नेकपाले उमेद्वार छनौटमा नयाँ मापदण्ड अपनाउने


काठमाडौं । सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानका साथ अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारलाई विरोधीहरूले विकासको काम गरेन, जनतालाई निरास पा¥यो भनेर प्रचार गरी सरकारप्रति भ्रम सिर्जना गरिरहेको छ । योजनाअनुसार सरकारले पनि गर्न खोजिरहेको छ, प्रधानमन्त्रीले पनि छिटो काम गर्न आफू मातहतका निकायलाई दबाब दिइरहनुभएको छ, सबैतिर विकासकै चर्चा परिचर्चा भइरहेको छ । देश र जनताको हितका दृष्टिले यो सकारात्मक कुरा हो किनभने यो नेपाली कांग्रेसले पटक पटक सत्तामा रहेर सत्यानाश पारेको देश हो ।

यसलाई सम्हालेर विकास गर्ने कुराले अहिले महत्व पाएपछि जनतामा विश्वास बढेको छ, केही आशा पलाएको छ । तर, नेकपाले यसैमा सन्तुष्टि र उत्साहि हुनु जरुरी छैन किनभने काम गर्न धेरै बाँकी छन्, जनताका निरासा चिर्न बाँकी नै छ । अहिले दुई तिहाईको बलियो सरकार छ तर जनता सन्तुष्ट हुने काम भएका छैनन् । यद्यपि, कामका जगहरू बसेका छन् । ठीक यही बेला मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुन लागेको छ । यो नेकपाको सरकारको लागि परीक्षा पनि हो किनभने यस सरकारले शासन सत्ता सञ्चालन गरेको २ वर्ष पुग्ने क्रममा छ । त्यसैले अब एक महिनापछि हुने यो उपनिर्वाचनले नेकपाको भावी सफलता र विफलताको पनि आंशिक मापन गर्छ । यसै सन्दर्भमा नेकपाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्य अघि बढाएको छ । हिजो बसेको नेकपाको सचिवालय बैठकमा उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्दै गृहकार्य अघि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कास्की क्षेत्र नम्बर २, तीनवटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो । उहाँले दिनुभएको जानकारीअनुसार पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरिएको र सोका बारेमा आज बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने भएको छ । उपनिर्वाचनको उम्मेदवारी टुंगो लगाउन आज पनि सचिवालय बैठक बोलाइएको छ । उहाँका अनुसार पार्टीले भनेबमोजिम सबै ठाउँबाट ३ जनाको नाम सिफारिस भएर आएको र यसबारेमा आज पार्टीको सचिवालय बैठक बसेर उम्मेदवारको नाम तय गरिने छ ।

प्रधानमन्त्रीको स्वास्थ्यको जानकारी
हिजोको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे बैठकमा सहभागी नेताहरूलाई जानकारी गराउनुभएको थियो । बैठकमा उहाँले आफ्नो स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना नभएको बताउनुभएको थियो । स्वास्थ्यमा केही समस्या देखा परेका कारण चिकित्सकले परीक्षण गरिरहनु भएको, केही रिपोर्ट आइसकेको र केही आउन बाँकी रहेको जनाइएको छ । साथै सबै रिपोर्ट आएपछि प्रधानमन्त्रीको उपचारबारे थप निर्णय लिइने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ ।

सांसद महेशको तलब १० प्रतिशत दान

काडमाडौं । पूर्वउद्योगमन्त्री एवं भक्तपुरबाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफूले पाउने सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतले उक्त रकम सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा खर्च गर्ने बताउनुभएको हो । सांसद बस्नेतले भक्तपुरको विकासको मुहार फेरिरहेको र अबको तीन वर्षमा भक्तपुर जिल्ला विकासमा देशकै नमुना जिल्ला बनाउने अठोट आफूले गरेको बताउनु भएको छ । उहाँले उक्त सहयोगवापतको पहिलो रकम मध्यपुरथिमि नगरपालिकामा रहेको खाँसी पोखरी पुनःनिर्माणको लागि रु. एकलाख प्रदान गर्नुभयो । उहाँले सांसदले पाउने क्षेत्र विकास कोषबाट मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक गरेको शंखधर पार्क निर्माणमा रु. ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो । त्यसैगरी सांसद बस्नेतले क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भूक्षय नियन्त्रणको लागि रु.३० लाख र इ–लाइब्रेरीको लागि रु.३० लाख गरी ६० लाख उपलब्ध गराउने घोषणा पनि गर्नुभएको थियो । उहाँले सरकारले मध्यपुरथिमिको नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलयमध्ये कुनै एकको रूपमा विकास गर्ने योजनासहित रु. एक करोड ५० लाख रकम विनियोजन भएको बताउनुभयो । त्यसैगरी भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको सम्पदावस्ती संरक्षण गर्न सरकारले रु. १५ करोड रकम व्यवस्था गरेको जानकारी दिँदै भक्तपुरको विकास निर्माणको लागि रकमको कुनै अभाव नहुने पनि बताउनुभयो । उहाँले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकको घलाते, मध्यपुरथिमिको गठ्ठाघर र मध्यपुरथिमिकै बोडेमा तीनवटा नयाँ आकाशे पुलहरू निर्माण हुन लागेको पनि बताउनुभयो ।

सेनाले थप्यो नयाँ विमान

काठमाडौं । नेपाली जनताले हवाई टिकटमा यात्रा गर्न सास्ति खेप्नु परिरहेको बेला नेपालको हवाईक्षेत्रमा सेनाले एक नयाँ विमान थपेको जनाएको छ । इण्डोनेसियासँग खरिद गरेको नयाँ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सेनाले सो कार्गो विमान खरिदका लागि सन् २०१७ अगस्टमा एलसी खोलेको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक तालिमका लागि उपयोग हुने उद्देश्यले विमान खरिद गरिएको नेपाली सेनाले जानकारी दिएको छ । ५१ सिट क्षमताको उक्त विमानले ३५ जनालाई एकैपटक बोक्नसक्ने बताइएको छ । कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा भरेको थियो । उक्त कम्पनीका विमान टर्की फ्रान्स, मलेसियालगायत मुलुकले प्रयोग गर्दै आएका छन् । कल साइन सीएन २३५–२०० विमान सेनाले तीन करोड अमेरिकी डलरमा खरिद गरेको जनाइएको छ । यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको संख्या २० पुगेको बताइएको छ । सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाईसाधन परिचालनको व्यवस्था गरेको छ

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम