किसानलाई सीप र प्रविधिमा जोडेर पर्याप्त लगानी गनुपर्छ


खेमप्रसाद पाठक, अध्यक्ष, साना किसान लघुवित्त वित्तीय विकास बैंक

नेपालको सहकारी आन्दोलनमा विगत साढे ३ दशकअगाडिदेखि काम गरिरहनुभएका खेमप्रसाद पाठक सहकारी क्षेत्रका एक सफल व्यक्तित्व हुनुुहुन्छ । नेपालको सहकारी क्षेत्रमा मात्र होइन, विदेशका २५ वटाभन्दा बढी मुलुकको भ्रमण गरी सहकारीको अनुभव हासिल गर्नुभएका उहाँ हाल साना किसान लघुवित्त वित्तीय संस्थाको अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघका संस्थापक अध्यक्ष र राष्ट्रिय सहकारी महासंघको बोर्ड सञ्चालकसमेत भएर काम गरिरहनुभएको छ । धादिङ जिल्लामा जन्मनुभएका उहाँले सहकारी वित्तीय क्षेत्रबाटै किसान र राष्ट्रलाई योगदान दिन सकिन्छ भन्ने आत्मविश्वासका साथ राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहनुभएको छ । मुलुकको अर्थतन्त्र र कृषि सहकारीका सन्दर्भमा छलफल साप्ताहिकका लागि टीबी विरहीले गर्नुभएको कुराकानीको सम्पादित अंशः

साना किसान लघुवित्त वित्तीय विकास बैंकले अहिले कस्ता कस्ता काम कसरी गरिरहेको छ ?

हाम्रो केन्द्रीय कार्यालय काठमाडौंमा छ भने इलाका कार्यालयहरू अत्तरिया, नेपालगञ्ज,सुर्खेत,बुटवल, पोखरा, हेटौंडा, जनकपुर, इटहरी, विर्तामोड, धादिङ, काभ्रेपलाञ्चोकलगायतका ठाउँमा छन् । हामीले हाम्रा शाखाहरूलाई निर्देश गर्छांै, हाम्रा शाखाले गाउँगाउँमा रहेका हाम्रा किसान आबद्ध सहकारी सदस्य संस्थाहरूमार्फत किसानलाई सेवा दिन्छन् । हाम्रा यी शाखामार्फत सदस्यहरूलाई कर्जा दिने, उनीहरूलाई परेका समस्या उनीहरूसँग बसेर समाधान गर्ने, के के कुरामा हामीले उनीहरूलाई सहयोग गर्नु पर्ने हो, केमा लगानी गर्नु पर्ने हो छलफल गरेर गर्ने, उनीहरूलाई दिएको कर्जा असुली गर्ने, किसानका समस्या संकलन गर्ने, ती समस्या कृषि सहकारीमार्फत नै समाधान गर्ने जस्ता कामहरू निरन्तर रूपले गरिरहेका छौं । यसका लागि हाम्रा शाखा कार्यालय सदस्य संस्थाहरूमा पुगिरहेका छन् भने हाम्रा शाखा कार्यालयको निर्देशन,सल्लाह सुझावअनुसार हाम्रा सहकारी सदस्य संस्थाका कर्मचारीहरू किसानहरूका घरघरमा पुगिरहेका छन् । थोरै थोरै संख्यामा संस्थाका सदस्यहरूलाई जम्मा गरेर घरमै गएर सामाजिक दूरी कायम गरेर आफू पनि सुरक्षित हुँदै र सदस्यहरूलाई पनि सुरक्षित गर्दै सेवा दिइरहेका छन् । हामीले पनि केन्द्रबाटै त्यस्ता ठाउँहरूमा के समस्या छन्, हामीले के गर्नुपर्छ बुझेर सल्लाह गरेर काम गरिरहेका छौं । अहिले सहरमा असहज भए पनि गाउँमा खासै समस्या छैन । त्यसैले ग्रामीण क्षेत्रमा काम भइरहेको छ ।

किसानले के गर्न ऋण माग्छन् ?

हाम्रा सदस्यहरूले समयअनुसार ऋण माग्छन् । विशेष गरेर अहिले दूध र मासु उत्पादनका लागि पशुपालनमा बढी कर्जा (ऋण) माग हुने गरेको छ भने हिउँदमा अन्नबाली, तरकारी र फलफूल उत्पादका लागि कर्जाको माग बढी हुन्छ ।

कर्जामा जोखिम कत्तिको छ ?

जोखिम छ तर जोखिम छ भनेर कामै गर्न छाडियो भने त के प्रतिफल आउँछ र ? अहिलेको समयभन्दा कठिन समय पछि आउन सक्छ, त्यसलाई ध्यानमा राखेर पनि काम गर्नु पर्ने हुन्छ । हाम्रो सम्बन्ध किसानसँग प्रत्यक्ष हुन्छ, किसान गाउँमा हुन्छन्, किसान काममा हुने हुँदा उनीहरू धेरै रोग व्याधिको जोखिममा हुँदैनन् । हामी पनि जोखिम न्यूनीकरणका लागि सबै उपाय अवलम्बन गरेर कृषककोमा पुग्ने हुँदा र उनीहरूका समस्या नजिकबाट बुझ्ने हुुँदा केमा समस्या छ,कसो गर्दा समस्या हल हुन्छ, केमा लगानी गर्दा किसानलाई बढी फाइदा हुन्छ भन्ने कुरा सञ्चारमार्फत सबैसँग छलफल गरेर काम गर्छौं । किसानका चाहना,भावना र मागअनुसार उत्पादन बढाउने गरी, उनीहरूका समस्या हल हुने गरी काम गर्छौं कर्जा दिन्छौं । अहिले सबैलाई समस्या नै भएको हुनाले बढी जोखिम मोलेर काम नगर्न र अनुउत्पादक क्षेत्रमा लगानी नगर्न पनि हामीले किसानहरूलाई सचेत गराइरहेका हुन्छौं । तर यसो भनेर योभन्दा खराब समय पछि आउने कुरालाई ध्यानमा राखेर खाद्य संकट आउनेतर्फ अहिले नै सोचेर कृषि उत्पादनमा लाग्न हाम्रा सदस्यहरूलाई भनेका छौं ।

लगानीअनुसारको परिणाम प्राप्त भएको छ त ?

हामी हाम्रा सदस्य र सरकारको सहयोगले चलिरहेका छौं । सरकारले साझेदार संस्था भनेर सहयोग गरिरहेको छ । हामीले पनि हामीले गरेको काम र आएको परिणाम सरकारसमक्ष प्रस्तुत गरिरहेका छौं । हामीले ३ वटा विषयमा फाइदा पु¥याएका छौं । पहिलो,सरकारले दुग्ध र मासुजन्य पशुपालनमा हामीलाई पैसा दियो । हामीले त्यसमा लगानी गरेर यसको उत्पादनमा यसका विज्ञहरूलाई पठाएर स्वतन्त्र ढंगले अनुसन्धान गर्न लगायौं । त्यसको रिपोर्टले निम्न आय भएका र गरिबभन्दा गरिब जनताले ऋण नपाउने,तालिम नपाउने,आयआर्जन गर्न नपाउने अवस्थाबाट छुटाएर अहिले राम्रो आय आर्जन गर्न सक्ने अवस्थामा ल्याएको, हिजोको भन्दा आजको आर्थिक अवस्था राम्रो भएको, परिवारको आर्थिक अवस्था धेरै राम्रो भएको देखिएको छ । दोश्रो, हाम्रो कामले राष्ट्रिय अर्थतन्त्रमा पनि सहयोग पुगेको छ । हिजो दुग्ध र मासुजन्य वस्तुहरू विदेशबाट आयात गर्नु पर्दथ्यो, अरबौं रकम विदेशमा जान्थ्यो त्यो अहिले रोकिएको छ । अहिले दूध र मासुमा मुलुक आत्मनिर्भर बनेको छ । तेश्रो, हामीले व्यवसायिक पशुपालन र उनीहरूको सीपअनुसारको व्यवसाय सञ्चालन गर्न लगाएर ऋण दिएर मुसहर, चमार, वनकरिया, डुम,चेपाङ ,हलखोर राउटेलगायत अन्य पिछडिएको र लोकन्मुख जातिहरूको आयआर्जनमा व्यापक फेरबदल गराएका छौं । हिजो उनीहरूको साथमा दुई रुपैयाँ हुँदैन थियो,मागेर खानुपर्ने अवस्था थियो भने आज उनीहरू काम गरेर लाखांै आयआर्जन गर्न सक्ने परिवारमा उक्लिएका छन्,उनीहरूको जीवन नै बदलिएको छ । यसले एकातिर राज्यको लगानी र खर्च घटेको छ भने अर्कोतिर राष्ट्रिय आय बढेको छ । अहिले हामीलाई डडेधुराको श्रीसा भन्ने एउटा गाउँमा राउटेका ७० जना छोराछोरी पढाउने स्कुल स्थापनाको लागि माग गरिरहेका छन् भने अन्य दलित, महिलाहरू हामीसँग ऋण लिएर यो कार्यक्रम अर्थात पशुपालन, बाख्रापालन व्यवसायमा लागेर आयआर्जनका कामहरू गरिरहेका छन् र आत्मनिर्भर बनिरहेका छन् । अहिले देशभरिका किसानहरूले,महिलाहरूले,सीमान्तकृत जातिहरूले आआफ्नो स्थानीय तहमा हामीलाई साना किसान कार्यक्रम चाहियो, कृषि सहकारी संस्था स्थापना गर्नु प¥यो भनेर भनिरहेका छन् । त्यसैगरी गाउँपालिकाका प्रमुखहरूले नगरपालिकाका मेयरहरूले र जिल्लाका माननीयहरूले पनि यो कार्यक्रम गाउँगाउँ पु¥याउनु प¥यो भनेर भनिरहनुभएको छ । त्यसलाई मध्यनजर गरेर सरकारको सहयोग लिएर गाउँ गाउँसम्म पुग्ने गरी अगाडि बढिरहेका छांै ।

सहकारीहरूले धेरैलाई डुबाएको छ भन्छन् नि ?

पहिला पहिला सहर केन्द्रित बचत तथा ऋण सहकारी संस्था र फाइनान्सहरूले आफ्ना धेरै ग्राहकहरूलाई ठगेको सुनिएको हो । कतिपयले पहिले त्यस्तो गरे, तर अहिले त्यस्तो छैन । हामी संस्थामा आधारित गरी खाने कृषकहरूलाई सदस्य बनाउँछांै । हाम्रा सबै सदस्य गरी खाने कृषकहरूमात्रै हुन्छन् । हाम्रा सेवाहरू पनि कृषक ओरिएण्टेड नै हुन्छन् । त्यसैले यहाँ न हामीले कृषकलाई मर्कामा पार्छौं न त कृषकले नै हामीलाई समस्यामा पार्छन् । हामी हाम्रा ग्राहक सदस्यमार्फत संस्थागत जिम्मेवारी र संस्थागत उत्तरदायित्वका आधारमा काम गर्छौं । हाम्रा ग्राहकले पनि संस्थाप्रति उत्तरदायी बनेर कारोबार गर्नु हुन्छ । कारोबार भइसकेपछि उहाँहरूसँग दैनिक सम्पर्कमा हुने, कृषकका सबै समस्यामा साथ सहयोग दिने, सल्लाह सुझाव लिनेदिने,लगानीको रेखदेख गर्ने, कर्जा दिने,उठाउने नियमित रूपमा गरिरहनुहुन्छ । त्यसैले हाम्रोमा त्यस्तो समस्या हुँदैन । जहाँसम्म कतिपय बैंक वित्तीय संस्थाले आफ्ना सदस्यहरूलाई ठग्ने गरेको कुरा छ, त्यसमा त सरकारले हेर्नुप¥यो नि । अहिले ३ तहका सरकार छन् जनतासँगै प्रत्यक्ष सरोकार राख्ने सरकारहरू छन् उनीहरूले रेखदेख गर्नु प¥यो, अनुगम,नियमन गर्नु प¥यो, सहकारीको नाममा कस्ले ठग्ने गरेको छ त्यो राम्ररी हेर्नु प¥यो । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नु प¥यो ।

