हाम्रा प्रतिबद्धताहरू पूरा गरेरै छोड्छौं


दुर्गा थापा, प्रमुख, बेलका नगरपालिका उदयपुर

कोरोना कालमा बेलका नगरपालिकाले के काम गरिरहेको छ ?

अहिले हामी कोभिड नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको काम गर्दैछौं । कोरोनाको प्रकोप भएको हुनाले यसपटकको बजेटको शीर्षक पनि उत्पादनको दोस्रो वर्ष, कोरोनाविरुद्धको संघर्ष भन्ने राखेर त्यसका विरुद्ध लड्न कोरोना नियन्त्रण तथा रोकथामका लागि १ करोडको कोष स्थापना गरेर हामीले काम गरिरहेका छौं । त्यसअन्तर्गत ५० जना जति अट्ने पुरुषहरूका लागि र २० जना जति अट्ने महिलाहरूका लागि गरेर दुईवटा क्वारेन्टिन निर्माण गरेका छौं । त्यसैगरी यसको छिमेकी नगरपालिकाबाट र भारतबाट यहाँ आउने मानिसहरूलाई बोर्डरमै गएर सुरक्षित रूपले मानव ढुवानी सेवाअन्तर्गत सीधै क्वारेन्टिनमा ल्याउने र पीसीआर परीक्षण गरी पोजेटिभ देखिएकालाई आइसोलेसनमा नेगेटिभ देखिएकालाई घर पठाउने काम गरिरहेका छौं भने हाम्रा ८ वटै वडा मिलेर स्वीस सरकारको सहयोगमा चौदण्डीगढी नगरपालिकामा कोभिड अस्पताल पनि निर्माण गरिरहेका छौं । हामीले काम गर्दा साजाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य लगाउने, काम गर्नेहरूलाई काम गर्ने ठाउँमै क्वारेन्टिन बनाएर राख्ने र सेनिटाइजर अनिवार्य लगाउने गरेर विकास निर्माणका पनि काम गरिरहेका छौं । हामीले विकास निर्माणका योजना बनाएर सर्वेक्षण गर्ने, उपसमितिहरू गठन गर्ने, कतिपय ठेक्का टेण्डरहरू निकाल्ने, कर्मचारीहरू नियुक्ति गर्ने, २०७६÷७७ को प्रगति प्रतिवेदन प्रकाशित गर्ने, अहिले अति आवश्यक भएको वन ऐनदेखि लिएर ढुंगा, गिटी, बालुवा उपयोगको मापदण्ड तयार पार्ने, आईई गर्नेजस्ता काम गरिरहेका छौं ।

तपाईंको नगरपालिकामा कोरोना रोगी कति छन् त ?

१७ सय मानिसको स्वास्थ्य परीक्षण गरेकोमा ३४ जनामा पोजेटिभ रिपोर्ट आएको छ, एकजनाको अहिले विराटनगर अस्पतालमा उपचार भइरहेको छ, ३३ जना ठीक भएर घर फर्किसके, यहाँ समुदायस्तरमा कोरोना फैलिसकेको छैन, नियन्त्रित अवस्थामा छ ।


बजेट कस्तो ल्याउनुभयो, काम कत्तिको भइरहेका छन् ?

यो वर्ष हामीले उत्पादनलाई केन्द्रित गरेर बजेट ल्याएका छौं । ‘उत्पादनमा हाम्रो साथ, बस्दिनँ म खाली हात’ भन्ने नारा कार्यान्वयन गर्नेगरी बजेट ल्याएका छौं । हाम्रो ७३ करोडको बजेटमध्ये झण्डै ५ करोड जतिको चाहिँ हाम्रो नगरको मात्रै बजेट कृषिमा छ । हामीले ‘एक वडा एक उत्पादन, एक वडा एक प्राविधिक’ भनेर वडाहरूलाई आधार मानेर यो वर्ष उत्पादनको काम गरिरहेका छौं । ५,६,७ र ८ वडालाई मसला जोन घोषणा गरेर त्यसमा मसलाका प्रशोधन केन्द्रहरू सञ्चालन भइरहेका छन् र त्यसलाई अझ प्रविधियुक्त बनाउने गरी लागिरहेका छौं । १,२,३ र ४ वडामा बहुबाली जोन कार्यक्रम घोषणा गरेर आलु, मैक र धानको उत्पादन तीव्र रूपले थालेका छौं । १ र ३ वडामा प्रदेश सरकारको योजनामा ब्लक कार्यक्रम सञ्चालन भएको छ । कृषिमा जोन, ब्लक र पकेट कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भने कस्टम हायरिङ कार्यक्रमअन्तर्गत नगरपालिकामा भएका मेसिन औजारहरू खेतीका लागि उपयोग गर्न किसानले भाडामा लान सक्ने व्यवस्था गरेका छौं । हामीले यो वर्षको बजेटमा उल्लेख गरेर बोका खसि संकलन केन्द्र निर्माण भइसकेको छ, उद्घाटन गर्न बाँकी छ । अहिले हाम्रो व्यवसायिक भवन पनि बनिसकेको छ, अब हामी चाँडै चिस्यान केन्द्र पनि निर्माण गर्दैछौं । त्यसैगरी हामीले सिँचाइ अभियान सञ्चालन गरिरहेका छौं । हामीले किसानहरूलाई आधार समर्थन मूल्य तोकेर किसानका उत्पादनहरू खरिद गरिदिने कार्यक्रम सञ्चालन भइरहेको छ भने उद्यमका लागि काम गर्ने उद्यमीको लागि युवा स्वरोजगार केन्द्रसँग समन्वय गरेर घुम्ती कोष स्थापना गरेर विनाधितो सस्तो ब्याजमा व्यावसायिक ऋण उपलब्ध गराउने गरी ४ करोड बजेट छुट्याएका छौं । कृषिमा हामीले चक्लान्दी खेतीअन्तर्गत अदुवा, बेसारदेखि माछा,पशुपन्छी, भैँसी, बंगुर र बाख्राको पकेट क्षेत्र बनाएर उत्पादन गर्ने, बंगुर र बाख्राको नस्ल सुधार र कृत्रिम गर्भाधान गर्ने कामहरू सञ्चालन गर्ने योजना बनाएका छौं । पशुमा हामीले यो पहिलेदेखि नै गरिरहेका छौं, त्यसलाई अझ व्यवस्थित बनाउँछौं । त्यसैगरी पशुलाई खुवाउने विभिन्न प्रकारका घाँसहरू लगाउने, लगाएकालाई प्रवद्र्धन गर्ने काम गरिरहेका छौं । अर्को बेलका नगरपालिकाको ५ वर्ष आवधिक योजनामा पहिलो १० वटा प्राथमिकताका क्षेत्रहरू छन् । त्यसमध्ये पहिलो प्राथमिताको क्षेत्र कृषि र पशुपन्छी भएकोले हामीले यो उत्पादन नियन्त्रणको प्रणालीबाट जनताहरूलाई कृषि सूचनाहरू पु¥याउने, धेरैभन्दा धेरै किसानहरूलाई प्रविधि र मेसिन ओजारहरू बीउ मल उपलब्ध राउने, कृषि तालिमहरू दिनेदेखि कृषि उत्पादन र उपादकत्व वृद्धि गर्ने गरी कृषिमा काम गरिरहेका छौं । यस्तै कृषिअन्तर्गत नै भूमि व्यवस्थापनमा आउँदाखेरि यो आर्थिक वर्षभित्रमा बेलका नगरपालिकाभित्र रहेका १२ हजार १ सय २९ घरधुरीमा रहेका जति पनि ऐलानी जग्गाहरू छन् ती जग्गाहरू नापेर लालपूर्जा वितरण गर्ने गौरवको आयोजना कार्यान्वयन गरिरहेका छौं । त्यसका लागि प्रदेश भूमि आयोगका विज्ञ जगत देउजा, नेकपाका केन्द्रीय सदस्य गोपाल गुरागार्इं र नापी अधिकृतहरू आएर हामीले गरेका कामहरूको भेरिफिकेशन गरिरहनुभएको छ । हामी आगामी पौष महिनाभित्र भूमिसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरेर भूमि व्यवस्था आयोगलाई कागपत्रहरू बुझाइसक्ने गरी काम गरिरहेका छौं । यसका लागि हाम्रा कर्मचारी र बाहिरका विज्ञसहित ५० जना कर्मचारीहरू खटिएर सबैभन्दा बढी समस्याको रूपमा रहेको भूमि व्यवस्थाको महत्वपूर्ण काम सम्पन्न गरिरहेका छौं । यसले अनौपचारिक भूस्वामित्वलाई औपचारिक बनाएर किसानहरूको हातमा लालपूर्जा दिने महत्वपूर्ण काम सम्पन्न गरिरहेका छौं । त्यसैगरी हामीले यो वर्ष अर्को महत्वपूर्ण काम हाम्रो मात्रै नभएर विभिन्न नगरपालिकामा रहेको कुहिने र नकुहिने फोहोर एवं लेदो संकलन गर्ने फोहोर व्यवस्थापन उद्यान प्लान्ट बनाउँदैछौं । त्यसका लागि मेसिनहरूको परीक्षण पनि भइरहेको छ । त्यसमा हामीले फोहोर व्यवस्थापन केन्द्र, हरियाली पार्क, अर्गानिक मलको फ्याक्ट्रि बनाउने कामका लागि गतवर्ष २ करोड खर्च भइसकेको छ, यो वर्ष २ करोड हुँदैछ र अर्को वर्ष ८४ लाख गरी ४ करोड ८४ लाखमा नगरपालिकाअन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढिरहेको छ । त्यसैगरी, खेलकुदमा बेलका रंलशाला, कबर्ड हल र हरेक वडामा एक एकवटा खेलकुद भवनस्थल निर्माण भइरहेको छ, खेलकुद सामाग्रीहरू वितरण भइरहेको छ, कराते र तेक्वान्दोका कोचिङ क्लासहरू भइरहेका छन् । त्यसैगरी, शिक्षा क्षेत्रमा बेलका क्याम्पसको भवन निर्माण भइरहेको छ । शिक्षाअन्तर्गत बेलका जनता क्याम्पसको भवन निर्माण भइरहेको छ । माने गुरुङ चौरी नमुना मावि स्वीकृति भएको छ । यो वर्ष साढे ३ करोड रुपैयाँ सहयोग हुनेछ । ९ देखि १२ सम्मको इञ्जिनियरिङ उच्चमावि सञ्चालन भइरहेको छ, विद्यार्थीहरू भर्ना भइसकेका छन् । यो नगरपालिकअन्तर्गतका सबै विद्यालयको क्षेमता वृद्धि गर्नेगरी ३६÷३६ लाखको भवन निर्माण गर्ने, खाजा कार्यक्रम सबै विद्यालयमा सञ्चालन गर्ने, सेनिटरी प्याड सबै विद्यालयमा निःशुल्क वितरण गर्ने, २ सय जति छात्राहरूलाई साइकल वितरण गर्ने, ७ वटा जति विद्यालयमा चर्पीको व्यवस्था गर्ने, केही विद्यालयको मर्मतसंभार गर्ने र प्रत्येक विद्यालयमा ट्रेकिङ टिचर, मण्टेश्वरी र स्मार्ट टिचिङ कक्षाहरू सञ्चालन गर्ने र यो वर्ष कृषिको पनि नौ बाह्य प्राविधिक कक्षा सञ्चालन गर्ने लक्ष्यसहित हामी लागिरहेका छौं । त्यसैगरी, अर्को तेस्रो प्राथमिकतामा रहेका गुणस्तरीय स्वास्थ्य सेवा हो । त्यसअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन लागेको छ, नगर अस्पताल निर्माण गर्ने निणर्य भइसकेको छ । अब हामी एमबीबीएस डाक्टरहरू राखेर स्वास्थ्य बीमा सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने छौं । आयुर्वेदिक अस्पतालमा पञ्चकर्मको सेवा थप्न लागेका छौं । सामुदायिक औषधि पसल सञ्चालन गरेर जनताहरूलाई सुफथ मूल्यमा औषधि उपलब्ध गराउने छौं । सर्पदंश उपचार केन्द्र र व्यवस्थाको लागि भेन्टिलेटरको व्यवस्था गर्ने कोसिस गरिरहेका छौं । आँखा अस्पतालको स्तरोन्नति गर्न लागिरहेका छौं । नगरपालिका आफँैले सञ्चालन गरेको आयुर्वेदिक अस्पतालको स्तरोन्नति गरिरहेका छौं, बर्थिङ सेन्टरहरूमार्फत बच्चाबच्ची जन्माउने काम सञ्चालन गरिरहेका छौं । मैनामैनी र कुटुञ्जेबारीबाट यो सुविधा दिने गरी काम गरिरहेका छौं । आङ खस्नेहरूका लागि निःशुल्क उपचार गर्ने र शल्यक्रिया गर्ने व्यवस्था गरिरहेका छौं । आँखाको निःशुल्क शल्यक्रिया, दाँतको उपचार र दाँत राख्ने सेवा सञ्चालन, घुम्ती स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । त्यसका लागि मैले उपयोग गर्दै आएको गाडी त्यो शिविर सञ्चालनका लागि प्रदान गरेर हरेक जनताको घरदैलोमा गएर स्वास्थ्य सेवा दिने काम तीव्र रूपमा गरिरहेका छौं । यो अर्को महत्वपूर्ण कार्य हो । स्वास्थ्य सेवाअन्तर्गत अहिले ३ सय २७ जना मानसिक रोगीहरूलाई निःशुल्क उपचार र गर्भवती महिलाहरूलाई निःशुल्क भिडियो एक्सरे गर्ने काम पनि भइरहेको छ । अहिले दुईवटा एम्बुलेन्स थपिँदैछन, एउटा शव वाहनको व्यवस्था गरिएको छ भने अर्को सुरक्षित मातृत्व भनेर महिलाहरूका लागि मात्रै पनि एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । यी सबै सेवामार्फत जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं । हामीले पर्यटनका लागि २२ वटा पर्यटन गन्तव्यस्थल तोकेर नगरपालिकाले बृहत रूपमा काम गरिरहेको छौं । हालै मैनामैनीमा बृहत बसाहाको मूर्ति निर्माण भइरहेको छ । बाङकाली मन्दिर निर्माण, प्याराग्लाइडिङ, चिल्ड्रेनपार्क, उद्यानपार्क, होमस्टे, कृषि वन्यजन्तु आरक्षलगायत संग्राहलय निर्माण भइसकेको छ । ‘सफा मन आफ्नो पन, अवश्य गरौं बेलका भ्रमण’ भन्ने नाराका साथ पर्यटनमा परिणाम आउने र जनताले देख्नेगरी पर्यटन प्रवद्र्धनको काम गरिरहेका छौं । यसका साथै अन्य भौतिक निर्माणका कामहरूको योजना बनाउने, डीपीआर तयार गर्नेलगायतका कामहरू सम्पन्न गरिसकेको छ । पूर्वाधारतर्फ यो वर्ष हामीले सबै वडा कार्यालयहरू निर्माण सम्पन्न गर्ने छौं भने नगरपालिकाको आफ्नै भवन पनि जेठभित्रमा सम्पन्न गर्ने गरी काम अगाडि बढिरहेको छ । हामीले सबै वडामा चक्रपथ निर्माण गरिसकेका छौं,अब यो वर्षभित्रमा सबै वडामा वडा जनस्वास्थ्य भवनहरू निर्माण गरिसकेका हुनेछौं भने नगरपालिकामा १५ सैयाको अस्पताल पनि यो वर्ष निर्माण हुने छ । अहिले हामीले नगर चक्रपथ पनि निर्माण आरम्भ गरिसकेका छौं । सिचाइमा विभिन्न बोरिङ गर्ने काम, अन्डर हार्भेस्टिङको काम, सोलरबाट सिँचाइ गर्ने काम, कुलो मर्मत संहार,प्लास्टिक पोखरी, नयाँ सिँचाइका योजनाहरू, विभिन्न दातृनिकायसँग समन्वय गरेर साना सिँचाइका कामहरू मिलेर गरिरहेका छौं । यसैगरी यो वर्ष ५ वटा जति झोलुङ्गे पुल बनाउने योजना रहेको छ । त्यसका लागि केन्द्र सरकार र प्रदेश सरकारलाई गुहारेर ५ नं वडामा रहेको किलेरी खोलाको पुल निर्माणको काम भइरहेको छ । यस्तै खानेपानीमा आउने वर्ष ३ वटा योजना भागलपुर र चक्रघट्टीलगायत ४५ सय मानिसहरूलाई धारा पु¥याउने योजना छ भने विद्युतीकरण कार्यक्रमअन्तर्गत नगरका प्रत्येक टोलटोलमा बिजुली पु¥याउने लक्षका साथ नगरपालिकाले साढे १४ करोड लागतमा सम्पन्न गर्नेगरी ठेक्कासमेत लगाइसकेको छ भने अन्य ठाउँहरूको बिजुलीको कामहरूलाई समेत अगाडि बढाइरहेका छौं । यो रामपुरभित्रका मुख्यमुख्य सडकहरूमा स्मार्टलाईटहरू राख्ने कामको स्वीकृति भइसकेको छ । त्यसलाई हामी यही तिहारमा झलमल्ल पार्ने छौं । यसैगरी, हाम्रो बेलका नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारीलगायत उद्यममा हामीले युद्धस्तरमा काम गरिरहेका छौं । उद्यमअन्तर्गत यसपालि हामीले ३ सय वटा साना उद्योग सञ्चालन गर्नका लागि बजेट विनियोजन गरेका छौं । त्यसमा उद्यमीहरूलाई तालिम दिने, उद्योगका लागि आवश्यकक औजार, मेसिन उपलब्ध गराउने, बैकसँग सरल ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनेलगायतका काम यो वर्ष गरिरहेका छौं । यसबाहेक विभिन्न शैक्षिक सुधारका कार्यक्रमहरू, जहाँ अभर त्यहाँ सपोर्टअन्तर्गतका कार्यक्रमहरू, हिंसापीडित महिलाहरूलाई सेवा दिने योजनाअन्तर्गत सुरक्षा बास कार्यक्रम सञ्चालन भएको छ, त्यसलाई स्तरोन्नति गर्ने,अर्को महत्वपूर्ण कार्य यो नगरपालिकाको वडा नं ५ को घुम्ने पुछारमा औद्योगिक ग्राम बनाउने कार्य प्रदेश सरकारले स्वीकृति दिइसकेको छ । त्यसलाई हामीले केन्द्र सरकारसँग स्वीकृतिको लागि दिएका छौं र त्यो हालै स्वीकृति भएको छ । त्यसैगरी, बेलका नगरका डोजर र ब्याकलोडर लागेर विभिन्न मर्मत संहार र नयाँ निर्माणका कामहरू तीव्र गतिमा भइरहेका छन् । त्यसैगरी खोला नदी नियन्त्रणदेखि विपद्मा परेका मानिसहरूलाई विपद् व्यवस्थापन गर्नेदेखि वातावरण संरक्षण गर्नेसम्मका कामहरू गरिरहेका छौं भने केही नयाँ कानुन बनाउने कामहरू, बालमैत्री नगर बनाउने, वृद्धाआश्रमको स्तरोन्नति गर्ने कार्य, नगरपालिकाभित्र खरको छाना विस्थापित गरेर ३ सय ३६ घरमा टिनको छाना लगाउने कार्य भइरहेको छ भने अति विपदमा परेका परिवारलाई विपद् व्यवस्थापन गर्ने कार्यदेखि सचेतनाका कार्यक्रमहरूसमेत सञ्चालन गरिरहेका छौं ।


यतिका काम गरिसक्नुभयो, कतिपय पाइपलाइनमा छन्, गर्दै हुनहुन्छ, यी सबै काम गर्न त स्रोत साधन पनि चाहिएला कसरी जुटाइरहनुभएको छ, चुनौती कस्ता छन् ?

चुनौतीहरूको त चाङ नै छ तैपनि यसलाई चिर्दै कृषि क्षेत्रका काम गर्न मानव स्रोतअन्तर्गत कृषि प्राविधिकहरू, इञ्जिनियरहरू, कृषि विज्ञहरू नियुक्त गर्नेदेखि करारमा मानिसहरू राख्ने काम गरिरहेका छौं । उद्यम विकास शाखा खोलेर उद्यम विकास अधिकृत राखिसकेका छौं । प्राविधिकहरू राखेका छौं भने अन्य एनजीओ आईएनजीओसँग पनि समन्वय गरेर त्यसलाई पनि कार्यक्रमको रोष्टरमा राखेर काम गरिरहेका छौं । अर्को कार्यक्रमको लागि प्रोग्राम सपोर्ट युनिट ( पीएसयू )गठन गरेर हाम्रा सम्पूर्ण विकास साझेदारहरूलाई राखेर कार्यक्रम बनाइरहेका छौं । अहिले हामीसँग ३२ वटा विकास साझेदारहरू हुनुहुन्छ । उहाँहरू सबैले हामीलाई कसैले पूर्वाधारको सेक्टरमा, कसैले जनचेतना अभिवृद्धिको सेक्टरमा, कसैले महिला हिंसाको सेक्टरमा, कसैले कुष्ठरोग उपचारको सेक्टरमा, कसैले नवजात शिशु स्याहारको सेक्टरमा सहयोग गरिरहनुभएको छ । हामीले महिलाहरूको प्रजनन् स्वास्थ्यमा काम गर्ने संघ संस्थाहरूलाई काम गर्न आव्हान गरेका छौं । उहाँहरूले नगरपालिकासँग एकाकार भएर काम गरिरहनुभएको छ । स्रोत व्यवस्थापनका सन्दर्भमा हामीले माथिका संघसंस्था, प्रदेश सरकार र केन्द्र सरकारको पार्टनरसिपमा धेरै कामहरू गरिरहेका छौं । अहिले लेकाली रंगशाला संघीय र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भइरहेको छ भने चिस्यान केन्द्र प्रदेश सरकारको साझेदारीमा भइरहेको छ । बाख्रा र बंगुरपालनका काम प्रदेश सरकारसँगको साझेदारीमा भइरहेको छ । त्यसैगरी, कतिपय काम संघीय सरकार प्रदेश सरकार, विशेष अनुदान, विभिन्न संघसंस्था र राजदूतावासबाट सहकार्य गरेर स्रोत साधन जुटाइरहेका छौं भने कतिपय आफ्नै नगरपालिकामा भएको स्रोत साधन जुटाएर, यहीँका नगरवासीको लगानीबाट साठी÷चालीसमा अर्थात नगरपालिकाले ६० र लगानीकर्ता नगरवासीले ४० प्रतिशत नाफा लिने गरी नगद उठाएर पनि काम गर्छौं । यस्ता काममा उद्योगधन्दा सञ्चालन गर्नेदेखि बिजुली नगरबसहरू सञ्चालन गर्ने कार्य गरिरहेका छौं । यसबाहेक हामी रिसर्चको काम तररा रिसर्च सेन्टरले र क्यान्सरको उपचार भरतपुर क्यान्सर अस्पतालले गरिरहेको छ, नार्कले गरिरहेको छ, कतिपय कृषि इञ्जिनियरहरूले गरिरहेका छन् । हामीलाई सेनाहरूले सहयोग गरिरहेका छन् । यहाँको पृतनाले १५ सय एभोकाडोको बिरूवा रोपिदिएर सहयोग गरेको छ । राष्ट्रपति चुरे कार्यक्रमले सहयोग गरेको छ, स्वीस सरकार प्रयास हेल्बिटास कार्यक्रम थियो । हामीलाई केन्द्र सरकारबाट आउने ४० प्रतिशत करको रकम अहिले आइरहेको छैन तैपनि हामीले त्यसलाई म्यानेज गर्दै विभिन्न संघसंस्थाको सहयोग लिएर काम गरिरहेका छौं । यसरी हामीले विभिन्न क्षेत्रकोे सहयोग जुटाएर काम गरिरहेका छौं । चुनौतीहरूमा चाहिँ कतिपय कानुनी जटिलताका कुराहरू छन, केन्द्र सरकार र प्रदेश सरकारले हाम्रो स्रोत साधन र काममा हस्तक्षेप गर्ने, तोकिएको बजेटको सिलिङ संघीय सरकारले नदिने, काम गर्न ऐन कानुनको बाधा नफुकाइदिने, कर्मचारीको नियुक्ति गर्न नदिने, दरबन्दीअनुसारको कर्मचारी नपठाईदिने, हामीलाई गर्ने पनि अधिकार नदिने आफूले पनि नगरिदिने, कतिपय करहरू उठाउन असजिलो बनाइदिने, कतिपय ऐन एकअर्कामा बाझिने र बाझिएको हकमा ऐन नै खोरेज हँुदा काममा समस्या हुने, कतिपय बराबरी सक्रियता र बजेट परिचालन एवं सामाजिक परिचालनमा सन्तुलन गर्न नसकिने, कतिपय लाइन एजेन्सीहरू पारदर्शी नहुनेदेखि आफ्नो योजनाअनुसार काम गर्न असजिलो हुने समस्याहरू हामीले भोग्दै आइरहेका छौं ।


नगरवासीहरूलाई केही भन्नुहुन्छ ?

यस वर्ष हामी निकै काम गर्ने योजनामा थियांै तर कोरोना महामारीले सोचे जसरी काम गर्न पाएनौं तथापि स्रोत साधन जुटाएर जनताको हितमा धेरै काम गरिरहेका छौं । यो वर्ष बाँकी रहेका काम अर्को वर्ष सम्पन्न गर्ने छौं तर हामीले निर्वाचनका बेला जनतामा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने छौं । विकास निर्माणका काम हुन्छन्, हुँदैछन् तर अहिलेको महामारीको अवस्थामा बाँच्नु र बचाउनु नै सबैभन्दा ठूलो कुरा भएकोले सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका पूर्ण पालना गर्दै आफ्ना कामहरू सम्पन्न गरौँ सबै नगरवासीमा यही अनुरोध गर्दछु । हामी आमजनता तथा सरकारको उद्देश्य पूरा गर्ने गरी काम गर्दैछौं ।