पुण्यप्रसाद ढकाल: कर्मचारीहितमा आफूलाई निषेध गर्ने व्यक्तित्व


बुबा नरराज र आमा मायादेवी ढकालको कान्छो छोराको रूपमा तेह्रथुम जिल्लाको म्याङलुङमा जन्मनु भएका पुण्यप्रसाद ढकाल राष्ट्रसेवक कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष एवं असल नेता हुनुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीति र समाज सेवामा रूचि राख्ने ढकाल अहिले कर्मचारीको हित र राष्ट्रसेवाका काममा सक्रिय हुनुहुन्छ । विद्यार्थी राजनीतिमार्फत पञ्चायती निरङ् कुशताविरुद्धको आन्दोलनमा सक्रिय रहनु भएका उहाँले विगत लामो समयदेखि कर्मचारी हकहितका विषयमा काम गरिरहनु भएको छ । आफ्नो राजनीतिक
उद्देश्यलाई राष्ट्र र समाजको हितमा लगाउनुभएका उहाँले पार्टीको राजनीतिलाई पनि सँगै अगाडि बढाइरहनुभएको छ । जिल्लादेखि विराटनगर काठमाडौंहँुदै देश विदेशका विभिन्न भागमा कर्मचारीको हित र संगठनका काममा हिड्नु भएका उहाँले निजामती कर्मचारीको केन्द्रीय नेतृत्वदेखि वल्ड फेडेरेसन अफ टे«ड युनियनअन्तर्गत टे«ड युनियन इन्टरनेसनल पब्लिक सर्भिस एण्ड एलाइटको केन्द्रीय उपाध्यक्ष – एसिया प्यासेफिक हेर्ने रूपमा रहेर निष्ठापूर्वक काम गर्नु भएको छ । आर्थिक कठिनाइ झेल्दै कम्युनिस्ट पार्टीको फलामे अनुशासनमा बसेर निष्ठा र अभावको राजनीति गर्नु कम चुनौतीपूर्ण काम होइन तर त्यसलाई उहाँले दृढताका साथ पार लगाउनु भयो, कर्मचारी हकहितका लािग सिंगो जीवन लगाउनु भयो, विद्यार्थी राजनीतिहुँदै निजामती कर्मचारी संगठनको निर्माण र विस्तारको काम गर्नुभयो,
व्यक्तिगत र पारिवारिक स्वार्थ सुखसयलभन्दा माथि उठेर २०४२ सालदेखि हालसम्म निरन्तर राजनीतिक काममा खट्नुभयो । यो उहाँको ठूलो निष्ठा र त्याग हो । उहाँले कर्मचारी हकहितका लागि मात्र होइन राष्ट्र र समाजसेवाका काममा पनि उत्तिकै योगदान दिनुभएको छ । समुद्रभन्दा फराकिलो मन बनाएर सामाजिक स्वार्थमा हिँडिरहने शान्त स्वभावका उनै कर्मशील राष्ट्रसेवक कर्मचारीका नेता ढकालको जीवनसंघर्ष, अनुभव, अनुभूति, रूचि र स्वाभावका विविध पाटोलाई समेटेर उहाँको जीवनचक्र प्रस्तुत गरेका छौं ।

तपाईंको शुभनाम जन्ममिति र ठेगाना बताइदिनुस् न ।
मेरो नाम पुण्यप्रसाद ढकाल हो । म तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं २ ढकालटोलमा २०२२ साल मंसिर २७ गते जन्मेको हुँ ।
परिवारमा को को हुनुहुन्छ ?
बुबा २०७२ सालमा भूकम्पका कारण बितिसक्नुभयो । माहिँलादाइ पनि बितिसक्नुभयो । हाल आमा, जेठो दाइ, २ भाउजूहरू,एक दिदी, दुई बहिनी म, श्रीमती, एक छोरा र एक छोरी छौं ।
बुबाआमाको स्वभाव कस्तो थियो ?
बुबा हुलाकमा जाँचकी जमदार हुनुहुन्थ्यो, काम बिगार्दा झडङ्ग गर्ने तर आमा बुबा नै सबैलाई माया गर्ने, सबैको हित चाहने र छोराछोरीले पढेर ठूला मान्छे बनून् भन्ने भलादमी स्वभावको हुनुहुन्थ्यो ।
आमाबुबालाई कसरी सम्झिनुहुन्छ ?
बुबा १० कक्षा पढे पनि आमा निरक्षर हुनुहुन्थ्यो । तथापि उहाँहरूलाई शैक्षिक जागरण र सामाजसेवाका काममा रूचि राख्ने प्रेरक अभिभावकको रूपमा सम्झिन्छु । उहाँहरू जडीबुटी झारपात संकलन गरेर घरेलु औषधि बनाई जण्डिस तथा खान मन लगाउने औषधि बनाएर गाँउघरका मान्छेलाई उपलब्ध गराउने गर्नुहुन्थ्यो । बुबा झारफुक कार्य समेत गरी उपचार गर्नुहुन्थ्यो । चामलका दाना थालमा छुट्याएर जोखाना हेर्ने गरेको अहिले जस्तो लाग्छ । खाडी मुलुकमा गएका युवाहरू ढकाल माईला बाजेले जण्डिस लागेको चट् पार्ने घरेलु औषधि दिएर धेरैको उपचार गरेको र निको भएको विदेशबाट आएकाले बताउने गर्नुहुन्थ्यो ।
तपाईंको परिवार कुन वर्गको हो ?
निम्न मध्यमवर्गको ।
सानोमा तपाईंको स्वभाव कस्तो थियो ?
कसैलाई अन्याय भएको देख्न नसक्ने, मेहेनती, कोमल भावना, शान्त स्वभावको थिएँ रे भन्ने मेरा अभिभावक र साथीभाइले भनेको सुनेको छु ।
तपाईंको बाल्यकाल कसरी बित्यो ?
गाउँमै हाँस्दै, खेल्दै,पढ्दै आमाको लाड प्यारमा बित्यो ।
खेल्न, खानमा कस्तो रूचि थियो ?
झुम्राको बल बनाएर फुटबल, भलिबल खेल्थ्यौं, खानमा खसीको मासु मनपथ्र्यो तर गरिबी र महंगीका कारणले त्यो बेला खानै पाईन्नथ्यो, खसीको मासु खाने भनेको श्रावण संक्रान्ति, दसैं र माघे संक्रान्तिमा मात्र पाइन्थ्यो । अहिले साथीहरू ले खान बोलाउँछन, सुगर प्रेसरलाई समाल्न कम मात्रामा मात्र खाइन्छ ।
विद्यार्थी जीवनमा पिट्ने पिटाई खाने काम कत्तिको भयो ?
म शान्त स्वभावको मान्छे, झगडा देख्दा भाग्थेँ, यी दुवै काम भएन तर शोषण, दमन गर्नेलाई घृणा गर्थेँ । यो कुरा अहिले घर परिवारले छोराछोरीलाई सुनाइदिन्छन् उनीहरू चाख दिएर सुन्छन् ।
प्रारम्भिक शिक्षा कहाँ लिनुभयो ?
सदरमुकाम म्याग्लुङस्थित नागेश्वरी प्राविमा पढेँ ।
पढाइमा कस्तो हुनुहुन्थ्यो ?
सामान्य स्तरको थिएँ । हिसाब राम्रो आउँथ्यो, अरूलाई पनि सिकाउँथे ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
छुवाछूतयुक्त सामन्ती सामाजिक व्यवस्था थियो÷ नागेश्वरी प्रावि स्कुल थियो तर पढ्ने धेरै हुँदैन थिए, शिक्षाको अवस्था राम्रो थिएन, रोजगारी थिएन, गरिबी ब्याप्त थियो ।
विवाह कहिले, कोसँग, कसरी गर्नुभयो ?
