चलचित्र क्षेत्र सबैभन्दा बढी प्रभावित भयो: द्वन्द्व निर्देशक केसी


हिमाल केसी, द्वन्द्व निर्देशक

लामो समयदेखि नेपाली सिनेक्षेत्रमा द्वन्द्व निर्देशकका रूपमा लोकप्रिय हुनुहुन्छ, हिमाल केसी । उहाँले अहिलेसम्म दर्जनौं चलचित्रमार्फत दर्शकको मन जित्न सफल हुनुभएको छ । विक्रम सम्वत २०३२ सालको साउन महिनामा ललितपुरको गोदावरीमा जन्मिएनुभएका उहाँ सानैदेखि खेलकुदमा रूचि राख्नुहुन्थ्यो । हिमालको एकातिर खेलकुदमा रूचि थियो भने अर्कोतर्फ सानैदेखि फिल्म क्षेत्रमा चाह थियो । त्यही सानैदेखिको चलचित्रक्षेत्रको लगावले नै आज उहाँ सफल द्वन्द्व निर्देशकका रूपमा हुनुहुन्छ यो क्षेत्रमा । चलचित्र ‘सोल्टिनी’ बाट सहायक द्वन्द्व कलाकारमा देखिनुभएको उहाँले २०६५ देखि द्वन्द्व निर्देशक भएर थुप्रै सफल चलचित्र पस्किनुभएको छ । उहाँका कर्मले धेरै अवार्ड र पुरस्कार तथा सम्मान पनि पाएका छन् । प्रस्तुत छ नेपाली चलचित्रको द्वन्द्व क्षेत्रमा लामो समय उत्कृष्ट क्रिएशन पस्किन सफल हिमाल केसीसँग छलफलका लागि टीबी विरहीले गरेको कुराकानीः

यतिबेला के गर्दै हुनुहुन्छ ?

तपाईंलाई थाहै छ विगत ६–७ महिनादेखि कोरोना कहरमा छौं हामीहरू । यसको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले सबैतिर प्रभावित पारेको छ । सबैभन्दा बढी हाम्रो क्षेत्र अर्थात चलचित्र क्षेत्र प्रभावित भएको छ । अन्य क्षेत्र केही चलायमान भए पनि चलचित्र क्षेत्र भने ठप्प नै छ । केही म्युजिक भिडियोहरूको छायांकन भइरहेको भए पनि पूर्णतया बन्दको अवस्थामा छ नेपाली कला क्षेत्र । यो बीचमा म केही सिर्जनशील काममा जुटे भने कोरोना कहरले अप्ठ्यारोमा पर्नुभएकाका लागि सहयोगी हात बढाएँ । आफ्ना केही व्यक्तिगत कामहरू, केही सामाजिक कामहरू, यस्तै यस्तैमा बित्दै छ दिनचर्या ।

नेपाली कला क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?

मलाई के लाग्छ भने हरेक मान्छेको एउटा रूचिको विषय हुन्छ । मेरो पनि सानैदेखिको रूचिको क्षेत्र भनेको कला र खेलकुद क्षेत्र हो । म आफ्नो रूचिको क्षेत्रमा विस्तारै विस्तारै हेलिँदै गएँ । म सानैदेखि अत्याधिक चलचित्र हेर्थेँ र घरमा गएर सबैलाई बटुलेर चलचित्रको फाइट खेल्ने गर्थेँ । मेरो यो क्षेत्रमा अत्याधिक लगाव थियो । विदाको बेला साथीसँग बालाजु घुम्न जाँदा वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनसँग भेट भयो । भेटघाट र चिनजानपछि मैले यो क्षेत्रमा मेरो इच्छा रहेको कुरा खुलस्त राखेँ । म चलचित्रको हिरो हुन चाहन्थे । उहाँले मलाई हुन्छ काममा आउँ भन्नुभयो । यसरी एनबी महर्जनसँग जोडिन पुगेँ । अर्को दिन मलाई चलचित्र छायांकन भइरहेको ठाउँमा लगियो । त्यहाँ चलचित्र बलिदानको छायांकन भइरहेको रहेछ । मलाई त्यहाँ सहयोगीको काम दिइयो । काम गरेँ तर, म यसबाट सन्तुष्ट भइनँ । मेरो इच्छा, चाहना र सोख भनेको कलाकार अझैँ भनौ हिरो बन्ने थियो । तर, मलाई त्यहाँ त स्पोर्ट ब्वाईमा पो राखियो । मैले मेरो असन्तुष्टि एनबी दाईसँग राखेपछि उहाँले चलचित्रमा खेलाउछु भन्नु भयो र उहाँसँग मैले काम गर्ने अवसर पाएँ ।

यहाँले नेपालमा पहिलोपटक कारको स्टन्ट गर्नुभयो होइन ?

हो, नेपालमा पहिलोपटक कारको स्टन्ट देखाएको थिएँ मैले चलचित्रमा । नेपालमा पहिलोचोटि हो, मैले ‘अञ्जली’ भन्ने फिल्ममा कारको स्टन्ट दिएको थिएँ ।

लक्ष्य फिल्मको हिरो बन्ने थियो होइन ?

