मन्त्रीहरूलाई बधाई (सम्पादकीय)



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हालै बसेको सचिवालय बैठकले महत्वपूर्ण र दूरगामी निर्णय गरेको छ । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी फेरबदल गरेको छ । मुलुकको सर्वाधिक शक्तिशाली र दक्षिण एसियाकै दोस्रो ठूलो कम्युुनिस्ट पार्टी नेकपा सञ्चालनका सन्दर्भमा सबै निर्णय एक्लै लिन सक्ने गरीको कार्यकारी अधिकारसहितको पार्टीको जिम्मेवारी पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई र राज्य सञ्चालनका सबै कामको निर्णय एक्लै लिन सक्ने गरीको पूर्णअधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । यो दूरगामी असर पार्ने ऐतिहासिक निर्णय हो । यसले एकातिर दुवै अध्यक्षलाई आफ्नो सोच, शैली र स्पिरिटमा हिड्न, मुलुक र पार्टीलाइ हिडाउन सहज भएको छ भने अर्कोतिर, पार्टी एकता र सरकार सञ्चालनमा असहज भइरहेका काम अगाडि बढाउन, निर्णय लिन सहज भएको छ । अब सरकार, पार्टीका बीचको कुनै झमेला बाँकी नरहने, जस अपजस आ आफूले लिने भएपछि सम्बन्ध पनि समधुर बन्ने, सहयोगको आदान प्रदान पनि राम्ररी हुने, पार्टी र सरकारको गतिलाई पनि यसले तीव्र बनाउने हुन्छ । यो पार्टीपंक्ति र जनताको लागि पनि सुखद विषय हो । यसैको फलस्वरूप हालैको सचिवालय बैठकलाई जानकारी गराएर प्रधानमन्त्री ओलीले पहिलोपटक आफ्नो मन्त्रिपरिषद्को हेरफेर गर्नुभएको छ । मौजुदा मन्त्रिपरिषद्मा पहिले बनेका केही मन्त्रीहरूले विदा पाएका छन् भने केहीको थमौती भएर पूर्ण जिम्मेवारी पाएका छन् । कोही साविक जिम्मेवारीमा छन् भने कसैको जिम्मेवारी फेरिएको छ । झण्डै झण्डै दुई तिहाईको एक्लै सरकार निर्माण गर्न सक्ने ताकत बनाएको र अहिले दुई तिहाईकै सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा हेरक हण्डर ठक्कर उतारचढाव झेल्दै यहाँसम्म आएको छ । यसमा एकीकृत भएका दुवै पूर्वपार्टीले सबैखाले परिस्थितिको सामना गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई सुरक्षित अवतरण गरी यहाँसम्म ल्याएका छन् । यसमा हजारौं सहिदले बलिदानी गरेका छन्, लाखौले कष्टपूर्ण संघर्ष गरेका छन्, विरोधी शक्तिसँग लडाई गरेका छन् र करोडौंले यसलाई आफ्नो ठानी माया गरेर मत दिई सरकार बनाउन सहयोग गरेका छन् । जसकारण आजको पार्टी बनेको छ, दुई तिहाईको सरकार बनेको छ, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री,सांसद, राजदूत, सल्लाहकारहरू बनेका छन्, सार्वजनिक पदमा थुप्रै पुगेका छन् । तर विडम्बना, उनीहरू पदमा पुग्दा कम्युनिस्ट आचरणमा स्खलित भएका छन् । कम्युनिस्ट पार्टीका नेता, मन्त्री, सांसद जो कोही भए पनि उनीहरूले कसैलाई होचो अग्लो, आफ्नो अर्काको, नजिक, टाढा देख्दैनन्, व्यक्तिगत स्वार्थमा लाग्दैनन्, कसैको सियोसम्म त्यसै लिँदैनन् । तर अहिलेका कम्युनिस्ट पार्टीका नेताहरू थोरैबाहेक धेरैले सिद्धान्तविपरीतका आचरण र व्यवहार देखाउने गरेका छन् । मन्त्री र सांसद बन्दा सामूहिक योगदानका आधारमा बन्ने, पदमा पुगिसकेपछि आफू त्यहाँ आएको धरातल बिर्सिएर म आफ्नै योगदानले यहाँ आएको भन्नेजस्तो गरी, कसैले नगरेको योगदान एक्लै गरेकोजस्तो गरी प्रस्तुत हुने गरेका छन् । त्यतिमात्र होइन, पदमा पुगेपछि र अवसरको बाँडफाँडमा सामूहिकताको भावना, समन्यायिक भावना नराखी आफ्ना आसेपासे, भाइभारदार, साला, साली, वरपरका हुक्के,ढोके, आफू पदमा पुग्दा चाकडी गर्न महंगा दोसल्ला र पुष्पगुच्छा लिएर आउनेहरूलाई, ठेक्कापट्टा मिलाई दिएवापत रसदपानी आफूलाई ल्याउनेहरूलाई मात्र हेर्ने, उनीहरूको मात्र कुरा सुन्ने, उनीहरूलाई मात्र मन्त्री क्वार्टर र मन्त्रालयका गोप्य कोठामा राख्ने, आफू मालिक जनतालाई दास देख्ने प्रवृत्तिको पुनरावृत्ति विभिन्न पदमा पुगेका, मन्त्री भएका कम्युनिस्टहरूबाट भएको छ । जुन कम्युनिस्ट आचरणविपरीतका काम हुन् । यस्ता काम हिजोका पञ्च र कांग्रेसले गर्थे, आज यो रोग सामूहिक सहभागिताका आधारमा निर्माण भएको कम्युनिस्ट पार्टीमा पनि सरेको छ । यसले मन्त्रीहरू सांसदहरू सुविधाभोगी, भए, व्यक्तिगत सम्पत्ति आर्जन गर्ने,नवधनाढ्य बन्ने, सामन्तहरूको जस्तो आचरण र व्यवहार कार्यकर्ताहरूमा गर्ने जस्ता विकृतिले नराम्ररी घर गरेको छ । फलत पार्टी विभाजित भए, नेता पूँजीवादी भाषामा गएर पलाएन भए, भ्रष्टाचारमा कम्युनिस्ट पार्टीका नेता, मन्त्री, सांसदहरू मुछिए । यसले पार्टीका इमान्दार कार्यकर्ताहरूलाई निरास बनाएको छ । अहिले मन्त्रिपरिषद् पुनर्गठन भएको छ, कामको मूल्यांकनको आधारमा रहने र हट्ने भएको, राम्रालाई निरन्तरता दिइएको, काम गर्न नसक्ने र खराब आचरण भएकालाई विदा दिइएको जस्तो देखिएको छ । यसरी हेर्दा केही मन्त्रीहरूले काम गर्न नसकेको, कसैको आचरण ठीक नभएको,भ्रष्टाचार गर्दा, गर्न नसक्ने कुरा जथाभावी बोल्दा, आफूलाई उपल्लो र कार्यकर्तालाई तुच्छ ठान्दा यस्तो भएको हुनसक्छ । अपवादबाहेक सबै यस्तै समस्याको सिकार भएका हुन सक्छन्, जनतालाई दास देख्ने आफूलाई मालिक ठान्ने र स्वार्थकेन्द्रित काम गर्नेहरू पर्न सक्छन् । जे होस् अब भोलिका दिनमा अहिले आएका र पुराना रहेका मन्त्रीहरूबाट यस्तो व्यवहार नहोस्, पार्टीका कार्यकर्ता र जनतालाई हेर्ने दृष्टिकोण कम्युनिस्ट आचरणअनुसारको बनोस्, आफूलाई जनताको सेवक ठान्ने होस्, म जनताको हितमा काम गर्न आएको हुँ, मैले देश र जनताको हितमा काम गर्नुपर्छ भन्ने भावनाको विकास होस् । योगदानका आधारमा अवसरको बाँडफाँड हुनुपर्छ, मलाईजस्तै अरूलाई पनि मन्त्री र सांसद हुने ईच्छा हुन्छ भन्ने सोचको विकास सबैमा होस्, यो कुराको हेक्का पार्टी नेतृत्वलगायत सबै नेतामा पनि होस्, जनताले सुख पाऊन्, पार्टी शक्तिशाली बनोस्, देशमा समृद्धि छाओस्,अहिलेका मन्त्रीहरूले भोलि अपदस्त नहुने गरी राम्ररी काम गरून्, सबैका साझा मन्त्री बनून्, कार्यकाल सफल बनोस् । यही शुभकामना अनि बधाई !

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम