कानुन मिचेर सुशासन र समृद्धि प्राप्त हुँदैन: जनक प्रसाद दाहाल


जनक प्रसाद दाहाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौंं

यहाँको नेतृत्वमा काठमाडौंं जिल्ला प्रशासन कार्यालयले के कस्ता काम के कसरी गरिरहेको छ ?

काठमाडौंं जिल्ला प्रशासन कार्यालयको मख्य काम काठमाडौंं जिल्लाभित्रको अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने हो । यससँगै सुशासन कायम गर्ने, अन्तर्निकाय समन्वय गर्ने कुरा विपद् जोखिम न्यूनीकरण गर्ने कुरा, विकास निर्माणका काममा सहजीकरण गर्ने कुरा, नागरिकता, राहादानी वितरण गर्ने कुराहरूलगायत नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत कानुनले दिएका जिम्मेवारी निर्वाह गर्ने, कानुन कार्यान्वयन गराउनेदेखि कार्यालयका कामहरू सुव्यवस्थित रूपले सञ्चालन गर्ने गराउने काम यो कार्यालयले गर्छ, त्यही काम मैले गरिरहेको छु ।

यसै सन्दर्भमा म यो कार्यालयमा आएको १ वर्ष भएको छ । यो बीचमा मेरो नेतृत्वको जिल्ला सुरक्षा समितिको टिमले महामहिम चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला शान्ति सुरक्षाको काम अत्यन्तै भरपर्दो व्यवस्थित, सुरक्षित र विश्वसनीय रूपले सम्पन्न गर्न सफल भयो । काठमाडौंं जिल्ला संघीय राजधानी पनि भएको हुनाले यसमा ७७ जिल्लाका विभिन्न पेसा, वर्ग, जात,भाषाका जनसमुदाय यहाँ बस्ने भएकोले र बाहिर केही घटना भए पनि त्यसको असर यहाँ पर्ने भएका कारण विभिन्न किसिमका आन्दोलन बन्द, हड्ताल, धर्ना,जुलुस,ज्ञापनपत्र बुझाउनेदेखि हरेक खालका गतिविधि यहाँ हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने कुराहरू पनि हाम्रो जिम्मेवारीभित्र पर्दछ । त्यो काम हामीले कुशलताका साथ सम्पन्न गरिरहेका छौंं । अर्को, विकास निर्माणका कामलाई पनि हामीले समन्वय, संयोजन र सहजीकरण गर्ने काम गरिरहेका छांै । यस अन्तर्गत बागमती सुधार आयोजनालगायत विभिन्न कोरिडोरहरू निर्माण गर्ने, सडक निर्माणका काममा समन्वय गर्ने, त्यसमा दिनुपर्ने मुआब्जा वितरणको कामान समन्वय गर्ने,फास्टट्र्याकको मुआब्जा वितरण गर्ने काम सम्पन्न गर्ने, धरहरा निर्माणको काममा मजदुर ल्याउने, सामान ल्याउने काममा समन्वय र सहजीकरण गर्ने, नागढुङगा सुरुङमार्गको काम सम्माननीय प्रधानमन्त्रीले उद्घाटन नै गरिसक्नुभएको छ, केही बाँकी रहेको काम पनि हामीले सम्पन्न गर्न लागेका छौंं । धेरै अघि सम्पन्न गरिसक्नु पर्ने भए पनि सम्पन्न हुन नसकेको तीनकुनेको जग्गा अधिग्रहण गर्ने काम चाँडै सम्पन्न गर्ने गरी ट्र्याकमा हालिसकेका छौंं । चक्रपथ निर्माणको पहिलो खण्ड हामीले सम्पन्न गरिसकेका छौं, बाँकी रहेको दोश्रो फेजको काम पनि चाँडै सक्ने गरी जग्गा अधिग्रहण गर्ने काम अगाडि बढाइरहेका छौं । यो काम पनि सम्पन्न हुने पाइपलाइनमा छ । त्यसैगरी, काठमाडौंका विकास निर्माणका अन्य कामदेखि राजधानी काठमाडौंलाई सुन्दर बनाउने काम पनि हामीले सम्पन्न गर्नु पर्ने छ । सम्माननीय प्रधानमन्त्रीकै निर्देशनमा लकडाउनकै बेला सडक विभागको सक्रियतामा हाम्रो समन्वय र सहजीकरणमा काठमाडौंका सडक निर्माण गर्ने, पिच गर्ने कामहरू सम्पन्न गरेका छौं । अर्को चुनौतीपूर्ण कार्य कोरोना महामारीको बेला काठमाडौंका आम नागरिकको जीवनलाई सुव्यवस्थित बनाउनेदेखि यसमा अपनाउनु पर्ने सुरक्षाका विधिहरू सिकाउने, पालना गराउने, सुरक्षा रणनीतिहरू अपनाएर नागरिकको जिउधनको सुरक्षा गर्ने, लकडाउनको पूर्ण पालना गराउने, आवागमनमा रोक लगाउने, त्यसको पालना भए नभएको अनुगमन गर्ने, बाहिरबाट आएका नेपालीहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्ने, बस्न प्रोत्साहन गर्ने, स्वास्थ्यसम्बन्धी प्रोटोकलहरू पालना गराउनुपर्ने, मन्त्रालयले दिएको निर्देशिकाअनुसारको सुरक्षा पासहरू वितरण गर्नु पर्ने, त्यसको पालना भएको छ कि छैन भनेर अनुगमन गर्नु पर्ने महामारीको मौका छोपी गर्ने गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिने, मालसामान जफत गरेर सम्बन्धित निकायमा बुझाई त्यस्ता व्यक्ति वा संस्थाहरूलाई आवश्यक कानुनी कारबाही गर्ने, अप्ठयारो बेलामा हुने चोरी व्यापारी, तस्करी, कालोबजारी,मूल्य वृद्धि, कृत्रिम अभाव जस्ता गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्ने जस्ता काम पनि हामीले प्रभावकारी ढंगले सम्पन्न गर्नु पर्ने थियो । त्यो हामीले विभिन्न चुनौतीका बावजुद सम्पन्न ग¥यौं । यही सिलसिलामा हामीले महङ्गो मूल्यमा बेच्न लागेको २० लाख थान माक्स जफत गरेर कारबाही ग¥यौं र त्यसलाई साझामार्फत न्यूनतम मूल्यमा जनतालाई वितरण गर्न लगायौं । त्यस्तै थर्मल गनको काला व्यापारीलाई समातेर कारबाही ग¥यौं । जस्ले गर्दा अन्य काला बजारियाको गतिविधि हुन सकेन भने वस्तुहरूको आपूर्तिलाई पनि व्यवस्थित ग¥यौं । कोरोना महामारीका बेलामा कतिपय अलपत्र परेका मजदुरहरूलाई घर पठाउने कुरामा सहजीकरण गर्ने राहत वितरणमा स्थानीय सरकारलाई सहयोग गर्ने, उसँग समन्वय गर्ने काम ग¥यौं । अहिले सरकारले लकडाउन अन्त्य गरेको छ तर कोरोना महामारीको अन्त्य भएको छैन । यसलाई मध्यनजर गरेर सतर्कता अपनाउने, समुदायमा फैलन नदिन सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य लगाउने, सेनिटाइजरको प्रयोग गर्न लगाउनेदेखि स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न लगाउनेदेखि अपराध नियन्त्रण र शान्ति सुरक्षाका कामलाई प्रभाकारी ढंगले अगाडि बढाइरहेका छौं । म यहाँ आइसकेपछि कार्यालयको कार्यविधि तयार गरेको छु, त्यसैगरी तीन तीन महिनामा मैले गरेका कामहरूको पारदर्शी विवरण प्रतिवेदन तयार पार्ने गरेको छु । त्यसैगरी, नेपाल सरकारको सुशासनका लागि शून्य सहनशीलता र सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई शिरमा राखेर र छातीमा हात राखेर यो अभियान पूरा गर्ने उद्देश्यका साथ कुनै प्रलोभनमा नपरी इमान्दारिताका साथ काम गरिरहेको छु, मेरो कार्यालयको सिंगो कर्मचारी साथीहरूलाई पनि अभियानका साथ काम गर्न निर्देशन गरेको छु, आग्रह गरेको छु । यहाँका सबै कर्मचारी साथीहरूले सोही उद्देश्यका साथ काम गरिरहनुभएको छ । गर तीन तीन महिने जस्ले गर्दा काठमाडौंको सुरक्षा अवस्था राम्रो भरपर्दो र बिश्वसनिय बनिरहेको छ । यो कुरा यहाँहरू जस्ता सञ्चारकर्मीहरूले पनि देखिरहनुभएको छ, अनुभूूत गरिरहनुभएको छ । यसलाई जस्ताको तस्तै समाजमा लाने काममा यहाँहरूको पनि महत्वपूर्ण भुमिका छ, हुन्छ ।

छिमेकी मुलुकमा कोरोना संक्रमण बढिरहेको बेला अन्य तरिकाहरू नअपनाई, परिस्थिति सहज नबन्दै लकडाउन अन्त्य भयो यसले अब संक्रमण ज्यादा हुन्छ, महामारी झन् बढ्ने भयो भन्ने गुनासो स्वास्थ्यविज्ञहरूले नै गरेका छन् । अब सुरक्षा चुनौती झन् थपियो कसरी व्यवस्थापन गर्नुहुन्छ,तयारी के छ ?

सरकारले बनाएको कोरोना व्यवस्थापन न्यूनीकरण केन्द्रीय समिति माथि छ । त्यसको अण्डरमा सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समिति छ । यसले सबै जिल्लामा काम गर्छ, जोखिम कहाँ कहाँ छ, त्यसलाई कसरी न्यूनीकरण गर्ने, कसरी व्यवस्थापन गर्ने जिल्लाभित्रको सबै सुरक्षा संयन्त्रको मिटिङ गरेर स्थानीय सरकारसँग पनि समन्वय गरेर दैनिक काम गर्छ । जसले गर्दा यसले आफ्ना काम र गतिविधि प्रभावकारी ढंगले गरिरहेको छ । जहाँसम्म छिमेकी मुलुकमा संक्रमण फैलिरहेको अवस्थामा यहाँ लकडाउन अन्त्य गरियो भन्ने कुरा छ यसमा सरकारले, यससँग सम्बन्धित विज्ञहरूले अध्ययन गरी बुझी नखोल्दाको यसको असर र खोल्दाको असरको अध्ययन गरिवरि नै काम गरेको छ, जनताको दैनिक अवस्थादेखि अर्थतन्त्रको अवस्था र आमव्यावसायीहरूको सुझावअनुसार नै सरकारले यो काम गरेको छ । फेरि लकडाउन नै समस्याको एक मात्र समाधान पनि होइन, रोग, भोक र जनताको आर्थिक गतिविधिलाई पनि ध्यानमा राखेर काम गर्नु पर्ने अवस्थाले विज्ञहरूको सल्लाहअनुसार स्वास्थ्य मापदण्डलाई निरन्तरता दिने गरी साबुन पानीले हात धुने, सामाजिक दूरी कायमै गर्ने गरी, माक्स र सेनिटाइजरको नियमित प्रयोग गर्ने र व्यावसायीले पनि स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्ने गरी सरकारले यो लकडाउनको अन्त्य गरेको हो । यसमा सबै सचेत हुनैपर्छ । यसमा सरकारले कडाई गर्ने सरकारले गर भन्दा गर्ने नभन्दा नगर्ने भन्ने कुरा होइन एकबाट अर्कोलाई रोग नसरोस्,समुदायस्तरमा संक्रमण नफैलियोस् भनेर सबै नागरिक आफँै सतर्क हुनपर्छ र आफू पनि बाँच्नुपर्छ अरूलाई पनि बचाउनुपर्छ । यसमा सरकारले कडाई गर्ने कारबाही गर्ने भन्दा पनि स्वअनुशासनमा बस्नुपर्छ । यसो नगर्दा जथाभावी गर्दा सरकारले होइन, कोरोना महामारीले कारबाही गर्छ भन्ने कुराको ज्ञान सबैमा हुनुपर्छ । यसो भएको खण्डमा यो महामारीबाट आफू पनि बच्न सकिन्छ, अरूलाई पनि बचाउन सकिन्छ । यसर्थ हामीले पनि यही कुरालाई नागरिकमा प्रभावकारी रूपले लैजाने, स्वास्थ्य प्रोटोकल पूरा गर्न प्रोत्साहित गर्ने,सामाजिक दूरी कायम गर्ने, माक्स र सेनिटाइजर प्रयोग गर्न आग्रह गर्ने, नेपाल सरकारले दिएको निर्देशन सबैले मान्ने कुरालाई प्रभावकारी रूपले लैजाने सरकारको निर्देशन उल्लंघन गर्नेलाई जरिवाना गर्ने कुरालाई कडाई गर्ने लगायत यिनै कुरामा हामीले जोड दिएका छौं, सूचना जारी गरेका छौं । यसमा थप कडाई गर्छौं । यसमा हामीले कडाई गर्ने भन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्छ । सरकारले जनताको जीवन सहजताका लागि,व्यवसाय सहजताका लागि यो निर्णय गरेको हो, यसले भएन, फेरि संक्रमण व्यापक फैलियो भने फेरि सरकारले अर्को निर्णय गर्न सक्छ । यसमा सबै गम्भीर बन्नुपर्छ, जोगिएर हिँड्नुपर्छ ज्यानभन्दा ठूलोे केही होइन भन्ने मलाई लाग्छ ।

कतिपय विकसित देशमा कोरोना संक्रमणले लाखौं मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा यसको संक्रमण र क्षतिको अवस्था न्यून देखिनुको पछाडि सरकारी निकायले राम्रो काम गरेर हो कि जनताको सतर्कता बढी भएर यो भएको भन्ने ठान्नुहुन्छ ?

पहिलो कुरा त यहाँका नागरिकहरूमै सचेतनता, सतर्कता बढी देखियो, सरकारको निर्देशन नागरिकले इमान्दारिताका साथ कार्यान्वयन गरे । घरभित्रै बस है भनेको नागरिकले माने, धैर्य धारण गरेर बसे, जसले गर्दा यो अवस्था आएको हो । त्यसैले यहाँका नागरिक नै महान् हुन्,जसलाई म स्यालुट गर्न चाहन्छु । मैले कोर फ्रन्टमा बसेर काम गरेको छु, हामीले भनेको नागरिकले नमानेका भए मैले हर्कानु पर्दथ्यो होला, बल प्रयोग गर्नु पर्दथ्यो होला तर हाम्रा नागरिक इमान्दार र अनुशासित भएकाले त्यो गर्ने भन्ने अवस्थाको सृजना नै भएन । अर्को, सरकारले गरेको सुझबुझ र बुद्धिमत्तापूर्ण निर्णयले समयमै लकडाउन ग¥यो, त्यसले महामारी रोक्नमा ठूलोे काम ग¥यो र तेश्रो सरकारका निकायले पनि प्रभावकारी ढंगले काम गरे, अन्तर्निकाय समन्वय राम्रो भयो, अर्को हाम्रो खानपान र इम्युन पावर राम्रो भएकोले पनि कोरोना व्यापक हुन पाएन त्यसैले यस्तो परिणाम आयो होला भन्ने मलाई लाग्छ । यद्यपि, म यसको विज्ञ भने होइन ।

यहाँले यसो भनिरहँदा र सरकारले लकडाउन अन्त्य गरिसकेको अवस्थामा अहिले कोरोनाकै अन्त्य भयो अब सतर्क रहनुपर्दैन, खुला रूपले सबै गतिविधि गरे हुन्छ जस्तो गरेर मानिसहरू सडकमा आएका छन्,सवारी साधन गुड्न थालेका छन्, सडक जाम हुन थालेको छ, सामाजिक दूरी कायम हुन छोडेको छ, माक्स, सेनिटाइजरको प्रयोग राम्ररी हुन छोडेको छ, यसले त चुनौती थपिरहेको देखिन्छ नि । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ,अन्तर्निकाय समन्वय कसरी गर्नुहुन्छ ? माथिल्लो निकायबाट कतिको प्रेसर आउँछ तपाईंको टिमको कत्तिको सहयोग छ ?

हो यहाँले भने जस्तै अहिले नागरिकको जीवन सञ्चालनका लागि आर्थिक गतिविधि सहज बनाउन सरकारले लकडाउनको अन्त्य गरेको हो तर कोरोना महामारीको जोखिम कम भएको छैन भन्ने कुरा नागरिकले आफैँ बुझ्नुपर्छ, यो कुरा सरकारका निकाय र सञ्चार क्षेत्रले सूचना प्रवाह गरिरहेका छन् । यसलाई ध्यान दिनुपर्छ । यो कसैले कसैलाई कारबाही गर्ने भन्दा पनि स्वअनुशासनमा बस्नुपर्छ । आफू बच्ने र अरूलाई बचाउने काम सबै नागरिकले गर्नुपर्छ नत्र मैले माथि भनेझँ यसो गरिएन, अनुशासनहीन भइयो, सतर्कता अपनाइएन भने कोरोनाले हामीलाई कारबाही गर्छ भन्ने कुराको हेक्का सबैलाई हुनपर्छ भन्ने मलाई लाग्छ । अर्को कोरोना भाइरस नियन्त्रणमा सरकारको निर्देशन पालना गर्न र पालना गर्न लगाउने कुरामा अन्तर्निकाय समन्वय राम्रो छ, प्रभावकारी रूपमा भइरहेको छ । यसमा कुनैले तलमाथि गरेका छैनन् । एकले अर्कालाई सहयोग नै गरिरहेका छन । जस्ले गर्दा काम राम्ररी सञ्चालन भइरहेको छ, शान्ति सुरक्षा र आपराधिक घटना हुन पाएका छैनन् । यसलाई मध्यनजर गरेर नै हामीले काम गरिरहेका छौं । सरकारले दिएको निर्देशनबमोजिम काम गरिरहेको छौं, कानुन कार्यान्वयन सहज रूपमा गरिरहेका छौं । जहाँसम्म माथिल्लो निकायबाट प्रेसर आउँछ कि आउँदैन, मेरो मान्छेलाई यस्तो गरिदिनु प¥यो भन्ने कुरा आउँछ कि आउँदैन भन्नुभयो यसमा मलाई प्रेसर होइन ढाडस नै आएको छ, प्रेसर आएको छैन । कतिपय सन्दर्भमा बरू नागरिकस्तरबाटै मलाई यस्तो सहयोग गरिदिनु प¥यो, मलाई यो अप्ठ्यारो भयो, यसो गरिदिनु प¥यो पास दिनु प¥यो भन्ने कुरा आउँछ तर कानुनविपरीत हुने कुरा, सरकारको निर्देशनको उल्लंघन हुने कुरा र महामारी फैलने विषयमा, सुरक्षा जटिलता हुने कुरामा म कम्परमाइज गरेर काम गर्दिनँ, जनताको हित, समाजको हित हुने कुराको ख्याल गरेर दबाब प्रभावमा नपरी कसैको कुनै पनि लोभ लालचमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्छु । जुन उद्देश्यका लागि नेपाल सरकारले मलाई यो जिम्मेवारी निर्वाह गर्ने ठाउँमा ल्याएको छ, मेरो व्यवसायी क्षमताले, अनुभवले भ्याएसम्म इमान्दारिताका साथ आफ्नो व्यावसायिक धर्म निर्वाह गर्छु, गरिरहेको छु । मेरो कार्यालयलाई पनि त्यस्तै बनाउने गरी काम गरिरहेको छु । जसले गर्दा काठमाडौंको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सन्तोषजनक कामहरू भइरहेका छन् । अझ भोलिका दिनमा राजधानी काठमाडौंलाई रामराज्य बनाउने हाम्रो उद्देश्य छ । त्यही उद्देश्य र योजनाका साथ हामीले काम गरिरहेका छौं, सिंगो जिल्ला प्रशासन त्यसैगरी लागेको छ, मेरो कार्यालयको सिंगो टिमले मलाई साथ रहयोग र हौसला दिई काममा सघाइरहेको छ । जहाँसम्म, लकडाउन खोल्दा सामाजिक दूरी राख्न छाडिएको, सुरक्षाका मापदण्ड नअपनाइएको, माक्स, सेनिटाइजर प्रयोग हुन छाडेकोले सुरक्षा थ्रेट बढेको भन्ने छ, यसमा मेरो लागि मैले सुरक्षा अपनाउनुपर्छ र म पनि बाँच्नुपर्छ अरूलाई पनि बचाउनुपर्छ भन्ने कुरा नागरिक स्वयंले नै गर्नुपर्छ । सरकारले त गाइडलाइन दिने हो, निर्देशन दिने हो, यसो गर्दा सुरक्षित रहन सकिन्छ भनिदिने हो तर त्यो काम गर्ने स्वयं नागरिकले नै हो । त्यसैले नागरिक इमान्दारिता हुनैपर्छ, स्वअनुशासनमा बस्नैपर्छ । सरकारले सञ्चारमाध्यमबाट जनचेतना फैलाइरहेको छ । यसो गर्नुस् उसो गर्नुहोस् भनिरहेको छ । त्यति गर्दा पनि नमान्नेलाई कारबाही गर्ने निकाय कोरोना नै हो । त्यसैले अहिले पनि कोरोनाको जोखिम सकिएको छैन यसको हेक्का राखेर इमान्दारितापूर्वक सबैले काम गर्नुपर्छ, अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन । घरभित्र बसियो भने सुरक्षित भइन्छ बसिएन भने असुरक्षित भइन्छ । यो कुरालाई मनन् गरेर सबैले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

यो कार्यालयको प्रमुखको रूपमा रहेर काम गर्दा तपाईंलाई चुनौतीहरू चाहिँ के के छन् त ?

चुनौतीको कुरा गर्दा पहिलो मान्छे इमान्दार कम छन्, मान्छे कम इमान्दार भयो भने त्यहाँ गडबडी सुरु हुन्छ । त्यसैले हरेक तप्कामा चाहे पत्रकारिता क्षेत्रमा होस्, चाहे कर्मचारी तन्त्रमा होस्, चाहे न्याय क्षेत्रमा होस्, चाहे सुरक्षा निकायमा होस् मान्छे इमान्दार नै कम छन् । त्यसैले मान्छे कम इमान्दार हुनु नै चुनौतीको घेरा हो । अर्को कामप्रतिको निष्ठा र इमान्दारिता ज्यादै कम छ । यो सुशासनका लागि अर्कोे चुनौती हो । अर्थात निष्ठा बचाउने कुरा अर्को चुनौती हो । अर्को कानुन, विधि, पद्धति जेसुकै होस् मेरो कामचाहिँ भइहाल्नुपर्छ, भइहालोस्, मेरो कामचाहिँ जसरी पनि गर्दिहालौँ भन्ने प्रवृत्ति । यो प्रवृत्ति नागरिकमा बढी देखिन्छ । कतिपय सन्दर्भमा बनाउनेले नै भत्काउने गरेको अवस्था हाम्रो मुलुकमा छ । अर्थात कानुन बनाउनेले आफ्नो वा आफन्तको कामका लागि कानुनमा जे भए पनि त्यसलाई मिलाएर यो कामचाहिँ गरिदिनुस् न भन्ने पुरातन प्रवृत्ति हाम्रा हरेक तह तप्का, पेसा र व्यवसायमा देखिन्छ । यो अर्को साह्रै ठूलोे चुनौती हो । कानुन बनाउने बेलामा एउटा बनाएको छ, कार्यान्वयन गर्ने मान्छेले कार्यान्वयन गर्दा यो त भएन यसो गर्नुप¥यो भन्ने कुरा नै बेठिक छ । त्यसले हरेक ठाउँमा समस्या र चुनौती थपिदिएको छ । तर पनि पछिल्लो समय देशले बलियो सरकार पाएको छ । यस सरकारले विकास र समृद्धिको लय पक्डिएको, शान्ति र सुशासनमा सफल बन्दै गएको, मुलुकलाई एउटा ट्र्याकमा हालेको, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको हुनाले यो प्रवृत्तिमा कमि आइरहेको छ, कर्मचारीहरूमा पनि लोभ घटेको, जिम्मेवारी बढेको, सरकारको उद्देश्यलाई पक्डन थालेको, जनताको भावनाअनुसार काम गर्न थालेको, भ्रष्टाचारीप्रति सरकार निर्मम भएर कारबाही गर्न थालेको कुराले जो कोही कर्मचारी यस्ता गतिविधिमा संलग्न हुन, भ्रष्टाचार गर्न डराउन थालेकोले गर्दा सुशासन बढेको देखिन थालेको छ, सुशासनमा सुधार देखिन थालेको छ । यो सुखद पक्ष हो । यो मुलुक सुशासन र समृद्धिमा अगाडि बढ्न थालेको संकेत हो । त्यसैले सुशासन कायम गराउने कुरा नै बढी चुनौतीपूर्ण कुरा हो । अर्को, अपराध नियन्त्रण गर्ने कुरा पनि चुनौतीपूर्ण छ, तथापि यसमा सरकारको प्रयास र हामी कर्मचारीको इमान्दारिताले धेरै न्यूनीकरण भइरहेको छ । अर्को, भनाइ र गराइमा तारदम्यता नहुनुले पनि सरकारको उद्देश्य र हाम्रो लक्ष्यमा चुनौती थपिदिएको छ । राम्रो गरेको छु भनेर गर्ने स्वार्थपरक काम । यसले गर्दा सामाजिक हितका काममा समस्या भइरहेको छ । अर्थात मान्छेको मानसिकतामै परिवर्तन गर्नु पर्ने चुनौती हाम्रो सामु छ । अर्को, अहिले कोरोना महामारीलाई न्यूनीकरण गर्नका लागि जनतालाई सचेत र सतर्क गराउनु, सामाजिक दूरी कायम गराउनु, स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालनमा लगाउनु र नागरिकलाई बुझाएर महामारीबाट जोगाउनु अर्को चुनौती छ । तर यी चुनौतीलाई चिर्न म र मेरो कार्यालयको सिंगो कर्मचारीको टिम प्रयत्नशील छ ।

तपाईं आफ्नो काममा कतिको सतुष्ट हुनुहुन्छ ?

मेरो ३१ वर्षे सरकारी सेवा अवधिका दौरानमा मैले अनुभव गरेको, जानेको ३ वटा कुरा छन् र ती सबैले मनन् गर्नुपर्छ भन्ने लाग्छ । एउटा, मलाई कानुनले मात्र बचाउँछ अरूले बचाउँदैन । त्यसैले कानुनको अक्षरशः पालना गर्नुपर्छ । अर्को, पदभन्दा ठूलोे पर्फर्मेन्स हो अर्थात काम हो किनकी पद धेरैसँग छ तर पर्फर्मेन्स छैन, अर्थात काम छैन । कामप्रति प्रतिबद्ध भइएन, निष्ठापूर्वक काम गरिएन भने पदको कुनै अर्थ हुँदैन । मलाई यो ठाउँमा सरकारले काम दिएको जनताको सेवा गर्न हो, त्यसैले लोभ लालच नराखी, जनताको हितमा सरकारको उद्देश्य पूरा गर्ने गरी जनताको करबाट उठेको सेवा सुविधा लिएर जनतालाई नै दुःख दिनुहुँदैन । सरकारले यो पद दिएको, यो ठाउँमा पठाएको पनि जनताको काम इमान्दारितापूर्वक गर्नु है भनेर हो । त्यसमा तलवितल गर्नु हुँदैन । यही सोच र उद्देश्यका साथ मैले मेरो सेवा अवबधिको ३१ वर्ष पूरा गरेको छु । मैले जीवनमा कहिल्यै लोभ लालच गर्ने र अनावश्यक रूपमा कसैलाई दुःख दिने काम गरिनँ । त्यसो गर्दा मैले न कसैको आश गर्नु प¥यो न कसैको त्रासमा बाँच्नु प¥यो । यही कर्मले मलाई आफ्नो जिम्मेवारीमा प्रतिबद्ध र काम व्यवहारमा निडर बनायो । तेश्रो इमान्दारिता । इमान्दारिताभित्र शक्ति पनि छ, आँट र जाँगर पनि छ अनि निडरता र पारदर्शिता पनि छ । यति कुरा ख्याल गरेर हामी सबैले काम गर्ने हो भने समाजमा सुशासन र समृद्धि निश्चित रूपमा प्राप्त हुन्छ । मैले आफनो जागिरे जीवनमा यही ३ काम अपनाएको छु, यसको अनुभूति राम्ररी गरेको छु । यसर्थ म मेरो काममा सन्तुष्ट छु ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम