जग्गा बाँझो नराखौ, मेहेनती बनौं, सुखी नेपाली भइन्छ


निर्मल गदाल, प्रमुख प्रशासकीय अधिकृत कृषि ज्ञान केन्द्र, प्रदेश ३

युवाको ठूलो हिस्सा विदेशिइरहेको छ,अहिले नेपालमा कृषिको अवस्था कस्तो छ ?

राम्रै छ, त्यस्तो निरास हुनुपर्ने अवस्था छैन किनकी कसैले कुनै ठाउँमा अवसर देखेन भने अर्कोले त्यही ठाउँमा अवसर देखिरहेको हुन्छ । पहाडमा कृषकले वा युवाले अवसर देखेन भने त्यो जनशक्तिले काठमाडौं उपत्यकालगायत अन्य सहरहरूमा अवसर देखिरहेको छ, आफ्नो सीपको उपयोग गरिरहेको छ । अहिले काठमाडौं उपत्यकाका युवा व्यवसायीले यहाँ अवसर नदेखेर धादिङ, चितवन, मकावनपुर, रामेछापलगायत अन्य उपत्यकाबाहिरका जिल्लामा ठूलाठूला कृषि फार्महरू सञ्चालन गरिरहेका छन् भने ती ठाउँका युवा व्यवसायीहरूले उपत्यकामा जग्गा भाडामा लिएर ठूलाठूला कृषि फार्महरू सञ्चालन गरिरहेका छन् । त्यसैले झट्ट हेर्दा जग्गा बाँझा बसे भन्ने देखिए पनि हाम्रा जमिनहरू कहिँ अनुत्पादक रूपमा रहेका छैनन् । अर्को, युवाको विदेश पलायनको कुरा जहाँसम्म छ, हाम्रो युवा जनशक्ति बाहिर रहे पनि त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान नै दिएको छ, सीप र प्रविधि भित्र्याएको छ, रेमिटान्स भित्र्याएको छ, उत्पादन, वितरणदेखि बजारीकरणसम्ममा यहाँ आधुनिक प्रविधि उनीहरूले नै भित्र्याएका छन् । त्यसले गर्दा युवा बाहिर गएर आकाशै खस्ने भएको छैन । तर हाम्रो युवा शक्तिलाई यहीँ राख्नेगरिका योजना बनाउनुपर्छ । अहिले कृषिमा ठूलो काम भइरहेको छ, प्रविधि भित्रिइरहेको छ, कृषिका ठूलाठूला फार्महरू चल्न थालेका छन्, उत्पादन बढिरहेको छ, निर्यात पनि बढिरहेको छ, किसानले अपनत्व लिने गरी काम गरिरहेका छन् । फूलका मालाको माग नै पोहोरभन्दा यसपाला घटेको छ । यसलाई ध्यानमा राखेर आउने चाडपर्वमा मागअनुसारको आपूर्ति गर्ने गरी उत्पादनलाई अगाडि बढाइरहेका छौं । अहिले यहाँ निर्यातको बढी सम्भावना बोकेका कृषि उपजमा जडीबुटी,अलैंची, चिया,कफी र अदुवा रहेका छन् । यिनीहरूको उत्पादन र वितरण र बजारीकरणलाई वैज्ञानिक बनाउनुपर्छ, आधुनिक बनाउनुपर्छ भनेर लागेका छौं । साथसाथै यसका लागि आवश्यक पर्ने भूमिको व्यवस्थापनमा हामीले चाहेजति काम गर्न सकेका छैनौं किनकी भूमि व्यवस्थापनका बारेमा नयाँ ऐन, नीति लागू भइसकेको छैन, भूमिको वैज्ञानिक वितरण हुन सकेको छैन । जसले गर्दा जोसँग जमिन छ, उसले खेती गरेको छैन, जो खेती गर्ने हो उसँग जमिन नै छैन । सरकारले यसको नीति ल्याउन सकेको छैन । यसले गर्दा पनि सरकारको योजनामा समस्या भइरहेको छ । तर यो विषयमा पनि प्रदेश सरकार संघीय सरकारसँग सम्पर्कमा रहेर काम गर्न लागिरहेको छ भने आधुनिक खेती भनेर हामीले भाषणमा मात्र भनिरहेका छौं, व्यवहारमा हुन सकेको छैन, अहिले पनि हामी परम्परागत खेती प्रणालीमै छौं । हाम्रो देशका ६० प्रतिशत किसान कृषिमा निर्भर छन् तर आधुनिक खेती प्रणालीमा जाने किसानको संख्या अत्यन्तै कम छ, किसानले भनेको बेला मलखाद, बीउ, कृषि औजार, किटनाशक औषधि पर्याप्त उपलब्ध गराउन सकिरहेका छैनौं, प्रविधि र साधन स्रोत पर्याप्त दिन सकिरहेका छैनौं, पानीको व्यवस्थापन गर्न सकिरहेका छैनौं । यो सबै कुरा पूरा गरेपछि मात्र हाम्रो प्रदेश सरकारले चाहेको योजना सफल हुन्छ । यद्यपि, हामीलाई उपलब्ध भएका सबै कुरा कृषककोमा पु¥याउन लागिरहेका छौं । यसरी हामीले काम गरिरहेका छौं ।

कृषि ज्ञान केन्द्रले के कस्ता काम के कसरी गरिरहेको छ ?

