संसदको हिउँदे अधिवेशन हिजो देखि शुरु



काठमाडौ : संसदको ५ औं तथा हिउँदे अधिवेशन हिजो देखि शुरु भएको छ । शुक्रबार दिउँसो ४ बजे राष्ट्रपति विद्या भण्डारीले संसद बैठकलाई सम्बोधन गर्नुभएको थियो । उपसभामुख शिवमाया तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्नु भएको थियो । सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा ९४ मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ । यस्तोमा उपसभामुखले अध्यक्षता गर्ने कि नगर्ने भन्ने अन्योल थियो । तर हिजो शुक्रबार सुरु भएको संसद् अधिवेशनको अध्यक्षता उपसभामुखले नै गर्ने टुंगो लागेको थियो । नियमावलीभन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई अध्यक्षता गराउन सत्तारुढ दल नेकपा तयार भएको थियो । यौन दुव्र्यवहार आरोपमा सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुख तुम्बाहाङफेले प्रतिनिधिसभाबाट पारित ५ विधेयक प्रमाणीकरण गर्नुभएको छैन । विधेयक प्रमाणीकरण नहुँदा कानुन बन्न सकेका छैनन् । सभामुख पद लिन सत्तासीन नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न भनिसकेको छ । पहिलो बैठकको अध्यक्षता गरेर राजीनामा दिने तयारीमा तुम्बाहाङफे रहेको उहाँको सचिवालयले जनाएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक हिजै आव्हान गरेको जनाएको छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा दलको बैठक बोलाइएको पार्टीले जनाएको छ । हिजो अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो । बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्नुभएको थियो । दलको बैठक र संसद् अधिवेशनका कारण स्थायी कमिटीको हिजो शुक्रबारको बैठक स्थगित भएको थियो ।