कम्युनिस्ट पार्टीको संयुक्त प्रशिक्षणले उब्जाएका सवाल


पुण्यप्रसाद ढकाल

नेपाली राजनीतिक वृतमा पछिल्लो समय फेरि एउटा नयाँ घटनाले ठूलो तरंग सिर्जना गरेको अवस्था छ । २०७६ असोज ६ देखि ७ गतेसम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आयोजनामा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँँ कम्युनिस्ट पार्टीबीच संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएपश्चात दुई फरक दृष्टिकोणबाट विचार मन्थन, आरोप, प्रत्यारोप र शंका उपशंका सिर्जना भइरहेको अवस्था छ । एकथरी विचार राख्नेको लागि यो प्रशिक्षण सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ भने अर्काथरीको लागि इतिहासकै ठूलो उपलब्धि ।

गैरकम्युनिस्टलाई छट्पटी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्कुल विभाग प्रमुख उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्गसहित नेकपाका अध्यक्षद्वयको उपस्थितिमा सम्पन्न प्रशिक्षण कार्यक्रमपश्चात गैरकम्युनिस्ट एंव अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो छट्पटी भएको अवस्था देखिएको छ । घरेलु राजनीतिमा नेपाली कांग्रेसमा बढी प्रभावित भएको अवस्था छ । कम्युनिस्ट पार्टीको सरकार आएपछि रून पनि पाइँदैन भनी फिजाइएका अतिरंजित हल्लाहरूलाई नेपाली जनताले केटाकेटीको रूवाईको जतिपनि मान्यता नदिएपछि भाउन्निएको घरेलु पार्टी कांग्रेस यतिबेला इतिहासकै सबैभन्दा निरीह प्रतिपक्षी बन्न पुगेको छ । प्रजातन्त्रमा प्रतिपक्षी भावी सरकार ( Waiting government ) हो, उसले सरकारका असल कामलाई समर्थन र गलत कामको सिर्जनात्मक विरोध गर्दछ । सरकारले गरेको कामप्रति जति सरकार जिम्मेवार हुन्छ त्यति नभए पनि केही हदसम्म प्रतिपक्षी पनि जिम्मेवार हुन्छ । विचरा भन्ने शब्द पनि विचरा हुन्छ, कांग्रेसका लागि यतिखेर उसले सरकारका असल कर्मको समर्थन गर्न त सकेन्, सकेन्, घटनाको त्यान्द्रो समातेर विरोध पनि कताबाट कसरी गर्ने भन्नेसमेत ढंग नपुगेको जस्तो देखिएको सार्वजनिक भएको छ ।

कुनै पनि देश कुन विचारबाट निर्देशित छ ? सरकार नेतृत्व गर्ने राजनीतिक दलको सिद्धान्तले सम्बन्धित मुलुकमा कस्तो प्रभाव पारेको छ ? असल र खराब पक्षहरू के के छन् भनेर जान्न खोज्नु विरोध गर्नु पर्ने विषय होइन । कुनै पनि राजनीतिक सिद्धान्त र वादले मात्र विकासमा धेरै प्रभाव पार्दैन । विकास र समृद्धि सरकारको प्रतिबद्धतामा भर पर्दछ । चीनलाई विश्वका प्रख्यात प्रजातन्त्रवादी हुँ भन्नेहरूले तिरस्कार गर्ने गरेको एउटै मात्र विषय कम्युनिस्ट सिद्धान्तको शासन व्यवस्थाप्रति छ । एकातिर चीनले आज आंफूलाई विश्वको महाशक्ति राष्ट्रको रूपमा परिभाषित गर्दै लगेको छ भने अर्काेतिर विश्व मानचित्रमा आफूलाई प्रजातन्त्रको हिमायती हुँ ठान्ने कैयौं देशहरू आज पनि विकास र समृद्धिको हिसाबले भर्खर बामे सर्दै गरेको अवस्था छ ।
नेपालमा अहिले कम्युनिस्ट पार्टीको सरकार छ । राजनीतिक सिद्धान्तले मात्र नभई राज्य सञ्चालनको सिद्धान्त, घरेलु राजनीति र उसको परराष्ट्रनीतिले कूटनीतिक सम्बन्धमा प्रभाव परिरहेको हुन्छ । कम्युनिस्ट पार्टीको लगभग दुई तिहाईको सरकार भएको अवस्था र सरकार प्रमुखको समृद्ध नेपाल, सुखी नेपालीको मार्गचित्र पूरा गर्ने बारम्बारको प्रतिबद्धतालाई हेर्दा यो प्रशिक्षणलाई नितान्त कम्युनिस्ट सिद्धान्त लाद्न नभई विकासको शिक्षा, अनुभव र कूटनीतिक सम्बन्ध सुमधुर बनाउनको लागि गरिएको प्रयास र भूराजनीतिक सन्तुलनको लागि भएको प्रयासका रूपमा लिनु उपयुक्त देखिन्छ । तत्कालीन राजा महेन्द्रले अरनिको राजमार्ग सिलन्यास गर्दै गर्दा साम्यवाद मोटर चढेर आउँदैन र जननेता मदनकुमार भण्डारीले राजनीतिक सिद्धान्त आयात र निर्यात हुने विषय होइन भन्ने भनाइलाई यतिखेर यहाँ जोड्नु सान्दर्भिक हुन्छ ।
निश्चय पनि आफ्नो सिद्धान्तसँग नजिक रहनसँग थोरै सहानुभूति हुनसक्छ तर यो प्रशिक्षणपश्चात नेकपालाई चिनियाँँ कम्युनिस्ट पार्टीको भातृ संगठनको रूपमा परिभाषित गर्नुको सट्टा नेकपाले चीनसँगको कूटनीतिक सम्बन्धलाई मजबुत पार्न र आफ्नोपनको आभाष दिलाएर विश्वको महाशक्ति राष्ट्रको ध्यान आफूतर्फ तानी नेपाली जनताको समृद्धिको सपना साकार पार्न विकासका लागि लगानी र सहायता भित्र्याउन गरिएको पहलका रूपमा हेर्नु बढी सान्दर्भिक देखिन्छ । यही महिनाभित्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुदैछ । हामी एकातिर के भन्छौं भने यो सरकारले चीनको राष्ट्रपतिलाई नेपालको भ्रमण गराउन सकेन, उसलाई चीनले पत्याएन आदि नानाथरीका कुराको फतुरो लगाउछौं भने अर्काेतिर अब भ्रमणको सुनिश्चितता भएपछि आत्तिएर आफ्नो जहाजै डुब्ने भयो भन्ने जसरी जनतामा भ्रम छर्नु इतिहास र जनताप्रति आशा गर्ने पार्टीका लागि सुहाउने विषय होइन । कुनै समय आफू र आफ्नो पार्टी सरकारमा पुग्ने लक्ष्य लिएका पार्टीहरूले सन्तुलित अवधारणा प्रस्तुत गर्नु आजको दिनमा सही हुन सक्छ ।

भूराजनीतिक अवस्था
नेपाल भौगोलिक हिसाबले चीन र भारतबीच दुई ढुंगाको तरुलको रूपमा रहेको छ । पृथ्वीनारायण शाहको यो भनाइलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सेतुको रूपमा नेपाललाई परिभाषित गर्न दुवै शक्तिराष्ट्रसँग बराबरको सम्बन्धको आवश्यकता पर्दछ । लिच्छवीकालमा अंशुवर्माले छोरी भृकुटीको विवाह तिब्बत र बहिनी भोगदेवीको विवाह भारतमा गराई कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन गरेको प्रयासलाई हेर्दा नेपालको वर्तमान सरकार प्रमुख नेकपाको अध्यक्षको हैसियतले दुई देशबीचको सम्बन्धलाई बराबर दूरीमा ल्याई समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नेपालको विकासमा दुवै देशको समान चासो निर्माण गर्न भएको एउटा प्रयासको रूपमा यो प्रशिक्षणलाई लिन सक्नुपर्दछ । नेपालका लागि भारतसँगको सम्बन्ध तुलनात्मक रूपमा चीनभन्दा प्रगाढ रहेको र नेपालको असंलग्न परराष्ट्रनीतिलाई समेत मध्यनजर गर्दा छिमेकी मुलुकबीचको सम्बन्धमा सन्तुलन कायम गर्न पनि चीनसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता रहेको सन्दर्भमा नेकपासहितले गरेको प्रशिक्षण कार्यक्रम एक प्रयासको रूपमा लिन सक्नुपर्दछ ।

आकाशै खसाले जस्तो गर्न आवश्यक छैन
हरेक कुराका सबल र दुर्बल पक्ष हुन्छन्, यस प्रशिक्षणलाई सम्बन्धमा मिठास ल्याउन नेकपाले गरेको एक प्रयासका रूपमा लिन सकिन्छ र यो इतिहासकै ठूलो उपलब्धि हो भन्ने बुझ्न पनि जरुरी छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँँ कम्युनिस्ट पर्टीको काठमाडौंमा सम्पन्न प्रशिक्षणले ल्याएको तरंगप्रति नेपालका राजनीतिक पार्टीमा छट्पटाहट सुरु भई सामाजिक सञ्जाल भरिएका छन् । नेकपा पार्टी स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रम उद्घाटन, ५ बुँदे सहमति र निष्कर्षसहित समापन भएको छ । यस कार्यक्रमले नेपाली कांग्रेस जस्तो पुरानो पार्टीका केही नेताको छटपटी, राजनीतिक प्रभाव र असरको अभिव्यक्ति हो कि पार्टीले थप उचाई लिने भयो भन्ने हो जनताले बुझ्न सकेका छैनन् ।

नेपाल र चीनबीचको सम्बन्ध सदियांै पुरानो र असल छिमेकीको रूपमा रही आएको बिर्सनु र भुल्नु हुदैन । कांग्रेसको हेराइ र बुझाइमा के देखिन्छ भने यो आगामी निर्वाचनको मसला बनाउने रणनीति हुन सक्ने आंकलन गर्न सकिन्छ । विगतदेखि सत्तामा रमाएको पार्टी पाँच वर्षका लागि प्रमुख प्रतिपक्षको जिम्मेवारीमा जनताले थन्क्याएका छन् । राजनीतिमा धैर्यता गर्न सक्नुले विजयको शिखर चुम्न सकिन्छ । जनताको मन कँुडिदा र भाँचिदा यो समय लम्बिन सक्छ तर जनताले विश्वास र सही ठान्दा समय छोट्टिदै जान्छ । नेपाली कांग्रेसका नेताले संविधानलाई जोडेर यो घटनालाई हेर्ने कुरा राजनीतिक बुझेका राजनीतिकहरूले समेत जायज ठह¥याएका छैनन् । नेपालको संविधानको प्रस्तावनमा सबै राजनीतिक दलहरूले समाजवादप्रति प्रतिबद्ध रहँदै नेपाल अगाडि बढ्ने कुरामा विश्वास जनाइसकेको अवस्था छ । नेताहरूले के बुझ्न सक्नु पर्दछ भने नेपाल कम्युनिस्ट पार्टी एकदलीयतामा कि बहुदलीय प्रतिस्पर्धामा विश्वास राख्छ भन्ने कुरामा द्विमत र अलमल छ भन्ने विषय पुरानो रटाइ र बौद्धिक दिवालियापन बाहेक केही होइन । दुई पार्टीको यस कार्यक्रमको उद्घाटन प्रधानमन्त्रीबाट भएकोमा समेत असन्तुष्ट रहनु, विरोध गरिनु, भोलि आफू सत्तामा रहेका बखत के गरिन्छ भन्ने दीर्घकालीन सोच नभएकोतर्फ सम्बन्धितहरूले विचार गर्न सक्नुपर्दछ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष हुन् र पार्टीसँग सम्बन्धित विषयमा उनको चासो रहनु अनुपयुक्त होइन । असन्तुष्टहरू यसमा सशंकित हुनुमा एकातिर कि त उनमा शक्ति थपिएर गइरहेको छ भन्ने बुझाइ र अर्कातिर कि त यही घटनाबाट पार्टीलाई निस्तेज पार्न सकिन्छ भन्ने हुनसक्छ । नेकपाले यो कार्यक्रम गरिरहदा भारतीय चासो हुनु कुनै नौलो कुरा होइन, किनकि चीनले Belt and Road Initiative मार्फत विश्व सञ्जाल फैलाइरहेको छ । भारत त्यस योजनामा सहभागी छैन र त्यसको विपरीत Indo Pacific strategy मा आफूलाई सहभागिता जनाएर चीनजत्तिकै अगाडि छु भन्ने सन्देश दिन खोजिरहेको छ । यस प्रशिक्षणले आन्तरिक गम्भीरता भारतमा भएको हुनसक्छ तर नेपालका लागि चिनियाँँ महामहिम राजदूतले चीनले विचारको व्यापार नगर्ने भनाइ र सात समुन्द्रपारिको देश अमेरिकाका महामहिम राजदूतले सांकेतिक रूपमा संसारको कुनै पनि सार्वभौम मुलुक पूर्व पश्चिम, उत्तर दक्षिण कतै पनि झुकाव नराख्दा राम्रो हुने अभिव्यक्ति सार्वजनिक हुनु नेपालको राजनीतिकमा अन्तर्राष्ट्रिय चासो रहेको छ भन्ने महसुस गर्न सकिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी र बहुदलीय प्रतिस्पर्धा
स्थापनाकालदेखि नै प्रतिस्पर्धामा विश्वास राखी २०१५, देखि २०७४ सम्मका निर्वाचन, २०४६÷४७, देखि २०६२÷६३ का प्रजातान्त्रिक आन्दोलन एवं संविधानसभा निर्वाचन र २०७४ मंसिरको आमनिर्वाचन इतिहासमा जनताले मत प्रदान गरी सरकारमा पुगेको नेकपाप्रति कांग्रेसजस्तो इतिहास बोकेको पार्टीको आशंका र आरोप उसको देखिने र जनतामा भ्रम पार्ने अभियानजस्तो मात्र देखिन्छ । कम्युनिस्ट सरकार आए या मत दिए नेपालीले रून र हाँस्न पनि नपाउने कांग्रेस सभापतिको बारम्बारको भनाइप्रति जनताले विश्वास गरेनन् । यी सबै प्रमाणहरू बहुदलीय प्रतिस्पर्धामा जनताको विश्वास हुँदा सरकारमा, जनताको विश्वास कम हुँदा प्रतिपक्षमा र जनताको विश्वास हाराहारीमा हुँदा संयुक्त सरकारमा देशको जिम्मेवारी सम्हालेको पार्टी नेकपाप्रति एकदलीयता कि बहुदलीयता ? भन्ने नेपाली जनतामा भ्रम छर्ने र राजनीतिको सफलता त्यही हो भनी रमाउने सोच क्षणिक हुन सक्ने तर्फ ध्यान दिनु पर्दछ । नेपालको संविधान, २०७२ लाई स्वीकार गरी जनताको अभूतपूर्व मत प्राप्त गरी सरकार सञ्चालनको जिम्मेवारी लिएको पार्टीप्रति अन्योलता रहनु आवश्यक र उपयुक्त हुँदैन ।

सरकार जनपक्षीय काममा प्रतिबद्ध
कुनै पनि सरकार जादुको छडी होइन भन्ने बुझाइमा कमी, सपना एउटा विपना अर्काे पारियो भन्ने भ्रम, स्वीजरल्याण्ड र सिंगापुर रातारात भएका होइनन् भन्ने बुझाइको कमी, नेपालका कम्युनिस्टहरू (विचार) एकदलीयतामा विश्वास गर्छन् भन्ने दिग्भ्रम र जनताद्वारा नभई Ballet द्वारा शासन गर्ने धङधङीको कुनै अर्थ छैन । संघीयताअनुरूपका कानुन निर्माण, अन्तर्राष्ट्रिय सम्बन्धमा बढोत्तरी र नेपालको संविधान, २०७२ सम्म आइपुग्दा बहुदलीय व्यवस्थामा गरिएका प्रयास र परिश्रमजस्ता कार्यले प्रमाणित गरेको हुनु पर्दछ । नेकपा बहुदलीय प्रजातन्त्र र प्रतिस्पर्धाप्रति प्रतिबद्ध र उन्मुख छ । नेकपा र उसको सरकारको अझ बढी ध्यान परम्परागत कम्युनिस्ट शासनलाई आधुनिकतामा अझ रूपान्तरण गरी जनताको मत ल्याई जनताप्रति जिम्मेवार र दायित्वमा बढोत्तरी गर्ने, भ्रष्टप्रति निर्मम प्रहार गरिनुपर्ने, राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने अभियानमा जोड दिई नेपाली जनताको मत जित्नु आवश्यक छ । साथै नेपालको संविधान, २०७२ को प्रस्तावनामा उल्लेखित समाजवादप्रति प्रतिबद्ध भन्ने भनाइलाई ध्यान दिई पार्टी आन्तरिक व्यवस्थापन, असन्तुष्टि र एकीकरण प्रक्रियालाई व्यवस्थापन समयमै सम्पन गर्नेतर्फ यस पार्टीले ध्यान दिनु पर्दछ ।

मानिसहरू आंशका गर्छन्, बाह्य छट्पटाहटका कारणले हाम्रो देशका नेताहरूमा प्रभाव परेको पनि हुनसक्छ । राजनीति संभावनाको खेल भएकाले हरेक घटनाका पछाडि कुनै न कुनै कारण र त्यसबाट भविष्यमा असर र प्रभाव परेको पाइन्छ । सम्बन्धित पार्टीका सदस्यहरू यो प्रशिक्षण कार्यक्रम, कुनै नौलो र उदेकलाग्दो नै होइन भनी अन्य पार्टीका अभिव्यक्तिलाई निस्तेज र प्रभावहीन पार्न खोज्दछन, त्यसको ठीकविपरीत प्रतिपक्षमा रहेका पार्टीका सदस्यहरू भने यसलाई सामान्य र महत्व नै नभएको भने होइन भनी जनतामा भ्रम, अन्योलता र उत्तेजित बनाउने प्रयासमा रहेको अनुभूत गरिरहेका छन् ।

आज उत्तरको महाशक्ति समुन्द्रझैँ सलल बगेको छ र विश्व हाँक्ने लक्ष्य प्राप्तिको दौडमा अन्धाधुन्ध भएर दौडिरहेको छ । दक्षिणको महाशक्ति उत्तरलाई पछ्याउन सकिन्छ कि भन्ने आँप र झाँप गर्दै सहयोगी हात फैलाउँदै हिडेको छ । दुई महाशक्ति जो विश्व हाक्ने दौडमा रहेका राष्ट्रहरूप्रति नेपालको कुनै वैरभाव, गुनासो, ईष्र्या र डाहा छैन । प्राग ऐतिहासिक कालदेखिका यी दुवै राष्ट्र नेपालका दौतरी र छिमेकी हुन । दौतरी विकास क्रममा फरक हुन सक्छन् । कोही सोचाइ, विचार र कार्य जिम्मेवारीमा खरो उत्री सक्षम हुन्छन्, कोही क्षमता प्रर्दशन गर्न नसक्दा पछाडि पर्दछन् । यद्यपि, हाम्रो देश, घरेलु राजनीतिका राजनीतिक पात्रहरूले कसैप्रति बढी झुकाव भई नतमस्तक र कसैप्रति महत्वहीन ठानी वेवास्ता गर्ने अभियानमा भन्दा संसारका सबै राष्ट्रहरूप्रति सद्भाव र सहिष्णुता कायम राख्नु नै उपलब्धि हुने आशा गर्न सकिन्छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम