मनमा शान्ति र अनुहारमा क्रान्ति ल्याउने गरी काम गर्दैछौं :दुर्गा थापा


दुर्गा कुमार थापा, प्रमुख, बेलका नगरपालिका, उदयपुर

बेलका नगरपालिकाको प्रमुख भएको साढे दुई वर्ष बितिसक्यो विकास निर्माणका काम कसरी अगाडि बढाइरहनु भएको छ ?

हामीले निर्वाचन जितिसकेपछि हाम्रो बेलका नगरपालिकाको २०७४ असोज ४ गते पहिलो नगरसभा बस्यो । त्यो नगरसभाले ‘आर्थिक समृद्धि, सामाजिक न्याय र भौतिक पूर्वाधार, सुशासन र सामाजिक परिचालन दिगो विकासको आधार’ भन्ने नारा तय गरेर भिजनसहित काम सुरु गरेको छ । त्यसअन्तर्गत आर्थिक समृद्धिका हाम्रा ५ वटा पिलर कृषि र पशुपन्छीको विकास, पर्यटनको विकास, उद्यमको विकास, सामाजिक विकास र पूर्वाधारको विकास रहेका छन् । अहिले हामीले यो नगरलाई नमुना नगर बनाउने गरी ५ वर्षे योजना बनाएर काम अगाडि बढाइरहेका छौंं ।

जनता के भन्छन्, समस्या कस्ता कस्ता छन् ?

जनताले सडक, बत्ती, बिजुली, पुल, खानेपानी, रोजगारी, छिटो सेवा प्रवाह भन्ने गर्छन् तर ती कार्यमा कतिपय जनताकै अवरोध रहिरहेको हुन्छ । सडक राम्रो चाहियो भन्छन् तर आफ्नै घरअगाडि बाटो खनेर खाल्डो पारिदिन्छन्, घरअगाडि फोहोर फालिदिन्छन्, घरअगाडि चौपाया पशुहरू मरेका हुन्छन् व्यवस्थापन गर्नको सट्टा नगरपालिकालाई पर्खन्छन् ढिलो भएमा गाली गर्छन्, घरभित्र हिंसा भइरहेका हुन्छन्, घरका सदस्य बिरामी भइरहेका हुन्छन् अस्पताल लानुको सट्टा रोग पालेर बस्छन् । समस्या सिर्जना मात्र गर्छन्, समाधान खोज्दैनन् । काम गर्नका लागि योजना दियो काम गर्दैनन् र काम गर्न खोज्नेलाई पनि गर्न समस्या पार्छन् । यस्तो अवस्था धेरैतिर छ । यसको मुख्य कारण जनतामा सामाजिक सचेतना छैन । घरखेत बाँझै राख्छन् र छोराछोरी विदेश पठाउँछन् । यस्तो विकराल अवस्था गाउँमा छ । यसले कुनै न कुनै रूपमा हामीलाई पनि समस्यामा पारेको छ । अहिले हामीले एकीकृत विकासलाई अगाडि बढाएका छौंं अर्थात हामीले गरेको कामले जनतालाई सामाजिक न्याय दिन्छ कि दिँदैन, हामीले बनाएको पूर्वाधार निर्माणले प्रत्यक्ष लाभ पुग्छ कि पुग्दैन भनेर हेर्ने गरेका छौंं । गाउँमा सडक, बिजुली, स्वास्थ्य चौकी, विद्यालय सबै छ तर त्यसको उपयोग गर्नका लागि जनतासँग पैसा छैन, आम्दानी गर्ने स्रोत छैन, खाने अन्न छैन भने त्यसको केही अर्थ हुँदैन । विकासको भारवहन गर्न सक्ने क्षमता जनतामा छैन भने त्यो विकासले जनतालाई छुँदैन । तसर्थ स्कुल छ भने त्यहाँ गएर पढ्न सक्ने, अस्पताल छ भने त्यहाँ गएर औषधोपचार गर्न सक्ने, सडक छ भने त्यहाँ गएर गाडी चढ्न सक्ने समक्षता सिर्जना गरिदिनुपर्छ तब मात्रै त्यो विकासले जनतालाई छुन्छ । यसतर्फ हामीले ध्यान दिएका छौंं । अर्को कुरा, हामीले विकासलाई संरक्षण गर्ने, विकासमा समान सामाजिक सहभागिताको सिर्जना गर्ने जस्ता कुरामा ध्यान दिएका छौंं । यसले मात्र विकास अगाडि बढ्न सक्छ । यो ढंगले हामीले काम गरिरहेका छौंं ।

बढीचाहिँ के कुरामा जोड दिइरहनु भएको छ ??

सबै कुरामा अर्थात सन्तुलित विकासलाई हामीले जोड दिइरहेका छौंं । विकास भनेको सडक मात्रै बनाएर हुँदैन, गाडी मात्रै धेरै कुदाएर हुँदैन, कुला पैनी मात्र बनाएर हुँदैन, अस्पताल र विद्यालय मात्रै बनाएर हुँदैन सबै समान रूपले निर्माण गर्नुपर्छ । यो कुरालाई ध्यानमा राखेर हामीले कृषि र पर्यटन, गुणस्तरीय र भरपर्दो शिक्षा र स्वास्थ्य, भूमिको व्यवस्थापन गरेर सुकुम्वासी समस्याको अन्त्य, भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, समावेशी सहभागिता, उद्यमको विकास, पूर्वाधारको विकास, मानवीय श्रमको विकास जस्ता कुरालाई ध्यान दिएर त्यसका माध्यमबाट नगरको विकासमा अगाडि बढिरहेका छौंं ।

तपाईंले भनेका कुरा पूरा गर्दै नगरको विकास गर्न आय स्रोतहरू के कस्ता छन् त ??

थोर बहुत केन्द्रीय सरकारबाट प्राप्त हुने गरेको छ तर हामीले आफ्नै स्रोत र साधन परिचालन गरेर नगरको विकास गर्ने योजना बनाएका छौं । कसैले दिन्छ र विकास गरौंला, धनी होऔंला भनेर पर्खेर बसेर विकास हुँदैन । यहाँका जनताको समान सहभागितामै यहाँ उपलब्ध स्रोत साधनको उपयोग गरेर नै हामी धनी बन्न सक्छौं, बन्नुपर्छ भन्ने हाम्रो कन्सेप्ट हो । त्यसका लागि हामीसँग प्राकृतिक स्रोत छ, पर्यटकीय स्थलहरू छन्, गिट्टी बालुवा छ, वन जंगल छ, उर्वराशील भूमि छ यसैको उपयोग गरेर जनताबाट उठेको करलाई सदुपयोग गरेर हामी नगरलाई समृद्ध बनाउन सक्छौंं । त्यसका लागि खालि हामीलाई सकरात्मक सोचको खाँचो छ । जनतामा सकरात्मक सोचको विकास गर्ने प्रयत्न हामीले गरिरहेका छौंं । म यहाँ नगरप्रमुख भएर आउँदा यसको आय ३० लाख मात्र थियो । म आएपछि पोहोर साल ३ करोड भयो यो वर्ष १५ देखि २० करोड आम्दानी हुँदैछ भने अर्को साल ३० करोड पु¥याउँछौं । यसर्थ भएकै स्रोत साधनलाई व्यवस्थित ढंगले काम गर्ने हो भने आय बढ्छ, नगर समृद्ध हुनसक्छ भन्नेमा हामी विश्वस्त छौंं । हामीले सुकुम्वासी समस्या समाप्त गर्नका लागि आनौपचारिक भूसम्बन्धलाई खतम गर्न नेपालमै पहिलोपटक बेलकाले नापी सुरु गरेको छ । हामीले नापी गरेर लालपुर्जा दिने बेलामा राजस्व लिन्छौं, जुन २ अर्ब रुपैयाँ आउँछ । त्यसैगरी कृषि र पर्यटनबाट पनि हामी आम्दानी गर्छौंं । अहिले हामीले ६ सय बिगाहा जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छौंं । यो तरकारीलाई देशभित्र र बाहिर बिक्री गरेर यसबाट पनि आम्दानी गर्छौंं । त्यसैगरी हामीले १ सय मेघाबाट बिजुली निकाल्दै छौंं त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोडेर वार्षिक १ करोड आम्दानी लिन्छौंं । त्यसैगरी सेवा प्रवाह गरेवापत करको दायरा बढाएर पनि राजस्व वृद्धि गर्छौंं । त्यसैगरी जनतालाई विकासमा समान सहभागिता गराएर पनि आम्दानी गर्छौंंं । अहिले कतिपय बेलका नगरवासीहरूले विभिन्न प्रयोजनका लागि भनेर निःशुल्क जग्गा दिइरहेका छन्, त्यसबाट पनि हामी आम्दानी गर्छौंं । जनतालाई विकासमा सहभागिता गराउने कुरालाई अभियानको रूपमा हामीले अगाडि बढाइरहेका छौंं । यो पनि हाम्रो विकास र आय आर्जनको अर्को स्रोत हो । हामीले कोसी नदीमा बोटिङ, प्याराग्लाइडिङ र क्यानोनिङ चलाइरहेका छौंं, अहिले हात्ती सफारिङको लागि काम अगाडि बढाइरहेका छौं, सामुहिक खेती प्रणालीलाई अगाडि बढाइरहेका छौं । यसबाहेक हामीले यसपटक ५० करोड ५० लाख २५ हजार रुपैयाँ बैदेशिक अनुदान समेत ल्याउन सफल भएका छौं । हामीले कार्यक्रम सर्पोट युनिट बिएसयु भनेर बनाएका छौं । अहिले हामीसँग ३५ वटा विदेशी साझेदार सहयोगी संस्थाहरू छन् तिनलाई नगरको विकासमा आव्हान गरेर विकासमा सहभागिता गराएर आम्दानी बढाउने योजनामा हामी अगाडि बढिसकेका छौं भने जनतालाई कर बढी लिएर होइन, करको दर बढाएर आम्दानी बढाउने योजनाका साथ काम गरिरहेका छौं ।

जनतालाई कर बढाएको छैनौं भन्नुभयो तर जनताले त स्थानीय सरकारले, कम्युनिस्ट सरकारले कर बढाएर ढाड सेकेको कुरा गरिरहेका छन् नि ?

स्थानीय वा संघीय सरकारले कर बढाएको होइन, विपक्षीहरूले हल्ला बढाएका हुन् । हो, हामीले सामान्य कर लिएको छौं तर त्यो जनताकै हितमा उपयोग गरिरहेका छौं । संसारका कुनै पनि मुलुकले कर नलिई मुलुक चलाउन सक्दैनन्, सबैले कर लिन्छन् नै । हामीले पनि त्यहीअनुसार सामान्य कर लिएका छौं, बढी लिएका छैनौं । फेरि बेलका नगरपालिकाका जनताले कर बढी भयो हामी तिर्दैनौं भनेका छैनन् । हामीले न्यायोचित कर लिएका छौं, जनताले भनेअनुसार नै र आम्दानी गरेअनुसार नै कर लिएका छौं । आम्दानी भएपछि कर स्वभाविक रूपले सबैले तिर्नैपर्छ, लिनैपर्छै, जनताले खुसीले तिरी पनि रहेका छन् । व्यवसाय गर्नेले, आम्दानी गर्नेले कर तिरेका छन् तर घाटा भएकोमा, आम्दानी नभइकन कर तिर्नु पर्दैन । हामीले त्यही गरेका छौं । त्यसैले यहाँ कर बढी लिएको पनि छैन, जनताले गुनासो गर्ने गरी कर पनि लगाइएको छैन । हामीले एकएक पैसाको हिसाब जनतालाई दिएका छौं, जनताले पनि आफूले तिरेको एकएक पैसाको हिसाब खोज्नुपर्छ, माग्नुपर्छ । यसैका लागि हामीले सुशासन र पारदर्शिता भनेका छौं । यो सचेतना प्रत्यक नागरिकमा हुनुपर्छ । जनताकै विश्वासमा हामीले काम गर्नुपर्छ, जनताले आफूले तिरेको करको दुरुपयोग हुँदैन, सदुपयोग हुन्छ भन्ने महसुस गरे भने जनताकै बलले विकास हुन्छ । यो हाम्रो नगरपालिकामा सम्भव भएको छ, हामीले गरेर देखाइरहेका छौं । हामीले सिस्टम नै डेभलप गरेर बालुवा गिट्टीबाट यति आम्दानी भयो, यहाँ यति खर्च भयो, कृषि र पर्यटनबाट यति आम्दानी भयो, यति खर्च भयो अन्यबाट आय भयो, विदेशी सहयोगी संस्थाले यो विकासका लागि यति दिए भन्ने कुरालाई हेर्न सक्ने गरी सिस्टममा हालेका छौं । त्यसैले यो हल्ला यहाँ छैन, कतै कसैलाई यस्तो भ्रम परेको भए भ्रम मुक्त हुन र नगरपालिकामा आएर बुझ्न पनि म यही मिडियामार्फत आग्रह गर्दछु ।

नगरपालिकालाई समृद्ध नगर र सुखी नगरवासी बनाउने तत्कालीन र दीर्घकालीन योजना के छन् त ?

हामीले यसका लागि सन्तुलित विकास, समान जनसहभागितामूलक विकासको अवधारणा ल्याएका छौं । विकासको पहिलो आधार र योजना यही हो । यस सँगसँगै हामीले बेलका नगरभित्र चक्रपथ बनाउने काम सम्पन्नताको अन्तिम चरणमा पुगेको छ, त्यतिमात्र होइन नगरभरि कति र कस्ता कस्ता सडकहरू आवश्यक छन्, ती कहिलेसम्ममा बनाइसक्ने भन्ने गुरुयोजना नै बनाएर काम गरिरहेका छौं । विकासको एकीकृत योजना बनाएर बसपार्क कहाँ राख्ने, कहाँनेर खेल मैदान राख्ने, कहाँनेर हाटबजार राख्ने, कहाँनेर औद्योगिक क्षेत्र राख्ने कहाँनेर अस्पात बनाउने, कहाँनेर पार्क बनाउने, कुन कुन स्थललाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने, सुकुम्वासीलाई कहाँ राख्ने भन्ने कुरालाई ध्यान दिएर काम गरिरहेका छौं । यस्ता कामलाई एकीकृत विकास अवधारणाले सहयोग पु¥याउँछ । सुकुम्वासी समस्याको समाधानका लागि गुरुयोजना बनाएर, सिंगो नगरमा नापी गरेर र लालपुर्जा दिएर त्यसको अन्त्य गर्दैर्छौं । हामीले यहीँ सर्पदंश उपचार केन्द्र खोल्न सर्पले टोकेकालाई निःशुल्क उपचार गरिरहेका छौं । आँखा अस्पताल बनाएर सेवा प्रवाह गरिरहेको छ, अब चाँडै आयुर्वेदिक अस्पताल र कृषि क्याम्पस खोल्ने योजनामा छौं । बूढादेखि सानासाना नानीहरूसम्मलाई बेलका रन गरेर स्वास्थ्य राख्ने कामको सुरुवात गरेका छौं, जिम र योगशालाहरू खोलेर सेवा प्रवाह गरिरहेका छौं । वृद्धआश्रम खोलेर सेवा दिइरहेका छौं । महिलाले बच्चा जन्माउँदा कुनै किसिमको समस्या व्यहोर्नु नपरोस् भनेर विवाह भएकै दिन शुभकामना कार्ड दिएर बच्चा जन्माउँदा अपनाउनु पर्ने होसियारीदेखि जन्मान्तरको विषयमा समेत प्रशिक्षण दिने काम गरेका छौं । हाम्रो नगरपालिकामा अहिले १ हजार ८ जना अपांग छन् तिनीहरू कसरी अपांग भए, अब त्यसो हुन नदिन के गर्ने भन्ने कुराको ज्ञानदेखि अपांग भएकालाई सहजीकरण र प्रोत्साहन गर्नेगरिको योजना बनाएका छौं । त्यसैगरी प्रजनन् स्वास्थ्यदेखि स्वस्थ्य बच्चा जन्माउनेसम्मका ज्ञान दिइरहेका छौं । बच्चा जन्माउन नसकेर महिलाको मृत्युु नहोस् भनेर सुरक्षित सुत्केरी गराउन सहयोग गरिरहेका छौं, बच्चा जन्माउन नसकेका सुत्केरी महिलालाई अस्पताल ल्याउनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं । सुत्केरी हुने अघिल्लो दिन नै अस्पतालमा ल्याएर खाने बस्ने र उपचारको निःशुल्क व्यवस्था गरेका छौं । हिंसामा परेका जो सुकैलाई काउन्सिलिङ गर्ने देखि आबाश्य सबै सहयोग गरेका छौं, त्यसका लागि वडा वडामा काउन्सिलर खटाएका छौं । ९३ जना मानसिक स्वास्थ्यका रोगीलाई निःशुल्क उपचार गरिसकेका छौं, निको भएकालाई गतिशील जीवन अगाडि बढाउने उपायको खोजी गरिदिनेदेखि यस्तो समस्या नपरोस् भनेर उपाय बताइदिने काम समेत गरेका छौं । त्यसका लागि काठमाडौंबाटै डाक्टर लगेर सेवा दिइरहेका छौं । गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि नगरले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गरिरहेका छौं । त्यसैगरी आश्रित र विपन्न परिवारका लागि प्रत्येक महिना रातो कार्ड बनाइदिएर प्रत्येक महिना नै १५ किलो चामल, २ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन घर घरमै उपलब्ध गराइदिएका छौं । हामीले यो दसैँमा सबै गरिबहरूलाई एकसरो नयाँ कपडा दियौं । त्यसैगरी ‘जहाँ अभर त्यहाँ सपोर्ट’ भन्ने कार्र्यक्रम नै बनाएर जसलाई जतिबेला जस्तो आपत विपत आइलाग्छ त्यस्तै सपोर्ट तत्काल गरिदिने व्यवस्था गरेका छौं । मानौं, कसैको घरमा आगो लाग्यो तत्काल नगरको दमकल फोर्स पठाएर नियन्त्रण गर्ने, त्यहीँ राहत दिने, पछि सर्जिमिन मुचुल्का बनाउने, कागजात बनाउने र पेस गर्ने गरीको सेवा प्रवाह गरिरहेका छौं ताकि ती काम गर्दासम्म पीडितले झन् पीडा नपाओस्, तत्काल राहत पाओस् । अहिले हाम्रा ५० जना नगर भोलयन्टियर्सहरू अति विपन्नका घरमा स्थानीय सामाग्री र नगरको सहयोग लिएर घर निर्माण गरिरहनुभएको छ । त भोलयन्टियर्सहरू जुनसुकै आपत विपतदेखि दैवी प्रकोप पीडितको सहयोगमा खटिरहेको हुनुहुन्छ । यस्ता टिम हाम्रा ३ वटा छन् । एउटा वेलफेयर्स सर्भिस, अर्को सहयोगी मनका युवा र अर्को युवा तथा खेलकुद समिति । उहाँहरूको दक्षिण कोरियासँग पनि लिंकेज छ, त्यहाँबाट आएको सहयोगले पनि उहाँहरूले जनताको सेवा गरिरहनु भएको छ । यसले खुट्टा काट्नु पर्ने अवस्था भएका बिरामीलाई समेत नकाटिकन उपचार हुने गरी १६÷१७ लाख लगाएर समेत उपचार गर्नुभएको छ, आन्द्राभुँडी निस्किएकालाई समेत ठूलो सहयोग जुटाएर बचाउने काम गर्नुभएको छ । यसमा हाम्रो पैसासमेत खर्च हुनबाट जोगाउनु भएको छ । त्यस्तै पर्दा हामीले पनि खर्च गर्छौंं बचाउनका लागि । यसैगरी अपांगहरूलाई मात्र हेर्न हामीले ४ जना कर्मचारी राखेका छौं । उहाँहरूमार्फत शिविर सञ्चालन गर्नेदेखि उपचार गर्ने, उनीहरूलाई आवश्यक औजारहरू बाँड्ने, उनीहरूलाई र उनीहरूका परिवारलाई आयआर्जन गर्नका लागि सीप सिकाउने, त्यसका योजना बनाएर काम गराउन लगाउनेदेखि वृद्ध, महिला बालबालिकाका लागि सहयोग गर्ने कार्य गरिरहेका छौं । त्यसैगरी माझी, भुजेल, थामी र थारूको उत्थान र विकासको लागि छुट्टाछुट्टै कोष बनाएर काम गरिरहेका छौं भने अति विपन्न क्षेत्री बाहुनहरूका लागि पनि बजेट छुट्याएर उनीहरूको आय आर्जनको लागि हामीले काम गरिरहेका छौं । हामीले ‘उत्पादनमा हाम्रो साथ, बस्दिन म खालि हात’ भन्ने नाराका साथ सबैलाई उत्पादनमा जोडेर सबैलाई आय आर्जनमा लगाएको छौं, उनीहरूको आय आर्जन वृद्धि गरिरहेका छौं । यसका लागि ३ सय ३२ वटा कृषि सहकारी र २०४ जना एले आर्पिहरू छन्, तिनीहरूले ती सहकारी समूहमार्फत सबैलाई सेवा सहयोग दिन्छन् । उनीहरूलाई हाम्रो नपाले प्रविधि र कृषि औजारहरू सस्तो मूल्यमा दिन्छ, प्रशिक्षणहरू दिन्छ त्यसलाई उनीहरूले ति साझा सहकारी समूहमार्र्फत वितरण गर्छन्, सेवा दिन्छन् र जनतालाई आय आर्जनको काममा लगाउँछन्, उत्पादनमा लगाउँछन् । कृषकले उत्पादन गरेको वस्तु हामीले खरिद गरिदिन्छौं, उत्पादित वस्तुको बिक्री वितरणको ग्यारेण्टी हामी लिइदिन्छौं । जसले गदौ ढुक्कका साथ किसानहरूले वस्तुको उत्पादन गर्छन् । त्यसका साथै विभिन्न सीप विकासका प्रशिक्षणहरू दिन्छौं र लगानी गरेर सानासाना उद्योग गर्न प्रोत्साहित गर्छौंं । हामीले कृषिका पकेट एरिया तोकेर त्यहाँ किसानलाई विभिन्न फसलहरू लगाउने प्रोत्साहित गरिरहेका छौं । जनताले उत्पादन गरेका वस्तुको संकलन केन्द्रहरू बनाएर उनीहरूको उत्पादित वस्तु किनिदिने गरेका छौं, कृषिको बीमा गरिदिने गरेका छौं । कृषकलाई सस्तो ब्याजदरमा पैसा दिनेदेखि अनुदानको व्यवस्थासम्म गरिएको छ । त्यतिमात्र होइन, कृषको जमिनको माटो परीक्षण गरेर कृषि गर्न लगाएका छौं, मल बीउ र बेर्ना दिनेसम्मको काम हामीले गरेका छौं, पैसाको अभाव हुनेलाई पैसा दिएका छौं, जग्गा नहुनेलाई जग्गै उपलब्ध गराइदिएका छौं, चक्लाबन्दी खेतीतर्फ आकर्षित गराएका छौं । सामूहिक खेती गर्नेलाई प्रविधि र अनुदान सहयोगदेखि सबै सहयोग गरेका छौं,कृषकको डाटा राखेका छौं, कसले के उत्पादन ग¥यो, कुन बजारमा लग्यो, अनुदान लगेर काम ग¥यो वा गरेन वा दुरुपयोग ग¥यो त्यसको जानकारी नगरपालिकालाई हुने गरी सफ्टवेयरको विकास गरेका छौं । राम्रो गर्नेलाई पुरस्कृत गरेका छौं त्यसले गर्दा कालोबजारी गर्नेहरूको पनि अन्त्य भएको छ । जसले गर्दा किसानहरू खुसी भएर कृषि उत्पादन र चक्लाबन्दी खेतीमा लागेका छन् । जसले गर्दा हामी खाद्यान्नमा आत्मनिर्भर भएका छौं । अझ अहिलेदेखि त हामीले किसानले उत्पादन गरेका खाद्यवस्तु कतारसम्म पठाएर बेच्न थालेको छौं । पहिले रक्सी खाएर हल्लिँदै हिड्ने र हरिणको चोरी सिकारी गरी दुई नम्बरी गरी ह्डिने युवाहरू अहिले मेहेनती बनेर खेतीपातीमा लागेका छन्, आज आर्जनमा लागेका छन् । यसबाट नगरलाई आम्दानी भएको छ, जनता पनि सुखी भएका छन् । त्यसैगरी यो नगरलाई नेपालकै सबैभन्दा बढी खसी बाख्रापालन र संकलनको स्रोत केन्द्र बनाउने गरी योजना बनाइरहेका छौं । यो प्रस्ताव प्रदेश र केन्द्र सरकारसँग राखेका छौं । त्यसमा दुवै सरकारहरू सकरात्मक देखिएका छन् । यो नगरलाई पर्यटन हब बनाउन २२ वटा पर्यटकीय स्थलको पहिचान गरिएको छ, त्यसमा संसारका पर्यटक भित्र्याउने योजना बनाइरहेका छौं । यसर्थ अहिले कम्युनिस्ट पार्टीको सरकार भएको बेला बेलका नगरपालिकामा कोही पनि जनता भोकै सुत्दैन, लाउन खानले मर्दैन त्यो ग्यारेण्टीका साथ काम गरिरहेका छौं । विकास भनेको मनमा शान्ति र अनुहारमा क्रान्ति देखिनु हो । हामीले त्यही हुने गरी काम गरिरहेका छौं । विकास भनेको पनि यही होे । मनमा शान्ति र अनुहारमा क्रान्ति भएन भने त्यो विकास नाम मात्रको भाषणमा मात्र सीमित भएको विकास हुन्छ, त्यसले जनतालाई खुसी बनाउँन सक्दैन ।

यी सबै काम गर्नका लागि तपाईंलाई समस्या पनि होलान्, माथिल्ला दुई सरकार र कर्मचारीको कत्तिको सहयोग पाउनुभएको छ ?

इच्छा शक्तिका साथ देश र जनताका लागि सोचेर इमान्दारिताका साथ काम गर्दा सबैको सहयोग हुन्छ र भएको पनि छ । पहिलो कुुरा त म जनतालाई बेफाइदा हुने र व्यक्तिलाई मात्र हित हुने काम नै गर्दिनँ । म सामूहिक हितका लागि मात्रै काम गर्छु । यसो भएकाले कसैले भन्ने, असहयोग गर्ने कुरै हुँदैन । अर्को कुरा संघीय सरकारकै योजना ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएकोले हाम्रो काम पनि संघीय सरकारलाई नै सहयोग गर्ने हो । बेलाकावासी जनता सुखी भए, आत्मनिर्भर भए, यो नगर समृद्ध भयो भने देशकै गरिमा बढ्ने हो, राष्ट्रिय आयमै टेवा पुग्ने हो । यो केन्द्रीय सरकारकै एक पिलर भएकाले यसले गर्ने राम्रा कामको असर राष्ट्रिय रूपमै पर्छ । तथापि यसका आफ्नै समस्या छन्, कर्मचारी अभावको समस्या छ, ऐन कानुनका समस्या छन्, कानुन कार्यान्वयनको समस्या छ, सुरक्षा चुनौतीहरू पनि छ, आममान्छेको सोच र शैलीको समस्या छ, आचरण र व्यवहारमा तालमेल नहुने समस्या पनि छ, केन्द्रीय सरकारले र अन्य स्रोतबाट मात्र २३ करोड रकम आउँछ, ताकि हामीले कृषिमा मात्रै अहिले १५ करोड बजेट छुट्याएका छौं । यस्तो अवस्थामा स्रोत र साधनको त समस्या नहुने कुरै भएन, अन्तरनिकाय समन्वयको पनि समस्या छ, जनताका अपेक्षा पूरा गर्न काम तीव्र गतिमा गर्नुपर्ने दायित्वको चाप पनि छ । यी सबै कुरालाई सीमित स्रोत, साधन र कर्मचारीको अभावबीच संयोजन मिलाउने समस्या छ तर समस्या छ भनेर भागेर हुँदैन सामना गरेरै पार लगाउनुपर्छ । सबैको विश्वास जितेर काम परिणाममा देखाएर जानुपर्ने परिस्थिति हामीलाई छ । यसमा तलबितल गर्ने छुट हामीलाई छैन । तसर्थ यो सबै चुनौतीलाई अवसरको रूपमा लिएर काम गरिरहेको छु, सबैलाई विश्वासमा लिएर काम गरिरहेको छु, जनताको पैसाको पूरापूर उपयोग गरेर जनतालाई रिटर्न गरिरहेको छु, जनताको हितमा हुने काममा जोखिम पनि उठाएरै काम गरिरहेको छु । कर्मचारीको अभाव भएकोले र संघीय सरकारले कर्मचारी नपठाएको अवस्थामा नगरको विकासलाई अवरुद्ध हुन नदिने करारमा कर्मचारी लिएको छु । संघीय सरकारले हामीलाई हाम्रो स्वीकृति नलिई कर्मचारी भर्ना गरे ती कर्मचारीको रकम आफँै तिर्नुपर्ने परिपत्र गरेको छ, आफूले कर्मचारी पनि नपठाउने हामीलाई राख्न पनि नदिएर जनताको काममा समस्या उत्पन्न गरिरहेको छ । त्यसलालई चिरेर अति आवश्यक कर्मचारी हामी आफैँले राखेका छौं । जनताको हितका लागि काम गर्दा कर्मचारी भर्ना गर्दा जेल जानुपरे बरू जाने तर काम गरी छाड्ने अडानका साथ काम गरेको छु । विदेशीले दिएको सहयोगको पनि पूरै उपयोग गरिरहेको छु, बेलका नगरपालिकालाई दिएको सहयोगको सही सदुपयोग हुन्छ, दुरुपयोग हुँदैन, विकासमा लाग्छ भन्ने काममार्फत सिद्ध गरेको छु । सुशासनको प्रत्याभूति दिएको छु, विकासका सबै आधारलाई संरक्षण गरेको छु । अब हिजोको ढंगले हिँडेर, गरेर, सोचेर लक्ष्यमा पुग्न सकिँदैन । हिजोको सोच विचार त्यागेर नितान्त फरक ढंगले नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ किनकि अहिलेको समय परिस्थिति सरकारको अवस्था, योजना, कार्यक्रम फरक खालका छन्, ठूला दुई वाम पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको स्थिर सरकार छ । यसैको जगमा टेकेर जनपक्षीय निर्णय गर्दै मुलुकलाई विकासको मूल प्रवाहमा लैजानु पर्ने छ । हिजो जनतासँग गरेका वाचाहरू पूरा गर्नु छ, त्यो पूरा नगरी नहुने विशेष परिस्थितिमा हामी भएकाले जस्तोसुकै चुनौतीको सामना गरेर, व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रिय उद्देश्य पूरा गर्नु पर्ने छ । तसर्थ यो ढंगले काम नगरी सुखै छैन । त्यसै भएर सबैको सहयोग पनि पाइरहेको छु, झन बेलकावासी जनताको त पूरै साथ र सहयोग पाएको छु । जसले गर्दा यी कामहरू गर्न, यी उपलब्धिहरू हासिल गर्न सहज भएको छ ।

तपाईंको नगरमा कम्युनिस्ट सरकारलाई जनताले कसरी लिएका छन नि ?

मेरो नगरका जनताले मात्र होइन, सिंगो मुलुकका जनताले कम्युनिस्ट सरकारलाई स्वीकार गरिसकेका छन्, विकास र समृद्धिका लागि उत्साहाका साथ हेरिरहेका छन्, समृद्धि चाहेका छन्, जन चाहानाअनुसार विकास र समृद्धिको यात्रा अगाडि बढ्दै गएको छ । मनमा शान्ति र अनुहारमा क्रान्ति हुने गरी हामीले काम गरिरहेका छौं । विकास भनेको पनि यही होे । मनमा शान्ति र अनुहारमा क्रान्ति भएन भने त्यो विकास नाम मात्रको हुन्छ, त्यसले जनतालाई खुसी बनाउँन सक्दैन । सरकार पनि यही रूपबाट अगाडि बढिरहेको छ, त्यसमा बेलका नगर पनि लामबद्ध छ । त्यो वातावरण हाम्रो नगरमा तयार भएको छ ।

तर नगरका जनप्रतिनिधिले त आफैँले डोजर ट्याक्टर किनेर आफैँलार्इं योजना पारेर त्यसलाई काममा लगाएर पैसा खाइरहेको कुरा आएको छ नि ?

यास्तो धेरै ठाउँमा भएको सुनिएको छ तर यो नगरपालिकामा यस्तो कहिँ छैन यसको ठीकविपरीत हामीले काम तीव्र गतिमा गरिरहेका छौं । हामी भाषणमा होइन, परिणाममा देखिने गरी गर्छौंं, हामीले गरेका काम स्थलगत रूपमा हेरे हुन्छ । हामीले जे भनेका छौं, गरेका छौं, जे गर्न सक्छौं, त्यो गरेका छौं । यहाँका प्रत्येक जनतालाई सोधेमा प्रस्ट भन्नेछन् । हामीले हाम्रा युवालाई विदेशी श्रममा होइन, स्वदेशी श्रममा लगाउनुपर्छ भन्ने भावनाको विकास गराएका छौं । बेलका नगरपालिकाको बजेट अनावश्यक खर्च गर्ने, बिल मिलाएर कमिसन खाने अवस्था आउन र अनावश्यक बजेट खर्च हुन कदापि दिइने छैन । अनुगमन, नियन्त्रण र कारवाहीलाई कडाइ गरिएको छ । जसले गर्दा यस्तो दुस्साहस हाम्रो नगरपालिकामा गर्ने त कुरै छाडांै कसैले कल्पनासम्म गर्दैन ।

यी काम सम्पन्न गर्न अन्य पार्टीको कत्तिको सहयोग छ त ?

सबैको सहयोग छ, किनकी हाम्रो नगरमा न त पार्टीभित्र गुट छ नत प्रतिपक्षको कुनै समस्या छ । विकासका लागि हामी सबै एक छौं । यहाँका जनताले खालि विकास मात्र चाहेका छन्, खान लगाउन पाऊँ भनेका छन्, त्यसैले यहाँ कुनै समस्या छैन । विकास निर्माणमा हामी अन्य पार्टीलाई पनि सँगै लैजाने गर्छौंं त्यसैले यहाँ विकासविरोधी कोही पनि छैन । हामी सामूहिक सहभागिताका आधारमा यो नगरलाई समृद्ध बनाउँछौं, सबैको मन जित्दै काम गर्छौं ।

काममा सन्तुष्टि असन्तुष्टि के छ ?

सन्तुष्टि नै छ, किनकी मैले जनताले अनुभूत गर्ने गरी नै काम गरेको छु । कृषकमैत्री काम गरेको छु जसका कारण मलाई हालै यूएनडीपी र कृषि मन्त्रालयले सम्मानसमेत गरेको छ । हामीले समानुपातिक र सन्तुलित विकास गरेका छौं । यहाँ महिला, बालबालिका, वृद्ध, अपांग, अनाथ, पिछडिएको सबै वर्गका लागि कार्यक्रमहरू छन् । यहाँसम्म कि खेलकुदमा लागेको बच्चा छ भने उनीहरूलाई बेग्लै ट्युसनको व्यवस्था गरेका छौं । शिक्षामा हामीले प्रत्येक विद्यालयमा ई–हाजिरीको व्यवस्था गरेका छौं, सीसी क्यामेरा राखेका छौं, स्मार्ट टिचिङको व्यवस्था गरेका छौं, प्रत्यक स्कुलमा टकिङ टिचरको व्यवस्था गरिदिएका छौं । जसले गर्दा १ हजारभन्दा बढी विद्यार्थीहरू बोर्डिङ स्कुल छोडेर सरकारी स्कुलमा भर्ना हुन आएका छन् । निजी क्षेत्रमा पढाउने शिक्षकलाई डे«सको व्यवस्था गरिदिएका छौं,महंगी भत्ता थपिदिएका छौं, बाल विकास केन्द्रमा पढाउनेलाई महंगी भत्ता दिएका छौं, पियनहरूलाई ड्रेस दिएका छौं । प्रत्येक स्कुलमा शैक्षिक क्यालेण्डर बनाएर त्यसअनुसार पठनपाठन गर्न परिपत्र गरेका छौं । अति विपन्न परिवारका बच्चालाई स्कुलमा खाजाको व्यवस्था गरिदिएका छौं । बालबच्चालाई स्कुल नपठाउने तल्लो वर्गका जनताका बच्चालाई घरमै गएर होम ट्युसनको व्यवस्था गरेका छौं, खाना खाजाको व्यवस्था गरेका छौं । त्यसवापत उनीहरूलाई नगरपालिकाको जग्गा दिएर खेती गर्न लगाई त्यसबाट उत्पादित अन्न तरकारी बेचेर नगरपालिकाले त्यसबाट रकम कट्टा गरी बाँकी रकम उनीहरूलाई नै दिने गरिएको छ । यसले गर्दा उनीहरू पनि सुखी भएका छन्, नगरपालिकालाई पनि आम्दानी भएको छ । खेलकुदलाई त्यसैगरी प्रमोट गरेका छौं भने नगरमा बोटबिरुवा रोपी हरियाली बनाउने काम गरिरहेका छौं । यो काम सबै वडामा पु¥याएका छौं । ‘आफू भलो त जगतै भलो ’ भन्ने भनाइका साथ काम गरिरहेको छु । यसरी काम गरिरहेकोले म आफ्नो काममा सन्तुष्ट छु ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम