सरकारको काम देखिने र लेखिने


काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार इतिहासकै असक्षम भनिरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको छोटै समयमा मुलुकको आर्थिक क्षेत्रमा निकै प्रगति भएको देखिएको छ । सरकारले यो आर्थिक वर्षमा ७.१ प्रतिशतको आर्थिक वृद्धि र २२.६ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ । यो दशककै उच्च आर्थिक वृद्धि भएको बताइएको छ । त्यसैगरी निर्यात वृद्धि १९.४ प्रतिशतले भएको छ भने आयात वृद्धि १३.९ प्रतिशतले घटेको छ ।

निर्यातमा भएको यो वृद्धि पनि दशकै पहिलोपटकको हो । सरकारले विभिन्न ७ प्रकारका कर्जाहरूलाई सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान उपलब्ध गराएर यस कार्यक्रमबाट हालसम्म १८ हजार २९५ जनालाई रु.३२ अर्ब ८२ करोड ऋण उपलब्ध गराई रु. १ अर्ब ५६ करोड ब्याज अनुदानसमेत वितरण भएको छ । त्यसैगरी समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ नाराअन्तर्गत हालसम्म १ लाख ६५ हजार ६ सय २२ जनाको बैंक खाता खोलिएको छ । संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कामको बाँडफाँड, राजस्व बाँडफाँड तथा अनुदान वितरणसम्बन्धी सूत्र ६ सय ३५ वटा स्थानीय तहमा कार्यान्वयनमा आएको छ भने डेढ वर्षको अवधिमै संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो वित्तीय संघीयताको व्यवस्थापन सहज रूपमा भएको छ । त्यसैगरी राजस्व छली रोक्न यसै आर्थिक वर्षदेखि सुरु गरिएको भेहिकल कन्साइनमेण्ट ट्रयाकिङ् प्रणालीमा ३० हजारभन्दा बढी फर्महरू जोडिसकेका छन् भने पछिल्लोसमय स्वास्थ्य बीमा गराउने नागरिकको संख्या पहिलेको भन्दा तीन गुणाले वृद्धि भएर करिब २२ लाख पुग्न लागेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत २ लाखभन्दा बढी युवाहरूले आंशिक रोजगार पाइसकेका छन् । अरू थप गर्न सकिने कार्यक्रमहरू आइरहेका छन् । कर्मचारीको व्यवस्थापन भइसकेको छ । राजनीतिले दिशा समातेको छ, सिस्टमहरू बन्दैछन्, भ्रष्टाचार पनि कम हुँदै जाने दिशामा छ, जनताको अपेक्षा पूरा नभए पनि थोर बहुत काम हुँैदैछन् । राजस्व चुहावट र विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा ५ सय ६८ जना उपर रु.१४ अर्ब ६९ करोड ३८ लाख माग दाबीसहित मुद्दा दायर गरिएको छ भने अर्थतन्त्रको आकार १५ खर्बले बढाउने योजनाका साथ काम भइरहेको प्रधानमन्त्री कार्यालयकै एक नेताले बताएका छन् । सबैभन्दा महत्वाकांक्षी योजना पेट्रोलियम पाइपलाइन सम्पन्न भइसकेको छ भने बाँकी राष्ट्रिय गौरवका योजनाहरू, सडकहरू र पूर्वाधार निर्माणका काम सम्पन्न हुने चरणमा छन् । यी सबै कुरालाई हेर्दा कांग्रेसको भनाइ पूर्वाग्राही र आग्रहपूर्ण छ । ओली सरकारले देश र जनताका लागि केही गर्दैछ भन्ने कुरा तथ्यले पुष्टि गरेको छ ।

अब नेकपाले गर्नु पर्ने काम
सबै काम नेकपाले ठीकै गरेको छ तर पार्टी एकताका बाँकी काम चाँडो सम्पन्न गर्ने, पार्टीलाई एकताबद्ध बनाउने, गुट ध्वस्त पार्ने र योगदानका आधारमा अवसरको न्यायोचित वितरण गर्न सक्यो, पार्टीप्रतिको निष्ठा, त्याग र क्षमताका आधारमा जिम्मेवारीको बाँडफाँड ग¥यो, समान सहभागिता, समान मूल्यांकन गर्न सक्यो भने पार्टी पनि बन्छ, कार्यकर्ता पनि बन्छन् । यसो भयो भने राजनीतिमा स्थायित्व हुन्छ । राजनीतिक स्थायित्व भयो भने जनता पनि बन्छन्, देश पनि बन्छ । तर यो गर्न संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि गर्ने झण्डै ७० करोड खर्चलाई आधा घटाउन सक्नुपर्छ । अहिले संसद्ले राज्यकोषबाट तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च गरिरहेको तथ्यांक आएको छ यसमा परिवर्तन गर्नु जरुरी छ । यसअनुसार औसतमा एकजना सांसदले एक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैयाँ भत्ता बुझ्छन् । अर्थात एक सांसदले एक महिनामा ९६ हजार ५७३ रुपैयाँ भत्ता बुझ्छन् । यो गरिब जनताका धनी नेता भन्ने खालको आँकडा हो ।

अपनाउनु पर्ने सतर्कता
ओली सरकारलाई असफल पार्न देशी विदेशी षड्यन्त्रकारीहरू लागिरहेको विशेषगरी मधेसी दल राजपा त्यसका पनि अध्यक्ष महन्थ ठाकुरले आफ्ना कुरा नमाने मधेस टुक्र्याउने अभिव्यक्ति दिएका छन्, यो गम्भीर कुरा हो । यो दुर्घटनाबाट बच्ने एकमात्र बाटो संघीयताको कार्यान्वयन हो । संघीयता स्थानीय स्वशासन मात्र होइन, त्यो स्वयं सत्ता हो । त्यसले राजनीति मात्र होइन, सामाजिक व्यवस्था र आर्थिक परिचालनमा पनि विकास ल्याउने काम गर्छ जुन कुराको जनतासामु आइरहेका पनि छन् । गाउँका खसी बाख्रा यातायातको सुविधाले सीधै काठमाडौं आउन थालेका छन्, हुम्ला र जुम्लामा उत्पादित स्याउ सीधै काठमाडौं आएको छ । यसले विदेशी स्याउको आयातलाई घटाएको छ । कृषिमा आत्मनिर्भरतर्फ मुलुक उन्मुख छ । त्यसैले सबै गाउँ, प्रदेशहरू आत्मनिर्भर भए भने राज्य त्यसै आत्मनिर्भर हुन्छ, यसलाई सबैले बुझ्नुपर्छ ।

धुनीबेंसी नगरपालिकाको गतिशील काम
धुनीबेंसी नगरपालिका नेपालको ३ नं.प्रदेशअन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित छ । उत्तरमा नुवाकोट जिल्ला (बेलकोटगढ़ी नगरपालिका, ककनी गाउँपालिका), पूर्वमा काठमाडौं जिल्ला (नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका), दक्षिणमा मकवानपुर जिल्ला (थाहा नगरपालिका) र पश्चिममा धादिङ जिल्ला (थाक्रे गाउँपालिका ) सम्म सीमाना फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल ९६.३० वर्ग कि.मि. रहेको छ । साविकको छत्रेदेउराली, जीवनपुर र नौबीसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिका मा नौ(९) वटा वडाहरू रहेका छन् । यस नगरपालिकाको कुल जनसंख्या ३१,०२९ रहेको छ । धुनीबेंसी नगरपालिका नेपाल सरकारको मिति २०७३ । ११ । २७ को निर्णयअनुसार स्थापना भएको धादिङ जिल्लाको दोस्रो नगरपालिका हो । यो नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य हुनुहुन्छ । उहाँले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै नगरको दिगो विकासका लागि अघि बढ्ने योजना बनाइरहनु भएको छ । जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि दुई वर्ष काम गरिसक्नु भएका आचार्यले नगरको विकासमा धेरै व्यवधानहरू आएको भए पनि निरन्तर लागिरहेको जानकारी दिनुभएको छ । नयाँ नगरपालिका भएकाले कतिपय संरचनाहरू बनाउन समय लाग्ने भएकाले अपेक्षाअनुसार काम हुन नसकेको उहाँको भनाइ छ । खानेपानी तथा सडक निर्माणमा भने आफूहरूले सोचेअनुरूप काम भइरहेको बताउनुभयो । उहाँका अनुसार विकासका कार्यक्रमहरू अघि बढेका छन् । अहिले नगरपालिकाले आफ्नै बजेटबाट व्यवस्था गरेर स्थानीय परियोजनाहरूको कामहरूलाई तीव्रता दिएको छ । सडक, खानेपानी तथा अन्य भौतिक संरचनाहरूलाई योजनाबद्ध रूपमा कामलाई अगाडि बढाएको छ । खानेपानी, सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ ।

सडक निर्माण र स्तरोन्नतिको अवस्था
अहिले धुनीबेंसी नगरपालिकामा २ सय ४ वटा सडकहरू रहेका छन् । सडकको स्तरोन्नति गर्ने काम र नगर बस सञ्चालन गरी नगरभित्र यातायातलाई सहज बनाउने काम नगरपालिकाले गरिरहेको छ । सडकको कालोपत्रे गर्ने कामलाई पनि सँगै अगाडि बढाएको छ । संघीय सरकारबाट पनि योजना पाएको छ । त्यसले अबको केही वर्षभित्रमा नपाले नगरभित्रका अधिकांश सडक कालोपत्र गरिसक्ने योजना बनाएको छ भने शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि नगरपालिकाले देखिने गरी काम गरिरहेको नगरप्रमुख आचार्य बताउँछन् । उनका अनुसार नगरभित्र रहेका स्कुल, कलेज र स्वास्थ्य केन्द्रको विकास गर्ने र गुणस्तरीय स्वास्थ्य शिक्षासेवा उपलब्ध गराउने योजनामा नगरपालिका रहेको छ । यो हिमाल पहाड र तराई सबै खालको वातावरण झल्काउने भूभाग भएको नगरपालिका भएकोले यहाँ सबै हावापानीमा हुने फलफूल उत्पादन, बिक्री वितरण भइरहेको एवं जनताको आय आर्जन बढिरहेको नगरप्रमुख आचार्य बताउँछन् ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम