पुरातन सामन्ती सोचले काम गर्न समस्या छ: मेयर राई


चौदण्डीगढी नगरपालिकाको प्रमुख भएपछि नगरमा के कस्ता काम के कसरी अगाडि बढाइरहनु भएको छ ?
हामीले निर्वाचित भएर काम गर्न थालेको साढे दुई वर्ष बित्न लागेको छ । यो अवस्थामा हामीले भिजन र मिसनसहित काम सुरु गरेका छौं । हाम्रो मुलुकमा पूर्वाधार निर्माणलाई मात्रै विकास मान्ने परम्परा छ । त्यसैले हामीले पनि त्यही पूर्वाधार निर्माणलाई बढी फोकस गरेर खोलाका सानातिना तटबन्ध बाँध्नेदेखि ठूलाठूला सडकलाई कालोपत्रे गर्नेसम्मको काम नगरकै आम्दानीबाट सम्पन्न गरेका छौ र कतिपय गर्दैछौं । सडक बनाउने, वडा नछुएका बाटालाई वडा छुवाउने गरी निर्माण गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई सुधार गरेर आधुनिक सुविधासहितको अस्पताल निर्माण गरी २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराएका छन । आर्थिक समृद्धिका हाम्रा आधार कृषि, पर्यटन, यातायात र पूर्वाधारको विकास रहेका छन । हामीले यसैलाई बढी फोकस गरेर काम गरिरहेका छौं । मलाई लाग्छ वर्षातको समयबाहेक अन्य बेलामा यो नगरपालिकाको सबै वडाहरूका सबै बस्तीमा मोटरबाटो, खानेपानी,बिजुली,स्वास्थ्य र शिक्षा पुगेका छन । हामीले यो नगरलाई आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेका छौं ।

जनता के भन्छन, समस्या कस्ता कस्ता छन ?
जनताले सडक, बत्ती, बिजुली, पुल, खानेपानी, रोजगारी, छिटो प्रशासनिक सेवा प्रवाह माग गर्छन्् तर ती कार्यमा कतिपय जनताकै अवरोध रहिरहेको हुन्छ । सडक राम्रो चाहियो भन्छन् तर आफ्नै घरअगाडि बाटो खनेर खाल्डो पारिदिन्छन््, घरअगाडि फोहोर फालिदिन्छन, घरअगाडि चौपाया पशुहरू मरेका हुन्छन््् त्यो व्यवस्थापन गर्नुको सट्टा नगरपालिकालाई पर्खन्छन््, अझ मेयरलाई फोन गरेर यहाँ कुकुर मरिरहेको छ, यहाँ गोरु मरेको छ, यहाँ बिरालो मरेको छ तपाईं के हेरेर बसेको भनेर गाली गर्छन्, त्यसपछि म आँफै गएर त्यो मरेको कुकुर हटाउँछु, घरभित्र हिंसा भइरहेको हुन्छ, घरका सदस्य बिरामी भइरहेका हुन्छन अस्पताल लानुको सट्टा रोग पालेर बस्छन्् । समस्या सिर्जना मात्र गर्छन्, समाधान खोज्दैनन् । काम गर्नका लागि योजना दियो काम गर्दैनन् र काम गर्न खोज्नेलाई पनि यो पार्टी र त्यो पार्टी भनेर काम गर्न समस्या पार्छन् । यस्तो अवस्था धेरैतिर छ । यसको मूल कारण जनतामा सामाजिक सचेतना र सेवाभाव छैन, पुरानो मानसिकता हटेको छैन, सामन्ती सोच हटेको छैन । पहिले विकास केन्द्रिकृत थियो अहिले वडा वडामा आएको छ । पहिले थोरै बजेट त्यो पनि जिल्लाका नेताले आफनो स्वार्थ पूरा गर्न ल्याउँथे तर अहिले स्थानीय तहमै बजेट आएको छ, तर यो पर्याप्त छैन, जनताका अपेक्षाहरू अनगिन्ती छन््, जुन हामीले एकदुई वर्षमै पूरा गर्न सकिने खालका छैनन् यस्तो अवस्थामा प्राथमिकीकरण गरेर विकास निर्माणका काम गर्नुपर्छ । जनताले अपेक्षा गरेका काम र मागहरू पूरा नहुँदा गुनासो बढी हुन्छ । कतिपय जायज गुनासाहरू हुन्छन कतिपय नाजायज गुनासाहरू पनि हुन्छन्् । कतिपयले घरअगाडि खाल्डो परेको, डिल भत्किएको, बाख्रा मरेको, घरमा भल पसेकोदेखि ठूलाठूला पुल निर्माणका, तटबन्ध निर्माणका, अस्पतालका, स्कुल निर्माणका, स्तरोन्नतिका, शैक्षिक गुणस्तर वृद्धिका माग पनि आउने गरेका छन् । यस्ता मागले हामीलाई समस्यामा पनि पारेको छ, सचेत र जागरूक पनि बनाएको छ, यो भन्ने माग्ने जनताको अधिकार पनि हो तर अधिकार माग्दा अर्काको हनन गर्नु भएन भन्न हाम्रो भनाइ हो । यसर्थ हामीले पूर्वाधार निर्माण, गाउँमा सडक, बिजुली, स्वास्थ्य चौकी, बिद्यालयमा बढता ध्यान दिएर काम गरिरहेका छौं । अर्को, हामीले विकासमा समान सहभागिताको सिर्जना गर्ने जस्ता कुरामा पनि ध्यान दिएका छांै, सचेततना फैलाइरहेका छौं ।

बढी के कुरामा जोड दिइरहनुभएको छ ?
सन्तुलित विकासलाई हामीले जोड दिइरहेका छौ । कृषि र पर्यटनमा मेहेनती कृषक र युवाको सहभागिता बढाउन प्रोत्साहित गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा चुस्तता र पारदर्शिता गर्ने अनि जमिनको व्यवस्थापन गरेर सुकुम्वासी समस्याको अन्त्य, उद्यमको विकास गरेर रोजगारी सिर्जना गर्ने कुरालाई ध्यान दिएर त्यसका माध्यमबाट नगरको विकास गर्ने योजनामा अगाडि बढाइरहेका छौं । हामीले अहिले ५ करोड शिक्षामा र अढाई करोड स्वास्थ्यमा बजेट छुट्याएका छौं । त्यसैले अब हामी पूर्वाधार विकासमा मात्र नभई सामाजिक विकास र मानवीय विकासमा पनि बजेट छुट्याएर काम गर्दैछौं ।

यी काम पूरा गर्न चाहिने नगरको आय स्रोत के छ ?
हाम्रो आम्दानी भनेको कर हो तर हाम्रो कर प्रणाली कस्तो बनाउने, कसलाई कति कर लगाउने, कस्तालाई छुट दिने, कुनमा कर लगाउने, कुनमा कर नलगाउने भन्नेमा स्पष्ट नीति संघीय सरकारले नगर्दा र हामीलाई निर्णय गरेर काम गर्न अधिकार पनि नदिएकोले यहाँ समस्या भइरहेको छ । अर्को समस्या भनेको एकीकृत कर प्रणालीका बारेका निर्णय नहुनुले पनि हामीलाई स्रोत जुटाउन समस्या भइरहेको छ । हाम्रो मुख्य आजआर्जन भनेको गिट्टी बालुवा हो । यसमा पनि कहिले वनले, कहिले प्रदेशले यो मलाई नसोधी किन गरेको भनेर समस्या पारिदिइरहने गरेको छ । अर्को, हाम्रो मात्र नभएर देशकै समस्याको रूपमा रहेको ऐलानी जग्गा । अहिले नम्बरी जग्गामा भन्दा ठूलाठूला घर ऐलानी जग्गामा बनेका छन्, बढि आवादी पनि त्यहि देखिएको छ । आफ्ना जग्गा छाडेर जग्गा सित्तैमा पाइने आशले सबैले आफनो नम्बरी जग्गा उपयोग नगरी सरकारी जग्गा ऐलानी बनाई आवादी बढी भइरहेको छ । यसले हामीलाई कर उठाउन अप्ठ्यारो भइरहेको छ किनकी ऐलानी जग्गामा सबै बसेका छन् तर हाम्रो करनीति बनेको छैन, त्यसैले त्यस्ता ठूलाठूला र धेरै आवादी भएका बस्तीमा पनि हामीले कर उठाउन सकेका छैनौं । जुन ठाउँमा ठूलो मानव बस्ती छ । हाम्रो नगरको बसाहा, हँडिया ऐलानी बस्तीमा पर्छ । त्यहाँ ठूलो मानव बस्ती छ, ठूलाठूला घर छन् तर उनीहरू सरकारलाई कर तिर्दैनन् । कर नतिरी बसिरहेका छन् । यसले उनीहरूलाई सेवा सुविधा दिने कुरादेखि कानुनी दायरामा राख्नसमेत समस्या भइरहेको छ । किनकी लालपुर्जा छैन, बिगार ग¥यो भाग्यो, अवैध काम ग¥यो, फाइदा लियो तर प्रशासनलाई नियन्त्रणमा लिन लगत छैन, आधिकारिक पुर्जा छैन, यो यो घरको मान्छे हो भन्ने आधारसमेत छैन । यसर्थ यो कुरालाई चाहिँ संघीय सरकारले छिटोभन्दा छिटो निर्णय गरेर कर प्रणालीलाई सहज बनाइदिए हाम्रो आय स्रोत बढ्ने थियो । अर्को कुरा, कस्तालाई जग्गा दिने, कस्तालाई नदिने,कस्तालाई कर लिने, कस्तालाई नलिने यो कुराको तत्काल निर्णय भए जनतालाई पनि अस्पष्टता हुँदैनथ्यो, हामीलाई पनि कर उठाउन सहज हुने थियो । यसले हामीलाई अलि समस्यामा पारेको छ । यसबाहेक केही बजेट केन्द्रीय सरकारबाट प्राप्त हुने गरेको छ तर यो हामीलाई पर्याप्त छैन । आफ्नै स्रोत र साधन परिचालन गरेर पुग्ने अवस्था तत्काललाई हाम्रो छैन । हो हामीसँग प्राकृतिक स्रोत छ, पर्यटकीय स्थलहरू छन्, गिट्टी बालुवा छ, वन जंगल छ, उर्भराशील भूमि छ यसैको उपयोग गरेर जनताबाट उठेको करलाई सदुपयोग गरेर हामी नगरलाई समृद्ध बनाउन सक्छौ तर त्यसको बाटो संघीय सरकारले खोलिदिनुप¥यो । त्यो नहुँदा हामीलाई समस्या भइरहेको छ, कर लिन पाइएको छैन । अर्को, कर्मचारी पर्याप्त नहुँदा जनचाहाना र हाम्रो योजनाअनुसार काम गर्न असहज भइरहेको छ । काम नहुँदा आम्दानी हुँदैन माथिबाट दिएको बजेट तोकिएको सेवा सुविधा दिनुपर्ने प्रशासनिक क्षेत्रमा खर्च भइरहेको छ । त्यसैले विकासमा अवरोध गरिरहेको छ । यसर्थ भएकै स्रोत साधनलाई व्यवस्थित ढंगले काम गर्ने हो भने आय बढछ, नगर समृद्ध हुनसक्छ तर हामीले यसरी काम गर्नै पाएका छैनौं । अहिले हामीले ९० जना जति कर्मचारी करारमा लिएर काम चलाइरहेका छौं । स्वास्थ्यनीतिमै एक वडा एक स्वास्थ्यकर्मीको अवधारणा ल्याएको छ । त्यसअनुसार कर्मचारी नहुँदा हामीले स्वास्थ्यका कर्मचारीसमेत करारमा लिएर काम चलाइरहेका छौं । सरकारले यसको व्यवस्थापन गर्न सकेको छैन । यस्तो समस्यामा हामीले कसरी नगरको आय स्रोत बढाउने, कसरी जनतालाई बढी सेवा सुविधा दिने, कसरी नगर सञ्चालन गर्ने प्रश्न गम्भीर बनिरहेको छ ।

जनतालाई कर बढाएको छैनौं, करै तिरेका छैनन् भन्नुभयो तर स्थानीय सरकारले कर बढाएर ढाड सेकेको कुरा जनताले गरिरहेका छन् नि ?
स्थानीय वा संघीय सरकारले कर बढाएको होइन, करको दायरा बढाएको हो । हामीले पहिले लिइरहेको सामान्य कर लिएका छौं त्यसबाहेक लिएका छैनांै । बजारमा वस्तुको निकासी पैठारी निःशुल्क गरिदिएका छौं । साना मसिना वस्तु जस्तै एक ढाकी आलु, दुई मुठा साग, एक घरी केरा लिएर आउनेलाई हामीले कर लिएको छैन । तर, संसारका कुनै पनि मुलुकले कर नलिई मुलुक चलाउन सक्दैन । सबैले कर लिन्छन्, तिर्छन् । हामीले पनि त्यहीअनुसार पहिलेदेखि लिई आएको सामान्य कर लिएका छौं, बढी लिएका छैनौं, न्यायोचित कर लिएका छौं जनताले भनेअनुसार र आम्दानी गरेअनुसार नै कर लिएका छौं । आम्दानी भएपछि कर स्वभाविक रूपले सबैले तिर्नैपर्छ । व्यवसाय गर्दा आम्दानी भए कर तिर्ने नभए नतिर्ने भनिएकै छ, हामीले त्यही गरेका छौ । यो सचेतता प्रत्येक नागरिकमा हुनुपर्छ । जनताले आफूले तिरेको करको दुरुपयोग हुँदैन भन्ने महसुस गरे भने विकास जनताले नै गर्छन् । त्यसैले हामीले तपाईंले भनेको ठीक उल्टो गरेका छौ जनतालाई बढी कर लिएका छैनौं ।

यसलाई समृद्ध नगर र सुखी नगरवासी बनाउने तत्कालीन र दीर्घकालीन योजना के छन् त ?
म पनि तीन वर्षअगाडि सामान्य जनता नै हुँ तर म विकासका लागि सोच्थेँ । हाम्रो गाउँ हाम्रो ठाउँ विकासमा अगाडि बढिदियो भने समाज सभ्य बन्छ, जनता सुखी बन्छन् भन्ने लाग्थ्यो । त्यो सोच अहिले आम नगरवासीमा हुनुपर्ने हो । तर, त्यो सोचमा ज्यादै कमी भएको मैले पाएको छु । यहाँको विकास निर्माणदेखि नगरलाई सफा सुग्घर गर्ने काम, अनुशासित बनाउने काम सबै मैले मात्र गर्नुपर्ने आम नागरिकको कामै होइन जस्तो आभाष हुने गतिविधि क्रियाकलाप मैले यो नगरमा देखिरहेको छु । यो बेठीक सोच हो, यो सोचले हामीलाई राम्रो गर्दैन । यो चिन्तन र सोचको अन्त्य आवश्यक छ । घर चलाउन सिंगो परिवार एक हुनुपर्छ, मिल्नुपर्छ । यसर्थ हामीले विकास निर्माणमा पनि समान जनसहभागिता जनाउनै पर्छ, अनिमात्र विकासको रफ्तार अघि बढ्छ । विकासको पहिलो आधार यही हो । यो नहुँदा कोरा कल्पना र विकासको एकीकृत योजना बनाएर मात्र कहिँ पुगिँदैन । यससँगै नगरपालिकाको गरिमा र नगरप्रमुखको गरिमा पनि राख्न नगरवासीले जान्नुपर्छ, अनुशासनमा पनि बस्नुपर्छ । नगरपालिकाले के काम गर्छ, नगरप्रमुखले के काम गर्छ, उसलाई कस्ता कस्ता अधिकार दिइएको हुन्छ भन्ने कुरालाई पनि बुझ्नुपर्छ । त्यसअनुसारका आचरण व्यवहार नगरवासीले पनि गर्नुपर्छ । राजनीति, पार्टी र जनप्रतिनिधिप्रति विश्वसनीयता कायम हुनुपर्छ । राजनीतिप्रति वितृष्णा पालेर होइन सृजनात्मक बनेर प्रस्तुत हुनुपर्छ । राजनीति गर्ने मात्र बेठीक हुन्, हामी सबै ठीक हौं भनेर नेताहरूलाई मात्र गाली गरेर समाजको विकास हुँदैन । मैले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचेर काम गर्नुपर्छ, जिम्मेवार बन्नुपर्छ भनेर नागरिकलाई जिम्मेवार बनाउने योजनामा नगरपालिका लागिरहेको छ । यसबाहेक यो बजार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, साँघुरा सडक फराकिला पार्ने, पिच गर्ने, यो नगरलाई सुन्दर हराभरा बनाउने, पानी बत्तीको समस्या हल गर्नेलगायत अन्य विकास निर्माणका कामलाई व्यवस्थित रूपले अगाडि बढाएर लैजाने योजना रहेको छ ।

यी सबै काम गर्नका लागि तपाईंलाई समस्या पनि होलान्, माथिल्ला दुई सरकार र कर्मचारीको कत्तिको सहयोग पाउनुभएको छ ?
हाम्रो मुलुक विकासोन्मुख मुलुक पनि भएर होला यहाँ पुरातन सोच, पुरातन काम, बदला र इगोको राजनीति, बदलाका काम, पुरातन धङधङीले धेरै नै समस्या पार्दोरहेछ । हामी अहिले ७ सय ५३ वटा छांै, भूगोल र अन्य कुरामा फरक होला तर हाम्रो अधिकार एकै छ । अधिकार र जिम्मेवारी संविधानले नै तोकिदिएको छ । तर हाम्रो पुरानो सोच र मलाई सानोले मान्नुपर्छ, मलाई नसोधी गर्न पाइँदैन भन्ने सामन्ती सोचले काम गर्न स्थानीय सरकारलाई अफठ्यारो भइरहेको छ । तर मलाई लाग्छ यो एक दुई वर्षमा सकिएला । त्यसपछि विकास र समृद्धिले गति लिन्छ । अर्को कुरा, मैले यो नगरमा बस्ने नगरवासीलाई तीनवटा कुरा दिन प्रयत्न गरिरहेको छु । पहिलो यो संविधानले दिएको अधिकार क्षेत्रभित्र म पनि कहिँ न कहिँ छु भन्ने भावनाको विकास गराउने, दोस्रो नेपालमा भएका राजनीतिक दलका नेताले मेरै राम्रोको लागि जनताको हितको लागि नै काम गरिरहेका छन्, जनताकै काम गर्न राजनीति गरेका हुन् भन्ने भावनाको विकास र विश्वास गराउन र संघीयता अर्थात हाम्रा तीन तहका सरकारहरू हामै्र गाउँघरको विकास गर्नका लागि बनेको संरचना हो, यसको संरक्षण गर्नुपर्छ, यसले हाम्रो काम गर्छ, काममा सहज पार्छ भन्ने विश्वास जगाउने काम । मेरो कार्यकालको बाँकी समयमा गराउन सकेँ भने म सफल भएको मान्नेछु र यही प्रयत्नमा म लागिरहेको छु । अन्य कुरामा मलाई सबैको सहयोग नै छ, सबैले आआफ्नो अधिकार क्षेत्रभित्र रहेर कसैले कसैलाई हस्तक्षेप नगरी काम गर्न पहिले नै निर्देश गरिएको छ । म ठूलो, म सानोको यहाँ कुनै गुञ्जाएस छैन, सबै आआफ्नो तोकिएको काम गर्न ठूला छन्, म आफनो चेयरमा मात्र ठूलो हुँला अर्को उसको चियरमा ऊ ठूलो छ र काम सबैले इमान्दारिताका साथ गर्नुपर्छ । त्यो परिपाटी मेरो नगरपालिकामा छ र यसमा म कदापि कमी आउन दिन्नँ ।

तर नगरका जनप्रतिनिधिले त आफैँले डोजर ट्र्याक्टर किनेर आफैँलाइ योजना पारेर पैसा खाइरहेको कुरा आएको छ नि ?
यस्तो धेरै ठाउमा भएको सुनिएको छ तर यो नगरपालिकामा यस्तो कहिँ छैन यसको ठीकविपरीत हामीले काम तीव्र गतिमा गरिरहेका छौं । हामी परिणाममा देखिने गरी गर्छांै, हामीले गरेका काम स्थलगत रूपमा हेरे हुन्छ ।

काममा कत्तिको सन्तुष्टि छ ?
यो जनताले भन्ने कुरा हो तथापि मैले जनताले अनुभूत गर्ने गरी नै काम गरेकोले कामप्रति सन्तुष्टि नै छ । यहाँ हामीले महिला, बालबालिका, वृद्ध, अपांग, अनाथ, पिछडिएको वर्ग सबैका लागि हुने कामहरू गरेका छौं, मैले माथि पनि भनिसकेँ कि ३ वटा काम गर्छु भनेर । यसले जनतालाई पनि सुखी नै बनाउँछ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम