बिग्रिएको हो । जब मान्छेले बाटो बिराउँछ त्यसपछि मान्छेले अनेकतिर हेर्न थाल्छ । सोझो बाटो हिँडेको छ भने त सरासर हिड्छ तर जब बाटो बिराउछ तब मान्छे दायाँबायाँ हेर्न थाल्छ मैले बाटो बिराएछु भनी तल झर्छ, माथि जान्छ, वर जान्छ पर जान्छ, खुइखुइ गर्छ र अलमलमा पर्छ । अहिले हाम्रो मुलुकको अवस्था त्यस्तै छ ।
किन यस्तो भयो, यसमा कस्को दोष छ त ?
राजनीतिक दलका नेतालाई यस्तो अवस्थामा ल्याउनमा बुद्धिजीवीहरूको दोष छ किनकी उनीहरूले जागिरका लागि नेताहरूलाई भड्काउने, बहकाउने र सिद्धान्तच्युत गर्न उनीहरूले निकै ठूलो भूमिका खेले । त्यसले पार्टीहरूभित्र अन्तर्संघर्ष भयो । अन्तर्संघर्षमा २ प्रकारका मान्छेहरू हुँदारहेछन् । एउटा मैले आफै केही गर्न सक्दिनँ भन्ने मान्छे हुँदा रहेछन् र उसले राजनीतिको शक्ति लिएर माथि पुग्दा रहेछन । उ माथि पुगेपछि अरू योग्यता क्षमता राखेर आउने मान्छेलाई भित्र आउन नदिने गरी प्रहार गर्दोरहेछ । यस्ता गलत नेता, बुद्धिजीवी र विज्ञहरू सत्तामा पुग्ने र आम जनताका लागि राजनीतिक मूल्य र मान्यताका लागि राजनीति गरेका इमान्दार र योग्य सक्षम नेता, कार्यकर्ता, विज्ञ, बुद्धिजीवीहरू बाहिर रहँदा उनीहरूका बीचमा अन्तर्संघर्ष हुँदोरहेछ र ती इमान्दार योग्य सक्षम नेता, कार्यकर्ता बुद्धिजीवी हार्दा रहेछन् । अब राम्रो योग्य, सक्षम जनताका लागि चाहिने माथि काम गर्ने ठाउँमा जानै नपाउने माथि भित्र रहेकाले नीति सिद्धान्त, विचार, दर्शन, कानुन मूल्य, मान्यता जनता केही नहेर्ने कसरी हुन्छ चाँडोभन्दा चाँडो प्राप्ति गर्ने भन्नेमात्र सोचेर हिँड्दा यस्तो हुन्छ । अर्थात गलत मान्छेले न्यायको उल्लघंन गर्छ, नैतिकता र सदाचारको पनि उल्लंघन गर्छ, नीति, सिद्धान्त मूल्य मान्यता र जनताको हितको पनि उल्लंघन गर्छ । अहिलेको अवस्था ठीक यही हो, त्यसैले यस्तो समस्या भएको हो । अहिले यहाँ केहिले गरिब छैनन् भन्छन् तर यहाँ अहिले ८० प्रतिशत जनता गरिब छन् । तिनीहरूले न राम्रो खान पाएका छन्, न पढ्न पाएका छन्, न औषधि उपचार पाएका छन्, न राम्रो घरमा बास बस्न पाएका छन् , न खेती गर्न आफ्नै जमिन छ, न रोजगारी छ, केही छैन । सबै अस्तव्यस्त छ । सरकारले जनताबाट जबर्जस्ती कर उठाएको छ, कर तिर्न मान्छेले केही सेवा सुविधा पाएको छैन । करबाट उठेको पैसाले तेल र डोजर किनेर गाउँका पाखाहरू भत्काउने काम गरेको छ । हुन त त्यो समाजवादमा पुग्ने बाटो
खनिएको होला तर त्यसले समाजवादमा पु¥याउँदैन । त्यसले त वातावरणको विनाश र बाढी पहिरो मात्रै निम्त्याउँछ । अहिले वामपन्थी राजनीतिमा सरिक भएका मान्छेहरूले भन्दै आएको कुरा समाजवाद, समाजवादको बाटैतिर लागेनन् । कांग्रेसले पनि भन्दै आएको समाजवाद उसले बिर्सिसकेको छ, ऊ लोकतन्त्रलाई मान्ने भएकोले उसले हिँडेको बाटो लोकतन्त्र हो, ऊ लोकतन्त्रको छैन । यस्तो अवस्थामा देश अहिले पुरानो भकुण्डो बनाइएको छ, जो बाटोमा सडकमा छ, जसले भेट्यो उसले एक भ्वाक हानेर हिडछ । यस्तो अवस्थामा जनताले दुःख पाउनु, बेथिति बढ्नु, न्याय हराउनु स्वभाविक हो ।
यस्तो निराशायुक्त अवस्था रहेछ उपचार के हो त ?
जहिले पनि फटाहाहरू थोरै इमान्दारहरू नै धेरै हुन्छन् तर त्यो इमान्दार बाहिर हुन्छ । अहिले समाजमा किन निरासा व्याप्त छ भने आममान्छेले राजनीति गर्न चाहँदैनन् । उनीहरू विकासका काम गर्छन्, उद्योग व्यवसाय गर्छन्, खेती किसानी गर्छन् , पढ्नेले जागिर खान्छन् । त्यही कारण तिमी शासन गर हामीलाई काम गर्न, अर्थतन्त्र राम्रो बनाउन देऊ भनेर राजनीतिक दललाई भोट दिन्छन् शासन सत्तामा पठाउँछन् । उनीहरूलाई भोट दिँदा नेताले राम्रो नीति बनाउँछन्, हामीलाई सेवा सुविधा दिन्छन्, काम गर्न सहज बनाइदिन्छन्, आराम र शान्तिका साथ कमाई गर्न, खान, बाँच्न दिन्छन् भनेर विश्वास गर्छन् तर त्यो नहुँदा जनता निरास हुन्छन्, भोट दिन जानिएन भन्छन् । । यो राजनीतीक दलको असफलता हो ,त्यही असफलताले जनतामा निरासा ल्याउँछ । अहिले भएको यही हो । जब यी कुरा राजनीतिक दलका नेताले थाहा पाएर थाहा नपाएको जस्तो गर्छन् र जनताले यो बुझेर अब आफैँले निस्किएर केही नगरी हुँदैन भन्ने ठाउँमा जनता आइपुग्छन् तब उनीहरूको निरासा हट्छ । म माक्र्सवादको विद्यार्थी पनि भएको हुनाले माक्र्सवादको नियम पनि यही हो । पहिले मान्छेले समस्याको पहिचान गर्छ, समस्याको अनुभूत गर्छ अनि वैज्ञानिक ढंगले समाधानको बाटोमा जान्छ ।
अहिलेको अवस्था भनेको मान्छेको राजनीतिक दल र त्यसका नेताहरूप्रतिको जुन आशा थियो त्यो भत्केको अवस्था हो । आशा भत्किएपछि निरासा आउँछ नै । उदाहरणको लागि एउटी राम्री महिलाले योसँग विवाह गर्दा मेरो जीवन सहज हुन्छ, दाम्पत्य जीवन सुन्दर हुन्छ, चाहेका कुराहरू पूरा हुन्छन् भनेर विवाह गर्छिन् तर विवाहपछि त्यो उनको कल्पनाको सुन्दर श्रीमान् लागू पदार्थ खाने भएपछि उनी केही दिनपछि निरास हुन्छिन्, केही दिनपछि डिभोर्स गर्छिन अनि अर्को घरबार गर्छिन् र उनको जीवन सुन्दर हुन्छ । अहिलेको अवस्था त्यस्तै हो । अब समाजवादको धारणा पनि परिवर्तन नहोला, माक्र्सवादी दृष्टिकोण पनि समाप्त नहोला तर अब समाजलाई हेर्ने दृष्टिकोण बढी वैज्ञानिक भएर आउँछ । अवसरवादी र बदमास मान्छेलाई अब जनताले चिनिसके, सबैको नाम कण्ठै भइसक्यो । मान्छे सचेत पनि भइसके । अब देशमा राम्रा बुद्धिजीवी, अर्थशासत्री कानुन व्यवसायी, विज्ञ र इमान्दार कामदारको खाँचो रहेछ, राजनीतिक दलका नेता र उनीहरूका माध्यमबाट राम्रो शासन गर्ने मान्छे हुँदारहेछन् भन्ने कुरा बुझिसके । त्यो कुराले अहिलेसम्म रोक्यो तर अब शासन गर्नेले गर्ने काम र विज्ञले गर्ने काम फरक हो भन्ने कुरा आमजनताले बुझे । त्यसैले अब केही समयपछि राजनीति फरक ढंगले जान्छ ।

तपाईंले भनेको शब्द सापटी लिँदा डिभोर्स दिएकी दुलहीले पछि पाउने दुलाहा यहिँ कम्युनिष्टि पार्टीका दोस्रो, तेस्रो पुस्ताबाट आउँछन कि फरक धारबाट आउलान त ?

यो बहुपक्षीय अन्तर्संघर्षबाट अगाडि बढ्छ, पुन्तान्तरणको राजनीति सुरु हुन्छ । पुराना नेताहरू राष्ट्रवादी र इमान्दार रहेछन् तर उनीहरूसँग ज्ञानको अभाव भएको कारणले निर्देशन दिएर सुशासन ल्याउन सकेनन् । माधवकुमार नेपाल , केपी शर्मा ओली, झलनाथ खनाल, चित्रबहादुर केसी, नारायणमान विजुक्छेजस्ता धेरै नेताहरू छन् उनीहरूले बेइमानी गर्ने, राष्ट्रघात गर्ने, धन नै धन थुपार्ने, जनतालाई दुःख दिऊ त भनेनन् तर विकास र समृद्धि भित्र्याउने योजनाको ज्ञान रहेनछ जसले गर्दा जनताको जीवन सुखी बन्न सकेन । त्योभन्दा तल्लो एउटा जबर्जस्त जस्ता छ त्यो न तलको न माथिको, थोरै विज्ञताको कुरा गर्छ त्यसमा पारंगत छैन । अलिकति राजनीतिक विचारधारा आदर्श र सिद्धान्तको कुरा गर्छ तर त्यसमा पनि पारंगत र्छैन । मैले धेरै राजनीतिक संघर्ष गरेको छु योगदान गरेको छु भन्छु , गरेको केही छैन, गर्न पनि केही सक्दैन यस्तालाई बाँदरको पुच्छर लौरो न हतियार  भनेजस्तै छ । छैनन् भनौ एकसय एक छन् सबै पार्टीमा, छन् भनौं उनीहरूलाई हिजो उनीहरूभन्दा माथिका नेताले दिएको प्रशिक्षणभन्दा बढी केही छैन ।  यस्तो अवस्थामा माक्र्सवादलाई फरक  ढंगबाट कसरी प्रयोग गर्नुपर्छ भन्ने बारेमा खोजीनीति नै गरेका छैनन् । उनीहरूले चीनमा, भारतमा, बेलायतमा या अमेरिकामा यसरी विकास भएको रहेछ भनेर हेरे तर त्यसभित्रका अन्तर्वस्तु विकास र प्रयोग बुझ्दै बुझेनन्, खोज्दै खोजेनन् । उनीहरू सतही बने, यो उनीहरूको सबैभन्दा ठूलो समस्या हो । त्यहाँभन्दा त धेरै इमान्दार, बुझेका, पढे लेखेका, गर्नसक्न, सबै विकासको प्रयोग बुझेको पुस्ता छ । त्यसमा देशभक्ति हिजोको खोक्रो देशभक्तिजस्तो छैन, विकाससँग गाँसिएको छ । यो सबै पार्टीमा छ र त्यसले हस्तक्षेप गरेर अगाडि बढ्यो यो समस्याको समाधान भयो, यसमा सबै मिल्नु पर्छ, त्यसमा हामीजस्ता बुद्धिजीवी पनि समाहित हुन्छौं, हुनुपर्छ । हामीजस्ता बुद्धिजीवी पनि राजनीतिमा आउने परिस्थिति हुन्छ । उनीहरूलाई सल्लाह सुझाव दिन्छौ र देशले गति दिन्छ तर उनीहरूले आँटेनन् । अघिल्लै पुस्ताको धङधङी एउटाले अर्को नेतालाई, अर्कोले अर्को नेतालाइ गाली गरे भने फरक धारको उदय हुन्छ किनभने कम्युनिस्ट र कांग्रेस  भनेर मात्रै त हुँदोरहेनछ । उनीहरूकै पालामा महाकाली टनकपुर बेचिने तब उदारीकरणको नाममा हाम्रा उद्योगधन्दाहरू बेची खाने काम र जनताका घरटहरा भत्किेने काम त भएकै छन् । सामन्तका द्वार त भत्किन्छन् तर त्यसैले कम्युनिस्ट हुँदैमा राष्टवादी हुँदोरहेनछ भन्ने कुरा त देखियो । नयाँ पुस्ताले गर्छ कि भन्ने आश त छ दुवै पार्टीमा तर यिनले गरेनन् भने यी दुवै पार्टी समाप्त हुने खतारा म देख्छु । यद्यपि चीनको विकासले गर्दा बाटोचाहिँ समाजवादी बाटोमै जाला तर यी पार्टी नरहेर अरू नै पार्टी आउने सम्भावना देखिन्छ । 

अर्को मैले भनेका दोस्रो पुस्ताका सामन्तवादी नेतालाई विस्थापित गरेर उनीहरूको योग्यता मअताको कम्युनिस्ट र काग्रेस पार्टीका युवाले केही गर्न सके भने यिनै पार्टीभित्रबाट पुस्तान्तर भएर आममानिस त्यसमा लाग्छन् । त्यहाँभित्रबाट अत्यन्तै आराजक र दक्षिणपन्थीहरूको सम्भावना पनि हुन सक्छ । त्यसैले सम्भावना राम्रोको धेरै छ । हिजो नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद भन्यो तर विपीको सिद्धान्त छोड्यो र नवउदारवादलाई अंगाल्यो । त्यो विदेशमा बसेर पढ्ने राजनीति गर्ने, राजासँग मत मतान्तर भएका मान्छेकै छोराछोरी, भाइ बुहारीकै पार्टी बन्यो । नेपाल कम्युनिस्ट पार्टीभित्र गरिब र सर्वहारावर्गकै नेतृत्व गर्न थाले, पदका लागि झगडा गर्न थाले, जनता हाम्रा मालिक हुन् भन्ने छाडेर हामी जनताका मालिक हौं भन्न थाले । देश र जनताका लागि जीवन फालेर जेल बसेका, सामान्तवादलाई समाप्त पार्न जेलनेल खाएका मर्न मार्न तयार भएका, जंगलमा बसेका नेता अहिले आएर पार्टी समाप्त पार्ने दिशामा हुनुहुन्छ । त्यहाँभित्र साम्यवादी सामन्तवाद मौलाएको छ । जनताको प्रत्यक्ष संलग्नतामा आएको लोकतान्त्रिक संविधानलाई हेर्दा अबको बाटो समाजवादी लोकतन्त्र नै हो, प्रजातान्त्रिक समाज होइन । अहिले वैज्ञानिक समाजवाद पनि आउँदैन, त्यो पछि प्राप्त हुने कुरा हो त्यसैले अहिले समाजवादी लोकतन्त्रमा जानुपर्छ भन्ने विचार थिग्रिन थालेकोले र त्यसको माध्यमबाटै आर्थिक क्रान्तिको कुरा जबर्जस्त घर गर्ने देखिएकोले आउने दिन रामै हुने देखिन्छ तर त्यसका लागि विदेशी हस्तक्षेपबाट मुक्त हुुनुपर्छ, चलखेल गर्ने मैदान खाली गरिदिनु हुँदैन, एक नेतालाई देवत्वकरण गरेर अर्को नेतालाई प्रहार गर्ने गुटबन्दीको राजनीति बन्द गर्नुपर्छ । मैले पाए, मैले खाए सबैलाई पुग्छ अरूले पाउनु, खानु हुँदैन भन्ने संकीर्ण सोच त्याग्नुपर्छ । सामूहिकतामा पार्टी र देश चलाउनु पर्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कम्युनिस्ट सिद्धान्तअनुसार चलेको छ कि छैन ?

चिनियाहरूले विकास भनेको ३ कुरालाई लिन्छन् । हरेक व्यक्तिले उत्पादन गर्नै पर्छ भन्छन्, अर्को, सहर र गाउँको विकासमा सन्तुलन कायम गर्नुपर्छ, यसले गर्दा पर्यावरण र संस्कृति संरक्षण हुन्छ अनि मान्छेले सहरमै बस्नुपर्छ भन्ने मानसिकता त्याग्छ । अर्को निर्माण गर्नुमात्र विकास होइन मान्छेलाई खुसी हुने कुरा रोज्न, छान्न दिनुपर्छ भनेर कम्युृनिस्ट पार्टीले नीति बनायो । त्यो कुुरालाई पार्टीभित्रका हजारौंले अनुसन्धान गरे, पहिलेको माक्र्सवाद र अहिले चिनियाहरूले अवलम्बन गरेको माक्र्सवाद एउटै हुन सक्छ कि सक्दैन भनेर हेरे र चिनिया प्रकृतिको समाजवाद उपयुक्त भने । त्यो समाजवादको विकास बुद्धिजीवीहरूले गरे । त्यो सोचलाई कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वले छलफल ग¥यो र त्यसलाई सूत्रबद्ध गरेर माक्र्सवादी शैलीमा अगाडि बढायो । त्यसलाई प्रत्येक पटकको केन्द्रीय महाधिवेशनमा लगेर पारित गरे, त्यही नीतिअनुसार सरकार चल्यो । त्यहाँ सरकारभन्दा ठूलो पार्टी हुन्छ । पार्टीले सरकार चलाएको हुन्छ । हाम्रोमा ठिक बिपरीत हुन्छ । जब यहाँका कम्युनिस्ट र कांग्रेस सत्तामा गए उनीहरूले पार्टीका सम्पूर्ण नीति, सिद्धान्त छाडे, पार्टीलाई गन्दै गनेनन् र पार्टी मुर्छित अवस्थामा रह्यो । अहिले पार्टीको लक्ष्य भनेको सरकारमा पुग्नु भन्ने भयो । सरकारमा पुगेकाहरू अत्यन्तै प्रभावकारी बने, उनीहरूले सत्ता, शक्ति र सुविधाको भरपूर प्रयोग गरे । विदेशीले भन्दा महङ्गा गाडी चढे, सुविधा लिए, फाइभस्टारको खाजा खान थाले, आफ्नो तलब भत्ता बढाए, आआफना गुटका र वरिपरिकालाई सुविधा दिन विभिन्न सरकारी संयन्त्रमा लगे, जनतालाई वास्ता गरेनन् र पार्टीलाई कमजोर बनाए । सरकारभन्दा पार्टी अध्यक्ष शक्तिशाली हुनु पर्नेमा उल्टो भयो । यसको कारण भनेको राजनीतिलाई पार्टीले नियन्त्रण गर्न सकेन, सबै नेता कार्यकर्ताको ध्यान पार्टी निर्माणमा भन्दा सत्ता स्वार्थ र पद प्राप्तिमा गयो । पार्टी नेतृत्व सरकार नियन्त्रण गर्न असफल भयो, शेरबहादुरले भित्र्याएको पजेरो संस्कृतिले झन् जरा गाड्यो अनि पार्टी र जनताको सम्बन्ध कमजोर भयो । यसले गर्दा सबै पार्टीहरू कमजोर बने । कांग्रेसको राजनीतिक विचारधारा प्रजातन्त्रिक समाजवाद हो तर गिरिजाप्रसाद कोइरालाले नवउदारवाद लागू गर्दा पार्टीले नियन्त्रण गर्न सकेन् । त्यसबेलाका नेता गणेशमान सिंह, कृष्णप्रसाद भटराईले विरोध गरे तर उनीहरूकै राजनीति समाप्त पारिदियो सरकारले । अहिले हेर्दा ठूलो पार्टी छ, हजारौ नेता र लाखौं कार्यकर्ता छन् सरकारमा त २०।२१ जना भएका होलान् अरू त बाहिरै छन् तर पार्टी किन सशत्त बन्न सकिरहेको छैन भने बाहिरका मान्छेको ध्यान पार्टी र जनताको काममा भन्दा सत्ता र कुर्सीमा छ । केपी शर्मा ओली नेकपाको अध्यक्ष भएर प्रधानमन्त्री भएका हुन, प्रधानमन्त्रीभन्दा पार्टी अध्यक्ष ठूलो हो भन्ने भावनाबाट यो पार्टी चलिरहेको छैन । उल्टो उनी प्रधानमन्त्री भएर शक्तिशाली भएका हुन्, ठूला भएका हुन् भन्ने कोणबाट पार्टी नेताहरू चलिरहेका छन् । यसैले गर्दा पार्टी नीति सिद्धान्त समाप्त भएको छ । सत्ता प्राप्तिको बढ्ता आकर्षणले, सुविधाभोगले पार्टीमा यस्तो समस्या आएको हो ।
पार्टीले सरकार नियन्त्रण गर्न किन सकेन त ?
पार्टीमा विचारधारा क्षय भयो, नीति, विधि, पद्धति र सिद्धान्त समाप्त भयो, पार्टीभन्दा सरकार शक्तिशाली देखियो अनि सकेन ।
विचारधारा किन क्षय भयो ?
पार्टीमा गुट धेरै निर्माण भए त्यसैले ।
पार्टीमा गुटबन्दीचाहिँ किन धेरै भयो नि ?
राजनीतिको मकसद गरिब दुःखी जनताको विकास र सेवा होइन, राजनीतिकोे मकसद सत्ता, सुविधा र पद प्राप्ति हो भन्ने कुरा वामपन्थी र कांग्रेसमा आयो, त्यही लोभ, मोहले जसरी पनि सत्तामा पुग्नका लागि एउटाबाट नभए अर्कोको फेर समाएर भए पनि सत्तामा जान गुटबन्दी भयो ।
यसले तपाईंलाई पनि चिन्तित त बनाउँदो होला, त्यसको अन्त्य गर्न त फेरि राजनीतिमै जानुपर्छ, राजनीतिमा किन जानुभएन त ?
मेरो परिवार राजनीतिक परिवार नै हो । राजनीतिकै कारण २०२८ सालमा हामी त्यहाँ बस्न नसकेर कौडीको भाउमा बेचेर बसाईं सर्नुप¥यो । मेरा दाजुले डाक्टर पढ्ने अवसर छाडेर पार्टीका लागि सीपी मैनालीसँगै जेल बस्नुभयो, हामीलाई पढ्न धौ धौ भयो । झापा विद्रोहमा लागियो, नेत्र घिमिरेको रेडगार्ड भएर त्यो बेलाका प्रहरीहरू कहाँ कहाँ छन् भनेर सूचना ल्याउने उहाँहरूलाई जोगाउने, रत्नकुमार बान्तवासँग साथीहरूलाई भेटाएर संगठन बनाउने काम गरेँ । त्यो काममा लाग्दा पढाइ बिग्रियो, काठमाडौं आएर टंक कार्र्की, खोमदत्त बराल, केदार बराल, सुवास नेम्वाङहरूसँग सम्पर्क गरेर २०३६ सालको आन्दोलनमा महत्वपूर्ण भुूमिका निर्वाह गरेँ । त्यो बेला वसन्तपुरमा कैलाश कार्र्की, शरणविक्रम मल्ल र बलबहादुर केसीले सरकारसँग गरेको सम्झौताको विरुद्धमा बोल्ने म पहिलो वक्ता हुँ । त्यस क्रममा म जेल परेँ । जेलबाट आएपछि म अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष भएँ नेपाल ल क्याम्पसमा । त्यो बेलाको अनेरास्ववियूको सम्मेलन सञ्चालन गर्ने भोलेन्टियर्स ४ जना कमाण्डरमध्येको म पहिलो हुँ । मैले जीवराज आश्रितसँग नजिक रहेर काम गरेको छु पार्टी कार्यलयमा बसेर । पोखरामा रहेर काम गर्दा केशवलाललाई बचाएको छु, अनेरास्ववियुकी कार्यकर्ता दुर्गा आचार्यलाई गुण्डाहरूले बलात्कार गर्दा त्यो केस अदालत ल्याएर जुलुस निकाल्ने परिस्थिति बनाएको छु, त्यही कारण अञ्चलाधीशले कि काडमाडौं पठाउने कि जेल हाल्ने भनेर क्याम्पस चिफलाई भनेपछि २ घण्टाको बीचमा पार्टीसँग समेत सम्पर्क गर्न नपाई काठमाडौं सरुवा भएर आउनु प¥यो । ल क्याम्पसमा हाजिर गर्न दिएनन्, फुलिस्केपमा हाजिर गरेर ६ महिना काम गरेँ । २०४६ सलको जनआन्दोलनपश्चात मात्र हाजिर गरेर तलब लिएको थिएँ । पोखरामा काम गर्दा इमान्दार र सक्रिय कम्युनिस्टको सम्मान पाएँ । जीवराज आश्रित रहुञ्जेल म पार्टीको कानुन विभागमा सक्रिय रहेर काम गरेँ, अनेमसघको विधान हामीले बनाएका हौं । मेरी श्रीमती पनि पार्टीमै काम गर्दथिन, म र मेरी श्रीमतीले मनमोहन अधिकारीको लागि भोट मागेका थियांै, उहाँको चुृनावी अफिस हाम्रै घरमा राखेका थियौं । जुन दिन उहाँ रहनुभएन त्यसै दिनदेखि मलाई त्यो विभागमा काम गर्न दिइएन । म अलि क्षमता भएको मान्छे यो पार्टीमा हुँदा काम गरेको देखेका पनि थिए, त्यसैले यसलाई ठाउँ दिँदा हामीलाई सिध्याउँछ विस्थापित गर्छ भन्ने त्रासले मलाई धेरै लखेटेका हुन सक्छन् । पहिल्लो समयमा त मलाई संगठित रूपमा यति लखेटेकी झण्डै सुसाइट गर्छु भन्ने अवस्थासम्म पु¥याए । त्यो बेला मैले ल फर्म राख्न अनामनगर र पुतलीसडकमा कोठासमेत पाइँन । आज गयो र कोठामा बैना दियो भोलिपल्ट जाँदा त बैना लैजानुस् कोठा नदिने भन्छन्, त्यही दिन गएर भाँडी दिइहाल्दा रहेछन् मेरा विरोधीले । त्यही भएर मैले ल फर्म खोल्दा समाप्त हुन्छु मलाई गरिखान दिँदैनन् भनेर काठमाडौं स्कुल अफ ल सञ्चालन गरेको हुँ । मैले गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा बिघटन गर्दा गणेश पण्डित र हरि नेपालले हालेको मुद्दामा सर्वोच्चमा जोडदार रूपमा बहस गरेँ । त्यसले मलाई कानुनी पेसामा चिनायोे पनि मिडियामा अन्तर्वार्ता र लेख थुप्रै छापिए । त्यसले मलाई स्थापित हुन सहयोग पनि पुग्यो । तर पछि मनमोहन अधिकारीले प्रतिनिधिसभा विघटन गर्दा मलाई बहस गर्न दिइएन, विश्वनाथप्रसाद सिंहले एमालेलाई गाली गरेर प्रतिनिधिसभा पुनस्र्थापना गरेको पत्र साथीमार्फत मैले पाएर पार्टीको इमान्दार कार्यकर्ताको नाताले झलनाथ खनाललाई सुनाउँदा उल्टै मलाई प्रहरी लगाएर कारबाही गर्ने कुरा गरे, बुद्धिजीवी परिषद्मा बसेर काम गरँे, काठमाडौं क्षेत्र नं ३ को क्षेत्रीय समितिमा रहेर काम गरेँ । पछि सरुवा गरेर कानुन फाँटमा आउन खोज्दा एकजना कानुन व्यवसायीले मेरो सरुवाको पत्रै च्यातिदिए । त्यसपछि म धेरै समय सदस्यताविहीन भएर बसेँ । पछि पार्टी फुटेपछि वामदेवले बोलाउनु भयो म आउँदिन तपाईहरू जहाँ हुनुहुन्छ म त्यही छु भनेँ । मैले भन्ने पनि गरेको छु कि म मालेमा गएको होइन म उभिएका ठाउँमा माले हिँड्दै आयो म सँगसँगै हिँड्ने भनेर । अब मलाई पार्टी चाहिएको छैन किनकी मलाई पद पनि चाहिएको छैन सत्ता पनि चाहिएको छैन । म चीन, भारत, थाइल्याण्डमा पढाइरहेको छु, आफ्नो क्षेत्रमा राम्रो परिचय बनाइसकेको छु, दिनको १८ घण्टा काम गर्छु त्यसले मलाई सबै कुरा गर्न पुग्छ । हामीलाई स्कुलबाट नाफा चाहिएको छैन चले पुग्छ तर स्कुुल हामीले राम्रै चलाएका छौं । २० वर्षमा कानुनी शिक्षाको मुहार परिवर्तन गरेका छौं । हामीजस्ता सक्षम मान्छेले सत्ताको नजिक जानु पनि पर्दैन, सत्ताको सुविधाको पनि आवश्यकता छैन । त्यसैले अरूलले रिस डाहा गर्दागर्दै चाकरी गरेर सत्ताका लागि किन मरिहत्ते गर्न जाने ? म आफ्नै काम गर्न पढाउन भ्याइरहेको छैन भने किन त्यहाँ जाने भन्ने निष्कर्षमा पुगेको छु । त्यसैले राजनीतिमा जान नचाहेको होइन मलाई पनि पार्टीका नेताले खोज्नुभएन, नखोजे पछि म कहाँ जाने ? जाने कुरा र काम गर्ने कुरा त भएन । हामीजस्तो क्षमता राख्ने मान्छेलाई राज्यले खोज्नुपर्छ त्यो भएको छैन । म देशभक्त भएकाले मेरो सरोकार सधैँ गरिब जनताप्रति हुन्छ । गाउँमा गरिबले भारी बोकेर हिँडेको, भारी बोक्दा पनि खान लाउन नपाएको, ८ महिनाकी सुत्केरी महिलाले भारी बोकेको, सिटामोल खान नपाएर बिरामी छट्पटाएको गिट्टी कुटेर गरिबका छोराछोरीले पढ्न नपाएको, बिरामी हुँदा औषधि उपचार नपाएको देख्दा मेरो मन भक्कानिएर आउँछ । कतिपय अबस्थामा म रोएको छु त्यो देखेर गाउँ जान मन लाग्दैन । उता हाम्रा मन्त्री र उनका सल्लाहकारको अफिस हेर्दा, जीवनशैली र रवाफ हेर्दा छक्क लाग्छ । अमेरिकाको राष्ट्रपति त्यति शालीन छ, उ रिटायर भएपछि आफूले पहिले गरेको काममा फर्कन्छ, भारी पनि बोक्छ तर यहाँका हाम्रा नेता भने तिनै फाटेका जनताको मतबाट हामी जितेर यहाँ आएको हुँ मैले तिनको सेवा गर्नुपर्छ भनेर सामान्य जीवन जिएर उनीहरूको सेवामा लाग्छु भनेर सोचे हुँदैन ? तर हाम्रा नेताले त्यो सोचेनन् । त्यसले पनि मलाई राजनीतिप्रति रुचि नजागेको हो ।

चलाख बुद्धिजीवीलाई त रअ, सीआईए र साउथ ब्लकले चलाउँछ भन्छन् तपाईको के अनुभव छ ?

यो सत्य हो तर यसमा हाम्रो बुझाइ फरक छ । हामी रअ का दुईजना मान्छे आउँछन्, चिया खान बोलाउँछन् र हाम्रो संगठनमा आउनुस् हामी यति पैसा दिन्छौ भन्छन् भन्ने बुझाई छ, त्यो होइन । उनीहरूले थाहै नपाई घुमाइरहेका हुन्छन् । जस्तो हाटबजार लाग्छ, त्यहाँ कसैलाई निम्ता हुँदैन, तर सबै बजार घुम्न जान्छन्, त्यहाँ रोटेपिङ खेल्ने, घोडा चढ्ने,उँट चढ्ने, मुरली बजाउने, मादल बजाउने, गाना गाउने आदि आदि रमाइला कुरा गर्ने सबै कुरा राखेर झकिझकाउ बनाइएको हुन्छ । त्यहाँ जानेले एउटालाई भन्छ, अर्कालाई भन्छ, जान्छन रमाइलो गर्छन । तर, त्यहाँ हामीजस्ता १८ घण्टा काम गर्नेहरूलाई त जाने फुर्सद नै हुँदैन । त्यहाँ त काम नभएका रमाइलो गर्न पल्केका, मेरो उत्पादन गर्ने यत्रो समय त्यसै खेर गइरहेछ यो भएन नभन्ने खालका मान्छेहरू जाने हुन् । त्यहाँ जानेले आफ्नो योजनाअनुसार आफूले बनाएर खेल्ने त होइन, उसको डिजाइनअनुसार उसको नियमअनुुसार उसले घुमाएअनुसार घुम्नुपर्छ । त्यहाँ यो रअ ले यो सीआईए यो साउथ ब्लकले बनाएको चलाएको भन्ने त थाहा हुँदैन । जाने जान्छ, आफनो इच्छाअनुसार रमाइलो गर्छ, उसको नियमअनुसार खेल्छ आउँछ । यसो गर्दागर्दै सँधै जाने बानी लाग्छ । पैसा खर्च गर्छ हुँदाहुँदा अन्त्यमा आफूसँग पैसा पनि सकिन्छ काम गर्ने पैसा कमाउने ध्यान पनि हुँदैन र टाट पल्टिएर समाप्त हुन्छ । अहिले हाम्रा नेता बुद्धिजीवी पनि त्यसैगरी प्रयोग हुने हुन् । अहिले कोही राजावादीलाई हिन्दु धर्म भन, आन्दोलन गर मौका यही हो हामी सहयोग गर्छौ भनेका छन्, कसैलाइ अब कम्युनिस्टले तिमीहरूलाई उठ्न दिँदैनन् अब ५० वर्ष उनीहरूले शासन गर्छन, निरङ्कुशता ल्याउँछन्, आन्दोलन गर भनिदिएको छ, त्यसैको भरमा कांग्रेस अधिनायकवाद भन्दै उफ्रिँदै हिडेको छ । यता नेकपाको पार्टीभित्रै केपी ओलीले अब कसैलाई बाँवmी राख्दैन शक्तिशाली भयो, १० वर्ष तिमीहरूलाई दिँदैन, काम केही गरेको छैन कुरामात्र गर्छ, पार्टीको बैठक पनि बालुवाटारमै गर्छ, कसैलाई टेर्दैन यसलाई ठीक पार भनिदिन्छ त्यसैअनुसार पार्टीभित्रै केपीको विरोधमा उत्रन्छन् । सुन्दा ठीकै पनि हो पार्टी त विधिसम्मत रूपले पार्टी कार्यालयमा बैठक बस्नु पर्ने हो । तर उनीहरूले झगडा बनाइदिन यसरी उचालेका छन् भनेर नेताले बुझदैनन् । हो नि अब बैठक बस्न बालुवाटार गइँदैन भन्छन् । मन्त्रीले काम गर्दैन, केपीलाई दोष, सचिवले बिगार्छ, केपीलाई दोष दिन लगाउँछ किनकी मन्त्री त केही होइन वेट भएको विदेशीलाई नटेर्ने त केपी ओली हो उनले टिममा त चल्लाजस्ता मान्छे लिएर हिँडेका छन् सबैलाई छोप्नुपर्ने अनि चल्लालाई त सिकारीले किन हान्छ, माउ मारेपछि त सबै चल्ला आँफै मरिहाल्छन् । कम्युनिस्ट पार्टीमा पनि केपीलाई समाप्त पारेपछि त पार्टी छिन्नभिन्न भइहाल्छ यही योजनाअनुसार सिकारीले ओलीलाई प्रहार गरिरहेको छ, गर्न लगाइरहेको छ । उता खोरभित्र रहेका अरू पोथीहरूले बाहिर एउटामात्र पोथी चरेको मीठो मीठो अन्न खाएको, रातो चिल्लो भएको, बलियो भएको देख्छन् त्यो देखेर भित्रका पोथीहरू क्वाँर्क्वाँर् कराउँछन्, हामीले पनि खान पाउनुपर्छ, यसले मात्र खानुहुँदैन भनेर ।
उनीहरूले पनि बाहिर चरेको पोथीलाई ठुङ्न खोजिरहेका छन् । त्यही भएर मैले अहिले सरकारको डिफेन्समा बोलिरहेको छु । मलाई थाहा छ यो वामपन्थी सरकार हो यो सरकार अहिले लड्यो भने तत्काल अर्को सरकार बनाउन सकिने अवस्था छैन, अर्को सरकार बनाउन सकिएन भने संघीयताका कारणले सबै संरचना भत्किएका छन्, ऐन कानुन बनिसकेका छैनन्, भत्किएका कुरा बनेका छैनन् । यस्तो अवस्थामा अराजकता हुन्छ र नेपाल फेल्ड स्टेड हुन्छ । त्यसो भयो भने अराजकताको नाममा राष्ट्रसंघले शासन गर्नसक्छ र आफनो योजनाअनुसार कंगो, हाइटीलगायतका देशमा जस्तै निर्वाचन गराउन सक्छ, शासन सम्हाल्ने नाममा पश्चिमा सेता मान्छेहरू यहाँ आउँछन् । त्यो कुरा सुरक्षाका दृष्टिले चीन र भारतले मान्दैनन् र नेपाली भूमि युद्धभूमिमा परिणत हुन्छ । यो खतरा मैले देखिरहेको छु र मैले त्यस्तो नहोस् भनेर यो सरकारलाई जसरी पनि टिकाउनु पर्छ सम्झाई बुझाई गरेर भए पनि काममा लगाउनु पर्छ भनेर सरकारको विरोध गर्नेहरूको विरोध गरिरहेको छु । केही पाउन ओलीलाई राम्रो लागेर र चाकडी बजाउने हिसाबले होइन, देश असफलतातर्फ नजाओस् भनेर देशको मायाले हो । कतिपयलाई रिस डाहा भएको छ ओलीको बचाउ ग¥यो भनेर, उनलाई होइन देश बचाउन खोजेको हो । मेरो सल्लाहअनुसार हुने भए वामदेवलाई अपरहाउसबाट माथि लगेर गृहमन्त्री र नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउनु राम्रो हुन्छ । अन्य त्यस्तै मान्छेलाई सरकारमा राख्नुपर्छ । त्यसो हुँदा कसैले हल्लाउन चलाउन सक्दैन सरकार बलियो हुन्छ । हामीले भन्ने र गर्ने देशकै हितमा हो ।
तपाईंलाई पुस्तक लेख्नचाहिँ केले प्रेरित गय्राे ?
म विगत २० वर्षदेखि एसियाका बिभिन्न विश्वविद्यालयहरूमा पढाउने गरेको छु । अन्तर्राष्ट्रिय कानुनका सम्मेलनहरूमा भाग लिने गरेको छु । एसियन ल प्रोफेसन एसोसिएसनको अध्यक्ष छु । दुईचार सय लका प्रोफेसरहरूसँग भेटघाट हुन्छ, छलफल हुन्छ । त्यहाँ हाम्रो चिन्ता यही हुन्छ कि अमेरिकाले इरानमाथि किन हान्न लागिरहेको छ । इरानमाथि अमेरिकाले हान्यो भने एसियाको राजनीतिमा कस्तो असर पर्छ ? जब कि भारतले त्यहाँबाट ८० प्रतिशत तेल ल्याउँछ । भारतबाटै हामीले ल्याउँछौं । भारतले तेल पाएन भने हामीले पनि तेल पाउँदैनौं । अमेरिकाले रसियालाई समाप्त पार्न खोज्यो तर बल्ल तल्ल तंग्रेर अहिले सक्षम भएको छ । फेरि त्यसलाई समाप्त पार्न १०, १५ वर्षदेखि योजना बनाइरहेको छ । दोस्रो महाशक्ति राष्ट्रको रूपमा उदाउँदै गरेको विकसित राष्ट्र चीनको विकासलाई पनि उसले सहिरहेको छैन । पूर्व र पश्चिमका बीचमा खाडल सिर्जना हुन लागेको अवस्था छ । यसले तेस्रो विश्वयुद्ध हुने सम्भावना नजिक ल्याइरहेको छ । त्यसैले मैले यो किताब किन लेखें भने चीन र भारत धनी देश माथि माथि गइरहेका छन् । उनीहरू धनी हुँदा उनीहरूबाट अलि अलि पोखिएको कुराले पनि हामी धनी हुनुपर्ने हो तर हामी किन झन् झन् गरिब भएर तल तल गइरहेका छौं ? यसमा मेरो निष्कर्ष के रह्यो भने भारत र चीनको विकासले आत्तिएको पश्चिमा शक्ति भारत र चीनको अनुगमन र निगरानीको लागि नेपालमा बस्न चाहँदा हाम्रो राजनीति र अर्थतन्त्र भत्किरहेको छ भन्ने मलाई लागिरहेको छ । यसमा जात र भाषालाई विभाजन गरिदिएर एक आपसमा लडाइदिएर तराई र मधेसका बीचमा लडाइदिएर नेपालको विकास र राजनीतिलाई गिजोले । हालै एसिया प्यासिफिक समिटको नाममा भएको क्रिश्चियानिटीको धर्म प्रचारको योजना पनि यसैको एउटा कारण हो । जुन कुराको मैले १५ वर्षदेखि अध्ययन अनुसन्धान गरिरहेको छ । यो कुराले मलाई उद्धेलित बनाएको हुनाले र १५ वर्षदेखिको अध्ययन अनुसन्धानलाई पुस्तकको स्वरूप दिनुपर्छ भनेर मैले यो पुस्तक लेखेको हुँ । यो पुस्तकले किन यति चर्चा पायो भने यसमा एसियाको आर्थिक र राजनीतिक अवस्था, यसले पारेको खाडल, पश्चिमा शक्तिहरूले यहाँ पारेको प्रभाव, पश्चिमा र एसियाको राजनीतिबीचको खाडल हामी गरिब भइरहनु पर्ने परिस्थिति अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल, भारत र चीनको ठूलो बजारलाई यहाँका अर्थशास्त्रीले चिन्न नसक्नुको कारण तथा चीन र भारतमा नेपालीहरूको बसोबास धेरै भएको थाहा पाएर यो कुरालाई सबै सामु पु¥याउन यो पुस्तक लेखेको हुँ । मलाई अरू नेताको जस्तो डर छैन । कसैसँग जागिर माग्नु पर्ने अवस्था छैन । सरकारको जागिर खानु परेको छैन । मैले प्राज्ञिक संस्था चलाउँदा मलाई गोली हानेर मार्न मिल्दैन । त्यसकारण मैले बोल्न सकें । भारत, बंगलादेश, चीन र पाकिस्तानका सर्वसाधरण र बुद्धिजीवीले चाहेको कुरा यो पुस्तकमा लेखिएको हुनाले यसलाई ती देशका सबैले मन पराएका छन् । जसका कारण यो पुस्तक दुई दिनमा चार हजारप्रति बिक्री भइसकेको छ । हजारौंको माग भएको छ । किताब निक्लेको १० दिन पनि भएको छैन । पाकिस्तानको एउटा कम्पनीले पुस्तक त्यहाँबाट छाप्नलाई मसँग स्वीकृति लिइसक्यो । चीनको कम्पनीले चिनिया भाषामा ट्रान्सलेसन गरेर छाप्न स्वीकृति मागिरहेको छ । मैले छलफल गरेर मात्र निर्णय दिने भनेर भनिरहेको छु । रसियालगायत अन्य देशहरूले छाप्नलाई मागिरहेका छन् । यो पुस्तक नेपाली भाषामा पनि प्रकाशित हुन लागिरहेको छ । राम्रो कुरा दियो भने संसारले त्यसलाई अनुसरण गर्दोरहेछ, अध्ययन गर्न खोज्दो रहेछ भन्ने कुरा यो पुस्तकले पुष्टि गरेको छ र मलाई पनि गौरव लागेको छ । मैले अन्तर्राष्ट्रिय ग्राहक पाएको छु । २०० प्रति हिजोमात्र लण्डनबाट मगाइएको त्यहाँ पठाएको छ । अंग्रेजी मै किन लेख्नु भयो
यो पुस्तक नेपालीमा किन लेखिएन ?
नेपालीमा पनि आउँदैछ । साथीहरूले तयार गर्दैछन् । तर अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएको र नेपाली भाषा विदेशीहरूले बुझ्न नसक्ने भएकोले अंग्रेजीमा लेखिएको हो किनकी यो पुस्तकको बुझाउनु पर्ने कुरा विदेशीलाई नै हो । त्यसैले यो दुईवटै भाषामा लेखिएको छ ।