म फिल्मको हिरो बन्छु भन्ने नै थियो । त्यसका लागि अभिनय र नृत्यका कक्षाहरू पनि लिएँ । मेरो पहिलो प्रथामिकतामा नै हिरो थियो । द्वन्द्व त दोस्रो । फिल्म खेल्नलाई धेरै कोसिस पनि गरेँ र फिल्ममा आबद्ध पनि भएँ । फिल्मको नाम थियो ‘कोसिस’ । फिल्मलाई तीर्थ थापाले निर्देशन गर्ने भनिएको थियो । ‘कोसिस’ कोसिसमै सीमित भयो, फिल्म बनेन ।’ पछि अन्य फिल्ममा स–सानो भूमिकामा अभिनय गरेँ । पछि म फिल्मको हिरो नबनेर भिलेन बन्न पुगेँ । मलाई फिल्म ‘नाई नभन्नु ल’ ले भिलेनको रूपमा परिचित गरायो । मलाई कलाकार हो भनेर चिनाएको भनेको नै फिल्म ‘नाई नभन्नु ल’ ले हो । त्यसपश्चात म केही फिल्ममा भिलेनको भूमिका देखिएँ ।

अनि द्वन्द्व निर्देशक तर्फ ?

एनबी महर्जनको असिस्टेन्ट बनेर मैले धेरै फिल्ममा सहायक द्वन्द्व निर्देशकको भूमिका निर्वाह गरेँ । मैले फिल्म ‘मर्यादा’ मा पहिलोपटक द्वन्द्व निर्देशक बनेर काम गरँे । जसबाट म सबैमा नोटिस पनि हुन पुगँे । पहिलो फिल्मले नै सफलता दिलायो मलाई । द्वन्द्व निर्देशक बन्नका लागि धेरै समय कुरेँ मैले । पछि सफलता हात लाग्दै गयो । मैले निर्देशकका रूपमा फिल्म ‘पिँजडा ब्याक अगेन’ गरेँ ।

काम गरेका केही चलचित्रको नाम लिनुपर्दा ?

‘प्रेमपूजा’, ‘प्रेमदीप’, ‘हत्यारा’ लगायत ७० वटा जति चलचित्र खेलेहुँला । त्यस्तै सहायक भएर ‘हामी तीनभाइ’, ‘आफ्नो मान्छे’, ‘आफन्त’, ‘मुग्लान’, ‘बन्दकी’, ‘पाहुना’, ‘सुखदुःख’ लगायत एकसयभन्दा बढी चलचित्र गरँे । २०६५ सालबाट मैले द्वन्द्व निर्देशकका रूपमा ‘मर्यादा’, ‘फैसला’, ‘राम बलराम’, ‘सिलसिला’, ‘मिस्टर मंगले’, ‘हाँसिदेऊ एकफेर’, ‘पराई’, ‘कवाज’, ‘मनले मनलाई छुन्छ’, ‘निगरानी’, ‘निरभाइ’, ‘जय शिवशंकर’, ‘बडीगार्ड’, ‘मेरो मनको साथी’, ‘मौसम’, ‘छविलाल कञ्जुस छैन’, ‘भैरव’, ‘यात्रा’, ‘मिस्टर नेपाली’, ‘ए मेरो हजुर–३’, ‘प्रसाद’ लगायत एकसय १५ भन्दा बढी चलचित्रको द्वन्द्व निर्देशन गरेँ ।

निर्देशनतिर पनि हात हाल्नु भएको छ, द्वन्द्व निर्देशनमा यहाँको एक खालको आफ्नै उचाइ छ अब कता लाग्नुहुन्छ त ?

फिल्म निर्देशनभन्दा म द्वन्द्व निर्देशनमा नै रमाउँछु । अबको दिनमा पनि द्वन्द्व निर्देशक नै भएर काम गर्छु । मैले फिल्म निर्देशन गरिसकेँ पनि एक्सन नै गर्छु अझै । किनभने जुन ठाउँबाट मैले आफूलाई हिमाल केसी भन्न पाएको छु त्यो कामचाहिँ अझ १० वर्ष गर्ने मन छ ।

कस्तो लाग्छ अहिले फर्केर हेर्दा ?

म लामो समयदेखि यो क्षेत्रमा आफ्नो पसिना बगााइरहेको छु र सफलता पनि प्राप्त भइरहेको छ । सानैदेखिको मेरो इच्छाको क्षेत्रमा लागेर आफ्ना केही सपनाहरू पूरा गरिरहेको छु । आजको दिनसम्म चुम्नका लागि धेरै मेहेनत र लगानी पनि परेको छ मेरो । यो एक दिन एक क्षणले भएको होइन, लामो समय व्यतित भएको छ यसमा । कडा संघर्ष र मेहेनतले सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुराको म आफू पनि एक उदाहरण हुँ भन्ने लाग्छ ।

यो क्षेत्रमा लागेर उचाइ चुम्दै गर्दा पुरस्कार तथा सम्मान पनि प्राप्त भए ?

राम्रो काम गर्दै जाँदा त्यसको कदर हुँदोरहेछ । ढिलो चाँडो मात्र हो । आफ्नो कामको लगावले त्यसको परिणाम पनि राम्रै आउने रहेछ । मेरो हकमा पनि त्यही भयो भन्ने लाग्छ । हो, मैले गरेका चलचित्रले सफलता प्राप्त गर्दै जाँदा म पनि त्यो सफलताको हकदार भएँ भन्ने लाग्छ । नेशन अवार्ड–२०६६, नेफ्टा अवार्ड–२०७०, नेफ्टा अवार्ड–२०७३, फान अवार्ड–२०७२, कामना फिल्म अवार्ड २०७३, कामना फिल्म अवार्ड २०७४, कामना फिल्म अवार्ड २०७५, एलजी सिने अवार्ड २०७३, एलजी सिने अवार्ड २०७४, डी सिने अवार्ड २०७३, इशान फिल्म अवार्ड २०७३ एनएफडी सिने फिल्म अवार्ड २०७३, बक्स फिल्म अवार्ड २०७३ लगायत अन्य पुरस्कार र सम्मानहरू मैले गरेका क्रिएशनमार्फत प्राप्त भएका छन् ।