२०५१ साल मंसिर २५ गते काठमाडौं बालुवाटारका आचार्य थरकी रजनी आचार्यसँग मन पराएर पछि उनकै सल्लाहमा देवी दिदीले मागेर मागी विवाह भयो ।
खर्च कत्तिको गर्नुभयो ?
खर्च सामान्य भयो । विक्रम ट्याम्पो सवारी साधनको प्रयोग गरिएको झलझल्ती याद आउँछ ।
विवाह अघि लभ भयो कि भएन ?
लभ त थियो तर विवाहमै परिणत हुने किसिमको थिएन ।
उहाँको स्वाभाव कस्तो छ त ?
कुरा ढिलो बुझ्ने, कडा स्वाभावकी, मेहेनती छिन्, गुनासै गर्नुपर्ने खालको स्वभाव छैन ।
उहाँले तपाईंप्रति कस्तो अपेक्षा गर्नुहुन्छ ?
नराम्रो काम नगरोस्, नाम कमाओस्, मान सम्मान पाओस्, परिवारलाई समय देओस् भन्ने ।
उहाँको अपेक्षा र तपाईंको चाहानाले मेल नखाँदा दुईजनाबीच ठाकठुक पर्छ कि पर्दैन ? उनले राजनीति गरिनन् त्यसैले उनले विचारै बोकिनन् , मैले कम्युनिस्ट विचार बोकेँ, आर्थिक व्यवस्थापनमा उनी मभन्दा धेरै माथि थिइन त्यसैले खटपट कहिले परेन ।
छोराछोरी के गर्दै हुनुहुन्छ ?
छोरा बीबीएम मीनभवन कलेज र छोरी अंग्रेजी लिएर मास कम्युनिकेसन रत्नराज्यलक्ष्मी क्याम्पसमा पढ्दैछिन ।
जागिर कहिले केमा खानुभयो ?
बुबा हुलाकमा जागिरे भएकोले मैले पनि २०३७ साल माघबाट हुलाकमा हल्कारा पदमा जागिर खाएँ ।
कति तलब थियो, पहिलो तलब के गर्नुभयो ?
१६५ रुपैयाँ थापेँ, ऋण भएकोले आमालाई दिएँ, पछि आमाले त्यसमध्ये २५ रुपैयाँ पकेट खर्च भनेर फिर्ता दिनुभयो ।
यहाँसम्म आउनमा कसको योगदान छ ?
बुबा, आमा, श्रीमती र काकाहरूको छ ।
धर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ?
धर्म एउटा आस्था हो जस्तो लाग्छ । कुल पितृ मान्छु ।
नेता को मनपर्छ ?
मदनकुमार भण्डारी, केपी शर्मा ओली, बीपी कोइराला र नेल्सन मण्डेला ।
सामाजिक सञ्जाल कत्तिको प्रयोग गर्नुहुन्छ ?
यसमा म कमजोर छु, पूर्ण विश्वास लाग्दैन, यद्यपि यो तपाईंलाई आवश्यक छ भनेर हाम्रो आधिकारिक ट्रेड युनियन कार्यालयमा कार्यरत सचिव पुरुषोत्तम भट्टले चलाइदिनुहुन्छ ।
विदेश कत्तिको घुम्नु भएको छ ?
संगठनमा रहँदा साइप्रस, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, इटाली, साउथ अफ्रिका, दक्षिण कोरिया, जापान, चीन, भारत, बंगलादेश पुगेको छु ।
त्यहाँ तपाईंलाई केले प्रभावित पा¥यो ?
त्यहाँका जनतामा राष्ट्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धता साह्रै राम्रो छ । साथै त्यहाँको विधि, पद्धति र मेहेनतले सिर्जना गरेको समृद्धिले प्रभावित पा¥यो ।
दुःख र सुखको क्षण नि ?
मदनकुमार भण्डारीको निधन हुँदा दुःखको क्षण, कर्मचारी साथीहरूले आधिकारिक टे«ड युनियनको अध्यक्षमा जिताउँदा सुखको क्षण ।
सन्तुष्टि असन्तुष्टि के छ ?
बुबा जागिरे भएपनि म गरिबकै छोरा हुँ मैले आमा बुबाको चाहाना पूरा गरेको छु, मेरा कारणले अहिले पनि ८८ वर्षको आमालाई कुनै समस्या, चिन्ता छैन, यसमा मलाई गौरव छ, सन्तुष्टि छ ।

पारिवारिक पृष्ठभूमि
निम्नमध्यम वर्गीय परिवारमा हुर्किएका पुण्यप्रसाद ढकालको पारिवारिक पृष्ठभूमि अलिकति निरासा धेरै आशा, क्षणिक सोच्दा पट्यारलाग्दो गहिरिएर सोच्दा,बुझ्दा जीवन नै बदल्न सक्ने प्रेरणायुक्त र गौरवपूर्ण छ । उहाँका बुबा हुलाकमा जागिरे हुनुहुन्थ्यो, जागिरकै कारण घरमा आउन, छोराछोरीलाई हेर्न पाउनु भएन तथापि उहाँकी आमाले छोराछोरीलाई मायामा कुनै कमी पार्नु भएन, गाउँलेको मन पनि जितिरहनु भयो । दुःख र संघर्ष गर्दै भए पनि छोराछोरीलाई शिक्षा दीक्षामा कुनै कमी पार्नुभएन, पढ्नमा जोड दिनुभयो । फलस्वरूप उहाँले अहिलेको सफलता प्राप्त गर्नुभयो । उहाँका आमाबुबाले नै सबैको हित चाहनु हुन्थ्यो । उहाँका बुबा नरराज ढकाल २०७२ सालमा भूकम्पका कारण र माइला दाइ भगवानको २०५१ सालमा निधन भइसकेको छ । जेठा दाजु हरिहर ढकाल ललितपुरको लामाटार बस्नुहुन्छ भने आमा पहाडकै घरमा बस्नुहुन्छ । उहाँका एक दिदी र दुई बहिनीको विवाह भइसकेको छ । हाल उहाँसँग श्रीमती रजनी, छोरा प्रयत्न र छोरी प्रस्तुति ढकालसँगै हुनुहुन्छ । उहाँकी जीवनसंगिनी (श्रीमती) ले मास्टर गर्दै हुनुहुन्छ भने छोराछोरी स्नातक तहमा अध्ययन गर्दै हुनुहुन्छ । सानैदेखि आमाकै मायामा हुर्कनु भएका उहाँका बुबाआमाले जस्तोसुकै दुःखमा पनि गाउँलेलाई सहयोग गर्नेदेखि छोराछोरीको पढाइ लेखाइ र आफ्नो काममा पनि उतिकै सक्रियता देखाउनु भएको थियो । उहाँलगायत उहाँको परिवारले यस्ता समाजसेवाका थुप्रै काम गरेर सिंगो परिवारले सामाजिक प्रतिष्ठा कमाएको छ भने पछिल्लो समय आर्थिक अवस्था पनि राम्रै छ । आमा, बुबा र श्रीमतीकै प्रेरणा र सहयोगले ढकालले अहिलेको इज्जत प्रतिष्ठा बनाउनु भएको छ । उहाँले पढ्दादेखि अहिलेसम्म आर्थिक रूपमा कुनै ठूलो समस्या झेल्नु नपरे पनि राजनीतिक कारण पेसागत समस्या भने थुप्रै झेल्नु परेको ढकाल बताउनुहुन्छ । बाल्यकालमा आर्थिक कठिनाई भए पनि पछिल्लो समय उहाँको आर्थिक हैसियत ठीकै देखिन्छ । यो सबै हेर्दा उहाँको पारिवारीक पृष्ठभूमि शिक्षित, अनुशासित र सबैलाई लोभ्याउने प्रेरणादायी देखिन्छ ।

शिक्षा र समाजसेवा
तेह्रथुमको रमणीय सदरमुकाममा जन्मनुभएका पुण्यप्रसाद ढकालका आमाबुबाको शिक्षाप्रति ज्यादै रूचि भएको हुनाले उहाँहरूले छोराछोरीलाई पढाउनमा कुनै कमी हुन दिनु भएन । उहाँले प्रारम्भिक शिक्षा सदरमुकामस्थित नागेश्वरी प्राविमा पढनु भएको थियो भने एसएलसी सिहवाहिनी माविबाट २०३८ सालमा उत्तीर्ण गर्नुभएको थियो । आईए म्याङलुङ क्याम्पसबाट, स्नातक महेन्द्र बहुमुखी क्याम्पस मोरङबाट र एमए राजनीति शास्त्रमा त्रिविबाट उत्तीर्ण गर्नुभएको थियो । अहिले उहाँले नेपालको राजनीतिक दर्शनमा पीएचडी गर्न भर्ना गर्नुभएको छ । उच्चशिक्षाका लागि विराटनगर आउनु भएका ढकालले २०४५ सालमा स्नातक उत्तीर्ण गरेपछि त्यहाँ राजनीति शास्त्रको डिग्री क्याम्पस नभएपछि उहाँ डिग्री पढ्न काठमाडौं आएको उहाँ बताउनुहुन्छ । घरको सहयोग र आफनो मेहेनतले उच्च शिक्षा हासिल गर्नु भएका उहाँले विभिन्न संघ संस्थामा रहेर समाजसेवाका काम पनि थुप्रै गर्नु भएको छ । राजनीतिक दर्शनका पुस्तक धेरै अध्ययन नगरे पनि कम्युनिस्ट पार्टीको सिद्धान्त, दस्तावेज धेर थोर अध्ययन गरेको उहाँ बताउनुहुन्छ ।
राजनीतिक यात्रा
बाल्यकालदेखि नै धनीले गरिबलाई हेप्ने, शोषण, दमन गर्ने गरेपछि त्यसका विरुद्ध आवाज उठाउँदै वर्गीय राजनीतिबाट प्रभावित हुनुभएका पुण्यप्रसाद ढकालले अप्रत्यक्ष रूपमा धेरै अगाडिबाट राजनीतिमा लागे पनि औपचारिक रूपमा २०४२ सालदेखि विद्यार्थी राजनीतिहुँदै निजामती कर्मचारी संगठनको राजनीतिमा आउनुभएको हो । बाल्यकालदेखि नै छुवाछूत र सामन्तका विरुद्ध सचेत ढंगले काम गर्ने बोल्ने गर्दै आउनु भएका उहाँले पार्टीको राजनीति भने कमै गर्नुभएको छ । कर्मचारीले राजनीति गर्न कानुनविपरीत हुने भएकाले पार्टीको राजनीतिमा कम लागेको बताउने ढकाल २०४६ सालको आन्दोलनमा लाग्दा प्रहरीको लाठी, अश्रु ग्याँस खाँदै गल्ली गल्ली भागेको सुनाउनुहुन्छ । जिल्लाका अग्रज कम्युनिस्ट विद्यार्थी नेताहरूको सामिप्यताले अनेरास्ववियुको राजनीतिमार्फत कम्युनिस्ट पार्टीको राजनीतिमा आकर्षित हुनु भएका ढकाल कर्मचारी संगठनको विभिन्न पदमा रहँदै केन्द्रीय अध्यक्ष भएर काम गरिसक्नुभएको छ । कामकै दौरानमा आम कर्मचारीको मन जित्ने काम गरेर अहिले आधिकारिक टे«ड युनियनको अध्यक्ष र वल्ड फेडेरेसन अफ टे«ड युनियनअन्तर्गत टे«ड युनियन इन्टरनेसनल पब्लिक सर्भिस एण्ड एलाइटको केन्द्रीय उपाध्यक्ष (एसिया प्यासेफिक हेर्ने) रूपमा समेत काम गर्नु भएको छ । निजामती कर्मचारी संगठनलाई सशक्त बनाएर लोकतान्त्रिक आन्दोलनमा योगदान दिनुभएका उहाँले शिक्षा र सहकारी आन्दोलनमा पनि योगदान गर्नुभएको छ । सधँै संगठन र कर्मचारीको हितमा काम गर्नु भएका उहाँले राजनीतिक पार्टीका नेताहरूलाई समेत सहयोग प¥याउनु भएको छ । कर्मचारीकै हितका खातिर २०४८ सालको असार २७ गते कर्मचारी आन्दोलनमा पक्राउ पर्ने, थुनिने, सार्वजनिक अपराधका मुद्दा खेप्ने, जागिर निलम्बन पर्दा समेत त्यसको वास्तै नगरी संगठनको आन्दोलनमा झन् सशक्त रूपमा लाग्दा २०४८ चैत्र १६ गते जागिरै गएको र त्यति गर्दा पनि संगठनको काम नछोडेको उहाँ बताउनुहुन्छ । जागिरको मात्रै होइन कर्मचारीको हकहितका खातिर जीवनकै राजीनामा दिन तयार हुने ढकाल कम्युनिस्ट आचरण, अनुशासन र सिद्धान्तमा दृढ रहने कर्मचारीका नेतामा पर्नुहुन्छ । उहाँको राजनीतिक जीवनलाई नजिकबाट हेर्ने हो भने निष्ठा र आदर्शको राजनीति सिक्न, देख्न, अँगाल्न टाढा जान नपर्ने उहाँका दैनन्दिनका गतिविधि हेरे प्रयाप्त हुने देखिन्छ ।

अनुभव र अनुभूति
तेह्रथुम जिल्लाको रमणीय सदरमुकाममा हुर्किनुभएका पुण्यप्रसाद ढकालको जीवनयात्रा सजिलो, अप्ठ्यारो, सुख दुःख सबै व्यहोर्दैै गतिशील ढंगले अगाडि बढेको देखिन्छ । गरिब परिवारमै जन्म लिनुभएकोले उहाँले गाउँले परिवेशमा हुर्किने किसानले गर्ने उकाली, ओराली, भन्ज्याङ, चौतारी, भीर, पाखा, पखेरी, हलो, कोदालोदेखि सबै कर्महरूको अनुभव र अनुभूति पनि गर्नु भएको छ । उहाँले गरिबको बिवशता पनि भोग्नु भएको छ, सहरिया संभ्रान्त वर्गले गरेको कर्म र भोगेको जीवन पनि भोग्नुभएको छ । पिरामा, चिसोमा बसेको अनुभव पनि छ उहाँसँग सोफा र घुम्ने मेचमा बसेर रातो मसीले सरकारी डकुमेन्टमा साइन गरेको अनुभव पनि छ, संगठन निर्माण र विस्तारमा उकाली, ओराली गरेको अनुभूति पनि छ, सुविधासम्पन्न विदेशी होटलमा रात बिताएको अनुभव पनि छ । निरङ्कुशताका विरुद्ध लड्दा लाठी खाएको, जेल परेको, जागिर सस्पेन्ट भएको, त्यति गर्दा पनि नटेरेर कर्मचारीको हितमा लड्दा जागिरै गएको तीतो यथार्थ पनि छ, लगत्तै लोकसेवाबाट नासु पास गरेर आफ्नो उद्देश्यमा सफल भएको सन्दर्भ पनि छ, संगठनको सफल नेतृत्व गरेपछि आधिकारिक ट्रेड युनियनको अध्यक्षमा जिताएर फूलमाला लगाइदिएको अनुभूति पनि छ, कर्मचारीलगायत आम मान्छेको मन छुने सामाजिक काम गरेको सुखद अनुभूति पनि छ । जीवनभित्र भोगाइ भेटिने र भोगाइमा जीवन देखिने विविध अनुभव अनुभूतिभित्र उहाँको जीवन सार्थक देखिन्छ ।

सांगठनिक काम र जागिर
शान्त स्वभाव र सबल पक्ष धेरै भएका कर्मचारीका नेता पुण्यप्रसाद ढकालले २०३७ साल माघमा हुलाकमा हल्कारा पदमा जागिर सुरु गर्नुभएको थियो । जागिरे जीवनसँगै राजनीतिलाई अगाडि बढाउनु भएका उहाँले निजामती कर्मचारी संगठनको अध्यक्ष भएर काम गर्दा प्रभाव छाड्ने गरी काम गरेको बताउनुहुन्छ । संगठनको विकास र विस्तारदेखि निजामती कर्मचारीलाई टे«ड युनियन अधिकार दिलाउन जागिरकै बाजी लगाउने ढकालले संगठनमा थुप्रै काम गर्नुभएको छ । कर्मचारी सरुवा, बढुवाका कामलाई विधि र प्रक्रियामा हालेर भनसुनविनै सिस्टमले काम हुने गरी व्यवस्थित बनाउनुपर्ने, कर्मचारीको पदस्थापना गर्दा योग्यता, क्षमताअनुसारको स्थानमा भयो कि भएन, त्यस बारेमा ध्यान दिने, उनीहरूको वृत्ति विकासलाई व्यवस्थित गर्ने र बढुवामा न्यायोचित मापदण्डमा हालेर योग्यता र क्षमताको सही व्यवस्थापन र प्रयोग गर्ने बारेमा सरकारसँग छलफल भइरहेको बताउने ढकाल कर्मचारीका आंशिक समस्या समाधान भएकोमा आफूलाई खुसी लागेको बताउनुहुन्छ । यसरी उहाँले नेतृत्व गर्दा संगठन सबल र सशक्त भएको छ । यसले उहाँलाई कर्मचारीका असल र सशक्त नेता बनाएको छ, सफल नेतृत्वकर्ता भनेर चिनाएको छ । यसबाहेक उहाँले, शिक्षा, स्वास्थ्य, सहकारीलगायत थुप्रै सामाजिक संघ संस्थामा रहेर काम गर्नु भएको छ । उहाँले २०४६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भने २०४८ सालको कर्मचारी आन्दोलनमा त सार्वजनिक अपराध मुद्दा लगाउनेदेखि जागिरबाटै हटाएको तीतो सत्य अहिले पनि आलै छ । जागिर गएपछि उहाँले लोकसेवाबाट नासु पास गरी पुन जागिर गर्नुभयो । त्यसैको निरन्तरताले आज उहाँ १ लाखभन्दा बढी कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनजस्तो अधिकारयुक्त संगठनको अध्यक्ष हुनुभएको छ । उहाँले सो पद छोड्नु भएको भए यतिबेला उपसचिव भइसक्नुहुन्थ्यो । उहाँले जागिरको सिलसिलामा हुलाक, अञ्चलाधीश कार्यालय, विराटनगर कारागार, सेन्टर जेल, कृषि मन्त्रालय, गृह मन्त्रालय, अद्यागमनलगायत विभिन्न सरकारी निकायमा रहेर काम गरिसक्नुभएको छ । कहिल्यै कोहीसँग नरिसाउने शान्त र हँसिला ढकाल एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ ।

सुखी नेपाली
विद्यार्थी राजनीतिदेखि अहिले पर्यन्त कर्मचारी राजनीति, सरकारी सेवा र समाजसेवामा खटिरहनुभएका पुण्यप्रसाद ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको सपना र अगाडि सार्नुभएको अभियान उत्कृष्ट सोच भएको बताउँदै मलेसियाका महाथिर र सिंगापुरका लिकवानले यही सोच र भिजनले आफ्ना मुलुकहरू समृद्ध बनाएको बताउनु हुन्छ । नेपालमा अनुशासन नहुँदा, विधि र प्रक्रियामा कोही नचल्दा मुलुक पछाडि परेको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ विकसित मुलुकमा अनुशासन छ हाम्रोमा अनुशासन छैन, विधि, प्रक्रिया र अनुशासनमा बस्नुपर्दा हामीलाई एक सय १२ डिग्रिको ज्वरो आउँछ, हाम्रो हिजोदेखिको सामन्ती सोच गइसकेको छैन । राम्रो काम गर्दा पनि विरोधै भइरहेको छ,ऐन कानुनको पालना छैन, खुट्टा तान्ने प्रवृत्ति धेरै छ, राम्रो काम गरेपनि विरोध नगरी हुँदैन भन्ने गलत सोच छ । यही कारण देशले विकासको गति लिन नसकेको भन्नु हुने ढकाल यसमा तत्काल सरकारले हस्तक्षेप गरेर मुलुकलाई समय, विधि र प्रक्रियामा ढाल्नु पर्ने बताउनुहुन्छ । जनताले यसैको लागि नेकपालाई जिताएको र जनताका आशा पूरा नभई हिजो सबैले गरेको संघर्षको कुनै अर्थ नहुने बताउनुहुन्छ । अनुशासनहिनता, भ्रष्टाचार, कुशासनलाई कन्टा«ेल गर्ने मेकानिजम बनाएर स्वतन्त्रताका नाममा हुने छाडातन्त्र र यो नियन्त्रण गर्ने नाममा निरङ्कुशता दुवै हुनुहुँदैन र सरकारलाई फुलफेजमा काम गर्ने वातावरण पार्टीभित्रबाट र बाहिरबाट सहयोग हुनुपर्ने बताउने ढकाल यति भए समृद्ध नेपाल सुखी नेपालीको नारा यो सरकारले पूरा गर्ने बताउनुहुन्छ ।

जीवनलाई फर्केर हेर्दा
संगठनको काम गर्दा होस् वा सरकारको, निजी काम गर्दा होस् वा समाजको, राजनीति गर्दा होस् अन्य काम गर्दा होस् हरेक बेला जस्तासुकै चुनौतीका पहाड उठाउन तयार हुने शान्त स्वाभावका पुण्यप्रसाद ढकालले कर्मचारीको हितका खातिर थुप्रै जोखिमहरू उठाउनु भएको छ, जागिरबाटै हटेर काम गर्नु भएको छ, धन सम्पत्तिलाई भन्दा कर्मचारीको जीवन परिवर्तन गर्ने कामलाई महत्वपूर्ण ठान्नु भएको छ । नेता, मन्त्री, प्रधानमन्त्रीलाई देशका लागि कार्य गर्न दबाब दिनु भएको छ । पारिवारिक स्वार्थमा भन्दा कर्मचारीको स्वार्थमा बढी केन्द्रित हुनुभएको छ, जानी जानी कसैलाई नराम्रो गर्नुभएको छैन, सन्तुष्टि हुने गरी काम गर्ने प्रयास र मेहेनत गर्नु भएको छ । यही परिचयले आम कर्मचारीमा चिनिनु भएको छ, सबैले यही खालको जीवन पद्धति अँगाल्नुपर्छ भनेर सबैलाई प्रेरित गर्नुभएको छ, कसैप्रति असन्तुष्टि राख्नु भएको छैन, यहीँ हो उहाँको परिचय र सफलता ।

पुण्यप्रसाद ढकाल जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर अप्ठ्यारोलाई पनि सहजतामा बदलेर काम गर्न सक्ने, लोभ लालच नगर्ने, कर्मचारीको हितमा निरन्तर लागिरहने अनुकरणीय जीवन पद्दति भएका मिलनसार कर्मचारीका असल नेता तथा राष्ट्र सेवक अधिकृत भएको उहाँका मिलनसार साथी टंक ढुङ्गाना र संजय तुम्बाहाङफे बताउनुहुन्छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम