कम्युनिस्ट आचरणविरुद्ध चल्ने जोसुकै हुन् ती अपराधी हुन्


शान्तिप्रसाद पौडेल, सांसद, प्रदेश नं ३

एकताका सानातिना कामबाहेक नेकपाले हालै एकता प्रक्रियालाई टुंग्याएको छ, जिम्मेवारी पनि तोकेको छ, यसको प्रतिक्रिया कस्तो छ ?
पहिलो कुरा त पार्टीको एकता प्रक्रियाले गति लिन सकिरहेको थिएन, अहिले गति लियो यो राम्रो कुरा हो । दोस्रो कुरा, पार्टीका बाँकी कामहरू पनि टुंग्याएर देशैभर एकताको सन्देश दिने गरी अभियान सञ्चालन गर्ने भनेको छ, त्यसले पार्टी र सरकारका काम कारबाहीहरूमा एकरूपता आई जस्ताको तस्तै तलसम्म जानेछन् । विरोधीले जनतामा फैलाएका भ्रमहरू चिरिनेछन् । तेस्रो कुरा सरकारलाई फिडब्याक आउने भनेको तलबाट हो, पार्टी तल पुगेपछि जनताका कामहरू कसरी गर्नुपर्ने रहेछ, जनताका समस्या के कस्ता रहेछन, अब कसरी अगाडि बढ्नु पर्छ भन्ने कुरा प्रष्ट रूपमा तलबाट आउँछ । साथसाथै पार्टीको अन्तरपार्टी निर्देशनमार्फत माथिका कुराहरू, सूचनाहरू तल पुग्छन र जनताले सरकार र पार्टीले के गर्दैछ भन्ने कुराहरू थाहा पाउँछन् । पार्टी प्रक्रियाको हाम्रो यो बाटो केही समय अगाडिदेखि अवरुद्ध थियो, यो पुन सुचारु भएको छ । यो अर्को खुसीको कुरा हो ।

तपाईंले यसो भनिरहँदा एउटा कोणबाट अन्तरपार्टी निर्देशनलाई पार्टीमा आफ्ना कुरा राख्न नपाइने यो निरंकुशता हो पनि भन्ने गरेको सुन्नमा आएको छ नि के भन्नुहुन्छ ?
यो निरंकुशता भन्ने कुरा ठीक होइन । हो पार्टी सामूहिकतामा चल्नुपर्छ, सामूहिक छलफल र बहस हुनुपर्छ तर यसो भन्दैमा पार्टी हितविपरीतका कुराहरू र आफ्ना असन्तुष्टिहरू जथाभावी राख्दै हिँड्ने कुरा राम्रो होइन । हाम्रो पार्टीमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी छ, पोलिटब्युरो अझ बनिसकेको छैन । यी चारवटा पार्टीका तहलाई अहिलेको हकमा अपानिको रूपमा मान्नुपर्छ । हाम्रा केही असन्तुष्टिहरू छन् भने कमिटीगत जिम्मेवारीअनुसार त्यहीँ राख्नुपर्छ । यही अपानिलाई व्यवस्थित बनाउन यो निर्देशन जारी भएको हो, यसलाई अन्यथा रूपमा लिनु पनि हुँदैन, बुझ्नु पनि हुँदैन । तर यो जसरी जारी गर्नु पर्ने हो, जति ठाउँमा छलफल भएर जारी हुनु पर्ने त्यो अलि भएन कि भन्ने कुराचाहिँ हुन सक्छ किनकी सचिवालयको निर्णय स्थायी कमिटीमा गएर छलफल भएर थपघट गरेर पोलिटब्युरोमा जानुपर्ने र त्यहाँबाट केन्द्रीय कमिटीमा छलफल भएर जारी हुनु पर्ने प्रक्रियामा चाहिँ अलि कमजोरी भयो कि भन्ने देखिन्छ । त्यो चाहिँ गर्नु पर्ने हो तर यो हुँदै भएन निरंकुशता भयो भन्ने कुराचाहिँ होइन भन्ने लाग्छ मलाई ।

यसको मतलब आफ्ना गुनासा, असन्तुुष्टिचाहिँ राख्न पाइयो तर कमिटीगत रूपमा राख्नु प¥यो होइन त ?
हो, हिजो हाम्रो पार्टी पद्धति र प्रक्रिया नै यही हो, यसैगरी राख्नुपर्छ । अहिले पनि त्यसै भन्न खोजेको हो पार्टीले किनकी आफ्ना गुनासाहरू बाहिर भन्दै हिड्ने होइन,पार्टीका बैठकहरूमै राख्ने हो । कहिले आफ्ना कुराहरू बहुमतमा पर्छन पास हुन्छन्, कहिले अल्पमतमा पर्छन्, रिजर्वमा पर्छन् । जुन बेलासम्म ती रिजर्वमा भएका विषयहरू ठीक थिए भन्ने अवस्था आउँछन्, ती छलफलमा आउँछन् । यो हाम्रो कम्युनिस्ट पार्टीको संगठनात्मक ढाँचा हो तर यसमा के समस्या भयो भने जब हाम्रा दुई पार्टी माथि एक भए तर त्यो एकताको काम तलसम्म पु¥याउन समय लाग्यो । यो अवस्थामा पार्टीका भेला बैठकहरू समयमा बस्न सकेनन्, पार्टीको संगठनात्मक विधि,पद्धति मिचियो र पार्टीको सचिवालयले मात्रै निर्णयहरू ग¥यो, त्यो निर्णयले कतिपय नेता कार्यकर्ताको भावना समेट्न सकेन । त्यसले कसैलाई न्याय भयो कसैलाई अन्याय भयो । सचिवालयभन्दा तलका पार्टीका बैठकहरू भएनन् । त्यसो हुँदा आफ्ना गुनासा, असन्तुष्टिहरू राख्ने ठाउँ भएन । हिजो पार्टीको विधि, पद्धति बुझेर आएका नेता कार्यकर्ताले यसमा प्रश्न उठाए,पार्टीका निर्णय प्रक्रिया ठीक ढंगले हुन सकेनन् भनेर बोले । पछि आएका नबुझ्नेहरूले यसलाई बेठीक छ भने । यही दुईबीचको अन्तर भएको हो । यसर्थ हामीले के बुझ्नुपर्छ भने जो हामी कमिटीमा छांै, त्यसले आफ्ना कुराहरू कमिटीमा राख्ने हो, जो कमिटीमा छैनांै, उसले बाहिर राख्ने हो । कम्युनिस्ट पार्टीहरू जनवादी केन्द्रीयतामै चल्ने हो, त्यसैले माथिका कुरा प्रक्रियागत रूपमा कमिटीगत रूपमा तल जाने हो तलका कुराहरू कमिटीगत रूपमा नै माथि आउने हो । यही प्रक्रियाबाट नै हाम्रो पार्टी अगाडि बढ्नु पर्छ । अहिले हाम्रोमा भएको समस्याचाहिँ तलको कुरा माथि नपुग्ने, माथिको कुरा तल नपुग्ने हो । यो अपानिले यसको समाधान गरेको छ । यसलाई यही रूपमा लिनुपर्छ ।

पार्टीको नीति, विचार, सिद्धान्त, कार्यक्रम सबै ठीक छ, जिम्मेवारी बाँडफाँडमा पनि त्यस्तो ठूलो समस्या देखिँदैन,नेताहरू पनि मिलेकै देखिन्छन् तर पनि कार्यकर्ताका मनहरू मिलिरहेको जस्तो देखिन्न, विवादहरू आएको देखिन्छ । रामेछापलगायत तीन नम्बर प्रदेशमा कस्तो छ अवस्था ?
पहिलो कुरा त विचार र सिद्धान्त मिलेपछि पार्टी एक ठाउँमा छ, एकताबद्ध छ भन्ने बुझ्नुपर्छ । अहिले जति विवादका कुरा नमिलेका कुराहरू आउँछन, योचाहिँ आफूले चाहेको ठाउँ पाइनँ,त्यहाँ पुग्न सकिनँ भन्ने कुण्ठाको अभिव्यक्ति मात्र हो । छोटोमा भन्दा यो प्रश्नको उत्तर यतिले नै पुग्छ । यसलाई अलि व्याख्या गर्नु पर्दा मन्त्री भएकाहरूले आफ्नो हित र स्वार्थलाई मात्र हेरर आफ्नो क्षेत्रलाई मात्र हेरेर बजेट बढी हाल्ने, अन्य क्षेत्रलाई वास्तै नगर्ने, आफूले मात्रै कमाउने, आफूले मात्रै ठाउँ पाउनुपर्ने, जे जसो गरेर भएपनि आफैँ मात्र पदमा पुग्ने कुराले यस्तो समस्या ल्याइरहेको छ । अर्को कुरा, हामी चुनावी मोर्चामा छौ, यसमा विचार समूह गुट जे भने पनि यि सबै निर्वाचनले बनाएका विषय हुन । चुनाब चित्नकालागि त एउटा ब्यत्ति सबैठाउँमा त पुग्न सक्दैन त्यसैले चुनाब जित्नकैलागि आफ्नो समूह बनाउँछ चाहे तल होस्, चाहे माथि होस् कुरा उही हो । सबैलाई बहुमत नै चाहिन्छ । यसका लागि त ग्रुप्र चाहिन्छ त्यसैले यो निर्वाचन पद्धति भनेकै गु्रप सिस्टम हो भन्ने कुरा बुझ्नु पर्दछ । हामी कुराचाहिँ हाम्रो घोषणापत्रको गर्छौ,तर कामचाहिँ ग्रुपिज्मको गर्छौ । यही कुरा अहिले नमिलेको वा भनौं बाझेको हो । यो कुरालाई तपाईंहरू पत्रकार अझ स्वतन्त्र पत्रकारहरूले बाहिर ल्याइदिनु भयो भने पार्टी राम्रो बन्न, अगाडि बढ्न सहज हुन्थ्यो, पार्टीले एउटा बाटो पक्डन्थ्यो भन्ने मलाई लाग्छ । हामीले समाजवादउन्मुख अर्थतन्त्र हुन्छ, हाम्रो लक्ष्य समाजवाद हो,समृद्ध नेपाल,सुखी नेपाली हो भनेर अभियान चलाएपछि, लेखेपछि काम पनि हाम्रो त्यस्तै हुनुपर्छ । जनताका आधारभूत आवश्यकताहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थालाई परिपूर्ति गर्ने हाम्रा योजना र कामहरू हुनुपर्छ । त्यसको ग्यारेण्टी राज्यले लिनुपर्छ, त्यो हुन सकिरहेको छैन । अहिले स्वास्थ्य र शिक्षा निजी क्षेत्रको कब्जामा छ, निश्चित वर्गको हातमा छ । अर्थात भन्ने एउटा गर्ने अर्को भइरहेको छ । सरकारमा बस्नेले जनतालाई वाचा गरेअनुसार काम गरेको छैन, जनताले चाहेअनुरूप हुन सकेका छैनन् । अवसरहरू सक्नेले धेरै लिएको छ, एकलौटी लिएको छ, विचार समूहको रूपमा लिएको छ, नसक्नेले लिनै पाएको छैन । यही आधारमा मान्छेका मनहरू मिलेका छैनन्, विचार समूह बनेका छन् । यसैले समस्या भइरहेको छ जस्तो लाग्छ मलाई ।

नमिलेका अन्तर्मनको परिमाण कस्तो छ, त्यसले तपाईंलाई समस्या पारेको छ कि छैन ?
परिमाण यति नै छ त भन्न सकिने अवस्था छैन तर छ न चाहिँ छ । अन्तर्मन नमिल्नुको मुख्य कारणचाहिँ पार्टीका नेता कार्यकर्ताले म पदमा पुगे पनि हुन्छ नपुगे पनि हुन्छ, मैले जिम्मेवारी पाए पनि हुन्छ नपाए पनि हुन्छ, म मन्त्री, सांसद,मेयर भए पनि हुन्छ तर पार्टीलाई बाहिरै बसेर भए पनि योगदान गर्छु, पदमा सबै पुगिने होइन एकजना मात्रै पुगिने हो, जो गए पनि पार्टी पुग्ने हो, पार्टी पुग्नु भनेको सबैको प्रतिनिधित्व हुनु हो, म पुगे जस्तै हो भन्ने भावना भयो भने अन्तर्मनहरू मिल्छन् कुनै समस्या हुँदैन तर पार्टी जतासुकै जाओस् म मन्त्री, सांसद वा अन्य लाभको पदमा जानैपर्छ भन्ने मान्यता अहिले पार्टीभित्र हुर्किएको छ, लोभ, पाप बढेको छ, एकले अर्कालाई पछाडि नपारी म माथि जान सक्दिन भनेर थाक्रो खोज्दै नेताको चाकडीमा लागेको छ । नेताले पनि आफ्नो स्वार्थका लागि टेको दिएको छ, संरक्षण गरिदिएको छ, एकले अर्कालाई पछाडि नपारी म माथि जान सक्दिनँ भनेर थाक्रो खोज्दै नेताको चाकडीमा लागेको छ, नेताले पनि आफ्नो स्वार्थका लागि टेको दिएको छ, संरक्षण गरिदिएको छ । अर्थात स्वार्थका आधारमा विचार समूह बनेका छन्, विचार समूहका आधारमा अवसरको बाँडफाँड भएको छ, जसले गर्दा पार्टीभित्र नेता कार्यकर्ताका मनहरू मिलिरहेका छैनन् । मेरै जिल्लाको कुरा गर्ने हो भने त काम गर्न कुनै समस्या छैन,काम गर्न सहजै छ । आम प्रवृत्तिको कुरा गर्ने हो भनेचाहिँ कस्तो छ भने जिल्ला पार्टीभित्र पनि अल्पमत र बहुमत हुन्छ । काम नगर्नेहरूको बहुमत भएका ठाउँमा काम गर्ने माथि नै उल्टो उल्टो कुरा लगाएर जिल्ला, प्रदेश, विभाग वा कुनै पनि निकायका पार्टी प्रमुखलाई नै अल्पमतमा पार्छन्, यस्तो अवस्था अहिले हाम्रो पार्टीमा छ । यसले समस्या भइरहेको छ ।

यसको अन्त्य कसरी हुन्छ त ?
हिजो काम गरेर नेता हुने पद्धति थियो तर आज त्यसमा कमी आएको छ । आज ठूला नेताको घर धाएर नेता हुने पद्धति बस्न थालेको छ । यसको अन्त्य गरेर ठूला नेताको होइन, जनताको घर धाएर नेता हुने अवस्थाको सिर्जना हुनुपर्छ । खराब काम, खराब आचरण र खराब नैतिकता भएको जो कसैलाई गुटका आधारमा माथिल्लो कमिटीको नेताले टेको दिने, संरक्षण गर्ने होइन कारबाही गर्ने पद्धतिको विकास हुनुपर्छ । राम्रो काम गर्नेलाई पुरस्कार र पार्टी हितविपरीत खराब काम गर्नेलाई दण्डको व्यवस्था कडाईका साथ गर्नुपर्छ । कुनै पनि नेता कार्यकर्ताको मूल्यांकन विचार समूहको आधारमा होइन, योग्यता, क्षमता र क्रियाशीलताका आधारमा हुनुपर्छ, यो तेरो, यो मेरो भन्ने हुनु हुँदैन । कम्युनिस्ट पार्टीका हरेक नेता कार्यकर्ताको आचरण, व्यवहार र जीवनशैली कम्युनिस्ट सिद्धान्तअनुरूपको हुनुपर्छ । पार्टी कार्यालयमा भन्दा नेताका घर घरमा भीडभाड बढी हुने, आफ्ना स्वार्थका काम कुरा बढी हुने अवस्थाको अन्त्य गर्नुपर्छ । नेता कार्यकर्ताले लोभ पाप त्यागेर सामूहिक स्वार्थमा बढ्ता ध्यान दिनुपर्छ । कुनै केही काम गरिदिएवापत केही लिइहाल्न खोज्ने, अर्कालाई अप्ठ्यारामा पारेर आफूले केही प्राप्त गर्ने कुराको अन्त्य गर्नुपर्छ । सामूहिक जिम्मेवारी, सामूहिक उत्तरदायित्व र सामूहिक अवसर लिने पद्धति विकास गर्नुपर्छ र पार्टीले गरेको निर्णयलाई सबैले बोक्नुपर्दछ । माथिका नेताले गुट बनाउनु हुँदैन, काम गर्ने जिम्मेवारीमा पुग्ने, नगर्ने बाहिर जाने पद्धतिको विकास गर्नुपर्छ । यसो भयो भने अहिलेको समस्या हल हुन्छ ।

जिल्लामा पार्टी प्रमुखका रूपमा र प्रदेशमा माननीयका रूपमा के कस्ता काम के कसरी गरिरहनु भएको छ ?
पार्टीको रूपमा जिल्ला पार्टी कमिटी गठन भएको छ, सपथग्रहण पनि भइसकेको छ । अब सचिवालयको टिम, पालिकाको टिम र वडास्तरको टिम हामीले तयार गरिरहेका छौं । त्यो बनाइसकेपछि सपथग्रहणको काम हुनेछ । त्यसपछि हामी त्यसका भेला बैठकहरू गरेर राजनीतिक खुराकसहित जनताका बीचमा जान्छौं, विकास निर्माणमा जान्छौं । त्यसपछि दुवै पार्टीका सदस्यको पहिचान गरी सदस्यतालाई एकरूपतामा ल्याउँछौ, लिगलाइज गर्छौ र अधिवेशनहरू गर्छौं । अब पहिलाको जस्तो नहोला अधिवेशन पनि फरक ढंगले होला, काम पनि फरक ढंगले हुने छ । यसरी पार्टीका काम गरिरहेका छौं भने प्रदेश सांसदको रूपमा मैले हाम्रो प्रदेश सरकारलाई कसरी बलियो बनाउने, त्यसका लागि ऐन कानुनहरूको कार्यान्वयन कसरी छिटो चाँडो गर्ने, बन्न बाँकी भएका ऐन कानुनहरू कसरी चाँडो बनाउने भनेर लागिरहेको छु र काम पनि भइरहेको छ । जनताका काम र विकास निर्माणका कामलाई पनि सँगसँगै लगिरहेको छु । त्यसैले पार्टी प्रमुखको रूपमा फरक ढंगले र प्रदेश सांसदको रूपमा फरक ढंगले समय संयोजन गरेर काम गरिरहेको छु । यद्यपि, कहिलेकाहीँ पार्टीको कामले प्रदेशको काममा बाधा पुग्ने, कहिले प्रदेशको कामले पार्टीको कामलाई बाधा पुग्ने र दुवै कामको समय एकै पटक पर्ने हुँदा यस्तोमा चाहिँ समस्या हुन्छ तर पनि लामो समय पार्टी प्रमुख भएर काम गरिसकेको हुनाले संयोजन गरिरहेको छु । फेरि म प्रदेशमा कार्यकारी नभएकोले खासै समस्या हुँदैन, भएको छैन ।

प्रदेश नम्बर तीनमा तपाईंंहरू लामो राजनीतिक अनुभव भएका जनताका दुःखसुख देखेका काबिल थुप्रै नेता हुनुहुन्छ तर प्रदेशको नामाकरण गर्न सक्नुभएको छैन, सदरमुकाम कहाँ राख्ने भन्ने कुरा निक्र्यौल गर्न सक्नुभएको छैन, कामको परिणाम देखिएन, घोषणापत्रअनुसार काम भएन भन्ने गुनासो छ के हो ?

हाम्रो देश लामो समय राजनीतिक अस्थिरतामा गुज्रियो, कुनै पार्टीले बहुमत ल्याउँन नसक्दा पहिले ९।९ महिनामै सरकार फेरिने अवस्था पनि भयो । जसले गर्दा दीर्घकालीन योजना बनाउनै सकेन । अहिले त्यो अवस्थाको अन्त्य भएको छ, प्रदेशको राजधानी र नाम तोक्दा सबैको सहमतिमा छलफल गरेर विना विरोध अवरोध सबैले अपनत्व लिने गरी सर्वस्वीकार्य बनाउने गरी गरौंन त भनेर लागेको हुनाले यो काममा पनि समय लाग्यो । अहिले प्रदेशको राजधानी तोक्न र नाम राख्न भनेर संसद्ले एउटा कार्यदल बनाएर कार्यविधि पास गरिसकेको छ । हामीले सभामुखलाई तपाईंहरूले मूल ढोकाबाट अर्थात सहमतिबाट ल्याउन सक्नुहुन्न भने भोलि तपाईंहरूलाई आघात नपरोस्, हामी विधि प्रक्रियाअनुसार सहमतिबाहिर गएर दुई तिहाईबाट ल्याउँछौ र तपाईंहरूले पारित गर्नुपर्ने अवस्था आउँछ भनेका छौं । त्यसो गर्छौ पनि तर त्यो तहसम्म पुग्नु नपरोस् भन्ने हाम्रो अभिप्राय हो । आफ्नो घरको नजिक प¥यो भनेर धेरै मान्छेलाई अपायक परेका ठाउँमा सदरमुकाम रहन सक्दैन । सबैलाई पायक पर्ने ठाउँमा रहनुपर्छ । यो कुरा हाम्रा प्रदेश र केन्द्रका सरकारहरूले बुझ्नुपर्छ । विकास निर्माणलगायत यो विषयमा पनि हामी होमवर्क गर्दैछौं । नामको बारेमा पनि घान हालेपछि टुंगिन्छ । प्रदेश सरकारले दीर्घकालीन योजना बनाउँदैछ । दीर्घकालीन योजनाको परिणाम तत्काल देखिँदैन पछि नै देखिन्छ, यो कुरा हामीले बुझ्नु पर्छ । यो प्रदेशले अन्य ६ वटा प्रदेशको भन्दा बढी राजस्व संकलन गर्छ । प्रदेश लोकसेवाको कानुन बनिनलागिसक्यो, स्रोत साधनको हिसाबले पनि हामी सबैभन्दा राम्रो प्रदेशको रूपमा कहलिन्छौं । सरकारले काम राम्रै गरिरहेको छ तर प्रचार प्रसार हुन सकिरहेको छैन । हाम्रा विरोधी शक्तिको योजनाअनुसार काम गर्ने केही ठूला मिडिया सरकारका राम्रा कामहरूको प्रचार नगर्ने, सकेसम्म त्यसलाई ढाकछोप गरेर नराम्रोे प्रचार गरिदिने काम भइरहेको छ । अर्को हामीले माथि दुईवटा पार्टी त मिलायौँ तर त्यसको व्यवस्थापन तत्काल गर्न नसक्दा र तल्ला पार्टी कमिटीहरू समयमा बनाउन नसक्दा हामीलाई ठूलो क्षति भयो । हामीले गरेका राम्रा काम जनतामा लाने पार्टीको संरचना निर्माणमा ढिलाई हुँदा समस्या भयो । अर्को, हामीले राजनीति व्यवस्था नयाँ ल्यायौं, सरकार बनायौं, समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्नु पर्छ भनेर समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडि सा¥यौं । तर हामीसँग त्यो खालको संरचना निर्माण नभएकोले केही समस्या भयो, कर्मचारी नहुँदा समस्या भयो पुरातन सोच शैली र आचरणले पनि हामीलाई समस्यामा पा¥यो, सिस्टम नहुँदा पनि काम गर्न र परिणाम निकाल्न असहज भयो । अर्थात सबै कुरा पुरानो हाम्रो आवश्यकता नयाँ हुँदा संयोजनमा तालमेल मिलेन त्यसले पनि समस्या भएको छ । अर्को, हाम्रो देशमा अहिले दलाल पूँजी छ, त्यसले नयाँ परिणाम दिन र रोजगारी सिर्जना गर्न सक्दैन । यसैगरी सुशासन पनि हामीले चाहेजस्तो रूपमा अगाडि बढ्न सकेका छैन । यी तमाम समस्याका बीचमा संविधानमा टेकेर जनताको मतबाट संघ, प्रदेश र स्थानीय सबै तहमा हाम्रा सरकार दुई तिहाईको हाराहारीमा बनेका छन्, यो अनौठो सफलता हाम्रो कम्युनिस्ट पार्टीले प्राप्त गरेको छ । त्यसलाई पचाउन नसक्ने देशी विदेशी शक्तिले पनि हामीलाई असफल पार्न खोजिरहेका छन् । यद्यपि यी सबै समस्यालाई चिरेर हामी अगाडि बढ्न खोजिरहेका छौं । जनताले पनि हामीबाट राम्रो र छिटो परिणाम चाहेका छन्, हामीले यो वाचा पनि गरेका छा.ै । यसमा हामी योजनाबद्ध रूपले छिटो परिणाम दिने गरी लागि पनि रहेका छौं, बिग्रिहालेको केही र्छैन ।

संविधानले व्यवस्था गरेअनुसारको संघीयताको अर्थ छैन, प्रदेशको त कामै रहेनछ, यसले त खर्च बढाउने मात्र रहेछ, केन्द्र र स्थानीय सरकारलाई समस्यामा पार्ने रहेछ भन्न थालेका छन् नि मान्छेले, हो ?
केन्द्र सरकार एकात्मक राज्य प्रणालीको सोचमा छ, उ संघात्मकतामा झरेकै छैन, केन्द्र सरकारले संघीयतालाई आत्मसात् गरेको छैन । उसको सोच पहिलेको जस्तै केन्द्रीकृत सोच छ, उच्च प्रशासकको त्यस्तै सोच छ, अनि व्यवहार कहाँ फरक हुन्छ ? त्यसबेला हामीले सावैभौम जनतासँग छलफल गरेर नै ल्याएको पद्धति हो यो । राज्य र सरकार सबै जनताको लागि हो, विकास र समृद्धि पनि जनताकै लागि हो भन्ने मान्यता हामीले स्थापित गरेका छौं । त्यही भएर सिंहदरबार गाउँ गाउँ पु¥याउने योजना भएको हो संघीय प्रणाली बनेको हो । तर त्यसअनुसार कामै भएका छैनन् । यदि भएको भए केन्द्रमा ६ वटा मन्त्रालय भए पुग्छ । प्रधानमन्त्री,गृह, रक्षा, परराष्ट्र, अर्थ, संघीय मामिला र प्रदेशका काम गर्न र राष्ट्रिय गौरवका आयोजना हेर्ने गरी दुईवटा मन्त्रालय भए पुग्छ । यतिका मन्त्रालय किन चाहियो ? अरू सबै तल प्रदेशमा पठाइदिए भइहाल्छ नि तर त्यसो गरिरहेको छैन यो सरकारले । उसलाई संघीयताप्रति कुनै चासो छैन । आफूलाई शक्तिशाली बनाउन पाए भइहाल्यो । जनताले सिंहदरबार धाउनु नपर्ने अवधारणाको विकास गरेर यी सबै काम भएका हुन् तर जनताले सोचेअनुसारको उपलब्धि पाउन सकेका छैनन् । जनताकै प्रतिनिधिले शासन प्रशासन सञ्चालन गरिरहेका छन् । यी सबै ठाउँमा केन्द्रीय सरकार पुग्न पनि सक्दैनथ्यो यस्तो अवस्थामा केन्द्र सरकारमा नपुगी तल्लै सरकारबाट काम हुने हुनाले संघीयता ठीक छैन, प्रदेश सरकार चाहिँदैन भन्ने कुराको कुनै अर्थ छैन । जनताले यसो भनेका पनि छैनन । यो हाम्रो राम्रो भएको देख्न नचाहने, कम्युनिस्ट सरकारलाई असफल पार्न खोज्ने केही तत्वले चलाएको हल्ला हो । यो हल्ला हिजोदेखि थियो तर यसलाई जनताले विश्वास गरेनन्, जनताले संघीयताका पक्षधरलाई नै विश्वास गरेर संविधानसभामा पठाए जसअनुसार संविधान बन्यो । त्यो अहिले कार्यान्वयनमा आइसकेको छ । लोकसेवा ऐन बनिसकेको छ, संरचना बनिसकेको छ । यस्तो अवस्थामा जनतालाई भड्काउने अपमान गर्ने गरी कुरा गर्नु लोकतन्त्रिक चरित्र होइन । यसका विषयमा टिप्पणी गर्नु पर्छ जस्तो मलाई लाग्दैन ।

राजनीतिले मान्छेलाई निराशातर्फ धेकेलिरहेको छ, आशा जगाउन सकेको छैन भन्छन् त्यस्तै हो ?
नेपालको राजनीति र भारतको राजनीतिलाई जोडेर हेर्दा कतिपय देशी विदेशीहरूले जनतालाई दिग्भ्रमित बनाएका छन् । त्यस्ताले हिजो पनि हाम्रा अग्रज नेताहरूलाई खेदो गरिरहन्थे, तिनीहरूले आज पनि अर्काथरि नेतालाई खेदो गरिरहेका छन् । अर्को कुरा, हामीले सबै कुरा राजनीतिले दिन्छ भनेर सिकायौं तर त्यो पूरा गर्न सकेनौं त्यसले केही निराशा ल्याएको छ । अर्को, अहिले हाम्रो वामपन्थीको सरकार बन्यो त्यो पनि झण्डै दुई तिहाईनजिकको । यसलाई देख्न नसक्ने र पचाउन नसक्ने हिजो राईंदार्इं गरेर आएका र खाएर आएकालाई त झन् असह्य नै भएको छ । त्यस्ताले के निहुँ पाऊँ भनेर गौंडा कुरेर बसेको अवस्था छ । चितवनको सडकमा देखिएको भीड यसैको उदाहरण हो । पछिल्लो समय पार्टीले आफ्नो योजनाअनुसार काम गरिरहेको छ, पार्टीका सबै संरचना बनिरहेका छन्, जनतामा पुगिरहेको छ । सरकारले पनि योजनाअनुसार काम गरिरहेको छ । ठूलाठूला काम गरिरहेको छ, जनताको चाहनाअनुसार नै काम गरिरहेको छ तर पञ्चे र कांग्रेसले लामो समयदेखि बिगारेको मुलुकलाई ठीक ठाउँमा ल्याउन समय लाग्छ । तर, ठाउँमा अवश्य ल्याउँछ, जनताको चाहनाअनुसार नै काम हुन्छ । यसर्थ सरकार र पार्टीका काम ठीक छन्, राजनीति सही दिशामै छ भन्ने लाग्छ बरू सुधार्नु पर्ने चाहिँ छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम