भोलानाथ पोख्रेल: कर्मचारीहितमा खरो उत्रने नेता


बुबा पूर्णप्रसाद पोख्रेल र आमा चन्द्रमाया पोख्रेलको पहिलो सन्तानको रूपमा खोटाङ जिल्लाको बुइपा बसेरीमा जन्मनु भएका भोलानाथ पोख्रेल असल राष्ट्रसेवक व्यक्तित्व हुनुहुन्छ । बाल्यकालदेखि नै राजनीति र समाजसेवामा रूचि राख्ने उहाँ अहिले कर्मचारीका काम र राष्ट्रसेवाका काममा सक्रिय हुनुहुन्छ । पारिवारिक विद्रोह गरेर पञ्चायती निरङ्कुशताविरुद्धको आन्दोलनमा सक्रिय रहनु भएका उहाँले विगत लामो समयदेखि राष्टसेवा, समाजसेवा र राजनीतिलाई सँगै अगाडि बढाइरहनुभएको छ । जिल्लादेखि काठमाडौंहँुदै देश विदेशका विभिन्न भागमा कर्मचारीको हित र संगठनका काममा घुम्नु भएका उहाँले निजामती कर्मचारीको केन्द्रीय नेतृत्वदेखि पार्टी विशेष जिल्ला कमिटीमा रहेर निष्ठापूर्वक काम गर्नु भएको छ । सामन्ती परिवारबाट कम्युनिस्ट पार्टीको राजनीति गर्नु आफैँमा चानचुने विषय होइन तर त्यसलाई उहाँले चुनौतीका साथ पार लगाउनु भयो । कर्मचारी हितका लािग सिंगो जीवन लगाउनु भयो । कर्मचारीको संगठन निर्माण, विस्तार, सुधारदेखि विद्यार्थी संगठन, पार्टीको सम्पर्क मञ्चदेखि जिल्ला कमिटीमा समेत रहेर उहाँले काम गर्नुभयो, सुखसयल र पद प्राप्तिको आशा नगरी निरन्तर पार्टीमा खट्नु भयो । अहिले राजनीतिमा हाताहाती सुरु भएको छ, पैसामा पद किनबेच सुरु भएको छ । २०३८ । ०३९ सालदेखि हालसम्म निरन्तर पार्टी र कर्मचारी संगठनका लागि खटिरहिने कुरा सामान्य होइन, जुन उहाँले गरिरहनु भएको छ । यो उहाँको ठूलो योगदान हो । उहाँले कर्मचारीका लागि त गर्नु भयो नै, समाजसेवामा पनि उत्तिकै योगदान गर्नु भएको छ । केही नपाउँदा पनि विनानिराशा आफ्नो उद्देश्यमा हिँडिरहने उनै परिचित कर्मशील राष्ट्रसेवक निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष पोख्रेलको जीवन संघर्ष, अनुभव, अनुभूति, रूचि र स्वाभावका विविध पाटोलाई समेटेर यसपटक उहाँको जीवनचक्र प्रस्तुत गरेका छौं ।

तपाईंको शुभनाम जन्ममिति र ठेगाना बताइदिनुस् न ।
मेरो नाम भोलानाथ पोख्रेल हो । म खोटाङ जिल्लाको साविक विजयखर्क गाविस
वडा नं ९ भैरमपुर भन्ने ठाउँमा २०२६ साल पौष २४ गते जन्मेको हुँ ।
अहिले के गर्दै हुनुहुन्छ ?
मेरो जागिरे जीवन अफिसको काम र कर्मचारीहरूको हित र सेवाका काम
गरिरहेको छु ।
परिवारमा को को हुनुहुन्छ ?
आमा, बुबाको ३ भाइ ३ बहिनी, श्रीमती र एक छोरा छौ. ।
बुबाआमा के गर्नुहुन्छ ?
गृहस्थी र समाजसेवाका काम गर्नुहुन्छ ।
बुबाआमा कस्तो स्वाभावको हुनुहुन्छ ?
आमा कडा स्वभावको तर सबैको हित चाहने मेहेनती र बुबा भलादमी
समाजसेवी ।
आमाबुबालाई कसरी सम्झिनुहुन्छ ?
शैक्षिक जागरण र सामाजिक कामप्रति रूचि राख्ने प्रेरक अभिभावकको रूपमा सम्झिन्छु ।
तपाईंको परिवार कुन वर्गको हो ?
सहरमा निम्न मध्यमवर्ग, गाउँमा हुने खाने उच्चवर्गमा पर्दछौं ।
सानोमा तपाईंको स्वभाव कस्तो थियो ?
अन्यायका विरुद्ध प्रतिपाद गर्ने, चञ्चले र हक्कि स्वभावको थिएँ अरे ।
बाल्यकाल कसरी बित्यो ?
आमाबुबाले धेरै माया गर्नुहुन्थ्यो । भाइबहिनी हेर्दै पढ्दै लाड प्यारमा बित्यो ।
खेल कत्तिको खेल्नुहुन्थ्यो ?
भलिबल मज्जाले खेल्थेँ । हरेगुडु खेल्दा ३ पटक लडेर हात भाँचिएको छ कहिले हारिनँ ।
युवा अवस्थामा लडाइँ झगडा कत्तिको गर्नुभयो ?
अन्याय गर्नेलाई सम्झाउँथे, नटर्नेलाई ठोक्थेँ ।
पिटाइ पनि खानुभयो होला नि ?
बुबाको र शिक्षक (आफ्नै फुपाजु को १ पटक बाहेक कहिल्यै पिटाई खाईंन ।
प्रारम्भिक शिक्षा कहाँ लिनु भयो ?
गाउँकै स्कुल चम्पावती निमाविमा कक्षा पाँचसम्म पढेँ ।
पढाइमा कत्तिको तेज हुनुहुन्थ्यो ?
एकपटक बाहेक कहिल्यै दोस्रो हुनु परेन, सधैँ पहिलो नै भएँ ।
त्यो बेला शिक्षाको अवस्था कस्तो थियो ?
त्यो बेला स्कुल एक दुईवटा हुन्थे, त्यसमा पनि पढ्ने विद्यार्थी कम हुन्थे ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती व्यवस्था थियो, स्कुलमा गुरुले दिएको जनरल नलेज हुन्थ्यो, हुकुमी
शासन थियो ।
विवाह कहिले, कोसँग र कसरी गर्नुभयो ?
२०५१ सालमा सिन्धुलीकी निर्जला अर्यालसँग मागी विवाह भयो ।
विवाहको कुनै रमाइलो सन्दर्भ छ ?
नरेश बिष्ट र म केटी हेर्न गयाैं, श्रीमती भनेर अर्कै केटी हेरिएछ ।
उहाँको स्वाभाव कस्तो छ ?
सहनशील, नढाँट्ने, भलादमी र मेहेनती स्वाभावकी छिन् ।
उहाँ के गर्नुहुन्छ ?
कृषि विकास बैकमा काम गर्छिन् ।
उहाँको कुन कुराले तपाईंलाई बढी प्रभावित गर्छ ?
जस्तोसुकै समस्याको सहज समाधान निकाल्ने र सहयोगी भावनाले प्रभावित
बनाउँछ ।
दुईजनाबीच ठाकठुक पर्छ कि पर्दैन ?
पहिले पहिले आर्थिक र घरायसी समस्याले सामान्य ठाकठुक पदथर्् या,े अहिल े पदर्नै ।
छोरा के गर्दै हुनुहुन्छ ?
अमेरिकामा पढ्दैछ ।
स्कुल पढ्दा कत्तिको राजनीति गर्नुभयो ?
३ कक्षादेखि नै राजनीति गरेँ, कक्षा ५ मा त अनेरास्ववियु प्राकको अध्यक्ष नै भएँ ।
प्रहरीले थुन्ने, कुट्ने पनि ग¥यो ?
ठूलोबुबा प्रधानपञ्च हुनुहुन्थ्यो, उहाँले कम्युनिस्टको राजनीति छोडाउन प्रहरीलाई
पक्रन लगाउनु हुन्थ्यो, फेरि पछि आएर मेरो छोरालाई किन पक्रिएको भनेर
छुटाउनुहुन्थ्यो, कुटाई खाईनँ ।
जागिर कहिले केमा खानु भयो ?
२०४६ सालमा लोकसेवा पास गरेर वन विभागमा मुखिया खाएँ ।
कति तलब थियो ? पहिलो तलब के गर्नुभयो ?
७ सय रुपैयाँ थियो, पहिलो तलब कुखुरा काटेर साथीभाइलाई मासु चिउरा खुवाएँ ।
यहाँसम्म आउनमा कसको प्रेरणा छ ?
बुबा, आमा, श्रीमती र मामाको छ ।
धर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ?
कुल पितृ मान्छु, पूजाआजा गर्छु ।
नेता को मनपर्छ ?
मदन भण्डारी, टंक कार्की र घनश्याम भुषाल ।
मन पराएर पढेको पुस्तक ?
मुनामदन र देवासुर संग्राम ।
विदेश कत्तिको घुम्नु भएको छ ?
संगठनमा रहँदा अमेरिका, फ्रान्स, सिंगापुर, चीन, भारतलगायत थुप्रै देश घुमेको छु ।
कमजोरी के छ ?
सानो ठूलो समान रूपमा ठान्छु, देखेको सत्य कुरा नेता, मन्त्री, प्रधानमन्त्री, ठूला
प्रशासक जो कसैका भए पनि फ्याट्ट भनिदिन्छु । त्यसो गर्दा ऊ दुःखी हुँदोरहेछ
र मसँग टाढा हुन्छ । पछि त्यसो नभनेको भए हुनेरहेछ जस्तो लाग्छ तर आदत
बस्यो छुटाउन सकिनँ ।
दुःख र दुःखको क्षण नि ?
मदन भण्डारीको निधन हुँदा ज्यादै लागेर एक पटक रोएको छु, अर्को मलाई अत्यधिक कर्मचारी साथीहरूले आधिकारीक टे«ड युनियनको अध्यक्षमा जिताउन खोज्दाखोज्दै घटिया सोच र गुटिया प्रवृत्तिका केही नेता र नेतृत्वले २ महिनासम्म बैठक बस्न नदिएर षड्यन्त्र गरेर मलाई अध्यक्ष हुन दिएनन् । त्यसले मलाई हिनताबोध भएको छ ।

पारिवारीक पृष्ठभूमि:-
सहरमा निम्न मध्यम, गाउँमा हुनेखाने उच्चवर्गीय परिवारमा पर्ने भोलानाथ पोख्रेलको पारिवारिक पृष्ठभूमि पनि घतलाग्दो छ । उहाँका बाबु जागिरे हुनुहुन्थ्यो, गाउँको कुत उठाउनु हुन्थ्यो । उहाँले जग्गा जमिन प्रशस्त जोड्नु भएको थियो । उहाँकामा ५ । ७ जना पाहुना सधैँ खाना खाने हुन्थे रे । उहाँ सदरमुकाम जाँदा १०। १५ जना गाउँलेलाई अघिपछि लगाएर जानुहुन्थ्यो रे । उहाँकी आमा साह्रै कडा मिजासको हुनुहन्थ्यो रे तर चाहिने कुरामा मात्र, कसैको अहितमा होइन । उहाँका ३ भाइ र ३ दिदीबहिनी हुनुहन्छ । उहाँहरू सबैको घरजम भइसकेको छ, परिवार सबैको छुट्टाछुट्टै छ तर सगोलमा छ । २०५१ सालमा वैवाहिक सम्बन्धमा बाँधिनु भएका उहाँसँग हाल श्रीमती निर्जला अर्याल र छोरा प्रहर्ष पोख्रेल हुनुहन्छ । छोेरा अमेरिकामा पढ्दै हुनुहुन्छ भने श्रीमती कृषि विकास बैंकमा जागिरे हुनुहुन्छ । उहाँका आमा बुबा अहिले गाउँमै घरखेतीमा हुनुहुन्छ । सानैदेखि बुबाकै मायामा हुर्कनु भएका उहँका बुबा आमाले दुःख सुखमा गाउँलेलाई सहयोग गर्नेदेखि अभिभावकीय नेतृत्वसमेत दिनु भएको भोला बताउनुहुन्छ । उहाँका ठूलाबुबा नारायण पोख्रेलले गाउमै शिक्षक ल्याएर ३ कक्षासम्मको स्कुल स्थापना गरी शिक्षाको जागरण फैलाउनु भएको थियो भने उहाँका बुबाले गाउँभरिको कुत उठाउँने कामदेखि समाजसेवाका काम गर्नुहुन्थ्यो । यस्ता समाजसेवाका काम गरेर उहाँको सिंगो परिवारले सामाजिक प्रतिष्ठा कमाएको छ भने आर्थिक अवस्थामा पनि माथि नै छ । आमाबुबाकै प्रेरणाले उहाँले अहिलेको इज्जत प्रतिष्ठा बनाउनु भएको छ । उहाँले पढ्दादेखि अहिलेसम्म कुनै ठूलो समस्या झल्नु नपरेको उहाँ बताउनुहुन्छ । उहाँको आर्थिक हैसियत पनि राम्रो छ, चाहे बुबाले कमाएको होस् वा आफूले कमाएको होस् । डाँडाबाट तल हेर्दा देखिने सबै खेतबारी उहाँकै पर्दौरहेछ । यो सबै कुरा हेर्दा पोख्रेलको पारिवारिक पृष्ठभूमि रमाइलो, लोभलाग्दो र सबैको नजरमा पर्नै गौरवपूर्ण परिवार देखिन्छ ।

शिक्षा र समाजसेवा:-
बुबा आमाको शिक्षाप्रति रूचि भएकाले भोलानाथ पोख्रेलले पनि शिक्षालाई महत्व दिनुभएको थियो । उहाँले प्रारम्भिक शिक्षा गाउँकै चम्पावती निमाविमा लिनुभयो भने माविस्तरको शिक्षा चम्पावती मावि बुइपाबाट सम्पन्न गर्नुभएको थियो । बुबाले उच्च शिक्षाका लागि विराटनगर पठाउनु भएका पोख्रेलले सानिमाको सल्लाहले उच्चशिक्षा पढ्न काठमाडौं आउनु भयो । बुबाको इच्छाविपरीत काठमाडौं पढ्न आउनुभएका पोख्रेललाई बुबाले रिसले पढ्ने खर्चसमेत नदिएको उहाँ बताउनुहुन्छ । बुबाले पढ्ने खर्र्च नदिने भएपछि पढ्नका लागि उहाँले घरदेखि जम्मा गर्दै राखेको पैसाले केही काम गर्ने सोचका साथ साथीहरूसँग मिलेर चाँगुनारायणमा स्कुल सञ्चालन गरेको र पछि २०४८ सालमा बेचेको बताउनुहुन्छ । उहाँले काठमाडौंको मीनभवन क्याम्पसबाट मास्टर्स र एकवर्षे बीएड सम्पन्न गर्नुभएको छ । घरको सहयोग र आफ्नो मेहेनतले उच्चशिक्षा हासिल गर्नु भएका उहाँले २०४६ सालमा लोकसेवा पास गरी मुखियाबाट जागिर सुरु गर्नु भएको थियो । सुरुमा ७ सय रुपैयाँँ तलब थाप्नु भएका उहाँले जागिरसँगै समाजसेवा र पार्टीको काम पनि गर्नु भएको छ । ३० वर्षे सरकारी सेवामा रमाइरहनुभएका उहाँले पार्टी र निजामती संगठनको काम पनि निरन्तर गरिरहनु भएको छ । राजनीतिक दर्शनका पुस्तकदेखि चण्डी वेद पुराणका पुस्तकसमेत अध्ययन गर्नु भएका उहाँले संगठनका पुस्तक, पत्रिका प्रकाशनदेखि क्यालेण्डर प्रकाशन गरेर संगठनको आर्थिक अवस्था मजबुत पार्नेदेखि प्रचार प्रसारको कामलाई समेत देशव्यापी पार्नुभएको थियो । उहाँले पूर्वीय दर्शनको अध्ययन पनि गर्नु भएको छ । सरकारको काम गर्दा होस् वा संगठनको काम गर्दा होस् सबैले ऐन, कानुन र नियमको पालना गर्नुपर्छ भन्ने उहाँ राजाको शासनकालमा कर्मचारी संगठनमार्फत लोकतन्त्र प्राप्तिका लागि निकै सक्रिय हुनुभएको थियो । खोटाङेहरूको काममा निकै रूचि राख्ने उहाँ विभिन्न संघ संस्था र स्कुलहरूमा सल्लाहकार रहेर समाजसेवाका काम गर्नुभएको छ ।

राजनीतिक यात्रा:-
बुझेर भन्दा पनि देखेर र सुनेर २०३८ सालदेखि ३ कक्षा पढ्दादेखि विद्यार्थी राजनीतिमा संलग्न हुनुभएका भोलानाथ पोख्रेल निडर हुनुहुन्थ्यो जसले गर्दा त्यो बेलाका विद्यार्थी नेता मोहन आचार्य, उदयबहादुर कार्की र कुमार कटवालले उहाँलाई ५ कक्षा पढ्दा अनेरास्ववियुको अध्यक्ष बनाइदिनुभएको थिए । त्यसबेला फि नलाग्ने स्कुलमा आफ्नै काका जगत पोख्रेलले फि लिएपछि त्यसका विरुद्ध विद्यार्थीको नेतृत्व गरी काकालाई कालो मोसोसमेत दलेको उहाँ बताउनुहुन्छ । गाउँका अग्रज कम्युनिस्ट नेतारूको सामिप्यताले र भने देखेको सुनेर कम्युनिस्ट राजनीतिमा आकर्षित हुनु भएका पोख्रेल विद्यार्थी राजनीति, कर्मचारी राजनीतिहुँदै पार्टी राजनीतिमा लाग्नु भएको हो । उहाँले अनेरास्ववियु सम्पर्क कमिटी, सम्पर्क मञ्च, निजामती कर्मचारी संगठनको विभिन्न तहहुँदै केन्द्रीय नेतृत्व, आधिकारीक टे«ड युनियन, अन्तर्राष्ट्रिय संगठनमा आवद्धता जनाउँदै पार्टीको विशेष जिल्ला कमिटी उपाध्यक्षमा रहेर काम गरी सक्नुभएको छ । हाल निजामती कर्मचारीको मान्यताप्राप्त आधिकारिक टे«ड युनियनको उपाध्यक्षको जिम्मेवारीमा रहेर कर्मचारीको हक हितमा काम गरिरहनु भएको छ । उहाँले पेसागत महासंघ र विशेष सम्पर्क विभागमा रहेर पनि काम गर्नु भएको छ । पार्टीलाई राजाले अघोषित प्रतिबन्ध लगाएका बेला संगठनलाई जुरुक्कै उठाएर लोकतन्त्रका लागि लड्नु भएका उहाँले सहकारी आन्दोलनमा पनि योगदान दिनुभएको छ । सधँै पार्टी, संगठन र कर्मचारीको हितमा काम गर्नु भएका उहाँले जिल्लाका कर्मचारीका साथै नेताहरूलाई समेत आत्मबल प्रदान गर्नु भएको छ ।

अनुभव र अनुभूति:-
खोटाङ जिल्लाको रमणीय गाउँ बसेरीमा जन्मिएर हुर्किनुभएका भोलानाथ पोख्रेलको जीवनयात्रा सजिलो, अप्ठायारो, सुख दुःख व्यहोर्दैै गतिशील ढंगले अगाडि बढेको देखिन्छ । उहाँले गाउँले परिवेशमा हुर्किने किसानले गर्ने उकाली, ओराली, भञ्ज्याङ, चौतारी, भीर पखेरी, हलो, कोदालीदेखि सबै कर्महरूको अनुभव र अनुभूति पनि गर्नु भएको छ । उहाँले गाउँलेको गरिबी पनि देख्नुभएको छ, सहरिया संभ्रान्तवर्गले गरेको कर्म र भोगेको जीवनको पनि अनुभूूति गर्नुभएको छ । अर्थात गुन्द्रुक, ढिँडो र मकै भटमासको स्वाददेखि तारे होटलको खानाको स्वादको समेत अनुभव सँगाल्नु भएको छ । संगठन निर्माण र विस्तारमा नखाई हिँडेको अनुभूति पनि छ सुविधा सम्पन्न विदेशी होटलमा रात बिताएको अनुभव पनि छ । निरङकुशताका विरुद्ध लड्दा लाठी खाएको, एक्लै भ्रष्टाचारी कर्मचारी लोकमानसिंह कार्कीलाई कार्यालय प्रवेश गर्न नदिएको अनुभूति पनि छ, उद्देश्य सफल भएपश्चात माइक्रोफोन बोकेर कर्मचारीलाई सम्बोधन गरेको अनुभव पनि छ । विरोधीको आक्रमण झेलेको पनि अनुभव छ । कर्मचारीको काम गरेर नेतृत्व लिएपछि कर्मचारीले फूलमाला लगाइदिएको अनुभूति पनि छ, कर्मचारीको अहितमा काम गर्नेलाई प्रहार गरेको सन्दर्भ पनि छ । कमजोर भएको संगठनलाई सशक्त बनाएको अतित पनि छ, सामाजिक काम गरेको अनुभूति पनि छ । यसरी हेर्दा सबै विषयको अनुभव अनुभूति जीवन भोगाइ उहाँमा छ । यिनै गराइ र भोगाइले उहाँको जीवन सार्थक र सबल बनेको छ ।
टे«ड युनियन आन्दोलन र काम:-
दुर्बलभन्दा सबल पक्ष धेरै भएका कर्मचारीका नेता भोलानाथ पोख्रेलले २०४६ साल मंसिर १७ गते लोकसेवा आयोग पास गरेर मुखिया पदबाट निजामती सेवामा जागिर आरम्भ गर्नुभएको थियो । जागिरे जीवनसँगै राजनीतिलाई पनि सँगै अगाडि बढाउनु भएका उहाँले निजामती कर्मचारी संगठनको प्रचार विभाग प्रमुख भएर काम गर्दा संगठनमा प्रभाव छाड्ने गरी काम गरेको उहाँ बताउनुहुन्छ । संगठनको विकास र विस्तारको लागि स्वाभिमान राष्ट्रसेवक नामक पत्रिका, पुस्तक, क्यालेण्डर प्रकाशित गर्नेदेखि त्यो बेलाका पार्टीनिकटका पत्रिकाहरू छलफल, दृष्टि, बुधबार, जनआस्थामा गएर पत्रकारलाई सघाउनेदेखि उनीहरूका समस्यामा सहयोगी बन्दै संगठनका समाचारहरू छाप्न लगाएर संगठनलाई सशक्त पारेको र सचिव हुँदा आफ्नै साथीहरूले असहयोग गर्दैगर्दा निजामती कर्मचारीलाई टे«ड युनियन अधिकार दिलाउन ठूलै मेहेनत र संघर्ष गरेको बताउने पोख्रेल संगठनका तत्कालीन महासचिव विश्वनाथ प्याकुरेलको सहयोगले संसद्बाट संकल्प प्रस्ताव पारित गराउन नेताहरूलाई दबाब दिएर सुवास नेङमाङको विशेष सहयोगले आजको टे«ड युनियन अधिकार उपभोग गर्न पाएको बताउँनुहुन्छ । २०४८ सालपछि शिथिल हुँदै गएको, प्रतिगमनको बेला संगठनको नेतृत्व प्रहरीसँग भागाभाग गरेको बेला, भर्खरै शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादीको उग्र गतिविधि, र पुरातन सोच एवं स्वार्थका पोका बोकेर सुख सुविधामा रमाउने कर्मचारी युनियनको अराजनीति, असांगठनिक हर्कत गतिविधिलाई निस्तेज पार्दै आफ्नो नेतृत्वमा संगठनलाई सशक्त, सबल बनाएर लोकतन्त्रका लागि लड्ने साहस बोकेको संगठनको रूपमा अगाडि बढाउँदै कर्मचारी सरुवा, बढुवाका कामलाई व्यवस्थित गरेर कर्मचारीका समस्या समाधान गर्न पाएको र आफूलाई सबैभन्दा सुखी त्यसैमा लागेको उहाँ बताउनुहुन्छ । त्यतिमात्र होइन उहाँले अन्तर्राष्ट्रिय टे«ड युनियनका फोरमहरूमा परिचय र सहभागिता हराउँदै गएको संगठनलाई आफू नेतृत्वमा आएपछि त्यस्ता साना ठूला फोरममा सहभागिता जनाई संगठनलाई पुन अन्तर्राष्ट्रिय नेटवर्कमा जोडेर संगठनका गतिविधिलाई सशक्त बनाएर आवश्यकता परेको बेला सिंगो मुलुकलाई जुरुक्कै उठाउने संगठन बनाउन सफल भएकोमा खुसी लागेको बताउनुहुन्छ । पोख्रेलले नेतृत्व गर्दा कर्मचारीका वृत्ति विकासका कामदेखि कर्मचारीको सरुवा बढुवालाई मापदण्डअनुसार व्यवस्थित गर्नेदेखि निजामती कर्मचारीका छोराछोरी पढाउने स्कुल, उपचार गराउने अस्पतालदेखि सहिद कर्मचारीका छोराछोरीलाई रोजगारी, आवासको व्यवस्था गर्नुभएको छ । थुप्रै जिल्लाहरूमा कर्मचारी संगठनका भवनहरू बनाउने काम गर्नुभएको छ, स्वास्थ्य शिविर लगेर विभिन्न ठाउँका ४७ सयभन्दा बढीलाई स्वास्थ्य परीक्षण गराउनु भएको छ, सहकारीका भवन बनाउन पहल गर्नु भएको छ । उहाँले देशभरि छलफल चलाएर र चितवन राष्ट्रिय परिषद् बैठकले गरेको ७ प्रदेशको निर्णयमा जान दलहरूलाई सुझाव दिनुभयो, आज त्यही एजेण्डा लागू भएको छ । यसरी उहाँले नेतृत्व गर्दा संगठन सबल र सशक्त भएको छ । यसले उहाँलाई कर्मचारीका असल र सशक्त नेता बनाएको छ, सफल नेतृत्वकर्ता भनेर चिनाएको छ । यसबाहेक पनि उहाँले, शिक्षा, स्वास्थ्य, सहकारी, सामजिक आन्दोलन र जिल्लाका थुप्रै संघ संस्थामा रहेर काम गर्नु भएको छ । जुन गर्व गर्न लायक छन् ।

चिन्ता पार्टी र संगठनको:-
विद्यार्थी राजनीतिदेखि अहिले पर्यन्त राजनीति, सरकारी सेवा र समाजसेवामा रहनु भएका भोलानाथ पोख्रल वामपन्थी राजनीतिले गलत बाटो लिएकोमा र जनताले गाँस, बास, कपास सजिलै पाउन नसकेकोमा चिन्तित हुनुहुन्छ । जनताको यो आशा पूरा नभई हिजो आफूले गरेको संघर्ष र त्यागको कुनै अर्थ नहुने बताउँदै अधिकांश नेताको विलासी जीवनशैली, गुटिया प्रवृत्ति, सामन्ती सोच र आत्मकेन्द्रित भावना हेर्दा सामन्तवादको उदय भएको र जनताको अपेक्षा तत्कालै पूरा हुनेमा आशंका रहेको बताउनुहुन्छ । यसमा सकरात्मक सोच, जनताको हित, मुलुकको विकास चाहने विकासवादी सकरात्मक सोच भएका मानिसको सूची तयार गर्नुपर्ने उहाँको धारणा छ । नेतृत्वका वरिपरि बस्नेहरूले राम्रो नगरेकोले गर्दा काम राम्रोसँग हुन सकिरहेको छैन, कतै उनीहरूले नेतृत्वलाई पूरै घेरेर बिगार्ने त होइनन् भन्ने चिन्ताले आफूलाई खाएको उहाँ बताउनुहुन्छ । हिजो अप्ठ्यारो बेलामा पार्टी र कर्मचारी संगठनलाई योगदान गरेका अग्रज र कतिपय युवालाई पार्टीले भुल्दै गएको, उनीहरूले गरेको योगदानको मूल्याङकन नभएको, नव धनाढ्यहरूको प्रवेश र बोलबाला तीव्र बन्दै गएकोमा भोलि पार्टी र संगठनको अवस्था के होला ? संगठन र पार्टीका लागि जीवन समर्पण गरेका, घरबार समाप्त पारेर लागेका कर्मचारीहरूको अवस्था के होला ? हजारौं लाखौं कार्यकर्ता र करोडौं नेपालीको मन कस्तो होला भन्ने चिन्ताले आफूमा ठूलो घर गरेको उहाँ सुनाउनुहुन्छ । अहिलेको पार्टी सञ्चालनको विधि हेर्दा मान्छेहरूको स्वार्थप्रेरित सोच र काम गराइको शैली हेर्दा, नेताहरूका दृष्टिकोण हेर्दा आफूलाई चिन्ता लागेको उहाँ बताउनुहुन्छ ।

स्वाभाव र शैली:-
अधिकांश समय राजनीति र समाजसेवामा लगाउन चाहने भोलानाथ पोख्रेल निडर, हक्कि, सत्यको पक्षमा चुनौतीका साथ निरन्तर आवाज उठाइरहने, कर्मचारीको हितमा हुने काममा एकोहोरो लागिरहने, अन्याय नगर्ने, अन्याय गर्नेलाई नछोड्ने, सकेको सहयोग सबैलाई गरौं भन्ने भावना भएका व्यक्तित्वमा पर्नुहुन्छ । आफ्नो कामप्रति जिम्मेवार र प्रतिबद्ध उहाँ खाने लगाउने कुरामा निकै सजगता अपनाउनुहुन्छ भने नाम उच्च बन्ने काम गर्न उहाँ सधै उत्प्रेरित हुनुहुन्छ । उहाँ आफ्नो कारणले कसैलाई केही फाइदा हुन्छ भने गरिदिऊ भन्ने सोच राख्नुहुन्छ ।

जीवनलाई फर्केर हेर्दा:-
संगठनको काम गर्दा होस् वा अफिसको, निजी काम गर्दा होस् वा समाजको, राजनीति गर्दा होस् अन्य कुनै काम गर्दा होस् हरेक बेला जस्तोसुकै चुनौतीको पहाड उठाउन तयार हुने कडा स्वाभावका भोलानाथ पोख्रेलले कर्मचारीको हितका खातिर थुप्रै जोखिमहरू उठाउनु भएको छ, जागिरै धरापमा राखेर काम गर्नु भएको छ, धन सम्पत्तिलाई भन्दा पार्टी र कर्मचारीको जीवन परिवर्तन गर्ने कामलाइ महत्वपूर्ण ठान्नु भएको छ । नेता, मन्त्री, प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दबाब दिनु भएको छ । पारिवारिक स्वार्थमा भन्दा कर्मचारीको स्वार्थमा बढी केन्द्रित हुनुभएको छ, गाउँ, तह, जिल्ला, अञ्चलहुँदै केन्द्रीय राजनीतिसमेत गर्नु भएको छ, तीतो भए पनि सत्यको वकालत गर्नु भएको छ, यसो गर्दा कतिपय साथीहरूको तारो बन्नुभएको छ जानी जानी कसैलाई नराम्रो गर्नुभएको छैन । यही पहिचाहनले आम कर्मचारीमा चिनिनु भयो, भोला पोख्रेल रूखो बोले पनि सत्य बोल्ने व्यक्ति हो भन्ने सबैमा पार्नुभयो, सन्तुष्टि हुने गरी काम गर्नुभयो । सँगैका साथीहरू सचिव र सहसचिव भएका छन् तर उहाँ शाखा अधिकृतमै रमाउनु भएको छ । कसैप्रति असन्तुष्टि राख्नु भएको छैन, यहीँ हो उहाँको परिचय र सफलता ।

साथीको नजरमा:-
भोलानाथ पोख्रेल जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर अप्ठ्यारो बेलामा निरङ्कुशताका विरुद्ध आन्दोलन गर्ने पद र सुविधामा कुनै पनि लोभ लालच नगर्ने, देश र जनताका लागि निरन्तर लागिरहने मिलनसार र पार्टीका असल योद्धा भएको उहाँका मिलनसार साथी बिनाेद कुँवर बताउनुहुन्छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम