नेपाली भूमिबाट भारतीय सेना तुरुन्तै हट्नुपर्छ (सम्पादकीय)


भारत सरकारले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो क्षेत्रमा समावेश गरेपछि नेपालमा यसको चौतर्फी विरोध हुनुका साथै भारतविरुद्ध प्रदर्शन र आलोचनाको आँधीबेरी सुरु भएको छ । यसले उसको विस्तारवादी हेपाहा प्रवृत्ति नांगिएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र नेपाली स्वाभिमानमाथि निरन्तर अतिक्रमण गर्दै आएको आरोप भारत सरकारमाथि लाग्दै आइरहेको बेला यसलाई पुष्टि गर्दै सार्वजनिक भएको यो नक्साले भारतीय सरकार, नेपाल र नेपालीको असल छिमेकी होइन नेपालको भूमि आफ्नोमा मिलाउन चाहने विस्तारवादी सोच बोकेको शत्रु छिमेकीको घृणाभाव नेपालीमाझ पैदा भएको छ । यो असल छिमेकीका लागि दुःखद विषय हो । सुगौली सन्धिपछि पश्चिमतर्फ नेपाल भारतको सीमा महाकाली नदी हो भन्नेमा कुनै विवाद छैन । यसै सन्दर्भलाई लिएर सरकारले हालै सर्वदलीय–सर्वपक्षीय बैठक बोलाएर राष्ट्रियताका सन्दर्भमा सिंगो राष्ट एक भएर भारतले मिचेको भूमि तत्काल फिर्ता लिन सरकारलाई कूटनीतिक र राजनीतिक पहलकदमी लिइहाल्न सुझाव दिएका छन् । नेपालको भूमि मिचिएको सन्दर्भमा त्यसका विरुद्ध लाग्न र अतिक्रमित भूमि फिर्ता ल्याउन राष्ट्रिय सहमति बनेको छ । यही बेला अर्थात फलाम तातेको बेला नै घनले हाल्नुपर्छ, अनिमात्र त्यसले आकार लिन्छ भनेझैँ नेपाली भूमि मिचिएको सन्दर्भमा राष्ट्रिय एकता भएको बेला नै फिर्ता लिने काम गर्नुपर्छ किनकी हामीले छिमेकी फेर्न सक्दैनौं तर दुष्ट छिमेकीलाई सबैको प्रयत्नमा असल बनाउन सकिन्छ । त्यसैले दुष्ट छिमेकी भारतलाई असल छिमेकी भारत बनाउने सुनौलो अवसर यतिबेला नै हो । यतिबेला सिंगो मुलुक एकताबद्ध बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ मे २०१५ मा चीन भ्रमण गरेका बेला भारत र चीनले लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विस्तार गर्ने सम्झौता गरेका थिए तर त्रिदेशीय सीमाविन्दु लिपुलेक नभई धेरै पश्चिममा रहेको लिम्पियाधुरा हो । यस्तो यथार्थ हुँदाहुँदै नेपालको भूमिलाई दुई देशको सीमाविन्दु भन्नु दुवैको हेपाहा प्रवृत्ति हो, मिचाहा व्यवहार हो । यसको सबै मिलेर विरोध गर्नै पर्छ । भारतले नेपालका थुप्रै नदीनाला खाएको छ, थुप्रै सीमास्तम्भ सारेको छ, कतिपय गायव पारेको छ, नेपाली नदीमा एकतर्फी बाँध बाँधेर नेपाली जनताको बाँच्न पाउने नैसर्गिक अधिकार हनन् गरेको छ, थुप्रै नेपाली अपहरण गरेर भारतमा लगी मारेको छ, बेपत्ता पारेको छ, महाकाली नदीकै सहायक नदी धौलीगंगा नदीमा २८० मेघावाट क्षमताको जलविद्युत् परियोजना निर्माण गरेर नेपालीका सयौं घर डुबाएको छ, हजारौं नेपाली नागरिक घरबारविहीन बनाएको छ । कालापानी र लिपुलेक क्षेत्रमा वर्षौदेखि सेना तैनाथ गरेको छ ।

अतिक्रमित क्षेत्रमा मालसामान ढुवानी गर्न नेपालसँग अनुमति नलिई राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी दिनहुँ भारतीय हेलिकप्टर निर्वाध रूपमा नेपाली आकाशमा उडाइरहेको छ । महाकाली नदीमा लगाएको तुइन बारम्बार काटिदिने र उसका सेना नेपालको सीमा क्षेत्रमा प्रवेश गरी नेपालीलाई अनावश्यक दुःख दिने काम गरिरहेका छन् । नेपाल सरकारको अनुमतिविनै नेपाली भूमिमा एकतर्फी पुल र बाटो निर्माण गरेको छ । यस्तो हस्तक्षेपको समाचार लख्ने पत्रकारलाई धम्की दिने गरेको छ । यसले जन आक्रोश बढाएको छ, नेपाली जनता सडकमा आएका छन् । यो बेला नेकपाको सरकारले कूटनीतिक र राजनीतिक पहलकदमी लिएर यो समस्या समाधान गर्नु पर्दछ र नेपालीको मनमा लागेको चोटमा मलम लगाउनुपर्छ । यसैलाई निहुँ बनाएर भारतले नाकाबन्दी गर्छ भने बरू नेपाली भोकै मर्न तयार छन्, अनावश्यक निहुँ खोज्छ भने नेपाली लड्न मर्न तयार छन् तर महेन्द्र, बीपी, गिरिजा र शेरबहादुरले गरेका सत्ता स्वार्थ र राष्ट्रघाती कामलाई सच्याउनुपर्छ नेपाली भूमिमा राखिएका भारतीय सेना र मिचिएका सीमास्तम्भहरू हटाउनुपर्छ । उसका नराम्रा सबै कामका बारेमा उसलाई जानकारी दिएर त्यस्ता गतिविधिहरू आइन्दा नगर्न कूटनीतिक रूपमा भन्नुपर्छ, भन्दा नमाने त्यस्ता विषयहरूलाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा लगेर हल गर्नुपर्छ । नेपाल रहेमात्र नेपाली रहने हो, नेपालै नरहे हामी कोही रहँदैनौं । देश जोगाए मात्र जनताको शासन जोगिन सक्छ । जनताको शासन जोगियो भने मात्र जनता सुखी हुन्छन्, यसको हेक्का सबैलाई होस् । यो काम नेकपाको सरकारले मात्रै गर्न सक्छ, गर्ने बेला पनि यही हो, जनताको चाहाना भावना पनि यही हो । हस्तक्षेपका विरुद्ध सिंगो मुलुक एक भएका बेला यो काम नेकपाको सरकारले गरोस्, यही हाम्रो कामना !