कृषकलाई आधुनिक प्रविधिबाट खेती गर्न प्रोत्साहित गर्ने, विषादीको प्रयोग नगर्ने, अर्गानिक तरकारी, फलफूल र खाद्यवस्तुको उत्पादन गर्नेदेखि त्यसका लागि कृषकलाई सचेत गराउने, त्यो विषयमा सीप सिकाउने, कृषकलाई सेवा सुविधा, ऋण सहजीकरण, अनुदानको वितरण प्रविधिको विकास र विस्तार, कस्तो ठाउँमा कस्तो बाली लगाउने, कस्तो हावापानीमा कस्तो बालीनाली हुन्छ, कुन बालीलाई कस्तो माटो चाहिन्छ भनेर हावापानीदेखि माटोको परीक्षण गरिदिनु पर्छ, त्यो काम हामीले गरेका छौं । अहिले हामीले उपत्यकावासीलाई स्वस्थ्य र प्राङ्गारिक उपजहरू उपलब्ध गराउने कुरामा जोड दिएका छौं भने त्यस कार्यक्रमअन्तर्गत कफीखेतीलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएका छौं । त्यसैगरी प्रदेश सरकारकै कार्यक्रमअन्तर्गत विषादी परीक्षण प्रयोगशाला पनि उपत्यकामा स्थापना गरेका छौं । तरकारीलगायत खाद्यवस्तुको उत्पादन, वितरण, बजारीकरण असल कृषि अभ्यास र प्राङगारिक कृषि प्रमाणीकरणको दुईवटा पद्धतिहरूमार्फत कृषि उपज प्रमाणित गरिसकेपछि मात्र बिक्री वितरण हुने अवस्थाको थालनी गरेका छौं ।
यो उपत्यका कृषि उत्पादनको सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भएकोले यसलाई भरपूर उपयोग गरेर ग्रामीण क्षेत्रको कृषिलाई दिगो रूपमा आधुनिकीकरण गर्ने योजना बनाइरहेका छौं । त्यसका लागि सिकाइ, पूर्ण जानकारी गराउने, जथाभावी विषादीको प्रयोग हुन नदिने जस्ता विषयमा पनि यथेस्ट जानकारी दिन लागेका छौं । प्रदेश सरकारका योजना लागू गर्नेदेखि कृषकका आम समस्या र मागको उचित संयोजन कसरी गर्ने भन्ने बारेमा पनि योजनागत रूपले काम गरिरहेका छौं । उत्पादनका संवाहक युवा जनशक्तिलाई कृषिमा परिचालन गर्ने, उत्पादन गर्ने त्यो उत्पादनलाई बजारीकरण गर्ने कार्यमा लगाउनेलगायत काम पनि गरिरहेका छौं ।

तर तरकारीलगायत खाद्यवस्तुमा विषादीको प्रयोग बढिरहेको छ, यसको न्यूनीकरणमा कसरी काम गरिरहनुभएको छ ?

यसका विषयमा कतिपय मानिसहरूलाई थाहा नै छैन,जसले विषादी प्रयोग गर्छन् ती कृषकलाई त यसका बारेमा झन् थाहा नै छैन । यसलाई न्यूनीकरण गर्न हामीले पनि चाहे जति गर्न सकिएको छैन । विषादीको न्यूनीकरण गर्न हामीले खाने वस्तुलाई तातोपानीमा नुन राखेर आधा घण्टासम्म डुबाउने गर्नुपर्छ । त्यसो गर्दा केही कम गर्न सकिन्छ । अर्को, तरकारीलगायत खाद्यवस्तु उत्पादन गर्दा नै विषादीरहित उत्पादनतर्फ जोड दिनुपर्छ । विषादी नहाली नहुने भयो भने पनि घरेलु विषादी बनाएर प्रयोग गर्नुपर्छ भनेर किसानलाई भनिरहेका छौं, हाम्रो कतिपय कार्यक्रम त अर्गानिक वस्तुको मात्रै उत्पादन पनि छ । तर यसका लागि सरकारले कृषकलाई विशेष कार्यक्रम नै बनाएर यस विषयमा प्रशिक्षण दिनुपर्छ । तरकारी वा कुनै पनि खाद्यवस्तु हाम्रो भान्सासम्म आउँदा कति तहहुँदै आइपुगेको हुन्छ । बिचौलियाहरूबाट समेत तरकारी कुहिनबाट बचाउन विषादी प्रयोग भइरहेको हुन्छ । यसमा सरकारले सञ्चार माध्यमबाट पनि जनचेतना फैलाउनुपर्छ । त्यो काम पनि हामीले गरेका त छौं तर जुन तहमा जसरी गर्नुपर्ने थियो त्यसरी गर्न सकिएको छैन । अर्को कुरा, हामीले उपभोग गर्ने तरकारी फलफूललगायत खाद्यवस्तु धेरैजसो विदेशबाट आयात हुने भएकोले यस्ता वस्तुमा विषादीको प्रयोग अधिक छ भने प्लाष्टिकमा प्याक गरेका खानामा पनि बढी विषादी प्रयोग भएको हुन्छ, यसको नियन्त्रण हाम्रो पहुँचमा छैन । यसले हामी सबैलाई धेरै समस्यामा पारेको छ । चीन र भारतबाट आउने ताजा तरकारी र फलफूलमा धेरै विषादीको प्रयोग भएको पाइएपछि हामीले यसको न्यूनीकरणका लागि विषादी परीक्षण प्रयोगशाल समेत राखेका छौं । यसले उपभोक्ताहरूलाई सूचना दिन हामीलाई सहज हुने छ ।

यसका चुनौतीहरू के के छन् त ?

पर्याप्त साधन स्रोतको उपलब्धतामा कमी, कर्मचारी व्यवस्थापनमा कमी, चेतनाको अभाव, प्रशिक्षणको अभाव, जमिनको उपलब्धताका कमी, सिँचाईको व्यवस्थापनमा कमी, कृषिजन्य सामाग्रीको अभाव, प्राविधिक जनशक्तिको अभाव, आधुनिक खेती प्रणालीको ज्ञानमा अभाव, विषादीको प्रयोगमा सर्तकताको अभावजस्ता कुरा हाम्रा लागि चुनौतीका विषय हुन् ।

सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा कृषिको उपयोग र महत्वलाई कसरी लिनुभएको छ ?

हाम्रो मुलुक ८५ प्रतिशत ग्रामीण क्षेत्रमा पर्छ । ग्रामीण क्षेत्र समृद्ध नभई समग्र देश समृद्ध हुन सक्दैन । सुखी नेपाली, समृद्ध नेपाल हुन जनताको मनमा शान्ति र अनुहारमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्छ । त्यसका लागि हामी सबैले देश र जनताका लागि सोचेर इमान्दारिताका साथ काम गर्नुपर्छ । कृषि समृद्ध नभई जनता सुखी हुँदैनन् । त्यसैले कृषक ओरिएण्टेड कार्यक्रमहरू सरकारले ल्याउनुपर्छ । यस्तो अवस्थामा स्रोत र साधनको उपलब्धता हुनुपर्छ, भूमि, मल, बीउ, प्रविधि, स्रोत र साधनको सहज उपलब्धता हुनुपर्छ, सिँचाई, विद्युत, सडक राम्रो बनाउनुपर्छ जसले गर्दा उत्पादित वस्तुहरू बजारमा पु¥याउन सहज हुन्छ । त्यसैगरी चक्लाबन्दी खेतीमा कृषकलाई आकर्षित गर्नुपर्छ । आधुनिक कृषिको ज्ञान दिनुपर्छ । आवश्यक ऋण अनुदान दिनुपर्छ । यसो भयो भने युवाहरू कृषिमा आकर्षित हुन्छन् र हाम्रो कृषि उपज बढ्छ । हिजोको सोच विचार त्यागेर नितान्त फरक ढङगले नयाँ सोचका साथ अगाडि बढ्नु पर्छ किनकी अहिलेको समय परिस्थिति सरकारको अवस्था, योजना, कार्यक्रम फरक खालका छन् ,प्रविधि फरक छ यसलाई मध्यनजर गरेर जान सकियो भने सुखी नेपाली समृद्ध नेपाल निर्माण हुन सक्छ । हाम्रो प्रदेश सरकारले पनि यही अभियानलाई पूरा गर्ने गरी काम गरिरहेको छ ।

मैले सोध्न छुटाएका तर कृषिको विकासको लागि आवश्यक पर्ने कुनै भनाइ छ ?
सर्वप्रथम सबैले सबैलाई हुने गरी, सबैले सबैलाई सहयोग पु¥याउने गरी काम गरौं, कृषि उत्पादनमा लागौं कोही खाली नबसौं, केही न केही गरांै, सकरात्मक सोच बनाऔं तरकारी, फलफूल र खाद्यान्नमा आत्मनिर्भर हुने गरी लागौँ, जग्गा बाँझो नराखौं,कृषि ज्ञान केन्द्रसँग परामर्श र सल्लाह लिऔं, सूचना पढांै, प्राविधिक ज्ञान लिऔं, सीप सिकांै, दक्ष बनौं संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका योजनामा सहभागी बनौं । जसले जे जानिन्छ त्यही गरौं । यसो गर्न सकियो भने हामी हाम्रो योजनामा सफल हुन्छांै, योजना सफल भएपछि हामी समृद्ध बन्छौ यही भन्न चाहन्छु ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम