मन्त्रीले धान काटे


काठमाडौ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनको माडी नगरपालिकास्थित कान्तिपुरमा सामूहिक चक्लाबन्दी खेतीमा लगाइएको धान कम्बाइन हार्वेस्टर मेसिनबाट काट्न सुरु गर्नुभएको छ । १७ औं राष्ट्रिय धान दिवसका दिन असार १५ गते उहाँले मेसिनको प्रयोगमार्फत धान रोप्नुभएको थियो । चक्लाबन्दी खेतीमा आफैले रोपेको धान आफै काट्न पाउँदा आफुलाई खुसिलागेको मन्त्री लामाले बताउनुभएको छ । उहाँले माडीका सिमान्तकृत समुदायको जीवनस्तर उकास्न सामूहिक खेतीको अबधारणा अघि सारिएको बताउँदै कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको बताउनुभएको थियो । मन्त्री लामाले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको पनि बताउनु भयको थियो । माडी उर्वर भूमि रहेको भन्दै मन्त्री लामाले अन्न भण्डारको रुपमा विकास गर्दै लैजाने प्रदेश सरकारको नीति रहेको सुनाउनु भयको थियो । बागमती प्रदेश सरकारको सहयोगमा माडी नगरपालिका ८ कान्तिपुरमा रहेको सूर्योदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती सुरु गरेको थियो । ९६ जना कृषकको सय विगाहा जमिनमा चक्लाबन्दी गरिएको छ । प्रारम्भिक चरणमा ५० विगाहामा चक्लाबन्दी भइसकेको छ भने यसबर्ष १५ विगाहा क्षेत्रफलमा धान रोपिएको सहकारीका प्रवन्धक शिवजी गायकले जानकारी दिनुभयको छ । सो स्थान १२ विगाहामा माछा पोखरी निर्माण गरिएको छ भने पाडापालनका लागि गोठ निर्माण गरिएको छ । सोही स्थानमा गन्धर्व समुदायको सांस्कृतिक संग्रालय र सामुहिक गन्दर्व बस्ती पनि निर्माण गरिएको छ । चितवन र सिन्धुलीबाट सुरु गरिएको सामूहिक खेती नुवाकोट र सिन्धुपाल्चोकमा पनि विस्तार गरिएको छ । गतबर्ष सो क्षेत्रमा प्रदेश सरकारले १ करोड र माडी नगरपालिकाले १० लाख रुपैंया सहयोग गरेका थिय ।