टापबहादुर श्रेष्ठः शिक्षा, समाजसेवा र सहकारी अभियानका सफल व्यक्तित्व


टापबहादुर श्रेष्ठ शिक्षा, समाजसेवा र सहकारी अभियानका एक अनुभवी र सफल व्यक्तित्व हुनुहुन्छ । गाउँको जीवन भोगाइले शिक्षा र सहकारी क्षेत्रलाई राम्रो बनाउन उहाँले चालेका दृढ पाइला, गाउँको गरिबी अन्त्य गर्ने दृढ इच्छाशक्ति, प्रतिबद्धता र दरिलो विश्वाससहित उहाँले गरेका योगदान गर्व गर्न लायक छन् । शिक्षक पेसाबाट अवकाश लिएर सहकारीमार्फत गाउँको समृद्धिमा लाग्नुभएका उहाँ लामो समयदेखि समाजसेवा र सहकारी कर्ममा निरन्तर क्रियाशील हुनुहुन्छ । विभिन्न आरोह अवरोह, चुनौती र जटिलताहरूको सामना गर्दै समाज परिवर्तन र समृद्धिको आन्दोलनमा लाग्नुभएका उहाँ हाल धादिङ वचत तथा ऋण सहकारी संघको अध्यक्ष भएर काम गरिरहनुभएको छ । २०४३ सालदेखि शिक्षा, समाजसेवा र सहकारी आन्दोलनमा योगदान दिनुभएका उहाँ इमान्दार, शालीन र निष्ठावान् व्यक्तित्व हुनुहुन्छ । देशमा व्याप्त बेरोजगारी समस्यालाई मध्यनजर गर्दै उहाँले २०४५सालदेखि सहकारीका माध्यमबाट युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र मुलुकमा समृद्धि भित्र्याउन लागिरहनु भएको छ । यही अदम्य साहस एवं मेहनतले आज उहाँलाई जिल्लामा शिक्षा र सहकारी क्षेत्रमा चिनाएको छ, धेरैलाई प्रेरणा दिएको छ । उनै अनुभवी श्रेष्ठको गौरवपूर्ण जीवनयात्रा अनुभव, अनूभूति एवं विविध पक्षलाई समेटेर जीवनचक्र प्रस्तुत गरेका छौं ।

परिवारका साथ धादिङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष टापबहादुर श्रेष्ठ

तपाईंको शुभनाम, जन्ममिति र ठेगाना बताइदिनुहोस् न ।
मेरो नाम टापबहादुर श्रेष्ठ हो, म २०२४ साल भदौ १५ गते धादिङ जिल्लामा जन्मेको हुँ ।
हाल के गर्दै हुनुहुन्छ ?
शिक्षण पेसाबाट रिटाएर भएर सहकारी क्षेत्रमा काम गरिरहेको छु ।
सहकारीको नाम के हो, कत्तिको चलेको छ ?
जोगीमारा सामाजिक स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था हो, अहिले राम्रो गरी सञ्चालन भइरहेको छ ।
कमाइ पनि राम्रै गरिरहनुभएको होला नि ?
यो जनता सेयरधनी भएको सामूहिक संस्था हो । यसमा नाफाभन्दा पनि गाउँका किसानको सानातिना आर्थिक समस्या हल गरेको छ । सबै किसान यसको मालिक छन् । मचाहिँ
यसमा नाफा कमाउने तलब खाने भन्दा पनि आफनो अनुभव त्यसै खेर जान नदिऊँ, समाजकालागि केही गरूँ भनेर २०४५ सालदेखि लागेको छु ।
अहिले कुन संस्थामा काम गरिरहनुभएको छ ?
धादिङ वचत तथा ऋण सहकारी संघको अध्यक्ष भएर काम गरिरहेको छु ।
परिवारमा को को हुनुहुन्छ ?
बुवा बितिसक्नुभयो, आमा, श्रीमती, ३ छोरा, ३ बुहारी, १ छोरी १ नाति र २ नातिनी गरी १३ जना छौं ।
बुवाआमा के गर्नुहुन्थ्यो ?
कृषि पेशा गर्नुहुन्थ्यो साथै राजनीतिमा पनि वडा अध्यक्ष भएर १५ वर्षसम्म निरन्तर समाज सेवा गर्नु भयो ।
बुवाआमाको स्वभाव कस्तो थियो ?
मेहनती, परोपकारी सबैको हित चाहने समाजसेवी र धार्मिक प्रकृतिको हुनुहुन्थ्यो ।
तपाईंको नि ?
मान्यजनलाई आदर गर्ने, सानालाई माया गर्ने शालीन स्वभावको थिएँ ।
तपाईंको परिवार कुन वर्गको हो ?
काम गरेर खान पुग्ने निम्नमध्यम वर्गीय किसान परिवार हो ।
सानोमा पिट्ने, पिटाइ खाने काम कत्तिको भयो ?
पिटेको छैन, शिक्षक आन्दोलनमा प्रहरीबाट मरणासन्न हुने गरी पिटाइ खाएको छु ।
बाल्यकाल कसरी बित्यो ?
आमाबुवाको मायामा पढ्दै, खेल्दै, कुटो कोदालो गर्दै रमाईलो ढंगले बित्यो ।
स्कुले शिक्षा कहाँ कहाँ लिनुभयो ?
धादिङको बितेस प्रावि वडा नं. ७, जोगिमारा, भारपाङ मा कक्षा १ देखि ३ सम्म, कालिका निमावि धुसा गाविस वडा नं. ६, विदाङ्ग मा ४ देखि ६ सम्म र चन्द्रोदय मावि बेनिघाट गाविस वडा नं. ५ विशालटारमा ७ देखि १० सम्म पढेँ । (माथिल्लो शिक्षा प्रविणता प्रमाणपत्र आई.एड.)
शिक्षाको अवस्था र पढाइको स्तर कस्तो थियो ?
पढाइमा सेकेण्ड,थर्ड हुन्थेँ तर त्यो बेला पढ्ने कमै हुन्थे, बिद्यालय धेरै हुँदैन थिए, शिक्षाको अवस्था काहालीलाग्दो थियो ।
पढ्दा आर्थिक अभाव कत्तिको हुन्थ्यो ?
कमजोर आर्थिक अवस्थाले गर्दा कलम, कापी किन्न, फितिर्न पनि समस्या हुन्थ्यो । शिक्षकलाई तलब दिन चन्दा उठाउनुपर्दथ्यो ।
सबैभन्दा बढी खुसी भएको क्षण नि ?
गाउँमा सबैभन्दा पहिले एसएलसी पास गर्दा धेरै खुसी लागेको थियो ।
सानोमा खाने, खेल्ने कुरामा कत्तिको रूचि थियो ?
खानमा जे पाक्थ्यो त्यही खाइन्थ्यो, खेल्नमा कबड्डी र भडिबल ।
त्यो बेलाको सामाजिक अवस्था कस्तो थियो ?
पञ्चायती सामन्ती व्यवस्था, हुकुमी शासन, छुवाछूत, शोषण, उत्पीडन, अन्याय अत्याचारजस्ता सामाजिक कुरीति धेरै थिए । ठूलाबडाले भनेको मान्नु पर्ने हुन्थ्यो ।
जागिर केमा कहिले खानु भयो ?
शिक्षकमा २०४३ सालदेखि जागिर खाएँ । पछि शिक्षक पेसा छोडेर सहकारीमा लागेँ ।
तलब कति थियो,पहिलो तलब केमा खर्च गर्नुभयो ?
५ सय ७५ थियो, पहिलो पूरै तलब आमालाई लगेर दिएँ ।
विवाह कहिले, कोसँग र कसरी गर्नुभयो ?
चितवनको साविक लोथर गाविसकी सीताकुमारी श्रेष्ठसँग २०४० साल मंसिर महिनामा मागी विवाह भएको हो ।
विवाहमा कति खर्च गर्नुभयो ?
सामान्य खर्चमै विवाह सकियो ।
श्रीमतीको स्वभाव कस्तो छ ?
मेहेनती, मिलनसार, जिम्मेवार र धार्मिक स्वभावकी छिन् ।
तपाईंहरू दुईबीच कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?
त्यस्तो आजसम्म परेको छैन ।
श्रीमतीको तपाईंप्रति कस्तो अपेक्षा हुन्छ ?
श्रीमान्को सामाजिक प्रतिष्ठा बढोस्,परिवारमा समय दिए हुन्थ्यो भन्छिन् ।
धुम्रपान, मध्यपान गर्नुभयो कि भएन ?
धुम्रपान गरिनँ, मध्यपान समय र अवस्थाअनुसार गर्छु ।
राजनीतिमा कत्तिको चासो छ ?
राजनीतिलाई पेसा बनाइनँ, विद्यार्थीकालमा गरेँ, अहिले अलि अलि गरिरहेको छु ।
तपाईंलाई मन पर्ने नेता ?
मदनकुमार भण्डारी, र मनमोहन अधिकारी ।
सामाजिक सञ्जालमा कत्तिको अभ्यस्त हुनुहुन्छ ?
समय मिलाएर, फेसबुक, ट्वीटर चलाउँछु ।
कस्ता कस्ता पुस्तक बढी पढ्नु हुन्छ, मन छोएर पढेको पुस्तक कुन हो ?
सबै खालका पुस्तक पढ्छु मन छोएको बेवासुर संग्राम हो ।
तपाईंको कमजोरी नि ?
छिटो निर्णय र विश्वास गर्ने बानी ।
मन दुःखने,पछुतो लाग्ने अवस्था केही छ ?
घरको आर्थिक समस्याले जागिर खानु पर्यो, उच्चशिक्षा पूरा लिन पाइनँ त्यसले अहिले मन दुःखाउँछ, पछुतो लागेको छ ।

जिवनचक्र

पारिवरिक पृष्ठभूमि र बाल्यकाल

बुवा बुद्धिनारायण श्रेष्ठ र आमा मैया श्रेष्ठको कोखबाट २०२४ साल भदौ १५ गते धादिङ जिल्लामा जन्मनुभएका ताबबहादुर श्रेष्ठको बाल्यकाल सामान्य रूपमा गाउँमै बितेको थियो । उहाँँ सानो छदाँ इमान्दार,आज्ञाकारी,मिलनसार र समाजसेवी हुनुहुन्थ्यो रे । उहाँलाई बुवाआमाले मात्र होइन, सबैले मन पराउने र माया गर्ने गर्दथे रे । उहाँँका बुवा गाउँको जिम्माल र वडा अध्यक्ष भएर समाजसेवाका काम गर्नुभएकोले उहाँँको पनि सानै उमेरदेखि समाजसेवामा लगाव भएको उहाँँ बताउनुहुन्छ । मुख्य पेसा कृषि नै भए पनि बुवा साक्षर, राजनीतिकर्मी र समाजसेवी भएकाले उहाँँको शिक्षाप्रतिको रूचि गहिरो देखिन्छ । २०४० साल मंसिरमा श्रीमती सीताकुमारी श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिनु भएका श्रेष्ठका ३ छोरा प्रकाशचन्द्र, प्रदीप र हेमन्त र एक छोरी गीताकुमारी श्रेष्ठ हुनुहुन्छ । उहाँँका सबै छोराछोरीको विवाह भइसकेको छ । हाल उहाँँका छोरा,बुहारी, छोरी, नाति नातिनी गरेर १३ जनाको परिवार छ । राजनीति,समाजसेवा र शिक्षामा जोडिएको उहाँँको परिवार गाउँमा सामाजिक प्रतिष्ठामा पनि अगाडि नै रहेको छ । उहाँँको परिवार सभ्य, सुसंस्कृत, सबैको मिलन केन्द्र, परोपकारी, प्रगतिशील र शिक्षित देखिन्छ ।

 

शिक्षा र समाजसेवा

निम्नमध्यम वर्गीय परिविारमा जन्मनु भएका ताबबहादुर श्रेष्ठ पढाइमा अब्बल स्तरको विद्यार्थीमा पर्नु हुदोँरहेछ । उहाँँले प्रारम्भिक शिक्षा धादिङको बितेस आधारभूत प्राविमा लिनुभयो भने एसएलसी कालिका मावि ओराङबाट सम्पन्न गर्नुभएको छ । उच्चशिक्षा काठमाडौंमा लिनुभएका उहाँँले २०४३ सालदेखि आफैँले ३ सम्म पढेको विद्यालय बितेस आधारभूत प्राविमा अस्थायी र स्थायी शिक्षकको रूपमा २८ वर्ष ६ महिना अध्यापन गराउनुभएको छ ।
उहाँँले खानेपानी उपभोक्ता समिति सदस्य, मानवअधिकार तथा सामाजिक सचेतना अभिवृद्धि कार्यक्रम धादिङ जिल्लाको कार्यकर्ता,सामुदायिक संस्थाको प्रबन्धक, जोगीमारा सामुदायिक परिवारको अध्यक्ष,लालीगुराँस सामुदायिक वन उपभोक्ता समिति सचिव,स्थानीय विकास कोष धादिङको सदस्य, नेपाल लोकतान्त्रिक नेवा संघको केन्द्रीय सदस्यलगायत विभिन्न विकास निर्माणसम्बन्धी उपभोक्ता समितिमा रहेर गाउँका किसान मजदुरको उन्नति प्रगतिमा महत्वपूर्ण योगदान गर्नुभएको छ । त्यतिमात्र होइन, उहाँँले दर्जनौं संस्थामा सल्लाहकार र नेकपाका विभिन्न पदमा रहेर समाजसेवाका काम गरिरहनु भएको छ ।

सहकारी आन्दोलन र यात्रा

बाल्यकालदेखि नै समाजसेवामा रूचि राख्ने ताबबहादुर श्रेष्ठ शिक्षण पेसामै रहँदा २०४५ सालदेखि आईडीएस भन्ने संस्थामार्फत सहकारी आन्दोलनमा जोडिनुभएको हो । त्यो संस्थाले त्यतिबेलैदेखि गाउँका किसानको हितमा काम गर्ने गरी गाउँ गाउँमा किसानको समूह बनाएर सानो सानो पूँजी संकलन गरेर मल बीउ, उन्नत, उन्नत जातका राँगा किन्न, उन्नत तरिकाले कृषि गर्न, अप्ठ्यारो परेका बेला त्यहाँबाट संकलित रकम फिर्ता गर्ने गरी ऋणमा दिनेलगायतका काम गरिरहेको थियो । त्यसलाई उहाँँले विस्तार गरेर २०५१ सालमा गाविसस्तरमा ९ वटा समूह बनाउने महत्वपूर्ण भूमिका समेत निर्वाह गर्नुभएको थियो । शिक्षण पेसाका साथै उहाँँले गाउँका किसानको हितका साथै विकास निर्माणको काम गर्न थालेपछि २०५६ सालमा गाउँमा सबैको सल्लाहले सहकारीमार्फत त्यसलाई निरन्तरता दिने गरी उहाँँकै अध्यक्षतामा जोगीमारा सामाजिक स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था बनाएको उहाँँ बताउनुहुन्छ । उहाँँले त्यो संस्थामा २९ जना सेयर सदस्यबाट एक एक सय रुपैयाँ जम्मा गरेर प्रत्येक महिना ५ रुपैयाँ जम्मा गरी कोष बनाएर सञ्चालन गरेको बताउनुहुन्छ । लामो समय उक्त संस्थाको अध्यक्ष रहेर काम गर्नुभएका श्रेष्ठ हाल उक्त संस्थाको संस्थापक सल्लाहकार हुनुहुन्छ । उहाँँले त्यसरी सञ्चालन गरेको सहकारी १५ वर्षमा अहिले १५ सय सेयरसदस्यसहित ५ करोडको कारोबार गर्ने सहकारीमा रूपान्तरण भएको छ । त्यसको अहिले पनि आफू सल्लाकार रहेको र उक्त सहकारी थप उत्साहाका साथ अगाडि बढिरहेकामा आफूलाई ज्यादै खुसी लागेको उहाँँ बताउनुहुन्छ । २०५७ सालमा धादिङमा धादिङ वचत तथा ऋण सहकारी संघको स्थापना भएपछि त्यसको सदस्य, कोषाध्यक्ष, लेखा सुपरीवेक्षण संयोजक, सचिवहुँदै हाल अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक समालीरहनुभएको छ । हालै गठन भएको बागमती प्रदेश वचत तथा ऋण सहकारी संघ तदर्थ समितिको कोषाध्यक्ष,केन्द्रीय वचत तथा ऋण सहकारी संघ लिमिटेडको बागमती प्रदेश उपसमितिको सदस्य र धादिङ जिल्ला सहकारी संघको सञ्चालक सदस्य रहेर काम गरिरहनुभएका श्रेष्ठ गाउँटोल, समाज र जिल्लाकै विकास निर्माणमा योजनाबद्ध रूपले काम गर्ने समाजसेवी सहकारी अभियन्ता हुनुहुन्छ । उहाँँ किसानलाई सीप विकासका तालिम दिने,आधुनिक कृषिका लागि उचित सल्लाह दिने, कृषकलाई गाह्रो खाँचो परेका बेला ऋण उपलब्ध गराइदिनेलगायत समाजसेवाका काममा दत्तचित्त भएर लागिरहनुहुन्छ । उहाँँले उक्त गाउँलाई शिक्षाको माध्यमबाट मात्र होइन, त्यो गाउँको अगुवा बुद्धिजीवी, समाजसेवी र राजनीतिज्ञको रूपमा आवश्यक सेवा सहयोग र योगदान गरिरहनुभएको छ

राजनीतिक यात्रा

बाल्यकालदेखि नै समाजसेवामा गहिरो रूचि राख्नुहुने ताबबहादुर श्रेष्ठले १० कक्षा पढ्दादेखि नै राजनीतिक यात्रा आरम्भ गर्नुभएको हो । बुवा पनि राजनीतिमै भएकाले उहाँँको त्यसप्रतिको छाप गहिरो रहेको उहाँँ बताउनुहुन्छ । सामन्ती व्यवस्थाको अन्त्य र प्रगतिशील समाजको स्थापनाको लागि स्थापना भएको पार्टी नेपाल कम्युनिस्ट पार्टी मालेमा रहेर विद्यार्थीकालदेखि राजनीति गर्नुभएका श्रेष्ठले २०३८ सालमा चन्द्रोदय माविमा कक्षा १० मा अध्ययन गर्दा अनेरास्ववियु प्राक सदस्यमा रहेर काम गर्नुभएको थियो । २०३९ सालमा धादिङको पाँचौ जिल्ला सम्मेलनबाट अध्यक्ष चयन हुनुभएका श्रेष्ठ २०४१ सालमा अनेरास्ववियु बागमती दोस्रो सम्मेलन आयोजक कमिटी सदस्य र २०४३ सालदेखि ४६ सालसम्म तत्कालीन इलाका नं ३ एक को एरिया (एपीएजी) सदस्य भएर काम गर्नुभएको थियो । २०४० साल साउन १२ गते पार्टीको औपचारिक संगठित सदस्यता लिनुभएका उहाँँले २०४७ सालदेखि ६४ सालसम्म जोगीमारा गाउँ कमिटी सचिव भएर काम गर्नुभएको थियो । २०५५ सालमा क्षेत्र नं ३ निर्वाचन क्षेत्रीय कमिटी सदस्य,धादिङको चौथो जिल्ला अधिवेशनबाट सल्लाहकार सदस्य, २०६४ सालमा जिल्ला कमिटी सदस्यमा मनोनीतहुँदै २०६६ सालमा जिल्ला कमिटीमा खुल्ला सदस्यमा निवार्चित भएर काम गरिरहनुभएको उहाँँ त्यस बेलादेखि हालसम्म जिल्ला कमिटी सदस्यको रूपमा पार्टीका योगदान दिइरहनुभएको छ । २०४७ सालमा शिक्षक संगठनको देशव्यापी आन्दोलनमा विद्यार्थी नेताको रूपमा त्यो आन्दोलनमा सहभागी हुँदा चरौँदीमा रूख ढालेर पञ्चायती सत्ताका विरुद्ध ब्यारिकेट खडा गर्दा तत्कालीन प्रहरीले मरणासन्न हुनेगरी पिट्नुका साथै तीन महिना वारेन्टसमेत व्यहोरेको उहाँँ बताउनुहुन्छ । श्रेष्ठ विभिन्न आन्दोलनमा गरी दुईपटक हिरासतमा समेत बस्नुभएको छ । २०३८ सालदेखि विना कुनै लाभको पदमा रहेर देश, जनता र पार्टीका लागि इमान र निष्ठाका साथ निरन्तर खटिरहने श्रेष्ठ धादिङे जनताका लागि मात्र होइन, सबैका लागि आदर्श व्यक्तित्व हुनुहुन्छ ।

अनुभव र अनुभूति

शिक्षा, सहकारी र समाजसेवाको क्षेत्रबाट समृद्धि भित्र्याउन हामफाल्नु भएका ताबबहादुर श्रेष्ठलाई आफ्नो काम र जीवनदेखि कुनै गुनासो छैन रे । यसै सन्दर्भमा उहाँँ भन्नुहुन्छ ‘अहिले हरेक मान्छे सफल हुनका लागि समान र सामूहिक उत्तरदायित्वका साथ काम गर्नुपर्छ, हरेक कामलाई चुनौतीको रूपमा लिनुपर्छ र विवेकपूर्ण रूपमा सम्पन्न गर्नु पर्छ । यसो गर्न सकेमा मान्छे सफल बन्छ ।’ यो उहाँँको तर्क हो, यही तर्कमा उहाँँका कर्म र दिनचर्याहरू चलिरहेका छन् र उहाँँले सफलता पनि पाइरहनुभएको छ । उहाँँका भनाइलाई गहिरिएर हेर्ने हो भने यहाँको जीवन यसैगरी अगाडि बढेको देखिन्छ । उहाँँले सुखद र दुःखद थुप्रै खालका अनुभव र अनुभूति संगाल्नु भएको छ । उहाँँले शिक्षक भएर काम गरेको सुखद अवस्थादेखि सहकारी जिल्ला संघको अध्यक्ष र हालको नेपाल कम्युनिस्ट पार्टी नेकपाको जिल्ला नेतासमेत भएर काम गर्नुभएको छ । यसरी काम गर्दा उहाँँले ज्ञान, तालिम र ऋण दिएर थुप्रै किसानको जीवन बदल्नुभएको छ, कतिपय मान्छेको आर्थिक हैसियत ह्वात्तै माथि पु¥याइदिनुभएको छ । यी सबै कुरा गर्न, गराउन र सिक्न उहाँँले थुप्रै संघर्षका उकाली ओराली छिचोल्नुभएको छ ।

त्याग र समर्पण

विद्यार्थी अवस्थादेखि नै समाजप्रति सचेत र समर्पित ताबबहादुर श्रेष्ठले जीवनको परवाह नगरी सबै जोखिमसँग लड्नु भयो, भूमिगत जीवनको कठिनतम् अवस्थामा विद्यार्थी संगठन र पार्टीलाई बचाउनु भयो, सबैको मन जितेर जिल्लाको सक्रिय राजनीति गर्नुभयो, पार्टीमा योगदान गर्नुभयो, जिल्लावासीको विकास निर्माणमा भूमिका खेल्नुभयो, अप्ठ्यारोमा परेका गाउँलेहरूलाई सहयोग गर्नुभयो,यो उहाँँको राजनीतिक त्याग र समर्पण हो ।

समृद्धिमा सहकारी

नेकपाका जिल्ला सदस्य ताबबहादुर श्रेष्ठ कम्युनिस्ट पार्टीको कार्यकर्ता मात्र होइन, सहकारी अभियन्तासमेत हुनुहुन्छ । पार्टीको स्थानीय र जिल्लामा विभिन्न तहको प्रमुख भएर काम गरिसक्नुभएका श्रेष्ठ मुलुकमा शान्ति,स्थिरता, विकास र समृद्धि ल्याउनमा नेकपाको सरकार लागिरहेको र यसमा सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुहुन्छ । उहाँँ संविधानमै सहकारीको भूमिका उल्लेख भएको बताउँदै तीनखम्बे अर्थनीतिमध्येको एक खम्बा सहकारी क्षेत्रको विकास नभई वा सहकारीलाई आमजनतामा नजोडी र सहकारीको माध्यमबाट उत्पादनमा नजोडी मुलुकको विकास हुन नसक्ने उहाँँको धारणा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक क्रान्तिको युग सुरु गर्नुभए पनि त्यसमा नेपालको कर्मचारीतन्त्र र नेपाली कांग्रेसले पटक्कै सहयोग नगरेकोले जनताले सोचेअनुरूप काम हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै जनता सुखी नहुञ्जेल कुनै पनि नेताले आफूलाई केन्द्रमा राख्न नहुने, देश र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्नेमा जोड दिनु हुन्छ । अहिले दुई तिहाईको स्थिर सरकार निर्माण भएकोले भ्रष्टाचारको अन्त्य , शान्ति, सुुशासनको सुरुवात, कृषिको आधुनिकीकरण, पर्यटन, यातायात र हाइड्रोको विकास,आधुनिक प्रविधिको उच्चतम प्रयोगलगायत सबै विकास निर्माण र उत्पादनको क्षेत्रमा सहकारीलाई जोडेर सहकारीमार्फत नै सबै कुराको विकास अगाडि बढाउन सके, त्यो सिस्टममा मुलुकलाई हाल्न सके देश चाँडै समृद्ध बन्ने उहाँँको तर्क छ ।

स्वभाव र शैली

अधिकांश समय राजनीति र विकासमा लगाउने ताबबहादुर श्रेष्ठ मेहेनती , मिलनसार, स्वाभिमानी, अर्काको हितमा काम गर्न उत्साहित हुने, देश, जनता र पार्टीका लागि जस्तोसुकै योगदान गर्न तयार हुने क्रियाशील नेता, समाजसेवी एवं सहकारी अभियन्तामा पर्नुहुन्छ । हरेक कामलाई परिणाममा हेर्ने र उत्पादनमा जोडिन चाहने उहाँँ सबैलाई सिर्जनशील र दक्ष बन्न प्रेरित गर्नुहुन्छ । उहाँँको परिवार पनि अप्ठ्यारो परेकालाई सहयोग गर्ने, जनताको काममा लाग्ने भएकोले उहाँँ पनि अवस्था, आवश्यकता र सामथ्र्यअनुसार सबैलाई सहयोग गर्नुहुन्छ, आफूलाई जनताको सेवक ठान्नुहुन्छ र त्यहीअनुसारको आचरण र व्यवहार गर्नुहुन्छ । यसले उहाँँलाई अगाडि बढ्न सहयोग पु¥याएको छ । उहाँँ नेकपाको जिल्ला नेता, सहकारी अभियन्ता र अग्रणी समाजसेवी भए पनि सबैलाई आफूसमान देख्नुहुन्छ त्यहीअनुसारको व्यवहार गर्नुहुन्छ, जनताको काममा लागिरहनुहुन्छ, समाजलाई केही दिएर मरौं भन्ने सकारात्मक सोच राख्नुहुन्छ । यही सोच, शैली,व्यवहार र स्वभावले उहाँँलाई असल नेता र समाजसेवी बनाएको छ ।

जीवनलाई फर्केर हेर्दा

राजनीति गर्दा होस् वा सहकारी आन्दोलनमा होस्, निजी जीवनका काम गर्दा होस् वा विकास निर्माणका काम गर्दा होस्, जस्तोसुकै चुनौती छिचोल्न तयार हुने ताबबहादुर श्रेष्ठ देश र जनताको पक्षमा लड्ने नेतामा पर्नुहुन्छ किनकी गरिब किसान परिवारबाट आएको एउटा किसानको छोरा राजनीतिक उतार चढावका थुप्रै छालहरू पार गरेर गरिबी पन्छाउँदै निरङकुशतासँग लड्दै जनताको सेवामा अविचलित लागिरहनु चानचुने विषय होइन, जुन उहाँँले गर्नुभयो । पार्टीको संगठन विस्तारदेखि सहकारीमार्फत गाउँ गाउँमा रोगजारीको सिर्जना गर्नुभयो, यो उहाँँको असल कर्म हो । यही कर्मले उहाँँलाई यो उचाइ दिएको छ, जिल्ला र प्रदेशले चिन्ने नेता बनाएको छ । यो उहाँँ र उहाँको परिवारका लागि आत्मसन्तुष्टिको विषय हो ।