संसदमा मन्त्रालयगत छलफल शुरु


काठमाडौं, २८ जेठ प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्तर्गत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा सांसद दुर्गा पौडेल, दिव्यराज भण्डारी, रङ्गमती शाही, डा. मीनेन्द्र रिजाल र प्रेम सुवालले युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीसम्बन्धी बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गर्नुभयो ।

उहाँहरुले प्रस्ताव प्रस्तुत गर्नुपर्ने कारण र औचित्य पुष्टयाइँ गर्दै आफ्नो प्रस्तावका पक्षमा सहयोग गर्न आग्रह गर्नुभयो । खर्च कटौतीका प्रस्तावकले युवा रोजगारमुखी बजेट नदेखिएको तथा शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने विषयमा बजेटमा छुटेको उहाँहरुको भनाइ थियो । मन्त्रालयगत छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खगराज अधिकारीले कतिपय आयोजनाका लागि बजेट अपुग भयो भनी प्रश्न उठाउने सदस्यले नै खर्च कटौती कुरा गर्नु आफैँमा आश्चर्यको कुरा हो भन्दै बजेट उत्पादकत्व वृद्धि र लोककल्याणकारी राज्यको अवधारणानुरुप आएको बताउनुभयो । नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री र सत्तापक्ष नेताका जिल्लामा मात्र बढी बजेट विनियोजन भएको जनाउँदै विकास र समृद्धिको कुरा कसरी पूरा होलान् भनी प्रश्न गर्नुभयो ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम