‘अग्रज नेताहरूको योगदान भुल्नु हुँदैन’


काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थापक दिवंगत कम्युनिस्ट नेता तुल्सीलाल अमात्यप्रति हिजो एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै अमात्य नेपालको कम्युनिस्ट आन्दोलनका अविश्रान्त योद्धा एवं ऐतिहासिक किसान आन्दोलनका अगुवा नेता रहेको बताउनुभएको छ । दिवंगत नेता तुल्सीलाल अमात्यको २३ औं स्मृति दिवसको अवसरमा प्रधानमन्त्रीले हिजो श्रद्धाञ्जली वक्तव्य दिँदै अग्रजका सपना पूरा गर्न महत्वपूर्ण कार्यहरू भइरहेको बताउँदै पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट सरकार लागिरहेको बताउनुभएको थियो । उहाँले समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन आफू अग्रसर रहेका भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउन आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा १५ सेप्टेम्बर १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिस्ट घोषणापत्र जारी गर्दा उहाँ पनि सहभागी रहनुभएको थियो भन्दै उहाँ २००८ सालमा स्थापना भएको अखिल नेपाल किसान संघको संस्थापक अध्यक्षसमेत रहेको बताउनुभएको थियो । उहाँले २००९ देखि २०१४ सालसम्म नेपालमा भएका ठूला किसान आन्दोलनको नेतृत्वसमेत गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । लाखौं किसान सहभागी रहेको ऐतिहासिक किसान आन्दोलनमा बारा, पर्सा, रौतहटलगायत अन्य जिल्लाहरूका किसानलाई सामन्तहरूले गराएका तमसुक जलाएर तुल्सीलालकै नेतृत्वमा ऋणमुक्त गराइएको स्मरण गर्नुहुँदै प्रम ओलीले किसान आन्दोलनको विकास गरी त्यसलाई कम्युनिस्ट आन्दोलनसँग जोड्न महत्वपूर्ण योगदान दिएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

तुलसीलाल अमात्यलगायतका पहिलो पुस्ताका नेताहरूले पसिना बगाएर निर्माण भएको कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकतावद्ध भएर अघि बढ्नु आजको आवश्यकता भएको प्रधानमन्त्रीले विज्ञप्तिमा जनाउनुभएको छ । त्यसैले आफूले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको अभियान अगाडि सारेको भन्दै २०१५ सालको पहिलो संसदीय निर्वाचनमा तुल्सीलाल ललितपुरबाट नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट सांसद भई संसदीय दलको नेतृत्व गर्दै पार्टीको तर्फबाट संसद्मा सशक्त भूमिका निर्वाह गर्नुभएको प्रधानमन्त्रीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