गरिबी हटाउन सहकार बढाउनु पर्ने


ललितपुर । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपालको समृद्धिका लागि सहकारी क्षेत्र बढाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनु भएको छ ।

टेकनारायण पाण्डे

नेटवर्क फर डेभलपमेण्ट अफ एग्रिकल्चर कोपअरेटिभस इन एसिया (नेडाक) र राष्ट्रिय सहकारी बैंक लिमिटेडले गत बुधवार संयुक्त रूपमा आयोजना गरेको एप्रेजल अफ प्रोजेक्ट प्रोपजल्स फर फाइनान्सिङ बाई ल्याण्डिङ इन्ष्टिच्युसनसम्बन्धी प्रोजेक्ट एप्रेजल फर फाइनान्सिङ कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

सचिव पाण्डेले नेपालको आर्थिक विकास र सामाजिक रूपान्तरणमा सहकारीको भूमिकाका बारेमा जानकारी गराउदै सहकारी क्षेत्रको दिगो विकास र गरिबी निवारणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिकामा जोड दिनुभएको थियो ।

कृषिलगायत उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन तथा वित्तीय अनुशासनको पालना गरी विपन्न वर्गका जनताको जीवनस्तर माथि उठाउने गरी सहकारी क्षेत्रका पूँजी परिचालनका लागि सहकारी क्षेत्रको ध्यान जानुपर्ने सचिव पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो ‘सहकारीमार्फत गरिबी न्यूनीकरणका लागि सहकारीको सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक छ ।’

कारोना महामारीका कारण नेपालका सहकारी संघ संस्थाहरूको कर्जा कारोबारमा देखिएका चुनौतीहरू र समाधानका विषयमा समीक्षा तथा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

नेडाकका अध्यक्ष सन्दीप नायकले नेडाकको बारेमा जानकारी दिनुभएको थियो । थियो । उहाँले राष्ट्रिय सहकारी बैंकसँगको सहकार्यलाई निरन्तरता दिँदै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र सहकारीको उपलब्धि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा नेडाकका उपाध्यक्ष केबी उप्रेतीले कोरोना संकटका बीच पनि सहकारी क्षेत्रले वित्तीय, सेवा तथा उत्पादन क्षेत्रमा गरेको योगदान प्रभावकारी रहेको बताउनुभयो । वित्तीय क्षेत्रमा देखिएको संकटसँगै कर्जा परिचालनमा चुनौती थपिएको भन्दै उप्रेतीले वित्तीय क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका लागि सहकारी र राज्यका बीचको समन्वय आवश्यक रहेको बताउनुभयो । उप्रेतीले नेपालमा देखिएको समस्या समाधानका लागि तालिममा सहकार्य गरेको भन्दै नेडाकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


तालिममा लिनाकका कन्सल्ट्याण्ट आश्विनी कुमारले Project Report Formulation Process , लिनाकका सल्लाहकार एसके टकरले Technical, Commercial & Organizational Appraisal Technique , पर्शुराम कुँवरले Process Documentation as per law in Nepal , र नेडाकका प्रीति गर्गले, Financial Appraisal Techniques विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।


राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका पदाधिकारीहरू, सहकारी विभागका अधिकृतहरू, बैंकका सञ्चालक तथा लेखा समितिका पदाधिकारी सदस्यहरू, शाखा समन्वय उपसमितिका पदाधिकारीहरू, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, र बैकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।