जनप्रतिनिधिले देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्छ


उत्तमकुमार शर्मा नेकपाका नेता एवं सप्तकोसी नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ । विद्यार्थी राजनीति हुँदै कम्युनिस्ट पार्टीको राजनीतिमा आउनुभएका नेता तथा नगरपिता शर्माले पार्टीका जिल्लादेखि अञ्चलका विभिन्न पदमा बसेर काम गरिसक्नु भएको छ । देश, जनता र परिवर्तनको लागि पार्टीमा लाग्दै आउनुभएका उहाँ सरल, ईमानदार र जनताका आशालाग्दा मेयरका रूपमा परिचित हुनुहुन्छ । जस्तो सुकै चुनौतिको डटेर सामना गर्ने उहाँसँग विकास
निर्माण र सप्तकोसी नगरपालिकाका भावी योजनाका बारेमा छलफलले गरेको कुराकानीको सम्पादित अंशः

सप्तकोसी नगरपालिकाले के कस्ता कामहरू गरिरहेको छ ?
हामी निर्वाचित भएको करिब २३ महिना पुग्न लागेको छ । यो नवोदित नगरपालिका भएकोले यस बीचमा हामीले सडक, यातायात, कृषि, नदी नियन्त्रण, रोजगारी सिर्जना गर्ने, पर्यटन प्रबद्र्धन गर्ने, कुटिर उद्योगहरू सञ्चालन गर्नेलगायत कामहरूलाई बढ्ता जोड दिएका छौं । सडकअन्तर्गत चक्रपथ निर्माणको काम २ करोडको लागतमा सुरु भइसकेको छ । लिंक रोडहरू बनाउने काम पनि प्राथमिकतामा राखेका छौं । यिनै काम सम्पन्न गर्न संघीय सरकारका सम्बन्धित निकाय र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायत पदाधिकारीसँग मैले भेटेर आफ्ना कुराहरू राखेर आएको छु । रोजगारी सिर्जना गर्न सीप विकासका तालिमहरू दिने काम, घरेलु उद्यमका लागि तालिमहरू दिने काम, महिलाहरूलाई ड्राईभिङ तालिम दिनेलगायतका काम गरिरहेका छौं । तर यी सबै काम सम्पन्न गर्न कर्मचारीको ज्यादै अभाव भएको छ जसले गर्दा सोचेअनुरूप काम हुन सकिरहेका छैनन् । विकास निर्माणका काम गर्न छुट्याएको बजेट कार्यान्वयन गर्न कर्मचारीहरूले समस्या भएको छ । काम गर्ने बेलामा कर्मचारीको समायोजन भएर कर्मचारी तितरवितर भएर काम हुन सकिरहेको छैन ।

यो कसरी समाधान हुन्छ त ?
अहिले हाम्रो कार्यालयमा लेखा अधिकृत, इन्जिनियर, प्रशासनका केही कर्मचारीहरू छैनन् । समायोजनले गर्दा कहाँ कहाँ पुगेका छन् यहाँ खटिएर आएका छैनन् त्यसैले यसलाई हटाउन कर्मचारीलाई रोजाएर काममा पठाउने हैन आवश्यकताअनुसार सरकारले कर्मचारी खटाउनु पर्छ । त्यसो गर्दा संघीयता कार्यान्वयन गर्नेदेखि विकास निर्माणका कामहरू सम्पन्न गर्न सहज हुन्छ ।

तपाईंहरूलाई प्रदेश सरकारको सहयोग कत्तिको छ ?
हाम्रो प्रदेश २ नम्बरमा पर्छ, यो सरकारका आफैं समस्याग्रस्त छ । यहाँ बढी निरक्षर जनता बस्ने, दहेजको समस्या बढी भएको जनता बस्ने, स्रोत साधन कमी भएको प्रदेश, गरिबहरू बढी भएको प्रदेश, जिम्मेवारीमा कमी भएको प्रदेश भएकोले यहाँ काम गर्न सहज छैन । त्यसमा पनि माथि प्रदेश सरकारका ऐन कानुन बनिसकेका छैनन् । कतिपय कानुन प्रदेश सरकार र स्थानीय सरकारका बीचमा बाझिएका छन् । स्रोत साधनको पर्याप्तता छैन । सरकारी निकाय र नगरपालिकाबीच समन्वय राम्ररी हुन सकेको छैन । यसले गर्दा सोचेजस्तो सहयोग हुन सकेको छैन । तर पनि हामीले सम्पर्क गरिरहेका छौं । कार्यक्रमहरूमा प्रदेश सरकारलाई बोलाउने गरेका छौं र प्रदेश सरकारले हामीलाई पनि सहभागी गराइरहेको छ । भर्खरै प्रदेश सरकारले १ करोडको योजना दिएको छ त्यसमा २५ प्रतिशत हामीले हाल्नुपर्नेछ । ५५ लाख संघीय सरकारले संघीय क्षेत्र विकास कोषमार्फत छुट्याइदिएको छ । यसरी हामीले समन्वयात्मक ढंगले काम गरिरहेका छौं तर जुन मात्रामा हुनुपर्ने हो त्यसरी हुन सकेको छैन । यसमा ऐन नियम कानुनको अपर्याप्तता नै मुख्य समस्या हो ।

जनताको मागचाहिँ बढी के छ ?
रोजगारी जनताको मुख्य माग छ । यहाँका गरिब जनताले खाई नखाई छोराछोरी पढाएका छन् । कतिपयले बीए, एमए पास गरेका पनि छन् तर उनीहरूले काम पाउन सकेका छैनन् । त्यसपछि जग्गा जमिन नभएकाहरूले वासको माग गरेका छन् । कतिपय जनताले कृषि उत्पादनमा लगानी खोजेका छन् । कतिले उद्यमशीलताको लागि हामीलाई घच्घच्याएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर हामीले कृषि उत्पादनमा युवालाई जोड्ने सानातिना उद्यममा लगाउने नीति योजना बनाइरहेका छौं । तर कर्मचारीको अभाव र स्रोत साधनको अभावले केही समस्या भएको छ । त्यो समस्या हल गर्न सकियो र ऐन कानुनको अभाव तत्काल पूर्ति गर्न सकियो भने सोचेअनुसार उपलब्धी हासिल गर्न सकिन्छ यसमा हाम्रो प्रयास जारी छ । नदी नियन्त्रण गर्ने, गाउँ गाउँमा पुग्ने लिंकरोड निर्माण गरिदिने माग पनि जनस्तरबाट त्यतिकै उठ्ने गरेको छ । यी सबै कुरामा हाम्रो ध्यान पुगिरहेको छ ।

तपाईंलाई जनताको कर्मचारीको, जनप्रतिनिधिको कत्तिको साथ सहयोग छ ?
यहाँ सबै विचारका जनता बस्छन् । हाम्रो देश नै विविधतायुक्त छ, यहाँ नहुने कुरै भएन, छ । त्यो निर्वाचनका बेला प्रकट हुन्छ तर विकास निर्माण र जनताको हितमा हुने काममा सबैको एकमत छ । विविधतामा एकता छ, जनताका हितमा हुने काममा यहाँ कसैको असहयोग, अवरोध हुँदैन । हामीले पनि कसैलाई काखा कसैलाई पाखा गरेर काम गरेका छैनौं । सबैसँग छलफल गरेर सबैलाई समेटेर, काम गरिरहेका छौं । हामीले राम्रो गर्दागर्दै अरूले नराम्रो गर्छन् भने त्यसमा हाम्रो भन्नु केही पनि छैन । त्यसो गर्नेहरू मान्छेको दर्जामा पनि पर्दैनन् । यही सिद्धान्त यहाँ हामी सबैले फलो गरिरहेका छौं । यद्यपि यहाँ हामी एउटै पार्टीका जनप्रतिनिधि भएको हुनाले त्यस्तो समस्या छैन । त्यसले चाहिँ समस्या पारेको छ, हामी आजीवन सांगठनिक विधि, पद्धति, दर्शन र आर्दशमा रहेर हिँडेका मान्छे अहिले यो विधि, प्रक्रिया सबै ब्रेक भएको छ, संगठनको संरचना बन्न सकेको छैन । लाखौं नेता कार्यकर्ताको पंक्ति कामविहिन बनेको छ । जिम्मेवारीविहीन भएपछि कमिटीविहीन भएपछि मान्छे अराजक बन्छ, स्वार्थमा हिड्छ, एउटै पार्टीभित्र पनि स्वार्थहरू टकराउछन् त्यसले सबैलाई समस्या पार्छ । त्यसैले सिंगो पार्टी समस्यामा पर्छ । त्यो असर हामीमा पनि आउँछ । एकआपसमा कोअर्डिनेसन हुँदैन, वैमनस्यता बढ्छ । त्यो अहिले पार्टीभित्र भइरहेको छ त्यसमा पार्टी नेतृत्वले ध्यान दिनुपर्छ तर अहिले हाम्रोमा त्यस्तो अवस्था भएको छैन किनकी पार्टी कमिटी नभए पनि हामीले आफ्नो जिम्मेवारी सबैले हिजोकै विधि पद्धति प्रक्रियाअनुसार बहन गरिरहेका छौं । एकआपसमा छलफल गरिरहेका छौं, एकले अर्कालाई सम्झाई बुझाई गरिरहेका छौं । सबै नेता कार्यकर्ताले जनताका हितमा काम गर्नुपर्छ भन्ने मान्यता राखेर काम गरिरहेका छौं । हिजोकै पद्धतिमा चल्नुपर्छ भन्ने धारणा हामीमा स्वस्फूर्त रूपमा छ । त्यसले गर्दा यहाँ समस्या भएको छैन तर आमरूपमा हेर्ने हो भने कार्यकर्ताको ठूलो पंक्तिचाहिँ पार्टीको नेतृत्वसँग असन्तुष्ट छ । त्यो यदाकदा कतिपय ठाउँमा जनप्रतिनिधिसम्म पनि आउन थालेको सुनिएको छ, जनप्रतिनिधि भएर कमिशन खोज्ने, डोजर किन्ने, ठेक्कापट्टा आफैंलाई पार्ने, आफ्नै डोजर खटाएर काम गर्ने नाफा लिने, कतिपय आयोजनाहरू आफ्ना मान्छेलाई पारेर कमिशन लिने जस्तो सुनिएको छ । त्यो पार्टी अनुशासन नभएर नै हो । यो काम सुधारिएन भने नीति, विधि र कमिटीगत पद्धतिमा गरिएन भने हामी समाप्त हुन्छौं, अर्कोपटक जनतामा जाने हैसियत समाप्त हुन्छ । पार्टी र जनप्रतिनिधि, जनप्रतिनिधि र जनताबीचको सम्बन्ध टुट्न दिनुहुँदैन । त्यसका लागि हामीले पार्टीका नेता कार्यकर्तादेखि हाम्रा जनप्रतिनिधिसम्मलाई सचेत गराईरहेका छौं, भनिरहेका छौं । तर यसमा मूल नेतृत्वले नै ध्यान दिनुपर्दछ ।

यस नगरपालिकालाई समृद्ध बनाउने आफ्नै स्रोत साधन के छ ?
हामी आत्मनिर्भर बन्न सक्ने गरिका स्रोत साधन छन् । जंगल जडीबुटी प्रशस्त छन्, खोलानाला, बालुवा गिटी पर्याप्त छ त्यसबाट आय आर्जन गर्न सकिन्छ । पर्यटन प्रर्बद्धनका लागि प्रशस्त पर्यटकीय स्थलहरू छन् । पिकनिक स्पोर्टहरू छन्, पार्कहरू छन् त्यसबाट पनि आय आर्जन गर्न सकिन्छ । नेपालकै पहिलो सिँचाई आयोजना चन्द्रनहर यहीँ पर्दछ । यो महत्वपूर्ण सम्पदा हो । सप्तकोसी हाम्रै नगरपालिकाको सीमानामा पर्छ । कोसीटप्पु वन्यजन्तु आरक्षण यही हाम्रै सीमाना छेउमा छ । त्यहाँ वर्षमा २, ३ पटक मेला लाग्ने गर्छ, त्यो मेलामा लाखौं मान्छे देश विदेशबाट आउँछन् त्यसबाट पनि हामीले आय आर्जन गरिरहेका छौं । कोसीटप्पु वन्यजन्तु आरक्षण यही हाम्रै छेउमा भएकोले त्यसलाई सौराहाजस्तो बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ, त्यसले व्यापार व्यवसाय बढाउँछ । यसबाहेक भूमिकर, सम्पत्तिकर, फोहोर संकलनकर, वातावरण संरक्षण शुल्कलगायत अन्य सेवा शुल्ककर उठाएर नगरपालिकालाई सञ्चालन गरिरहेका छौं । अब भोलिका दिनमा यसलाई वैज्ञानिक कर प्रणालीमा लगेर नगरलाई समृद्ध बनाउने योजना छ । तर यसलाई राम्रो बनाउनका लागि नगरपालिकाको सम्पत्ति संरक्षण गर्न आफ्नो योजनाअनुसार काम गर्न विकास निर्माणका काम अगाडि बढाउन कतिपय कानुन नै बनेका छैनन् भने कतिपय बनेका कानुनहरू पनि बाझिएको छ । सरकारी निकायसँग समन्वयको अभाव छ, अधिकारको बाँडफाँडमा अस्पष्टता छ । हाम्रो अधिकारभित्र पर्ने गिटी बालुवा वनले मेरो हो भनिरहेको छ, सिँचाईको विषय सिँचाईले मेरो हो भनिरहेको छ । उता सस्कृति सम्पदाका कुरामा वन्यजन्तु आरक्षणले दाबी गरिरहेको छ, यसले गर्दा काम गर्न समस्या भइरहेको छ, जस्तो कि खोलानदीमा बालुवा गिटी भरिएको छ, वनले यसमा पस्न पाईंदैन भनेर हामीलाई काम गर्न दिंदैन भलबाढी आउँछ जनतालाई बगाउँछ, जनधनको क्षति गर्छ, त्यसमा वन चुप लागेर बस्छ, समस्या नगरपालिकालाई आइलाग्छ । यस्तो अवस्थाले हामीलाई हाम्रो आय आर्जन बढाउनदेखि नगरलाई समृद्ध बनाउन समस्या भइरहेको छ । यसको अन्त्य गर्नका लागि सरकारी निकाय र नगरपालिकाका बीच अन्तर समन्वयको खाँचो छ । बाझिएका कानुन खारेज गरेर जनताका हितमा काम गर्न सक्ने कानुनको निर्माण गर्नुपर्नेछ । त्यसका लागि मैले संघीय सरकार, प्रदेश सरकारदेखि विभिन्न सरकारी निकायसँग समन्वय गरिरहेको छु, आफ्ना कुरा राखिरहेको छु । जनताका समस्याका बारेमा भनिरहेको छु । यो समस्या समाधान भयो भने हामी कृषि पर्यटन, यातायात र धार्मिक र प्राकृतिक सम्पदाको माध्यमबाट नगरलाई समृद्ध बनाउन सक्छौं ।

स्थानीय सरकारले जथाभावी कर लगायो भन्ने गुनासो जनताले गरिरहेका छन् नि ?
हामीले केहीमा पनि थप कर लगाएका छैनौं । पहिले जस्तो कर प्रणाली थियो अहिले पनि त्यस्तै छ, खाली हामीले करको दायराचाँहि बढाएका छौं । कर बढाएका छैनौं र जनताको अहितमा हुने काम गर्ने पनि छैनौं । नगरपालिकाको सम्पत्ति जनताकै हो, जनताकै चाहना र योजनाअनुसार काम गर्दै अगाडि बढ्नेछौं ।

आफ्नो कार्यकाल सफल बनाउन, नगरसमृद्ध बनाउन, पार्टी र सरकारसँग के अपेक्षा गर्नुहुन्छ ?
हामीले गरेका काममा अहिले हामीलाई सन्तुष्टि छैन । जनताले चाहेजति गर्न सकिएको छैन । अहिले जनताका इच्छा आकांक्षा धेरै छन्, हामीले काम गर्नुपर्ने थुप्रै समय बाँकी छ, अहिले नै सबै काम हुन सक्दैनन् पनि समय लाग्छ । हामीले काम गर्ने प्रयत्न गरिरहेका छौं जनताका असन्तुष्टि र समस्याहरू घटाउँदै लगेका छौं । हाम्रो कार्यकाल स्वर्णिम बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाइरहेका छौं । जनताका हितमा हुने काम गर्न खोजिरहेका छौं । पाँच वर्षपछि पनि हामीलाई जनताले सम्झनलायक काम गर्न खोजिरहेका छौं । यसका लागि पार्टी र सरकारले वातावरण बनाइदिनुपर्छ, सरकारले स्रोत साधन जुटाइदिनुपर्छ । अधिकारको बाँडफाँड स्पष्ट रूपमा गरिदिनु पर्छ । नगरपालिकाले यी यी काम गर्न सक्छ यसमा कसैले अवरोध गर्न पाउँदैन भनेर अधिकार सम्पन्न बनाइदिनुपर्छ । पार्टीको सांगठनिक संरचना चुस्तदुरुस्त बनाएर हाम्रा कामहरू गाउँ गाउँका जनताले थाहा पाउने बनाउनुपर्छ । स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन अनुगमन गर्ने, निर्देशन दिने यो भयो यो भएन, यसो गर उसो गर भनेर पार्टी र स्थानीय पदाधिकारीका बीच समन्वयात्मक वातावरण सिर्जना गरिदिनुपर्छ । हामीले पनि पार्टी र सरकारलाई सहयोग पुग्ने गरी काम गर्नुपर्छ । यसमा पार्टीले समन्वय गर्नुपर्छ । अहिले सरकारले कर्मचारी समायोजन गरेको छ, तर कर्मचारीलाई रोजाएर समायोजन गर्ने होइन आवश्यकताअनुसार खटाएर पठाउनु पर्छ । बजेट कार्यान्वयन हुने बेलामा कर्मचारी समायोजनको लिष्ट प्रकाशन गरेर कर्मचारी तितरवितर नपारेको भए हामीलाई विकास निर्माणका काम गर्न सहज हुनेथियो । यो गल्ती सरकारले गरेको छ । यसले गर्दा हाम्रो २ वर्ष त्यसै खेर गयो । अब काम गरूँला भन्दाभन्दै कर्मचारी समायोजनको लिष्टले फेरि समस्या भएको छ । अहिले हामीसँग पर्याप्त कर्मचारी छैनन् । त्यसले गर्दा स्थानीय सरकार बलियो हुन सकिरहेको छैन । यसमा संघीय सरकार र सामान्य प्रशासन मन्त्रालयले ध्यान दिनुपर्छ । नीति, विधि बनाउँदा देश र जनतालाई हेरेर बनाउनुपर्छ । राष्ट्रियताको भावना आमनेपालीमा जागरण गर्नेगरी सरकारले काम गर्नुपर्छ । अहिले म, मेरो, मलाई भन्ने स्वार्थले हैन हामी र हाम्रो देश र जनतालाई भन्ने भावनाको विकास गर्नुपर्छ । चीन, कोरिया, जापान, राष्ट्रियताको भावनाले विकसित भएका छन् तर हामीमा राष्ट्रियताको भावना ओठमा छ, मुटुमा छैन । हामी भन्दा राष्ट्रियता भन्छौं गर्दा स्वार्थमा लाग्छौं यसले गर्दा देश धनी हुन सकेको छैन । देशलाई शिरमा राखेर काम गर्न सकिएको छैन । विदेश भ्रमणमा पार्टीका ठूल्ठूला नेताहरू निस्किरहनु हुन्छ । त्यहाँबाट केही सिकेर आएको देखिदैन । विदेशको सम्पन्नता हेरेर आएपछि नेपालमा पनि यस्तै बनाउनुपर्छ भन्ने भावना सरकारका कुनै उच्च प्रशासक मन्त्रीहरूमा देखिएको छैन । यो नै आजको नेपालको मूल समस्या भएको छ । यसले हामी धनी हुन सकिरहेका छैनौं । देश र जनतालाई सोचेर काम नगर्नेले कहिले पनि मुलुकको हित गर्न सक्दैन, यसतर्फ सबैको ध्यान जाओस् । दुई तिहाईको सरकारले यो कुरालाई आत्मसात गरेर काम ग¥यो भने मुलुक समृद्ध हुन्छ । हाम्रो नगरपालिका समृद्ध हुन्छ ।