तपाईंको शुभनाम, जन्ममिति र ठेगाना बताइदिनुस् न ।
नाम नारायणप्रसाद मरासिनी, म २०२४ साल पुस ३
गते स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकास्थित नारायणस्थान भन्ने ठाउँमा जन्मेको हुँ ।
दिनचर्या कसरी बितिरहेको छ ?
जिल्लाका विकास निर्माणका काम गर्दै र संघीय संसद्मा ऐन कानुन बनाउने विकास निर्माणका काममा छलफल गर्दै बितिरहेको छ ।
परिवारमा को को हुनुहुन्छ ?
बुबा, आमा भाइ, भाइका परिवार, बहिनी जिल्ला तिरै छन् । यहाँ म, श्रीमती, २ छोरा र १ छोरी छौं ।
बुबाआमा के गर्नुहुन्थ्यो ?
घरखेती गर्नुहुन्थ्यो ।
उहाँहरूको स्वभाव कस्तो थियो ?
मृदुभाषी, भलो चाहने, परिपक्व काम गर्ने, मेहेनती र शान्त स्वभावको हुनुहन्छ ।
तपाईंको नि ?
भनेको सुनेअनुसार समाजको हित चाहने, कसैले अन्याय गरेको मन नपर्ने, कसैको हानि नोक्सानी नगर्ने र बोल्ड डिसिजन गर्ने थिएँ रे ।
जागिर खान छोडेर राजनीतिमा किन लाग्नु भयो ?
समाजमा कसैलाई दूधभात फालाफाल कसैलाई अनिकालको अवस्था थियो । २०३६ सालको विद्यार्थी आन्दोलन पनि भइसकेको थियो । त्यो आन्दोलनले मलाई प्रभावित पारेको थियो, त्यसैले सबै समान हुने, सबैले गरीखाने व्यवस्था ल्याउन र शोषणरहित समाजको निर्माण गर्ने कम्युनिस्ट राजनीतिमा लागेँ ।
शोषणरहित समाजको निर्माण भयो त ?
त्यसबेलाको भन्दा धेरै राम्रो भयो तर जस्तो सोचेर राजनीतिमा लागेको थिएँ, त्यस्तो भइसकेको छैन ।
कुट्ने कुटाइ खाने काम कतिको भयो ?
म पुलपुलिएको छोरो, स्कुलको पनि कान्छो विद्यार्थी कुट्ने कुटाई खाने भएन बरू २०४६ सालको आन्दोलनमा अनेरास्ववियुले नेतृत्व गरेको जुलुसमा संगठनको झण्डा देखाउँदा प्रहरीले १ लाठी हानेको छ ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
सामन्ती शासन व्यवस्था भए पनि अनुशासन कडा थियो, गरिबीको चरम अवस्था थियो, जुत्ता, चप्पल लगाउनसमेत सकिँदैन थियो, कट्टु लगाएर हिँडिन्थ्यो ।
बाल्यकाल कसरी बित्यो ?
उकाली ओरालीमा पसिना झार्दै, घाँस दाउरा गर्दै, पढ्दै
रमाइलो ढंगले बित्यो ।
बाल्यकालको कुनै अविस्मरणीय क्षण छ ?
बुबाआमाले तिमीले देश र जनताका लागि केही गर्नु पर्छ, तिमीले गर्न पनि सक्छौ भनेर हौसला दिएको याद आइरहन्छ ।
खान खेल्नमा कस्तो रूचि थियो ?
सादा खाना खाने ब्याडमिण्टन खेल्ने ।
सुरुवाती शिक्षा कहाँ लिनु भयो ?
पुतलीबजारस्थित त्रिभुवन आदर्श माविमा ।
पढाइको स्तर कस्तो थियो ?
म अब्बल विद्यार्थीमा पर्थेँे ।
पढ्दा आर्थिक अभाव कत्तिको भयो ?
किसान परिवार भए पनि बुबाआमाले आर्थिक अभाव
हुन दिनु भएन ।
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
पाँच कक्षामा पढ्दैदेखि अनेरास्ववियुमा लागेँ ।
जेल पनि पर्नु भयो ?
२०४६ सालको आन्दोलनमा लाठीसम्म खाएँ तर जेल परिनँ ।
विवाह कोसँग र कसरी गर्नुभयो ?
जिल्लाकै विद्यादेवी मरासिनीसँग २०४८ साल फागुन २८ गते मागी विवाह भएको थियो ।
त्योभन्दा अगाडि कोही केटीसँग मायाँ पिरती बसेन ?
मेरो त्यस्तो स्वभाव थिएन त्यसैले त्यतापट्टि ध्यानै गएन ।
जागिर खाने सोच भएन ?
सानैदेखि विद्यार्थी राजनीतिमा लागेँ जागिरतिरको सोचै
भएन ।
नेता को को मनपर्छ ?
पुष्पलाल, मदन र मनमोहन बढी मनपर्छ तर देश,जनता र परिवर्तनका लागि योगदान गर्ने नेता सबै मनपर्छ ।
बढी मन परेर पढेको पुस्तक कुन कुन हुन् ?
मेक्सिम गोर्कीको आमा बढी पढेको छु ।
तपाईंको कमजोरी ?
बढी मान्छे चिल्ला कुरा गर्नेसँग,बनावटी भए पनि आफ्ना बारेमा राम्रा कुरा गरिदिँदा र अगाडि फुक्र्याएर पछाडि कुरा काट्दा रमाउँछन् म त्यसो गर्दिनँ छुच्चो भने पनि सत्य जे हो त्यो भनिदिन्छु, त्यस्तो मान्छेलाई पच्दोरहेनछ र मसँग रिसाउँछन् त्यसो गर्नु मेरो कमजोरी हो कि
जस्तो लाग्छ ।
प्रेरणाको स्रोत नि ?
आमाबुबा र विभिन्न घटनाबाट सिक्दै भोग्दै यहाँसम्म आएँ । यी सबै घटना र परिस्थिति प्रेरणाका स्रोत हुन ।
सुख दुःखको क्षण ?
मदन, आश्रितको निधन हुदाँ र २०५४ सलामा पार्टी फुट्दा दुःख र २०४६ सालको आन्दोलन सफल हुँदा र गणतन्त्र आउँदा खुसी लागेको थियो ।
सन्तुष्टि असन्तुष्टि के छ ?
समाज परिवर्तनका लागि राजनीतिमा लागेको मान्छे जनताको काम गर्ने अवसर आदरणीय अग्रज नेता र जनताले दिनुभएको छ असन्तुष्टि केहीमा छैन तर जन चाहनाअनुसार काम नभएकोले पूर्ण सन्तुष्टि पनि छैन ।
भूमिका
स्याङ्जा जिल्ला पुतलीबजारमा जन्मनुभएका नारायणप्रसाद मरासिनी राजनीतिमा योगदान दिएका नेता हुनुहुन्छ । न्याय र समानताका लागि विद्यार्थीकालदेखि नै अनेरास्ववियुमार्फत कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभएका उहाँले फासिष्ट पञ्चायती व्यवस्थाका विरुद्ध लाग्दा प्रहरीको कुटाइसमेत खानुभएको छ । विद्यार्थी राजनीतिदेखि जिल्ला पार्टीको विभिन्न तहहुँदै संघीय सांसद र विभिन्न संघ संस्थामा रहेर महत्वपूर्ण योगदान दिइरहनुभएका उहाँले राजनीतिक यात्रा आरम्भ भने ५ कक्षामा पढ्दादेखि नै गर्नु भएको थियो । उहाँले पार्टी निर्माण विस्तारदेखि नीति निर्माण तहमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नु भएको छ । जनताको हित एवं पार्टीको मर्यादा र अनुशासनलाई सदैव उच्च तहमा राखेर परिर्वतन र समृद्धिका लागि निष्ठापूर्ण राजनीति गर्नु भएका उहाँ शालीन नेता हनुहुन्छ । पार्टीलाई वैचारिक एवं राजनीतिक रूपमा सबल बनाउने सन्दर्भमा विनास्वार्थ अगाडि बढ्ने उहाँ लिल्लाका आम जनता र पार्टी पंक्तिमा राम्रो छवि बनाएका परिचित नेता हुनुहुन्छ । उहाँको लगभग ३ दशकको गतिशील राजनीति जीवनयात्रा अहिले सांसदको रूपमा जनताका काम गर्दै अगाडि बढिरहेको छ । जस्तोसुकै चुनौतीको सामना गरेर सत्यको पक्षमा सतिसालझैँ उभिने उहाँ स्वार्थी, जनविरोधी र पार्टीविरोधीहरूलाई शालीन रूपमै प्रस्तुत भएर उनीहरूलाई बदल्न खोज्नुहुन्छ । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई बढी महत्व दिने उहाँ विचार र सिद्धान्तको फलो गर्ने क्रियाशील नेता हुनुहुन्छ । जनताका काममा खटिरहनु भएका उनै जनसेवक मरासिनीको जीवन संघर्ष अनुभव, अनुभूति, रूचि र स्वभावका विविध पाटोलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।
पारिवारिक पृष्ठभूमि र अनुभव अनुभूति
पुतलीबजारको रमणीय सहरमा हुर्किनुुभएका सांसद नारायणप्रसाद मरासिनी सम्य, सुसंस्कारी र त्यहाँको सम्मानित, हुनेखाने परिवारमै जन्मिएका नेता हुनुहुन्छ । उहाँका बुबा दण्डपाणी उपाध्याय, माता हरिकला मरासिनी, श्रीमती विद्यादेवी मरासिनी, जेठा छोरा अनुपम, कान्छो छोरा अनमोल र दोस्रो सन्तानको रूपमा जन्मिएकी एक छोरी जोत्सना मरासिनी हुनुहुन्छ भने एक भाइ र एक बहिनी हुनुहुन्छ । मध्यम वर्गीय परिवारमा २०२४ सालमा जन्मेर ५२ वर्षे जीवनयात्रामा रमाइरहनु भएका मरासिनीको पारिवारिक पृष्ठभूमि असाध्य शान्त र अनुकरणीय छ । उहाँका भाइ दिपक शर्मा मरासिनीले स्कुल सञ्चालन गर्नु हुन्छ । विद्यादेवीसँग वैवाहिक सम्बन्ध गाँस्नु भएका उहाँका जेठा छोराले एमबीए र छोरीले पुल्चोक इञ्जिनियरिङ कलेजबाट बीई सम्पन्न गर्नुभएको छ । उहाँका आमाबुबाले कृषि कर्म नै गरे पनि समाजसेवाका काममा पनि त्यतिकै लाग्नुभएको छ । कुनै खालका खराब काम नगरी कुनै कुलतमा नफसी समाज परिवर्तनका लागि अनगिन्ति संघर्ष गर्नु भएका उहाँले थुप्रै तीता मीठा अनुभव ,अनुभूति संगाल्नु भएको छ , आरोह अवरोह पार गर्नु भएको छ, थुप्रै दुःखका भँगालाहरू पार गर्नु भएको छ, अप्ठयारो बेलामा पार्टीमा काम गरेर योगदान गर्नुभएको छ, जिल्लाका महत्वपूर्ण काम गर्नु भएको छ, जसको सुखद दुःखद दुवै अनुभूति छ उहाँलाई । व्यक्तिगत सुख सयलको परवाह नगरी समाज परिवर्तनका लागि थुप्रै उकाली ओराली गरेको उहाँको अतित दुःख र सुखको दोभानजस्तो छ । सांसदको रूपमा चुनेर जनताले फूलमाला लगाइदिएको, गणतन्त्र आउँदाको सुखद सन्दर्भदेखि पार्टी फुट्दाको र प्रतिगमनको पीडा पनि छ उहाँसँग । बारीमा हलो कोदालो गरेको, घाँस दाउरा काट्न उकाली ओराली गरेको, साथीभाइसँग खेलेको विगतदेखि जिल्ला नेता र संघीय सांसद भएर काम गरेको अतित र वर्तमान उहाँसँग छ । देश र जनताका लागि बोलेको र विकास निर्माणका काम गरेको अनुभूतिदेखि निरङ्कुश पञ्चायतसँग लडेको गौरवगाथा ज्यँुदै छ उहाँसँग । हरेक सन्दर्भ भोगेर आउनु भएका नारायण मरासिनी समाजका लागि महत्वपूर्ण योगदान दिने नेताको रूपमा परिचित हुनुहुन्छ । यो पाटोबाट हेर्दा उहाँ र उहाँको परिवार सबैको पीरमर्का र भावना बुझ्ने सबै कुराको संयोजन भएको सुन्दर र शान्त परिवार देखिन्छ ।
शिक्षा र समाजसेवा
किसान परिवार भए पनि शिक्षामा रूचि राख्ने नारायण मरासिनीले सुरुवाती शिक्षा जन्मथलो पुतलीबजारस्थित त्रिभुवन आदर्श माविमा लिनुभयो । त्यहीँबाट एसएलसी उत्तीर्ण गर्नुुभएका उहाँले पीएन क्याम्पस पोखराबाट आईएसी, अमृत क्याम्पस काठमाडौंबाट बीएसी, टीयूबाट भौतिकशास्त्रमा एमएसी र नेपाल ल क्याम्पसबाट एलएलबी उत्तीर्ण गर्नुभएको छ । राजनीतिसँगै समाजसेवाका थुप्रै काम गर्नुभएका उहाँले लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयको अध्यक्ष, सामुदायिक स्याङ्जा एफएम ८९.६ को उपाध्यक्ष,नवरत्न बचत तथा ऋण सहकारीको संस्थापक अध्यक्ष, रेडक्रसको आजीवन सदस्य, जिल्लाबाट प्रकाशित हुने दैनिक पत्रिकाको सञ्चालक र स्कुलको संस्थापक भएर काम गरिसक्नुभएको छ । यसबाहेक उहाँले विभिन्न संघ संस्थामा रहेर सल्लाहाकारको भूमिका निर्वाह गरिरहनुभएको छ । यो उहाँको अनुकरणीय र ग्रहनीय काम हो ।
राजनीतिक यात्रा र साहित्य सृजना
गाउँमा धनीलाई दूध र भात फालाफाल गरिबलाई सधैँको अनिकाल देखेर बाल्यकालदेखि नै यस्तो हुनुहुँदैन, सबै समान हुनुपर्छ, कसैमाथि अन्याय अत्याचार हुनुहुन्न, देश र जनताका लागि केही गर्नुपर्छ भन्ने नारायण मरासिनी त्यसका लागि पाँच कक्षा पढ्दैदेखि अनेरास्ववियुमा रहेर विद्यार्थी राजनीति गर्दै कम्युनिस्ट पार्टीको राजनीतिमार्फत परिवर्तन र जनताको मुक्ति आन्दोलनमा लाग्नुभएको हो । मानव जन्म, जात, धर्म र कामले सानो ठूलो हुँदैन भन्ने मान्यता सानैदेखि राख्ने उहाँ जुछे विचारधारा, चिनियाँ सचित्र, सोभियत संघबाट प्रकाशित हुने पिपुल्स रिभ्युलगायतका प्रगतिशील पत्रपत्रिका पढेर र २०३६ सालको विद्यार्थी आन्दोलबाट प्रभावित भएर २०४४ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको भातृ संगठन अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले संगठनको विभिन्न कमिटी र पदमा रहेर काम गरिसक्नुभएको छ । पञ्चायती व्यवस्थाका विरुद्ध र २०४५सालमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा अनेरास्ववियुले नेतृत्व गरेको जुलुसमा अगाडि बढेर नारा लगाउने सन्दर्भमा प्रहरीको कुटाइसमेत खानुभएका उहाँले राजनीतिक उतार चढावका थुप्रै परिघटनाहरू व्यहोर्नु भएको छ । पञ्चायती सामन्तवादका विरुद्ध जेहाद छेड्ने कम्युनिस्ट आन्दोलनमा जीवनको परवाह नगरी राजनीतिमा होमिनुभएका मरासिनी अनेरास्ववियुको जिल्ला सदस्य, प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला सचिवालय सदस्य २०४८ सालमा स्याङ्जा काठमाडौं सम्पर्क मञ्चको सचिव, नेकपा एमाले स्याङ्जा पुतलीबजार गाउँ कमिटी सचिव, २०५३ सालमा नेकपा एमाले स्याङ्जा पुतलीबजार नगर कमिटीको सचिव, क्षेत्रीय कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, पार्टीको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्यहुँदै संघीय सांसद हुनुभएका उहाँ परिवर्तनका पक्षमा दृढताका साथ काम गर्दै राजनीतिक उद्देश्यमा अगाडि बढ्नु भएका युवानेता हुनुहुन्छ । जनताको आन्दोलन विकास निर्माण र पार्टी काममा कहिल्यै नथाक्ने नारायण राजनीतिमा गुट, उपगुट, चाकडी, चाप्लुसी हुनुहँुदैन आस्था र निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । उहाँले पार्टीको कामदेखि सिंगो जिल्लाका जनताका काममा महत्वपूर्ण योगदान दिएर नेकपाको जनप्रेमी नेताको छवि बनाउनुभएको छ । नारायणप्रसाद मरासिनी एउटा राजनीतिज्ञ मात्र होइन साहित्यक व्यक्तित्व पनि हुनुहुनछ । उहाँले २०४४ सालमा पञ्चलाई व्यंग्य गर्दै पञ्चले त के देख्छन र खोई, पञ्चको आँखा नै छैन , विश्वको धनी देश भएर होला हेर्नुस् त मेरो कलधाराको टुटीमा पानी नै छैन भनेर मुक्तकसमेत लेख्नुभएको थियो । उहाँले कविता लेख्ने, वाचन गर्ने कामसमेत थुप्रै ठाउँमा गरेको उहाँ बताउनुहुन्छ ।
विकास निर्माणका काम
सामन्ती व्यवस्था फाल्ने र गरिव जनता धनी बनाउने कम्युनिस्ट पार्टीमा जीवनको परवाह नगरी लाग्नुभएका नारायण मरासिनीले देश र जनताको हितमा थुप्रै काम गर्नु भएको छ । उहाँले स्याङ्जाका सबै ठाउँमा हिँउद बर्खा हिँड्न सक्ने गरी सडक सञ्जालले जोड्ने,सडकको स्तरोन्नति गर्ने, भौतिक पूर्वाधार निर्माणका कामहरू गर्ने, बिजुली, खानेपानी, ढल निकासको व्यवस्था, शिक्षा र स्वास्थ्य सुधारका काम, रोजगारी सिर्जनाका काम, बाढीपहिरो नियन्त्रणका कामदेखि विकास निर्माणका काम योजनाबद्ध रूपले प्राथमिकता छुट्याएर गरिरहनुभएका उहाँले अव्यवस्थित सहर विस्तारका समस्या समाधान गर्न पहलकदमी लिइरहनुभएको छ । त्यसैगरी स्याङ्जालाई आत्मनिर्भर बनाउन कृषि आधुनिकीकरणका योजना र कार्यक्रमलाई कृषक लक्षित गरी अगाडि बढाइरहेको बताउनुहुन्छ । यसैगरी स्याङ्जाको विकास र समृद्धिको प्रमुख क्षेत्र पर्यटन भएकोले पर्यटन प्रवद्र्धन, विकास र विस्तारका लागि त्यहाँ भएका पर्यटकीय स्थललाई व्यवस्थित बनाउन, भौतिक पूर्वाधार सुधारका कामहरू गर्ने र थप नयाँ पर्यटकीय गन्तव्य स्थलको अध्ययन गर्ने काम योजनाबद्ध रूपमा अगाडि बढिरहेको मरासिनी बताउनुहुन्छ । त्यसका लागि संघीय सरकारसँग स्रोत साधन जुटाइदिन आग्रह गर्नेदेखि जिल्लाका जनताका व्यक्तिगत र सामूहिक समस्या समाधानमा आफ्नो समय र पहुँचले भ्याउञ्जेल काम गरिरहेको उहाँ सुनाउनुहुन्छ । यी सबै कामलाई हेर्दा सांसद मरासिनीले विकास निर्माणका काम पनि उत्तिकै सक्रियताका साथ गरिरहेको देखिन्छ ।
त्याग र समर्पण
बाल्य अवस्थादेखि नै समाजप्रति सचेत नारायणप्रसाद मरासिनीले सुख सयलको परवाह नगरी सबै जोखिम मोलेर निरङ्कुशताविरुद्धको आन्दोलनमा केहीको परवाह नगरी संगठन र पार्टीमा काम गर्नुभयो, सबैको मन जितेर गाउँ, क्षेत्र, जिल्लाहुँदै राष्ट्रिय राजनीतिमा सक्रिय रहनुभयो, पार्टीमा योगदान गर्नुभयो, जिल्लावासी सबैलाई मिलाएर लैजान भूमिका खेल्नुभयो, कार्यकर्ताको मनोबल उच्च राख्नुभयो यो उहाँको त्याग र समर्पण हो ।
चिन्ता पार्टी र समृद्धिको
सुन्दरतादेखि शिक्षा, विकास र चेतनामा निकै अगाडि रहेको जिल्लाको रूपमा चिनिने जिल्लाबाट प्रतिनिधित्व गरेका नेकपाका सांसद नारायणप्रसाद मरासिनी मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउनेमा आशावादी त हुनुहुन्छ तर पञ्च र कांग्रेसले धेरै बिगारेको देश,जनताले सोचेअनुरूप काम हुन नसकेको र पार्टीमा विचार, सिद्धान्त, निष्ठा, अनुशासन, आचरण, पद्धति, प्रक्रिया, मन्त्री र पार्टीका जिम्मेवार नेताहरूमा सामन्ती व्यवहार, बडप्पन, आफू जिम्दार, जनतालाई रैती ठान्ने प्रवृत्ति र व्यक्तिगत स्वार्थ हावी हुँदै गएकोले पार्टी कतै कमजोर त हुँदै जाने होइन भन्ने कुरामा भने चिन्ता लागिरहेको उहाँ सुनाउनुहुन्छ । पार्टीको मूल नेतृत्वले यस्ता बेथितिको अन्त्य गर्दै जनताको समृद्धि नभेटुञ्जेल कुनै पनि नेताले आफूलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा जोड दिनुहुन्छ । अहिले दुई तिहाईको स्थिर सरकार निर्माण भएकोले भ्रष्टाचारको अन्त्य, शान्ति, सुुशासनको सुरुवात, कृषिको आधुनिकीकरण, पर्यटन, यातायात र जलस्रोतको विकास गर्नुपर्छ । त्यतिमात्र होइन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर युवालाई उत्पादनमा जोड्न सक्नुपर्छ, उनीहरूलाई काम गर्ने वातावरण दिनुपर्छ अनि मात्र देश समृद्ध बन्छ भन्ने उहाँको तर्क छ । उहाँको बढ्ता चिन्ता पार्टीप्रति देखिन्छ । यस सन्दर्भमा उहाँ जोड दिएरै भन्नुहुन्छ पार्टीका नेताको सोच व्यवहार, जीवनशैली, मुलुकको वर्तमान अवस्था र जनताको अपेक्षाभन्दा नितान्त विपरीत भएको र यसप्रति सबैको चिन्ता बढिरहेको बताउँदै मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि ल्याउन पुरानो सोच, व्यवहार, संस्कार, संस्कृति र स्वभावमा परिवर्तन हुनुपर्ने, भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न कठोर नीति ल्याउनुपर्ने, निर्वाचनमा टिकट पाउन र निर्वाचन जित्न जस्तोसुकै हर्कत गर्ने विकृति विसंगति तत्काल रोक्नुपर्ने बताउनुहुन्छ ।
स्वभाव र शैली
अधिकांश समय राजनीतिमा लगाउने नारायणप्रसाद मरासिनी मेहेनती, मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेतामा पर्नुहुन्छ । हरेक काम कुरालाई परिणाममा हर्ने र उत्पादनमा जोडिन चाहने उहाँ सबैलाई सृजनशील र दक्ष बन्न प्रेरित गर्नुहुन्छ । उहाँका आमाबुबा पनि अप्ठ्यारोमा परेका जो कोहीलाई सहयोग गर्ने भएकोले उहाँ पनि आवश्यकता र सामथ्र्यअनुसार सहयोग गर्नुहुन्छ । आफूलाई जनताको सेवक ठान्नुहुन्छ, त्यहीअनुसारको आचरण र व्यवहार गर्नुहुन्छ । यसले उहाँलाई अगाडि बढ्न सहयोग पु¥याएको छ । उहाँलाई खान र लाउनमा कुनै सोख छैन, धन सम्पतिप्रति मोह छैन, समाजलाई केही दिऔं भन्ने सकरात्मक सोच छ । यही सोच, शैली र स्वाभावले उहाँलाई असल नेता र जनप्रिय सांसद बनाएको छ । स्वभाव त्यस्तो भएर नै उहाँले स्तम्भकार र छलफललाई शुभकामनासमेत दिँदै भन्नुभएको छ, छलफल स्थापना कालदेखि नै पार्टीको प्रचारक बन्यो, निरङ्कुशताको तारो बन्यो, आवाज नहुनेहरूको आवाज बन्यो, देश जनताको सेवा गर्दै आयो, परिबर्तनको संवाहक बन्यो, यसको यात्रा यस्तै रहोस्, तपाईंको कलम यस्ता काममा अझ बुलन्द बनोस्, यसले नसक्नेहरूलाई सक्ने बनाओस् शुभकामना !
जीवनलाई फर्केर हेर्दा
नारायणप्रसाद मरासिनी राजनीति गर्दा होस् वा सामूहकि काम गर्दा होस्, निजी जीवनका काम गर्दा होस् वा नीति निर्माणका काम गर्दा होस्, साहित्य सृजनाका काम गर्दा होस् वा विकास निर्माणका काम गर्दा होस् जस्तोसुकै चुनौती छिचोल्ने अनि देश र जनताको पक्षमा काम गर्ने इमान्दार नेतामा पर्नुहुन्छ । यही कर्मले उहाँलाई यो उचाइ दिएको छ, देशले चिन्ने सांसद बनाएको छ । यो उहाँ र उहाँको परिवारका लागि सन्तुष्टिको विषय हो । उहाँका यिनै कर्मले स्याङ्जाली जनतालाई समृद्ध पनि पारिरहेको छ ।
साथीको नजरमा नारायणप्रसाद मरासिनी
उहाँ सबैसँग मिलनसार स्वाभाव भएका, कसैलाई नराम्रो नगर्ने, जनताको हितमा रातदिन खट्ने, अन्ययाका विरुद्ध लड्ने, परिर्वतनकारी र विकासमा बढी चाख दिने सांसदको छवि बनाएका सिद्धान्तनिष्ठ र अविचलित नेता भएको कुरा उहाँका मिलनसार साथी निर्मलकुमार शेरचन बताउनुहुन्छ ।
जीवन चक्रको ६ प्वाइन्ट
- मेरा यो यात्रा आमाबुबाको देन ।
- पाँचमा पढ्दा नै राजनीतिमा लागेँ ।
- स्याङ्जाली जनताको सुख, मेरो भोक ।
- अनेरास्ववियुको झण्डा देखाउँदा लाठी ।
- नेताको जीवनशैली र आचरण चिन्ताको विषय ।
- आचरण र व्यवहारमा शुद्धता समृद्धिको गन्तव्य ।