संविधान निर्माणमा जनताको बलिदान


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको सरकारले बाँकी समयमा पार्टीको घोषणापत्र र जनताले अपेक्षा गरेअनुसारका लक्ष्य हासिल गर्न व्यापक रूपमा विकास परियोजना अगाडि बढाउने बताउनुभएको छ ।

छैटौ संविधान दिवस, २०७७ का अवसरमा हिजो भिडियो सन्देश जारी गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय एकता र स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले राष्ट्रिय स्वाधीनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा मुलुकको भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने संकल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी सबैले गरेको बताउँदै यसले भोलिका निम्ति सुखद् संकेत दिएको बताउनुभएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकता, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय एकता, स्वाधीनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्दत गर्ने बताउनुभएको थियो ।

देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्यव्यवस्था निर्माणका निम्ति नेपाली जनता, राजनीतिक दल, पत्रकार, बुद्धिजीवीलगायत सबैको एकता आवश्यक पर्ने भन्दै सबै मिलेर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । नेता दाहालले संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित हुन् या तीन तहका सरकारका संरचनासँग सम्बन्धित ऐन नै किन नहुन् ती सबै ऐन सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै उहाँले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताउनुभएको थियो ।


उहाँले जनचाहनाअनुसार तीव्र गतिमा नभए पनि पूर्वाधार विकास निर्माणमा पनि आफ्नो पार्टीको सरकार अगाडि बढिरहेको बताउँदै अब नेपाल तीव्र बेगमा अगाडि बढ्ने बताउनुभएको छ । एकातिर सरकारको नेतृत्व गर्ने पार्टीभित्र विचार र बहसका कुरा, अर्कातिर देश र दुनियामा कोरोनाको महामारीले सरकार अप्ठ्यारोमा परेको भन्दै फेरि पनि हामीले आफ्नो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अगाडि बढाउँदै कोरोनाविरुद्धको अभियानलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेको बताउनुभएको थियो ।

संविधानसभाबाट संविधान निर्माण प्रक्रियालाई आफैँमा एउटा ऐतिहासिक महत्वको राजनीतिक परिघटनाका रूपमा लिँदै उहाँले नेपालमा २००७ सालमा संविधानसभाबाट संविधान बनाउने कुरा उठे पनि ऐतिहासिक जनयुद्ध, बाह्रबुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताको चाहना पूरा हुने अवस्था बनेको बताउनुभएको थियो ।

अध्यक्ष दाहालले संविधान निर्माणलाई राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट संघीयतामा, समावेशीता र समानुपातिकतामा र त्यसपछि धर्मसापेक्षताबाट धर्म निरपेक्षतामा जाने एउटा युगान्तकारी राजनीतिक परिवर्तनको द्योतकका रूपमा आफूले लिएको बताउनुभएको थियो ।