अध्यागमन विभागलाई उत्कृष्ट सेवा दिने कार्यालय बनाउने छु


मुलुकको पर्यटन विकास र सुरक्षा सतर्कताका लागि महत्वपूर्ण कार्यालयको रूपमा रहेको अध्यागमन विभागमा हिजोभन्दा आज निकै सुधार भएको छ । चुनौतीभन्दा अवसर बढी हुन थालेका छन् । यसै विषयमा केन्द्रित रहेर अध्यागमन विभागका प्रबन्ध निर्देशक ईश्वरराज पौडेलसँग गरिएको कुराकानीको सारसंक्षेप

ईश्वरराज पौडेल, प्रबन्ध निर्देशक

अध्यागमन कार्यालयका बारेका जानकारी गराइदिनुस् न ?

नेपाल सरकारको अध्यागमनसम्बन्धी नीति एवम् कानुनको कार्यान्वयन गरी अध्यागमन व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी पाएको निकाय अध्यागमन विभाग हो । अध्यागमन ऐन, २०४९ अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि २०६५ बमोजिम यो निकायले देश भित्रिने र बाहिरिने प्रत्येक स्वदेशी तथा विदेशी नागरिकको तथ्यांक लिने, चेकजाँच गर्ने र त्यसको वैधानिकता वा अवैधानिकता हेरी कारबाही गर्नेसम्मको अधिकार राख्छ । यही कार्यालयको काम र सक्रियताले देशमा अनाधिकृत कोही व्यक्ति प्रवेश गर्न पाउँदैनन् र बाहिरिन पनि पाउँदैनन् । समाजमा त्यस्तो कुनै पनि आपराधिक घटना घट्न पाउँदैन । देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको अवस्थाका बारेमा पहिले पहिले प्रश्न उठ्ने गरेका थिए तर अहिले प्रश्न नउठ्ने गरी यसलाई सुधार गरिएको छ । पहिले कति विदेशी नागरिक नेपाल प्रवेश गरे र कति बाहिरिए भन्ने सामान्य तथ्यांकसमेत विभागसँग हुँदैन्थ्योे । तर अहिले अद्यावधिक गर्न थालिएको छ, आधुनिक प्रविधिसँग कार्यालयलाई जोडिएको छ, प्रविधिको विकास भएको छ तथापि, चुनौती पनि छन् । तर चुनौतीभन्दा अवसर बढी छन् ।

पछिल्लो समयमा कसरी काम गरिरहनुभएको छ त ?

अहिले अध्यागमन सुधारको अवस्थामा छ । म यही सुधारको कार्यमा व्यस्त छु । आजको दिनसम्म अध्यागमन विभाग जसरी चल्दै थियो, त्यो व्यवस्थित र मर्यादित बन्न सकेको थिएन । स्रोत, साधनको कमी र अव्यवस्थित सिस्टमका कारण विभागको कार्यप्रणाली प्रभावकारी हुन सकिरहेको थिएन । जसले गर्दा विभागको कार्यप्रति सेवाग्राहीको गुनासो र प्रश्नहरू थुप्रै थिए तर अहिले यसमा सुधार गरिएको छ, अब त्यसो हुँदैन । किनकी अब अध्यागमन विभागको पूरै सिस्टम नै परिवर्तन गर्ने गरी काम हुँदैछ । मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागकोे कार्य प्रणाली र व्यवस्थापनको सुधारका लागि हामी लागिरहेका छौं । काम तीव्र रूपमा अघि बढिरहेको छ । अबको केही समयमा परिणाम देखिने छ । काम सकिएपछि विभागको कार्य प्रणालीमा सुधार आउनेछ, जनगुनासा हट्नेछन् र विभागप्रति सेवाग्राहीको विश्वास बढ्नेछ ।

सिस्टममै परिवर्तन गर्नु हुनेरहेछ कस्तो सुधार ल्याउँदै हुनुुहुन्छ त ?

अहिले जुन रूपमा विभागको सिस्टममै समस्या देखिएको छ, त्यो हट्ने छ । पहिलो कुरा त अमर्यादित र अव्यवस्थित रहेको अध्यागमन विभागको पोर्टललाई व्यवस्थित गरिने छ । त्यसपछि हामीसँग भएका स्रोत साधनको अभावलाई पूर्ति गरिने छ । विभागलाई प्रभावकारी र सुरक्षित बनाउन अत्याधुनिक र सुविधासम्पन्न उच्चस्तरीय प्रविधिको प्रयोग गरिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई व्यवस्थित गर्दै थप कडाइ गर्न देश भित्रिने र बाहिने व्यक्तिहरूको सम्पूर्ण जानकारी राख्ने अत्याधुनिक रिडएबल मेसिन राखिने छ । व्यक्तिको आँखाको नानीदेखि मुहारको हुलियासम्म मेसिनले रिड गर्ने छ । व्यक्तिको डकुमेन्टसमेत विभागमा सूक्ष्म तरिकाले अध्ययन गरिने र सम्बन्धित निकायहरूमा पठाइने छ । यो कामको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

काठमाडौं महानगरपालिकामा हुँदा त तपाईंले निकै राम्रो काम गर्नुभएको थियो नि ?

हो गरेको थिएँ, जसरी महानगरपालिकामा हुँदा मैले नो हर्न, मापसेलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको थिएँ, त्यसैगरी यो अध्यागमन विभागको अस्त व्यवस्ततालाई पनि सुधार गरिछाड्छु, त्यो अठोटका साथ काम गरिरहेको छु । यसमा म सफल भएरै छाड्छु ।

सफल हुने आधार के छन् त ?

मैले एक वर्ष लगाएर सरकारको नीतिभित्र रहेर अध्यागमन विभागको सुधारको योजना बनाएको छु । त्यही योजनाबमोजिम नै काम पनि अघि बढाइरहेको छु । सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना, विकास निर्माणको कामको तीव्रता र प्राथमिकता दिने रणनीतिमुताबिक नै अध्यागमन विभागको सुधार एवम् वृद्धि विकासमा म लागिरहेको छु । विशेषगरी अध्यागमन विभागलाई माथि उठाउन अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को निर्णयहरूले साथ दिएका छन् । देशको सुरक्षा विषयसँग प्रत्यक्ष सरोकार राख्ने अध्यागमन विभागलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु आवश्यक छ । त्यसका लागि अर्थ मन्त्रालयबाट बजेट मिलेको छ । मैले ७ प्याकेजमा अध्यागमनको सुधार योजना तयार गरेको छु । त्यहीअनुरूप काम अघि बढिरहेको छ ।

पहिलो, प्याकेजमा अध्यागमनको प्रविधिसम्बन्धी काम छ । जहाँ डाटा कलेक्सनसम्बन्धी सफ्टवेर बनाइने छ । जुन सफ्टवेर विभागकै कर्मचारी र केही बाहिरका इञ्जिनियरहरूको सहकार्यमा बनाइँदैछ । सफ्टवेरका लागि मात्र विभागले करिब ५० लाख खर्च गर्दैछ ।
दोस्रो अन्तर्राष्ट्रिय स्तरका उच्चतम टेक्नोलोजीयुक्त उपकरणको खरिद, बायोमेट्रिक डाटा कलेक्सन, उच्च स्तरीय क्यामेरा, कम्प्युटरलगायतका प्राविधिक टुल्सहरू उपयोगमा आउने छन् । तेस्रो, प्रविधिको भरपूर उपयोग गरिने छ । चौथो, भौतिक पूर्वाधार विकास विस्तार एवम् सुधारका काम हुनेछन् । पाँचौमा अत्याधुनिक नेटवर्ककिङ सुविधा रहनेछ । छौटौ, कागजपत्र चेकजाँचसम्बन्धी उच्चतम प्रविधिको विकास हुनेछ भने सातौ कर्मचारीहरूको वृत्ति, विकास एवम् क्षमता अभिवृद्धिका लागि तालिम, प्रशिक्षण तथा अभिमुखीकरणको व्यवस्था गर्ने गरी कार्य योजना बनाइएको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा पर्यटन वर्ष २०२० अगावै अध्यागमनको सुधारका काम पूरा गर्ने हाम्रो लक्ष्य छ ।
अध्यागमन विभागमा गैरकानूनी काम हुने गर्छ भन्ने आरोप लाग्ने गर्छ नि तपाईंहरूलाई हो ?
पहिले के के हुन्थ्यो मलाई थाहा भएन तर अहिले त्यस्तो केही हुँदैन । विदेश जाने र नेपाल प्रवेश गर्ने मुख्य नाकामा अध्यागमन विभाग हुने र चेकजाँच गर्ने हुँदा त्यसको जिम्मेवारी विभागकै हुन्छ । मैले अघि पनि भनिसकँे हामीसँग सीमित स्रोत साधन र लिगेसी कार्य प्रणाली छ । जसले विभागको प्रभावकारितामा बाधा दिइरहेको पक्कै हो, अब त्यसो हुन नदिन विभागले कदमहरू चलिसकेको छ ।

जहाँ सम्म विभागमा गैरकानुनी काम हुन्छन् नि भन्ने प्रश्न छ त्यो हाम्रा केही कर्मचारीहरूको बदमासीले भएका हुन् । अहिले यही मुद्दामा विभागकै कर्मचारी कारबाहीमा परेका छन् । विभागभित्रकै अध्यागमन अधिकृत यही मुद्दामा प्रमाणसहित जेल चलान भएका छन् । त्यसैले अहिलेको मेरो लक्ष्य भनेकै विभागको काम कर्तव्य र जिम्मेवारीप्रति इमान्दार बन्दै कामको प्रभावकारिता देखाउने हो । सम्माननीय प्रधानमन्त्रीको अभियान ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ लाई शिरोधार्य गर्दै मैले पनि अध्यागम विभागलाई यस्तो बेथितिबाट टाढै राख्ने प्रयत्न गरेको छु । अहिले विभागसँग त्यस्ता तत्वहरूसँगको कुनै उठबस छैन । हामीले सूचना नै जारी गरेर कुनै पनि मेनपावर कम्पनी, ट्राभल्स एजेन्सी, एयरलाइन्स, टुर अपरेटरलगायतका एजेन्सी, होटल व्यवसायी वा ती निकायहरूका प्रतिनिधिहरूसँग कुनै खालको भेटघाट तथा सम्बन्ध नहुने जानकारी गराएका छौं । त्यो हाम्रो वेभसाइट सूचना विभागमा टाँस गरिदिएका छौं ।

अनाधिकृत रूपमा देश प्रवेश गर्ने वा बाहिरिनेहरूको तथ्यांक कस्तो छ ? विभागले कारबाही कत्तिको गरेको छ ?

विभागबाट थाहा पाएका र प्रमाणित भएका त्यस्ता अनाधिकृत व्यक्ति वा समूहलाई कारबाहीको दायरामा ल्याएका छौं, ल्याउँदै छौं । गत आर्थिक वर्ष २०७५÷७६ मा मात्र यस्ता केसमा ११९ विदेशी नागरिकलाई देश निकाला गरिएको छ । यसै आर्थिक वर्षमा पनि १९ जना विभागको कारबाहीमा परिसकेका छन् । अवैधानिक रूपमा नेपाल प्रवेश गर्ने, भिसाको मिति सकिइसक्दा पनि नेपाल नछाड्ने र लुकिछिपी बस्नेहरूप्रति विभागले कारबाही चलाइरहेको छ । यसै विषयमा अध्ययन गर्न अहिले हामीले प्रहरी, प्रहरीको अपराध अनुसन्धान ब्युरो, टुरिज्म बोर्ड, अन्तर्राष्ट्रिय सुरक्षा संयत्र इन्टरपोललगायतको सहकार्यमा सूक्ष्म अनुसन्धानसहित कारबाही अघि बढाइरहेका छौं ।

काममा चुनौती कत्तिको छ ?

दछिणतिरको खुला सीमाना विभागको ठूलो चुनौतीको विषय हो । यसले विभागलाई समस्या पारिरहेको छ किनकी नेपालमा आपराधिक घटना घटनाउने, भारततर्फ भाग्ने र भारतमा आपराधिक कार्य गर्ने, नेपालतर्फ आएर लुक्ने चलन छ । यसलाई दुवै देशको अध्यागमनले रोक्न सकेको छैन, रोक्न पनि सकिँदैन किनभने खुल्ला, खुल्ला प्रवेश र पहिलेदेखिकै सीमावारि पारि रोजीरोटीको सम्बन्ध भएकोले यसमा कडाइ गर्न सकिने ठाउँ नै छैन । तेस्रो मुलुकका नागरिकसमेत खुल्ला सीमानाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्छन्, त्यसमा विभागले कारबाही गरेको छ । त्यस्ता विदेशीहरूलाई विभागले जरिवाना गर्ने र नेपाली भिसा बनाएर फर्काउने गरेको छ । यो हिसाबले विभागले आफ्नो कार्यलाई व्यवस्थित गर्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन पोर्टमा मात्र नभएर विभागले विभागअन्तर्गत प्रवेश तथा प्रस्थान बिन्दुमा स्थापित देशका अन्य १० स्थानबाट अध्यागमनसम्बन्धी काम कारबाही अघि बढाइरहेको छ । साथै यससम्बन्धी केही कार्यहरू परराष्ट्र मन्त्रालय, विदेशस्थित दूतावासहरू तथा महावाणिज्य दूतावासहरूबाट समेत हुने गर्छन् । त्यसैले चुनौती छन्, अवसर पनि छन्, चुनौतीको सामना गर्दे अवसरको खोजी गर्नुपर्छ यसमा म र मेरो कार्यालयका साथीहरूको सिंगो टिम लागिरहेका छौं ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम