अब पार्टी र सरकार एक ढिक्का


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित नेसनल युनिभर्सिटीमा उपचार गराई शुक्रबार स्वदेश फर्किएका छन् । १५ महिनादेखि अल्झिएको पार्टी एकीकरणसँग जोडिएका काम फटाफट सम्पन्न गराएर उपचारका लागि सिंगापुर उडेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था काम गर्न सक्ने रहेको उनका निजी चिकित्सक डा.दिव्या सिंह शाहले बताउनुभएको छ । डा.शाहले विज्ञप्तिमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयूएचमा पूरा भएको र अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुने बताइएको छ ।१२ वर्षअघि ट्रान्सप्लान्ट गरिएको मृगौलाले एण्टिबडी बढी उत्पादन गर्दा स्वास्थ्यमा देखिएको उतारचढावबीच प्रधानमन्त्री ओलीले

सिंगापुरमा स्वास्थ्य उपचारमा रहँदासमेत मुलुकप्रति गम्भीर जिम्मेवारीबोध गर्दै सक्रियता देखाएका थिए ।५ भदौमा सिंगापुर गएको भोलिपल्टैबाट उनको स्वास्थ्य उपचार सुरु भएको थियो । तर, स्वास्थ्य अवस्थामा देखिएको सुधारसँगै यसबीचमा उनले सिंगापुरबाटै टेलिप्रिजेन्स प्रविधिमार्फत दुईपटक कार्यवाहक प्रधानमन्त्री र मन्त्रीहरूसँग मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गरेका थिए । उपचारमा रहँदासमेत उच्च मनोबलका साथ मुलुकको दायित्वप्रति गम्भीर देखिएका प्रधानमन्त्री ओलीको सक्रियता हेर्दा अब धेरै काम फटाफट अघि बढ्न सक्ने अनुमान गरिएको छ । नयाँ आर्थिक वर्षसँगै प्रधानमन्त्री ओलीले सरकारको गेयर बदल्ने संकल्प गरेका थिए । विकास निर्माणमा ढिलासुस्ती, भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने कुरामा उनले निरन्तर प्रतिबद्धता जनाउँदै आएका छन् । यसै सन्दर्भमा नयाँ आर्थिक वर्षसँगै मन्त्री र सचिवहरूसँग कार्यसम्पादन करार सम्झौतामार्फत तीव्र गतिमा काम गर्ने संकेत गर्दै परम्परागत शैलीमा ब्रेक गर्न खोजेका छन् । त्यसअनुसार परिणाममुखी काम देखाउन अहिले सबै मन्त्रालयमध्ये विकास र अनुगमनसँग जोडिएका मन्त्रालयहरूले दसैंअघि नै ठेक्का प्रक्रिया सुरु गरेर तिहारलगत्तैबाट काम सुरु गर्ने गरी कार्यतालिका अघि बढाएका छन् । कार्यतालिकाअनुसार अधिकांश मन्त्रालयहरूले अहिले नियमित छलफल पनि गरिरहेका छन् ।

ठेक्का प्रक्रियालाई प्रभावकारी बनाउन सरकारले सार्वजनिक खरिद नियमावली पछिल्लोपटक संशोधन गरेर लागू गरिसकेको छ । यसअघि पुस÷माघबाट मात्र ठेक्का प्रक्रिया सुरु गरिने परम्परामाथि ब्रेक गर्दै चार महिनाअगाडी बाटै देखाइएको यो तदारूकताले चैतको दोस्रो साताभित्र विकास बजेट खर्च गरिसक्ने र सरकारी लक्ष्य पूरा हुने आशा जगाएको छ । तोकिएको अवधिभित्र विकास खर्च नभए सरकारी ढुकुटीमै फिर्ता हुने व्यवस्थासहित सरकारले देशभरि परिपत्र जारी गरिसकेको छ । उपचारबाट स्वदेश फर्किएलगत्तै राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन र विकास निर्माणको तयारीबारे प्रधानमन्त्री ओलीले प्रभावकारी अनुगमन र निर्देशन दिने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कार्य सम्पादनबारे एकपटक शीर्ष नेतृत्वहरूसँग छलफल गरेर केही मन्त्रीहरू परिवर्तन गर्न सक्ने संकेत गरेका छन् । तर, उनी आफैँले भन्दा पनि विशेषतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।
छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम