सरकारले जनताको अपेक्षा पूरा गर्न पहलकदमी बढाउनुपर्छ ।


झलनाथ खनाल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री हुनुहुन्छ । कम्युनिस्ट पार्टीको भूमिगत राजनीति गरेर, जेलनेल खाएर आजको अवस्थामा आउनुभएका वरिष्ठ नेता खनालले पार्टीका विभिनन तहमा जिम्मेवारी सम्हाल्दै पार्टीको अध्यक्ष पदमा रहेर नेतृत्व गरिसक्नुभएको छ । देश, जनता र परिवर्तनको लागि कम्युनिस्ट पार्टीमा लागेर
संघर्षपूर्ण राजनीति गर्नुभएका उहाँ सरल, ईमानदार, वैचारिक र नेतृत्व क्षमता भएका जनताका प्रीय नेताका रूपमा परिचित हुनुहुन्छ । राष्ट्रिय स्वाभिमान र समृद्धिका लागि जस्तो सुकै चुनौतीको डटेर सामना गर्ने खनालसँग पछिल्लो राष्ट्रिय राजनीति, पार्टीका गतिविधि र सरकारका कामका बारेमा छलफलले गरेको कुराकानीको सम्पादित अंशः

झलनाथ खनाल, वरिष्ठ नेता नेकपा

नेकपाको एकता भएको एक वर्षपछि पनि एकताका बाँकी काम अझै सकिएका छैन यसलाई कसरी लिनु भएको छ ?
यो एकता भनेको दुई ठूला वामपन्थी पार्टी तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको ऐतिहासिक एकता हो, दूरगामी महत्वको एकता हो । यो कम्युनिस्ट आन्दोलनको आवश्यकताको उपज हो, नेपाली जनताको आकांक्षा र नेपाल राष्ट्रको अवश्यकताको उपज हो । यो एकता दुईवटा ठूला पार्टीबीचको एकता भएकोले नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण घटनाक्रम पनि हो । सुशासन र समृद्धिका लागि अपरिहार्य आवश्यकता पनि हो । यसलाई सबैले स्वागत र सहयोग गर्नुपर्छ । जहाँसम्म पार्टी एकता भएको एक वर्ष पुगिसक्दासमेत एकताका सबै काम सम्पन्न हुन नसक्नु राम्रो होइन यसमा हाम्रो पनि कमजोरी भएको छ । यो एउटा आँफैमा जटिल प्रक्रिया भएकोले यसलाई मिलाउने सन्दर्भमा असत्तुष्टि नआउन् भन्ने उद्देश्यले काम गर्न खोज्दा यो कामले बढी समय लिएको हो । यो अस्वभाविक पनि होइन । यस्तो हुन्छ, तर अब यसलाई ध्यानमा राखेर हामीले समझदारीपूर्ण रूपले काम गर्नुपर्छ । अहिले हामीले २२ वटा जनवर्गीय संगठनको नेतृत्व चयनको काम सम्पन्न गरेका छौं । यसो गर्दा अब हामीले सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र कतिपय गाउँनगर कमिटीहरूको एकता सम्पन्न गरेका छौं । अब पोलिटब्युरो बनाउने र केन्द्रिय सदस्यको जिम्मेवारी तोक्ने काम बाँकी छ । यसलाई पनि सम्पन्न गरेर विधि, प्रक्रिया र पद्धतिअनुसार पार्टी अगाडि बढाउने काममा हामी तुरुन्तै लाग्नेछौं । यो हिसाबले हेर्दा पार्टीका कामहरू सुविचारित ढंगले नै अगाडि बढिरहेका छन् भन्ने मलाई लाग्छ ।

एकताका बाँकी कामहरू कहिलेसम्म सकिएला ?
अहिलेसम्मको गतिविधि हेर्दा यो महिनाको अन्त्यसम्ममा एकताका सबै कामहरू सम्पन्न हुन्छन् । आज पनि सचिवालयको बैठक छ । आजको बैठकले बाँकी रहेका कामको निक्र्यौल गर्छ र त्यसका आधारमा हामी चाँडै काम सक्ने गरी अगाडि बढ्छौं ।

पार्टी नेताहरूलाई जिम्मेवारी दिने सन्दर्भमा देशैभरि असन्तुष्टिहरूको चाँङ ठूलो मात्रामा छ भन्ने सुनिन्छ, यसलाई कसरी मिलाउनु हुन्छ ?
जिम्मेवारी बाँडफाँडमा तलमाथि भएको छ । सबैले त्याग गर्नुभएको छ । सबैको त्याग तपस्याले यो एकता सम्पन्न भएको छ । यसो नभएको भए यति ठूलो र महत्वको एकता हुने थिएन । कतिपय सिनियर नेता जुनियर र जुनियर नेता सिनियर भएका छन् । यस्तो खालको समस्या र चुनौतीको सामना हामी सबैले गर्नु परिरहेको छ । यो सबै काम एकतालाई बलियो बनाउने र पार्टीलाई सबल र सशक्त बनाउने उद्देश्यले भएको छ । यो कुरा बुझ्ने, पार्टी र जनताका लागि योगदान गर्ने नेता कार्यकर्ता हाम्रो पार्टीमा धेरै भएकोले र आजको परिस्थितिलाई बुझेका नेता कार्यकर्ताको पंक्ति हाम्रो पार्टीमा ठूलो भएकोले असन्तुष्टिलाई व्यवस्थापन गर्ने पार्टीलाई अगाडि बढाउन त्यति असहज छैन । यसर्थ यसको व्यवस्थापन हामी सही ढंगले गर्छौ, नेतृत्वले गर्छ ।

पार्टीमा योगदान गरेका अग्रज नेताहरू सक्रिय र इमान्दार युवा नेताहरू गुटको कारणले जिम्मेवारीविहीन भएका छन्, नेतृत्वबाट काखापाखा भएको छ, पदका लागि पैसाको प्रयोग हुन थालेको छ, वर्गीय पक्षधरता कमजोर हुन थालेको छ, जनताबाट नेता टाढा हुन थालेका छन् भन्ने गुनासो व्यापक सुनिन थालेका छ, पार्टीको तस्बिर कस्तो देख्नुहुन्छ ?
तपाईंको प्रश्नमा महत्वपूर्ण सच्चाइहरू लुकेका छन् । तपाईंले उठाउनु भएका कुरालाई हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । यो पार्टी कसरी उत्पत्ति भयो, कसरी निर्माण र विकास भयो, यहाँसम्म आउनमा कस्ता कस्ता नेताहरूले कस्ता कस्ता बाटाहरू तय गर्नुप¥यो, हामी यहाँसम्म आउनमा जनताको माया र स्नेतह कति छ, कस्ता कस्ता चुनौतीको सामना गर्नुप¥यो, भूमिगतकालमा कस्ता कस्ता समस्याहरू भोग्नुप¥यो, कहाँ कहाँ कसरी सेल्टर लिएर बस्नुप¥यो, त्यसमा कसकसको सहयोग रह्यो, जनताले कस्तो खालको सहयोग गरे भन्ने कुराको वस्तुनिस्ट समीक्षा गरेर त्यसका आधारमा हामी अगाडि बढ्नुपर्छ । पार्टीका नेता कार्यकर्ताको मूल्यांकन र सम्मान गर्नुपर्छ । क्षमतावान नेता कार्यकर्ताको पनि उचित सम्मान र मूल्यांकन गर्नुपर्छ । उहीहरूलाई जिम्मेवारी दिनुपर्छ । काम दिने, जिम्मेवारी दिने कुरामा नेता कार्यकर्तालाई यो तेरो, यो मेरो भन्नु हुँदैन । योग्यता, क्षमता र क्रियाशीलताका आधारमा नेता कार्यकर्तालाई अगाडि बढाउनुपर्छ । जनताको हितलाई बढ्ता ध्यान दिनुपर्छ । यसो भयो भने पार्टीको गति पनि बढ्छ । जनताको हित पनि हुन्छ । देशमा सुशासन र समृद्धि पनि आउँछ ।

यो सरकारको कामलाई कसरी लिनुभएको छ ?
यो सरकारले रामै्र काम गरिरहेको छ । प्रधानमन्त्रीकै शब्दमा भन्ने हो भने यसलाई उहाँले आधार वर्षको रूपमा लिनुपर्छ भन्नु भएको छ । यसलाई हामीले पनि आधार वर्षकै रूपमा लिनुपर्छ । एक वर्ष बितिसकेको छ र अब अर्को वर्ष भइसकेको छ । यो वर्षको नीति कार्यक्रम पनि आइसकेको छ । नीति कार्यक्रम राम्रो छ । बजेट अब आउँदैछ । बजेट राम्रो आउँछ भन्ने हामीले महसुस गरेका छौं । समृद्धिको आधार भनेको पनि बजेट र त्यसको कार्यान्वयन हो । बजेट राम्रो आयो भने समृद्धि निश्चित रूपमा आउँछ । त्यो समृद्धि बोकेको बजेटलाई गतिशील बनाउने एवं नेपाल र नेपाली जनताको भविष्य उज्जवल पार्नका लागि सहज हुन्छ । जनताको हित र मुलुकको समृद्धिका लागि हामीले काम गर्नु जरुरी छ । यसका लागि हामी सबै इमान्दार र जिम्मेवार भएर लाग्नुपर्छ । यसो भयो भने समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा हुन्छ । त्यो दिशातर्फ सरकार अगाडि बढेको छ किनकी यो सरकारको लक्ष्य भनेकै समाजवादतर्फको यात्रा रहेकोले सकारको काम कारबाही सन्तोषजनक नै छ । त्यसलाई अझ जनताको अपेक्षाअनुसार अगाडि बढाउन पहलकदमी लिन जरुरी छ ।