जनतासँग भोट के भनेर मागिएको थियो ?


काठमाडौ । नेपाली जनताको हितको लागि भनेर जनताले दुई तिहाईनजिकको जनमत दिएर शासन सत्तामा पठाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले निकै लामो समयदेखि आन्तरिक विवादमा फसिरहेको छ, पार्टी नीति, विचार र सिद्धान्तअनुसार चल्न सकिरहेको छैन । मूल नेतृत्व र वरिष्ठ नेताहरू एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने कुरामा समय खर्चिरहेका छन् । सत्ता महत्वाकांक्षाले पार्टीको आन्तरिक जनवाददेखि पार्टीको सैद्धान्तिक कार्यनीतिमा समेत समस्या आएको छ । यसले पार्टी र सरकारमा बेथिति बढिरहेको छ । त्यतिमात्र होइन, नेताहरूका पछिल्ला भनाई, गराई,बोलीब्याबहारले पार्टी एकतामै प्रश्न उठिरहेको छ, अराजनैतिक, अव्यवहारिक, असैद्धान्तिक गतिविधिहरू भइरहेका छन् ।

मूल नेतृत्वको यस प्रकारका गतिविधिले नेता कार्यकर्ताहरूलाई चिन्तित बनाइरहेको छ । मुलुक र समाजको रूपान्तरणका लागि सही नीति, विचार र कार्यक्रम चाहिन्छ । उक्त सही नीति, विचार र कार्यक्रमलाई बोकेर हिँड्नका लागि बलियो र सुव्यवस्थित संगठनको आवश्यकता हुन्छ । त्यो कुरा नेकपाको घोषणपत्रमा नै उल्लेख छ, जुन कुरा नेताहरूलाई थाहा नहुने कुरै भएन । नेकपालाई अगाडि बढाउनका लागि व्यवस्थित र वैज्ञानिक नीति तथा कार्यक्रमको बारेमा विभिन्न समयमा बहस छलफल नभएको होइन तर कार्यान्वयन हुन सकेन । नीति, विचार, विधि पद्धति, सिद्धान्त एकातिर, काम कुरा अर्कोतिर अर्थात कुरा जनताको काम कसरी सत्ता र सुविधा प्राप्त गर्ने भन्ने कुरामा बहस भइरहेको छ । यो नै नेकपाको अहिलेको मूल समस्या हो, पद र सत्तालाई केन्द्रमा राख्नु नै अहिलेको समस्याको जड हो । त्यसैले नेताहरूले पार्टी पद्धतिलाई पहिले सिस्टममा हाल्नु पर्छ, नीति विधिअनुसार पार्टी सञ्चालन गर्नु पर्छ, सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी, वैज्ञानिक र न्यायिक मूल्याङकन नेतृत्वबाट परिपालन हुनु पर्छ अनि गुट ध्वस्त पार्नु पर्छ ।

योगदानका आधारमा जिम्मेवारीको बाँडफाँड गर्नुपर्छ । हिजोका सहमति के के थिए, घोषणापत्रमा के के गर्छौ भनिएका थिए त्यसको अक्षरशः कार्यान्वयन गर्नु पर्छ । अनिमात्र जनताको विश्वास बढ्छ माया, बढछ । त्यसले पार्टी सहिरूपमा अगाडि बढ्छ अनि पार्टी एकताबद्ध र बलियो हुन्छ । एकताबद्ध र बलियो पार्टी संगठनले मात्र मुलुक र जनताको भाग्य र भविष्य बदल्न सक्छ, जनतालाई सुखी बनाउन सक्छ । त्यसका लागि कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू सधैँ आदर्श र उदाहरणीय पात्रको रूपमा प्रस्तुत हुन सक्नु पर्छ, सही कुराको आलोचना सहन सक्नु पर्छ र त्यसबाट आफू सुधारिनु पर्छ । पार्टीको नीति, विचार र सिद्धान्तअनुसारको व्यवहार गरियो भने मात्र समाज र जनताको असल नेता बन्न सकिन्छ अन्यथा परिणाम खराबभन्दा खराब आउन सक्छ र त्यसले कसैलाई हित गर्दैन । यसर्थ पद,सत्ता,स्वार्थ,महत्वाकांक्षा,ईगो, गुटफट, यो , त्यो, मेरो, तेरो भन्ने कुरालाई छाड्नु पर्छ , देश, जनता र पार्टीलाई शिरमा राखेर काम गनु पर्छ, सबै ठीक हुन्छ । यसै भन्छन् नेकपाका नेता कार्यकर्ता तर यो फेरि पनि गर्नु पर्ने ठाउँमा हाम्रा अग्रज र अनुभवी नेताहरू नै हुनु हुन्छ । गर्ने, नगर्ने उहाँहरूकै मर्जी ।