सहकारी नीति ठीक छ ?

नीतिमा केहि परिवर्तन त गर्नु पर्ने छ र यसका सम्बन्धमा हाम्रो सहकारी महासंघले कुरा उठाइसकेको छ । नीतिमा छुटेका कुरा पछि पनि थप्न सकिन्छ तर अहिलेलाई चाहिँ नीति कार्यान्वयन हुनुपर्छ । नीति नै कार्यान्वयन भएन भने त केही हुँदैन । त्यसैले नीतिमा फेरबदल भन्दा पनि नीतिलाई प्रभावकारी कार्यान्वयनमा लैजानु सबैभन्दा ठूलो कुरा हो ।

काम गर्न चुनौती के के छन् नी ?

चुनौती त छन्, मुख्य चुनौती भनेको कृषकमैत्री हाम्रा योजना कार्यान्वयनको हो । त्यसबाहेक अहिले ठूलो चुनौतीको रूपमा रहेको कोरोना संक्रमबाट आफू सुरक्षित भएर आफ्ना सदस्यहरूलाई सुरक्षित सेवा दिने महत्वपूर्ण र ठूलो चुनौती हो । त्यसैगरी यो बैंक हाम्रो हो यसले हामीलाई जुनसुकै अवस्थामा सहयोग गर्छ, विश्वसनीय र भरपर्दो सेवा सुविधा दिन्छ,यसका सेवाहरू प्रभावकारी र छिटोछरितो छन् भन्ने विश्वसनीयता कायम राख्दै सदस्यहरूको संख्यामा वृद्धि गर्ने चुनौतीको विषय छ । साथै कर्मचारीलाई आवश्यक सेवा सुविधा दिएर सेवामा निरन्तर टिकाउनु र सरकारको लक्ष्य, उद्देश्य पूरा गरी किसानलाई सुखी बनाउनु अर्को चुनौतीको विषय हो ।

अहिले यो बैंकको आर्थिक कारोबार कस्तो छ ?

हाम्रो वित्तीय अवस्था अहिले २२ अर्र्बभन्दा बढी रकम साना किसान लघुवित्त वित्तीय संस्थाले कृषि सहकारीमार्फत किसानहरूलाई लगानी गरेको छ । अहिले हाम्रा झण्डै १० लाख सदस्यहरू पुगेका छन् । यसका सदस्यको पैसा र हाम्रो साना किसान लघुवित्त वित्तीय संस्थाले लगानी गरेको कर्जा हेर्दा ६० अर्ब बढी रकम किसानको हातमा परिचालन भएको देखिन्छ । यति ठूलो रकमलाई अनुगमन नियमन गरेर ठीक ढंगले उत्पादनमा लगाउनु पर्ने महत्वपूर्ण दायित्व हाम्रो काँधमा छ । यद्यपि, अहिलेसम्म हाम्रो कुनै ऋण नउठ्ने, खाएर भाग्ने, लगानी डुब्ने काम किसानहरूले गरेका छैनन् । किनकी वास्तविक किसानहरू त्यसै पनि इमान्दार नै हुन्छन्,त्यही इमान्दार वास्तविक किसान हाम्रा सदस्य हुने भएकाले हाम्रो लगानी डुब्ने भएको छैन । जनताले काम गरिरहेका छन्,ऋण लगिरहेका छन् र समयमै तिरी पनि रहेका छन् । हामीले पनि सरकारको उद्देश्यअनुसार काम गरेका छांै, सरकारलाई महत्वपूर्ण योगदान गरेका छौं । यसमा हाम्रो अनुगमन नियमन पनि त्यही खालको छ, जुन काममा हामी निरन्तर लागिरहेका पनि छौं । जसले गर्दा अहिले हाम्रो बैंक नाफामै सञ्चालित हुँदै आएको छ । हाम्रो बैंकको सेयर पनि बढिरहेकै छ । कृषि विकासजस्तो त्यति पुरानो बैंकको सेयर अहिले प्रतिकित्ता ४÷५ सयमा छ भने हाम्रो १२÷१३ सय पुगेको छ । अहिले हाम्रो सेयर किन्न मारामार छ । वित्तीय अवस्था मजबुत भएको कारणले पनि हाम्रो बैंकप्रति सदस्यहरूले विश्वास गरेर आफ्नो कारोबारलाई निरन्तर अगाडि बढाइरहनुभएको छ । हामीले दिने सेवा किसानमैत्री छ । जसका कारण यो बैंकलाई एसियाली विकास बैंक (एडीबी) ले समेत सहयोग गरिरहेको छ । सरकार र अन्य सहयोगी संस्थाका अलावा हाम्रा सदस्यहरू र लगानीकर्ताहरू नै किसानहरू भएकाले पनि हामीलाई सहज छ,कुनै समस्या छैन । किसान नै यसका मालिक भएकाले केही होला कि भन्ने हुँदैन, जोखिम छैन । उत्पादनकर्ता नै ग्राहक र यसका मालिक हुने भएपछि कुनै समस्या झेल्नु पर्दैन । किसानले नै यो मेरो बैंक हो, म यसको मालिक हुँ भन्ने भएपछि समस्या आउने कुरै हुँदैन । त्यसैले यो झन्भन्दा झन् बलियो,ठूलो, बढी कारोबार गर्ने संस्थाको रूपमा विकसित हुँदै गइरहेको छ । यसले हामीलाई थप उत्साहित पनि बनाएको छ । जसका कारण अहिले हाम्रा सेवा देशभरिबाट सञ्चालित भइरहेका छन् र यसलाई अझ व्यापक बनाउँदै लाने योजनाका साथ हामीले काम गरिरहेका छौं ।

तपार्इंले यसो भनिरहेका बेला हामी खाद्यान्नमा त परनिर्भर छौं नि ?

अहिले हामी खाद्यान्नलगायत कतिपय कुरामा परनिर्भर नै छांै, तर यो सबै योजनाबद्ध रूपमा काम नहुँदा, प्रविधियुक्त व्यावसायिक खेती नहुँदा, सरकारको कृषिनीति किसानमैत्री र प्रभावकारी नबन्दा,किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य नहुँदा, किसानले उत्पादन गरेको लागत नआउँदा, किसानहरू हतोत्साही हुँदा, बजारका कारणले किसानले उत्पादन गरेका वस्तुमा बिचौलियाको हात प्रमुख बन्दा यस्तो समस्या आएको हो । सरकारको योजनाअनुसार हामीले दुग्ध र मासुजन्य वस्तुको उत्पादन र वितरणमा सरकारको उद्देश्य पुरा गरेको छांै, जसअनुसार हामी दूध र मासुमा आत्मनिर्भर पनि भएका छौं तर अन्य क्षेत्रको अवस्था त्यस्तो छैन । सरकारले किसान आधारित कार्यक्रम बनाएर देशभरि लागू गरेर, कृषि सहकारीलाई कृषिको उत्पादनको बजारीकरणको जिम्मा दिए, उनीहरूले उत्पादन गरेका वस्तुको लगानी र नाफाको ग्यारेण्टी सरकारले गरे, वास्तविक किसानलाई चाहिने कृषिजन्य सबै पूर्वाधार अर्थात आर्थिक भौतिक साधनको उपलब्धताको ग्यारेण्टी गरेको खण्डमा,किसानलाई प्रोत्साहन गरेको खण्डमा,सेवा सुविधाहरू पर्याप्त रूपमा दिएमा नेपाल केही सम भित्रै खाद्यान्नलगायत तरकारी र फलफूलमा समेत आत्मनिर्भर हुने निश्चित छ । तर कृषकलाई आएको सहुलियत ब्याजदरको पैसा गैरकृषकले पाउने परिपाटीको अन्त्य नहुञ्जेल, किसानले खोजेका मल, बीउ,प्रविधिको विकास र पर्याप्तता नहुञ्जेल नेपाल वास्तविक रूपमा कृषिप्रधान देश पनि हुन सक्दैन, मुलुक आत्मनिर्भर पनि बन्न सक्दैन । यसर्थ विदेशी र बिचौलिया धनी हुने अहिलेको कृषिनीतिमा आमूल परिवर्तन गरी कृषकमैत्री बनाउनु जरुरी छ ।

तपार्इंहरू सरकारसँग यस्ता कुरा राख्नुहुन्न ?

हामीले यस्ता कुरा राख्ने मात्र होइन, हरेक प्रधानमन्त्री,मन्त्री, सांसद, योजना आयोगका पदाधिकारीहरू, सम्बन्धित मन्त्रालयका सचिवदेखि अन्य मन्त्रालयका सचिवसम्मलाई कार्यक्रम र कार्ययोजनासहितको किसानमैत्री योजना हरेकका हातहातमा पु¥याएका छांै । अहिलेसम्मका हरेक प्रधानमन्त्रीलाई भेटेर लिखित रूपमा नै दिएका छौं । एकपटक मात्र होइन, दर्जनौं पटक भनेका छौं, सबैले यो राम्रो रहेछ ल अब यो तत्काल बजेटसहित कार्यान्वयनमा लानुपर्छ ,कृषि उत्पादन बढाउनुपर्छ, कृषि सहकारीमार्फत काम गर्नु पर्छ, तपार्इंहरू काम अगाडि बढाइहाल्नुहोस् भन्नुभएको हुन्छ, तर कार्यान्वयमा छैन, योजना र बजेटमा छैन ।

किसानलाई सुखी र समृद्ध बनाउन के गर्नु पर्छ ?

सर्वप्रथम त हामीले सरकारलाई पेस गरेका किसानमैत्री योजना र कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्छ । यो भयो भने त्यसैले आमूल परिवर्तन ल्याउन सक्छ । हामीमार्फत किसानलाई कृषि उत्पादनमा लगाउन सकियो भने, वास्तविक किसानलाई धनी बनाउन सकिन्छ । खासगरी किसानको उत्पादन किसानकै बजार र किसानकै मूल्य हुने हो भने कृषक धनी भइहाल्छन् । यसबाहेक कृषिमा छुट्याएको रकम, सेवा सुविधा,सरल कर्जा वास्तविक किसानले पाउने सिस्टमको विकास हुनुपर्छ, उत्पादन बढाउन मल,बीउ,विषादी,सिँचाइको व्यवस्था र प्रविधिको ज्ञान पर्याप्त दिनुपर्छ, किसानले पाउने नाफा बिचौलियाले खान पाएनन् भने र किसानले कृषिबाटै मेरो परिवारको समृद्धि हुन्छ भन्ने कुृराको ग्यारेण्टी गर्ने अवस्था भएमा किसान समृद्ध हुन्छन् ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम