आधुनिक खेती प्रणालीबाट मात्रै समृद्धि हासिल हुनसक्छ


निर्मलकुमार गदाल, प्रमुख, कृषि ज्ञान केन्द्र, ललितपुर

कोरोना महामारी बेलामा कृषि ज्ञान केन्द्रले कसरी कार्यालय सञ्चालन गरिरहेको छ ?

हाल कोरोना संक्रमणको संख्या बढिरहेकाले सरकारले जारी गरेको निर्देशिकाअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेर काम गरिरहेका छौं । अहिले हामीले स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर प्रत्येक दिन आधा कर्मचारीबाट काम गरिरहेका छौं । त्यसमा पनि डिजिटल प्रविधि अपनाएर अनलाइन सेवामार्फत सेवाग्राहीलाई सेवा दिइरहेका छौं । हामीले कार्यालयमा कोही पनि सेवाग्राहीलाई प्रवेश गराउँदैनौ, घरमै बसेर सेवा लिन लगाउँछौं । हाम्रा कर्मचारीलाई छिटो छरितो सेवा दिन लगाउँछौं । ग्राहकहरूलाई पनि यसैगरी घरमै बसेर सञ्चार प्रविधि अपनाएर सेवा लिन आग्रह गरेका छौं ।

ज्ञान केन्द्रले कस्ता कस्ता काम कसरी गरिरहनुभएको छ त ?

हामीले गत आर्थिक वर्षका काम सम्पन्न गरिसकेका छौं । अहिले चालु आर्थिक वर्षको कामको थालनी गरेका छौं । यसमा कतिपय योजनाहरू अघिल्लो वर्षकै निरन्तरताको रूपमा अगाडि बढाउने गरी काम थालेका छौं भने केही नयाँ कार्यक्रमहरूको थालनी गर्दैछौं । जसमा उपत्यकाका लागि पर्यावरणीय कृषि उपज तथा बजारीकरण कार्यक्रम, अघिल्लो वर्ष सञ्चालित एक निर्वाचन क्षेत्र एक नमुना फार्म कार्यक्रमको निरन्तरता, बस्ती साझेदारी कौसी खेती कार्यक्रम, उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती, साना सिँचाइ कार्यक्र र नमुना कौसी खेती कार्यक्रम सञ्चालनका लागि हामीले सूचनासमेत जारी गरिसकेका छौं । यसका लागि किसानहरूले हाम्रो कृषि ज्ञान केन्द्रको वेभसाइट हेरेर अनलाइनमार्फत सेवा प्रस्ताव पेस गर्न सक्नुहुने छ । यदि कोही प्रविधिको उपयोग गरेर काम गर्न नसक्ने अवस्थाको हुनुहुन्छ भने सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर कार्यालयमै आई सूचना बुझ्न सक्नुहुने छ । त्यसका लागि हामीले कडा सुरक्षा सतर्कता अपनाएका छौं र यो सेवा दिन आधा कर्मचारी खटाएका छौं ।

हाम्रो समाजमा प्रविधिको उपयोग गर्न नसक्ने कृषकहरू थुप्रै छन् ती सेवा लिन अहिले कार्यालयमै कत्तिको आउँछन् त ?

वेभसाइट र अनलाइनको उपयोग गर्न नजान्ने थोर बहुत किसानहरू आउनुहुन्छ तर हामीले स्वास्थ्य मापदण्ड पूरा गर्न लगाउँछौं, हाम्रो कार्यालयमा राखिएको सेनिटाइजर प्रयोग गर्न र दूरी कायम राख्न लगाउँछौं । त्यसमा हामी कडा निगरानी गर्छौं । किनकी, अहिले कोरोना संक्रमण बढिरहकोले सरकारले जारी गरेको निर्देशिका र स्वास्थ्य प्रोटोकलचाहिँ अपनाउनै पर्छ सबैले । त्यसैले त्यसलाई हामीले पनि कडाईका साथ पालना गराएको छौं । भरसक घरबाटै टलिफोनबाट, इमेल, इन्टरनेटबाट सेवा लिन आग्रह गर्छौं । यसर्थ अहिले हाम्रो कार्यालयमा चाप धेरै हुँदैन ।

कस्ता कस्ता क्षेत्रहरूमा तपाईंहरूले लगानी गरिरहनुभएको छ ?

कृषि क्षेत्रअन्र्तगत अन्नबाली तरकारी, फलफूल, पशुपन्छी, कृषि पर्यटनसँग सम्बन्धित कार्यक्रम, अर्गानिक तरकारी, फलफूल, दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन जडीबुटी उत्पादन प्रशोधनलगायत शीतभण्डार निर्माणका क्षेत्रमा कृषकलाई टेवा पुग्ने गरी लगानी गर्ने गरेका छौं ।

अघिल्ला वर्षका कार्यक्रमहरूको परिणाम कत्तिको सन्तोषजनक आयो त ?

अघिल्लो वर्षका सबै कार्यक्रम सन्तोषजनक रूपमै परिणाम आएको छ । हामी कार्यक्रम स्थलमै गएर परिणाम हेर्छौं । यसमा अधिकांश ठाउँमा सन्तोषजनक रूपमै पाएका छौं । कहीँ बालीनाली उत्पादनमा रोग कीराको समस्या देखियो, कुनै कुराको सुधार गर्नु पर्ने, मेहेनत गर्नुपर्ने देखियो भने हामीले केही थप सहयोग गर्नु पर्ने देखियो भने पनि गर्छौं । र, कतिपय किसानहरूलाई कृषिसँग सम्बन्धित सुझाव,सल्लाह पनि दिन्छौं । बढीजसो आधुनिक खेती प्रणालीमा जानुभएका किसानहरूले राम्रो र सन्तोसजनक काम गरिरहनुभएको छ भने कतिपय कृषक त्यसतर्फ उन्मुख बनिरहनुभएको छ । समग्रमा भन्दा हामीले गत आर्थिक वर्षमा ७३ प्रतिशत उपलब्धि हासिल गरेका थियांै भने यसपालि पनि कठिन समयका बावजुद हामीले त्यसलाई कायम राखेका छौं । २१ हजार घरधुरीले कौसी खेतीमा आशातीत सफलता हासिल गर्नुभएको छ । कृषकले यस्ता कुरामा ध्यान दिएर यसलाई आफ्नो समृद्धिको विन्दु ठानिरहेको अवस्थाले राम्रै परिणाम दिइरहेको छ । अहिले हामी सहर केन्द्रित क्षेत्रमा कौसी खेती कार्यक्रमतर्फ ध्यान केन्द्रित गरिरहेका छौं । किनकी, यो कार्यक्रमलाई संघीय र प्रदेश सरकारले नीति कार्यक्रमै पारेको हुनाले यसमा हामी योजनाबद्ध रूपमा लागेको छौं । यसका साथै काठमाडौं उपत्यकामा बढी हुने च्याउ खेती र जडीबुटी उत्पादनमा पनि ध्यान केन्द्रित गर्दैछौं । सानासाना बिजनेश लगानीमा र कृषि कर्जामा आइरहेको छ ।

यी तमाम कार्यक्रममध्ये बढी प्रभावकारी देखिएका कार्यक्रम कुन हुन् ?

गाउँ र सहर दुवैका लागि उपयोगी र प्रभावकारी कार्यक्रमचाहिँ कौसी खेती कार्यक्रम नै हो । किनकी, सहरमा जमिनको उपलब्धतामा कमी आइरहेको र उपत्यकामा १२ लाख घरहरूले यो कार्यक्रम अपनाउन सक्ने र त्यसो गर्दा हामी तरकारी खेतीमा आत्मनिर्भर बन्न सक्ने देखिन्छ । त्यसैगरी, च्याउ खेतीमा पनि राम्रो सम्भावना देखिन्छ । यसलाई जग्गा धेरै नचाहिने र घरभित्रै पनि गर्न सक्ने भएकोले यो खेती काठमाडौं उपत्यकामा बढी भइरहेको छ । यसतर्फ पनि हामीले ध्यान पु¥याइरहेका छौं भने कृषि पयर्टन कार्यक्रम पनि प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । यो कार्यक्रमअन्र्तगत कपन, लाँकुरी भञ्याङ र गोदामचौरमा तीनवटा फार्ममार्फत सञ्चालन भइरहेका छन् जुन निकै प्रभावकारी रूपले अगाडि बढिरहेका छन् ।

उपत्यकामा कृषि विकासको रणनीति कस्तो बनाइरहनुभएको छ त ?

उपत्यकाको कृषिसँग अरू क्षेत्रको तुलना गर्न सकिन्न किनकी देशका सबै क्षेत्रबाट यहाँ आएर बस्नेको मात्रा अत्यधिक छ, अर्थात यहाँ बढी जनसंख्या छ । जसले गर्दा यहाँको बजार पनि ठूलो छ । सेवा सुविधादेखि उर्भरताको हिसाबले पनि उपत्यका अत्यन्त्यै सम्भावना बोकेको ठाउँ हो । यहाँ दुई तिहाई बढी संरचनागत कृषिका क्षेत्रहरू छन् भन्ने अनुमान छ । अर्थात संरचनागत रूपमा गरिने कृषि कर्मका संरचना यो उपत्यकामा छ । त्यसैले अहिले हामीले उपत्यकामा जहाँ जे उत्पादन हुन्छ त्यहाँ त्यही उत्पादन गरौ भन्ने हाम्रो मूल नारा अगाडि सारेर कृषकलाई जागरुक पनि बनाइरहेका छौं । जसअनुसार यहाँ अहिले व्यावसायिक खेती प्रणालीको विकास र विस्तार व्यापक बन्दै गएको छ । अहिले हामीले काठमाडौं उपत्यकालाई ३ वटा क्षेत्रको हिसाबले हेरेका छौं । पहिलो जमिन कम घरहरू अत्यधिक भएको क्षेत्र, जहाँ घरको छतमा कौसी खेती गर्न सकिन्छ । त्यसमा एकखालको रणनीति छ भने अर्को सहरीकरणतर्फ उन्मुख घर निर्माण विस्तार पनि हुँदै गरेको, अरू संरचना पनि बन्दै गरेको र खाली जमिन पनि भएको । त्यसलाई हामी क्यरियर निर्माण भन्छौं । अर्को ग्रामीण क्षेत्र, जसलाई हामी लोयर उत्पादन क्षेत्र भन्छौं । यसरी हामीले ३ प्रकारले विभाजन गरेका छौं । काठमाडौं उपत्यकामा १२ लाख घरधुरी भएको र त्यहाँ डेढलाख रोपनी जग्गा छतमा रहेको, त्यो जग्गा उपयोग गर्न नसकिरहेकोले गर्दा त्यसको उपयोगको लागि कौसी खेतीमा कार्यक्रम नै बनाएर किसानलाई अगाडि बढाइरहेका छौं भने सहरउन्मुख क्षेत्रमा चाहिँ संरचनागत कृषि प्रणालीअन्तर्गतको खेती, जो ग्रिनहाउसभित्र गरिने खेतीलाई फोकस गरेका छौं । ग्रामीण क्षेत्रमा चाहिँ हामीले अन्नबाली,नगदे बाली र अन्न खालका बालीहरूलाई फोकस गरेर अगाडि बढिरहेका छौं । यसमा यी तिनै क्षेत्रका किसानहरूलाई हामीले त्यही खालको सीप, तालिम, योजना, सेवा, सुविधा, प्रविधियुक्त बनाएर काम गरिरहेका छौं र थप योजना पनि बनाइरहेका छौं ।

दीर्घकालीन योजनाचाहिँ के कस्ता छन् त ?

कोरोना संक्रमणले गर्दा हाम्रा कार्यक्रम अहिले प्रदेश स्तरमा मात्रै खुम्चिएका छन । त्यसैले नयाँ नयाँ कार्यक्रम ल्याउनेभन्दा पनि अघिल्लो आवका पुराना कार्यक्रमलाई नै निरन्तरता दिने गरी कार्यक्रम प्रदेश सरकारले जारी गरीसकेको अवस्था भएकोले मैले माथि भनेकै कार्यक्रमलाई निरन्तरता दिइने छ ।

नेपाल सरकारले अघि सारेको ‘सुखी नेपाली, सम्मृद्ध नेपाल’ निर्माणको अभियानलाई सफल पार्न र नेपाललाई साँच्चिकै कृषिप्रधान देश बनाउन सकिएला ?

नसकिने कुरै छैन किनकी हाम्रो विकासको मुख्य आधार भनेकै कृषि उत्पादन हो । कृषि उत्पादनविना केही पनि गर्न सकिन्न । बाँच्नका लागि देखि मुलुकलाई औद्योगिकीकरण गर्न सम्म कृषिकै हात हुन्छ । कुनै पनि उद्योग सञ्चालन हुन त्यसको कच्चा पदार्थ कृषिबाटै प्राप्त हुने हो । त्यसैले आत्मनिर्भर र सुखी हुनको लागि कृषिबाहेक अर्को हाम्रो विकल्प छैन भन्ने कुरालाई कोरोना संक्रमण, यसले पारेको असर र सरकारले महत्व दिएको कुरालाई नै हेर्ने हो भने यो कुरा पुष्टि हुन्छ । किनकी, यस्तो महामारीमा पनि काम भइरहने, सबैलाई नभइनहुने क्षेत्र भनेको कृषि नै हो, खाना नै हो । अन्न, बाली,फलफूल,तरकारी नभई कसैलाई नहुने कुरा र त्यो कोरोना संक्रमणमा पनि नरोकिन क्षेत्र भएको त प्रमाणित नै भएको विषय हो । तर, यसलाई हामीले आधुुनिकीकरणतर्फ चाहिँ लैजानै पर्छ । हिजोको हामीले अपनाएको खेती प्रणालीलाई भने हामीले परिवर्तन गरेर प्रविधियुक्त, वैज्ञानिक र आधुनिक बनाउनै पर्छ । मानिसले बोक्ने ठाउँमा मेसिनको प्रयोग गर्नै पर्छ,उन्नतस्तरको खेती प्रणाली अपनाउनै पर्छ । कृषिलाई प्रविधिमैत्री बनाउन सकियो भने घरका कौसी कौसीमा तरकारी र फलफूल खेती गर्न सकियो भने हामी आत्मनिर्भर मात्र होइन, अरूलाई निकासी गर्न सक्ने बन्छौं । अर्थात, अरूबाट किन्नेबाट अरूलाई बेच्नेमा परिणत हुन्छौं । त्यसो भएमा हामी धनी हुन्छौं । त्यस कारण हामीले कृषिबाट समृद्धि हासिल गर्न सक्छौं कि सक्दैनो भन्ने सन्दर्भमा हामीले नसकी धरै छैन, विकल्पै छैन । तसर्थ, यसमा हामी सृजनशील र उत्साहित भएर लाग्नुपर्छ किनकी कृषिबाट समृद्धि सम्भव छ ।

तपाईंलाई काम गर्न चुनौतीचाहिँ के के छन् नि ?

चुनौतीविनाको सफलता र कामको कुनै मिठास र महत्व हुँदैन । त्यसैले चुनौती हुनुपर्छ र छन् पनि । त्यसमध्ये पनि अहिले ठूलो चुनौतीको रूपमा रहेको कोरोना संक्रमबाट कसरी जोगिएर किसानलाई सेवा दिने, सुरक्षित राख्ने र कार्यालय सञ्चालन गर्ने भन्ने नै ठूलो चुनौती रहेको छ । यसबाहेक कृषिमा युवाहरूको आकर्षण कसरी वृद्धि गर्ने, विदेशमा रहेका युवालाई यहाँ ल्याएर कृषिमा कसरी लगाउने, कृषिलाई हेरिने हेलाको पेसालाई कसरी सम्मानित पेसा बनाउने, सरकारले कृषि क्षेत्रमा गरेको लगानी र योगदानलाई परिणाममुखी कसरी बनाउने, यो पेसामा मानिसलाई टिकाएर कसरी कृषि उत्पादन बढाउने भन्ने अहिलेको तीन तहकै सरकारको चुनौती हो जुन हाम्रो लागि पनि चुनौतीको विषय हो । त्यसैगरी, यो पेसा हाम्रो भरपर्दो पेसा हो यसले हामीलाई सजिलो अप्ठेरो दुवै समयमा सहयोग गर्छ भन्ने कुरा किसानलाई बुझाएर सरकारले गरेको सहयोग मेरा लागि हो, राष्ट्रका लागि हो भन्ने भावनाको विकास गर्नु अर्को चुनौतीको विषय छ । अर्को, सीमित साधन श्रोत र कार्यक्रलाई बढीभन्दा बढी कृषकोमा पु¥याएर सरकारको उद्देश्य पूरा गर्नु र परिणाम जेसुकै होस् सरकारी सहयोग बढीभन्दा बढी मैले पाऊँ भन्ने कृषकको चाहनामा सन्तुलन कायम गरेर प्रदेश सरकारका कार्यक्रम सञ्चालन गर्नु अर्को चुनौती हो ।

आफ्नो कामप्रति कत्तिको सन्तुष्टि मिलेको छ त ?

कुनै पनि काम पूर्ण हुँदैनन्, हामी कामको दौरानमै छौं, यसर्थ पूर्ण सन्तुष्टि त मिलेको छैन तर कार्यालयको सिंगो टिमका साथ प्रयास गरिरहेका छौं । कृषकलाई समृद्ध बनाउने प्रदेश सरकारको योजना सफल बनाउँदै सन्तुष्टि लिने काममा केन्द्रित छौं ।