कार्यदलको प्रतिवेदनले फेरियो माहोल


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानकोलागि महासचिव विष्णु पौडेलको नेतृत्वमा हालै गठन भएको ६ सदस्यीय कार्यदलले स्पष्ट मार्गचित्रसहितको प्रतिवेदन हिजो पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । प्रतिवेदनमा केपी शर्मा ओलीले प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधि एकलौटी सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको रूपमा पार्टी सञ्चालन गर्ने उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा पार्टीको एकता महाधिवेशन गत केन्द्रीय कर्मीटीले प्रस्ताव गरेरको समय आगामी चैत्र २५ देखि ३० सम्म सम्पन्न गर्ने, संसदीय दलको कार्यालय एउटै बनाउने, पार्टी एकताका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्ने,पार्टीलाई नीति विधिअनुसार सञ्चालन गर्ने,राष्ट्रिय महत्वका विषयमा कुनै पनि निर्णय गर्दा पार्टीमा छलफल गरेर गर्नेलगायत छन् ।

यसले लामो समयदेखि पार्टीमा रहेका विवादलाई समाधानतर्फ लैजाने निश्चितजस्तै भएको छ । लामो समयदेखि पार्टी आन्तरिक विवादमा फस्दा,पार्टी नीति, विचार र सिद्धान्तमा चल्न नसक्दा र मूल नेतृत्व र वरिष्ठ नेताहरूबीच नै एकले अर्कालाई आरोप प्रत्यारोप गर्दा पार्टी एकतामाथि नै प्रश्न उठ्न थालेको थियो । जसले पार्टी र सरकार सञ्चालनमा समस्या आइरहेको थियो । त्यतिमात्र होइन, त्यस प्रकारका गतिविधिले नेता कार्यकर्ताहरूलाई चिन्तित बनाइरहेको थियो । कार्यदलको यो प्रतिवेदनले पार्टीभित्रको यो बेथितिको अन्त्य गर्नेदेखि पार्टीलाई नीति, विधिअनुसार अनुशासित ढंगबाट सञ्चालन गर्न सहयोग पुग्ने देखिन्छ । यदि नेताहरूले यो प्रतिवेदनलाई हुबहु कार्यान्वयनमा लान सकेभने भोलिका दिनमा पार्टी सही रूपमा एकताबद्ध भएर अगाडि बढ्ने र आगामी निर्वाचनमा फेरि दुई तिहाईको जनमत ल्याएर दिगो सरकार बनाउने निश्चित छ,यसमा कुनै पनि दल र शक्तिले रोक्न सक्ने देखिँदैन । यसो हुनु भनेको देश र जनता सुखी र सम्पन्न हुनु हो । यसका लागि यो प्रतिवेदन चाँडोभन्दा चाँडो कार्यान्वयन होस्, पार्टी नेताहरूले सत्तास्वार्थ, इगो र व्यक्तिगत महत्वकांक्षा त्यागून्, गुटका कुरा छाडून्,देश, जनता र पार्टीलाई शिरमा राखून् यति भयो भने मुलुक बन्यो । यस काममा नेकपाको मूल नेतृत्वलाई सफलता मिलोस् ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम